Saturday, August 12, 2023

दान र अनुदान !

 दान र अनुदान !

जव कुनै व्यक्ति, संस्था वा सरकारले केही सेवा वा वस्तु सित्तैमा दिन्छ, उपभोक्ताले तेसको अत्यन्त चर्को मूल्य चुकाउनु पर्छ | यस्तो सित्तै प्राप्त गरेको सेवा वा वस्तुलाई अनुदान भन्ने गरिन्छ | नेपाल राष्ट्रमा गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्रआदिका आन्दोलन र यसले स्थापित गरेको राजनैतिक परिणाम पूर्णतया "नि:शुल्क, तेसै"मा केन्द्रीत थियो | आफ्नो उमेरको हिसावले हेर्दा र बुझ्दा "सेवा" शब्दको सबैभन्दा विकृत प्रयोग लोकतन्त्रका पक्षधरहरूले गरेका छन् | आरम्भ देखिनै "सित्तैवाद"लाई प्रोत्साहन दिने तथाकथित प्रगतिशील र समाजवादीहरू नै हुन् |
अर्कोतिर आफ्नो परिश्रम, सेवा तथा उद्योगबाट आर्जित गरिएको र पूर्णतया आफ्नो स्वामित्वमा रहेको सेवा वा वस्तु आवश्यताअनुसार अर्कालाई दिनु दान हुन्छ | दानमा स्वार्थ हुँदैन तर अनुदानमा केवल स्वार्थ, षड्यन्त्र तथा खोटो नियति हुन्छ | आजको नेपाली समाज अनुदानको जालोमा नराम्रोसंग फंस्न पुगेको छ | राजनैतिक बेइमानीमा परेर आत्म-सम्मान तथा स्वक्रियाशीलता गुमाएको छ | तर अचम्मको कुरा त के भने दोषीहरूले आफ्नो दोषलाई "गुण" भन्दै आफ्नो र जनताको आँखामा छारो हालिरहेका छन् |
आजको नेपाली सामाजिक मनोविज्ञानमा "सरकारले सबै थोक नि:शुल्क दिनुपर्छ" भन्ने मानसिक रोग लागेको छ | अर्कातिर यस्तो मानसिक रोगको संस्कृति निर्माण गर्न योगदान गरेका राजनैतिक शक्तिहरूले भोट ब्यांक जोगाउन र नयाँ भोट ब्यांक निर्माण गर्न "फ्री-वाद"लाई नै प्रोत्साहन दिंदैछन् र भविष्यमा यो फी-वादको सुनौलो जादु अझैं बढ्नेवाला छ | अचम्म र उदेकलाग्दो कुरा त के भने देशनै धरातलमा पुग्न लाग्दा पनि अर्थशास्त्रीहरूको मुखबाट कुनै पनि आलोचना सुनिन्न | सायद समाजवाद, लोकतन्त्र वा साम्यवादको दाम्लोमा बाँधिएका अर्थशास्त्रीहरूले आफ्नो अर्थशास्त्रीय ज्ञान अनर्थशास्त्री नेताहरूको चाकरीमा समर्पित गरेका छन् | यो कुरा जोजससंग सम्बन्धित भनेर बुझ्नुपर्छ, सबैको अर्थ सबै होइन |
आफ्नो १००% स्वामित्वमा भएको वस्तु अर्कोलाई स्वेच्छाले दिनुलाई दान भनिन्छ तर अर्काको वस्तु चोरेर, छलेर, बदनियतले बाड्नुलाई "अनुदान" भनिन्छ | यो अनुदान संस्कृतिको विकास इसाईहरूले धर्मपरिवर्तनलाई सजिलो बनाउन आरम्भ गरेका थिए | अफ्रिकी लेखक टुटुले "उनीहरू हाम्रो देशमा आएर बाइबलको पुस्तकसंग सित्तैमा औषधिउपचार गर्छौं गर्छौं भने हामी फ्री-मा लोभियों | केही समयपछि आँखा उघारेर हेर्दा उनीहरूसंग हाम्रो जमिन थियो भने हाम्रो हातमा बाइबल | नेपाली समाजमा प्रचलित दानसंस्कृतिले स्वउद्योग, स्वश्रम तथा आत्मनिर्भरता पूर्वक आर्जित गरेको "दान"लाई महत्व दिन्छ | अर्कोतिर समाजवाद वा साम्यवादका रुपमा भित्रिएको राजनैतिक चिन्तनले अर्काले कमाएको सम्पत्ति लुटेर (राज्यशक्तिको प्रयोग गरेर भए पनि) अर्कोलाई सित्तैमा अनुदान दिने व्यबस्थालाई "प्रगति भन्छ |
संस्कृति परिवर्तनशील तथा गतिशील मुर्तअमुर्त सम्पदाको मिश्रणबाट निर्मित हुन्छ | साथै, यदि पहिचानका दृष्टिकोणले चिन्तन गर्ने हो भने संस्कृति नै पहिचानको बलियो आधार हुन्छ | नेपालका हकमा भने आयातित संस्कृतिको लागि मौलिक संस्कृतिहरूको निर्ममतापूर्वक हत्या गर्ने काम वर्तमानका राजनैतिक शक्ति र तिनको मतियारहरूले गरेका छन् | उदाहरणका लागि हालै पर्वतको महाशीला गापाले सम्पूर्ण शिक्षा अंग्रेजी माध्यमबाट दिने निर्यण गर्यो | देशको कुनै कुनाबाट पनि अंग्रेजी भाषाले महाशीलाको पहिचान कसरी सुरक्षित राख्छ भनेर सोधिएन | त्यसभन्दा पनि अचम्मको कुरा त के भने आफुले प्रयोग गर्दै आएको "नेपाली भाषा"को विरोध गर्नेहरू आफ्नो मातृभाषाको सम्बर्धनका लागि होइन अंग्रेजी बलियो बनाएरमात्र देशको विकास हुने ठान्छन् !
विश्वका लगभग ७ हजार भाषाहरूमा अंग्रेजी पनि एउटा हो | भाषाका रूपमा अंग्रेजी जान्नु राम्रो हो तर आफ्नो मौलिकता र पहिचान नै नष्ट हुने गरी अग्रेजीको संरक्षण गर्नुको औचित्य केवल धूर्तहरूका लागि होला ! यो देशमा अंग्रेजी पनि "प्रगतिशीलता, आधुनिकता, सभ्यता"का नाममा सित्तैमा छिरेको आक्रमणकारी भाषा हो | नेपालीले जतिधेरै यसको स्वागत गर्ने छन्, त्यतिनै यसले नेपालको रैथाने वा मौलिकताको हत्या गर्ने छ र नेपालीलाई पहिचान विहिन, परिचय विहिन र अलिकति कडा भाषामा भन्नुपर्दा "चरम निरपेक्षतावादी" बनाउने छ | विश्वास गर्नुस् वा नगर्नुस्, दान-संस्कृतिलाई विस्थापित गरेर अनुदान संस्कृतिको सित्तैवाद अंग्रेजीको देन हो | जसको मूल्य नेपालीहरूले आफ्नो संस्कृति, पहिचान, आत्मविश्वास तथा ऐतिहासिकता गुमाएर चुकाइरहेका छौँ |
प्रसिद्ध पुस्तक "असल नियतका बावजुद"का लेखकले भनेका छन् "पश्चिमा देशहरूले आफ्नो देशमा अनुदान संस्कृति निमिट्यान्न पारे तर गरिव देशहरूलाई अनुदानको नाममा सधैं पश्चिमाहरूको मुख ताक्ने बनाए | पश्चिमाहरूले सभ्यताको मानदंड "पश्चिम"नै हो भन्ने स्थापित गर्न अनुदान निकाले तर आफ्नो देशका जनतालाई पूर्णतया "सित्तैवाद" मुक्त राख्न सफल भए |" मलाई लाग्छ, यही सित्तैवादको मनोविज्ञान बुझेका पश्चिमाहरूले सित्तैमा दिने र वदलामा पूर्णतया नाङ्गोपारेर लिने गरेका छन् | हो, एस्तो लेनदेनचाहिं धर्म, संस्कृति तथा सम्पदाहरुको दोहन गरेर, बैचारिक दासता स्थापित गरेर वा धर्मपरिवर्तन गराएर लादिएको हुन्छ |
दान र अनुदानमा एउटा मौलिक फरक हुन्छ | दान व्यक्तिले निस्वार्थ दिएको आर्थिक वा जिन्सी सहयोग हो | राज्यले अनुदान दिंदा अनेकौं शर्तहरूको पालना गर्नु पर्ने बाध्यता हुन्छ | जव कुनै विकसित देशले नेपाललाई अनुदान दिन्छ, त्यससंग अनेकौं बन्देजहरू हुन्छन् | प्राचीन गुरुकुलहरू दानबाट संचालित थिए, ती राज्यको नियन्त्रणमा नभएर आचार्यको नियन्त्रणमा हुन्थे | राज्यले अनुदान दिएर संचालन हुने विविहरू तथा अन्य शैक्षिक संस्थाहरूमा सरकारको कस्तो निर्मम हस्तक्षेप हुन्छ भन्ने तत्थ्यहरू नेपाली शैक्षिक संस्थाहरूमा राजनैतिक “झोले”हरूको उपस्थितिले प्रष्ट परिरहेको छ | अनुदान प्राप्त गर्ने व्यक्ति होस् वा संस्था – उसले अनुदानदाताको स्वार्थ वाहिर जान मिल्दैन अन्त्यथा दण्डित हुनुपर्छ | यदि कसैले अनुदानप्राप्त गरेर “प्रगति, विकास, संरक्षण, आत्मसम्मान” प्राप्त हुन्छ भनेर ठान्छ, भने यो दीवास्वप्न कदाचित् नै पूरा हुनेछ |
अनुदान संस्कृतिले उद्यमशीलता होइन लोभ र परनिर्भरता सृजित गर्छ | महालेखा परीक्षकको प्रतिवेदनले यो तत्थ्य प्रष्ट पारेकोको छ | मलेपको प्रतिवेदनले धेरैजसो अनुदानहरू अनुत्पादक भनेर आलोचना गरेको छ | राज्यले अनुदान दिनुपर्छ तर एस्तो अनुदान नगदमा होइन सेवामा दिनुपर्छ | उदाहरणका लागि औषधिउपचार, आपत्कालीन व्यबस्थापन तथा शिक्षाका क्षेत्रमा उचित हुन्छ | बरू दान संस्कृतिको प्रवर्धन गर्दै समाजलाई आफ्नो आवश्यकताअनुसारको समाधान खोज्न सघाउनु पर्छ | एउटा चिनिया उखान कि "माछा होइन बल्छी"लाई आत्मसात गर्नुपर्छ |
हामी नेपालीहरू अनुदान अर्थात् सित्तैवादको जालोबाट मुक्त नभएसम्म अर्को शब्दमा सित्तैवादलाई प्रोत्साहन दिने, प्रवर्धन गर्ने "वाद र वादी"हरूसंग मुक्त नभएसम्म देशको विकास हुँदैन | चिल्ला सडक हुँदैमा, प्रगतिशील नारा हुँदैमा कुनै देशको विकास हुनेथियो भने लाखौं नेपालीहरू विदेश पलायन हुनु पर्ने थिएन | ५२ डिग्रीको घाममा ज्याननै जाने गरी काम गर्न खाडी जाकिनु पर्ने थिएन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...