Saturday, August 12, 2023

विषको रुख

 (१) पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले "मलाई महाअभियोग लगाएर मेरो चरित्रहत्या गर्ने नेताका गल्ती वारे चर्चा गर्दा गणतन्त्र विरोधी हुने, चोलेन्द्रशमशेरलाई निकम्मा बनाएर विना कार्वाही निकाल्नेहरूको गल्ती वारे चर्चा गर्न नहुने ?" भन्ने प्रश्नले गणत्रन्त्र र लोकतन्त्रका नाममा स्वार्थतन्त्र, स्वच्छन्दतन्त्र, आफन्ततन्त्र, निलज्जतन्त्र मौलाएको कुरा प्रष्टसंग बुझ्न सकिन्छ | खासगरी हातमा हतियार भएपछि, आदिवासी, मुस्लिम, इसाई, बौद्धआदिको बिल्ला भएपछि कुनै पनि कानुनको डर नहुने व्यबस्था र अवस्थाका रूपमा गणतन्त्रलाई संस्थागत गर्नेहरू यिनै विदेशी चिन्तनला भरिया नेता हुन् |

(२) नेताले आफूभित्र रहेको नैतिकता तथा जवाफदेहिताप्रतिको शत्रुता निर्जज्जतापूर्वक आफ्ना कार्यक्रतातहसम्म पुर्याएका छन् | "मुखमा राम राम बगलीमा छुरी" भन्ने उखान लोकतन्त्रको खम्बा हौँ भन्नेहरूमा सबैभन्दा बढी मौलिएको छ | मजस्ता निरीह प्राणीलाई थाहा छ कि मेरा चिन्ताहरूको कुनै अर्थ छैन | स्वार्थमा अन्ध भएका "अन्धवीर"हरूका लागि सर्वसाधारण जनताका आवाजको कुनै महत्व छैन | उनीहरूका कान, आँखा र बुद्धि सबै थोक स्वकीय सचिव वा यसम्यानका रूपमा क्रियाशील स्वार्थी कार्यक्रता नै हुन् | यहाँ स्वार्थी कार्यक्रता भनेर सरकारी सम्पतिमा दलाली गर्ने सित्तैवादीहरूलाई बुझ्नुपर्छ |
(३) देशमा केही पनि भएको छैन भन्नेसंग सहमत हुन सकिन्न | विश्वभरी आर्थिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तन आउँदा नेपालमा पनि तेसका बाछिटा परेका छन् | कम्युनिस्ट र समाजवादको आवरणमा रहेका सत्ताधारीहरू कल्याणकारी राज्यको काम गर्न बाध्य छन् | यदि तपाईं सोच्नु हुन्छ कि गाउँगाउँमा पुगेका सडकहरू जनताको लागि हुन् भने गलत हुनुहुन्छ | राजनैतिक शक्तिहरूलाई पैसा र भोट चाहिन्छ | प्रक्रिया नपुर्याइकन राज्यको सम्पत्ति तेसै लिन मिल्दैन | विकास-निर्माणका कामले पैसाको चलखेल हुन्छ |
(४) देशको दुर्भाग्य नै भन्नुपर्छ कि २०४७ पछिको राजनीतिले युवाहरूलाई नकारात्मकताको अनन्त भण्डारमा रूपमा रुपान्तरण गरेको छ | पंचायतले गरेका धेरथोर रोजगारी सृजना गर्ने उद्योग-कारखाना, आयोजनाहरू तथाकथित विकासे राजनैतिक शक्तिहरूले बेचेको र धरासायी बनाएको कुरा युवाहरूले बुझेका छन् | राजनैतिक शक्तिहरुले चाहिनेनचाहिने ठाउँमा हस्तक्षेप गरेर अपांग बनाएको तत्थ्य पनि लुकेको छैन | हरेक ठाउँमा घूसखोरी र आफन्तवाद हावी छ | सरकारले नै युवाशक्तिलाई विदेश पठाउने स्रोतको रूपमा काम गरिरहेको छ | मानौं, सरकार झूट, फरेव, भ्रष्ट्राचार तथा बेथितिको अड्डा होस् | देश निराश छ किनभने अनाचार, भष्ट्राचार, असफलता, षड्यन्त्र तथा आफन्तवादले देश थलिंदा पनि तथाकथित समाजवादी तथा साम्यवादी शक्तिहरू वेथितिको लागि आत्मसमीक्षा गर्न वा क्षमा माग्दै जिम्वेवारी लिन तयार हुँदैनन् | जो चोर उसकै ठूलो स्वर भनेको यही हो |
(५) गुनासा हुन्छन् र त्यो गुनासो पोख्ने ठाउँ हुन्छ | नेपाली युवाशक्तिको दुर्भाग्य के हो भने उसले आफ्नो गुनासो पोख्ने ठाउँ नै पाउँदैन | नेपाली राजनीतिमा केवल "झोले"हरूको गुनासो सुनिन्छ र गुनासाहरूको निकास दिने प्रयत्न गरिन्छ | "झोला नबोक्नेहरू" मानौं नेपाली नागरिक नै होइनन् ! जव कुनै सर्वसाधारण व्यक्ति गुनासो लिएर सम्बन्धित निकायमा पुग्छ, उसले प्रस्टसंग देख्न र बुझ्न सक्छ कि त्यहाँका हरेक व्यक्ति र वस्तु विकाउ रहेछन् | जुन विक्न, बेच्न किन्न नसक्नेहरू :निकम्मा" ठहरिने रहेछन् | भन्नु नपर्ला नेताहरूका लागि देश विक्रिमा छ | झोले विद्यार्थी र शिक्षकका लागि शिक्षा बिकाउ छ | झोले न्यायाधीश र वकिलहरूका लागि न्यायालय विकाउछ | झोले कर्मचारीहरूका लागि नियमकानुन तथा सदाचार नै विक्रिमा छ |
(६) आज युवाशक्तिहरूका विचमा एउटा अप्रिय वहस चलिरहेको हुन्छ - नेपालको संचालन नेपाल सरकारले होइन अरू कसैले गरिरहेको छ ! एउटा स्वतन्त्र देशका लागि एस्तो वहस चल्नु भनेको लाजमर्दो हुनु पर्ने हो | पंचायतपछिको राजनीतिलाई हेर्ने र बुझ्नेहरू प्रष्ट छन् कि माओवादीको उदय होस् वा अन्य राजनैतिक शक्तिहरूको ती सबै भारत-पोषित छन् | आजसम्म कुनै पनि (पंचायत वाहेक) कुनै पनि नेतृत्वले युवाशक्तिका बिचमा चलिरहेको अप्रिय वहसहरूको प्रस्टसंग खण्डन गरेको सुनिएको छैन | मोहन विक्रमजस्ता केही कम्न्युनिस्ट नेता र शुशील गौतमजस्ता केही मौलिकतावादी (जुन सत्ताबाट निकै टाढा छन्) ले युवाहरूलाई तिनका विश्वासको जवाफ दिंदै स्वतन्त्र नेपालप्रति विश्वस्त हुन आग्रह गरिरहेका छन् | तर यिनको स्वर लोकप्रिय हुन सकिरहेको छैन |
(७) लोकतन्त्रवादी राजनैतिक शक्तिहरूले केवल आफ्ना "झोले"हरुको वृत्ति विकास र स्वार्थपूर्तिमा ध्यान दिंदा आम जनताको यी प्रति चरम निराशा र अविश्वास बढ्दो छ | आजको मितिमा यी राजनैतिक शक्तिले नेपाल र नेपालीको भलोका लागि काम गर्छन् भन्ने आत्मविश्वास निकै ओरालो लागेको छ | धन्य छ नेपाली सामाजिक र सांस्कृतिक संरचनालाई जसले राजनैतिक विश्वासलाई पनि "संस्कृति"कै रूपमा निरन्तरता दिएर पुन: यिनै राजनैतिक शक्तिलाई सत्ता प्रदान गर्छन् | जुन दिन नेपाली जनताको राजनैतिक चेतनाले "राजनीति विश्वासमा आधारित भएर होइन कल्याणकारी क्रियाकलापका आधारमा स्वीकार या तिरस्कार गर्नुपर्छ" भन्ने चेतनाको विकास हुने छ, त्यो दिन यी राजनैतिक शक्तिहरू पूर्णतया नेपालबाट बाहिरिने छन् |
(८) नेपाली राजनैतिक शक्तिहरूमा एउटा तीब्रतर अन्धविश्वास छ त्यो हो हिन्दू वैदिक समाज प्रगतिविरोधि छ तर विदेशी भुमिबाट उदाएका समाजवाद, साम्यवाद, धर्मनिरपेक्षताजस्ता विश्वासहरूका आधारमा देशको विकास हुन्छ र देशले प्रगति गर्छ | उनीहरूले यो "अन्धविश्वास"लाई संस्थागत गर्न बहुसंख्यक हिन्दूहरूका परम्परा, विश्वास र धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनप्रति हदैसम्म असाहिष्णुता प्रदर्शन गरिरहेका छन् | अर्कोरित विश्वमा नै लोप हुँदै गरेको साम्यवाद र अर्काकाको अस्तित्व सहन गर्ने नसक्ने धार्मिक विश्वास भएका मुस्लिम र इसाईहरूलाई च्यापेर धर्मनिरपेक्षताको रक्षा गरेको दम्भ भरिरहेका छन् | भारतमा कंग्रेसले यी नीतिलाई अपनाउँदा तेहाका बहुसंख्यक हिन्दूहरूले नरेन्द्र मोदीलाई भारतको सत्ता दिएका छन् | हिन्दू धर्म र संस्कृति राजनीतिको हतियार बन्न पुगेको छ | प्रगतिशील भनिएका राजनैतिक दलहरूको "विदेशी प्रतिमान प्रतिको भक्ति र स्वदेशी प्रतिमान प्रतिको अविश्वासले" नेपालका हिन्दू समुदायमा पनि राजनैतिक हिन्दूत्व प्रभावी हुने बाटो खुलिरहेको छ | नेपालमा भारतीय मोडेलको हिन्दूवादी सरकारको आवश्यकता छैन |
(९) नेपाली सत्ता यस कदर विदेशी प्रतिमानहरूमा विकेको छ दीक्षित तथा प्रशिक्षित नेपाली युवाहरूले देशको उत्थानको लागि जतिसुकै महत्वपूर्ण तथा उपयोगी सुझावहरू दिए पनि सून्नेसम्म गर्दैनन् | फलत: युवाशक्तिहरूमा तीब्र क्रोध बढ्दो छ | आज सुशील, बलेन, रविआदिका रूपमा उपरोक्त क्रोध राजनीतिमा उपस्थित भैसकेको छ | यी परम्परागत राजनैतिक शक्तिहरूले ती धर्मभीरु जनतालाई धन्यवाद दिनुपर्छ कि कांग्रेसी भएको, एमाले भएको, समाजवादी भएको "धर्म" पालन गर्द्दै यिनैलाई भोट दिए | दुर्भाग्यको कुरा के भने यी राजनैतिक शक्तिहरूले नेपाली जनतालाई समाजवादी, साम्यवादी, डलरवादी हुन सिकाए तर स्वतन्त्ररहेर नेपाल र नेपालीको लागि भोट दिन सिकाएनन् | आजको मितिमा नेपालीहरू क्रमशः उपरोक्त निद्राबाट जाग्दै छन् | फलत" देउवा, ओली प्रचण्डहरू महाकाल, जलहरी तथा सिद्धबाबाको शरणको नक्कली नाटक गर्न बाध्य हुँदैछन् |
(१०) जवसम्म नेतृत्वले सम्पूर्ण वेथितिको स्रोत विदेशीको नक्कल र विदेशीको नक्कल हो भन्ने बुझेर आत्मालोचना गर्दैनन् र सधैं विदेशीको प्रशंसा र नक्कलका लागि मरिहत्ते गर्छन्, देशको उन्नति सम्भव हुँदैन | मागेको कोट लगाएर जन्त जाने तुरुन्त चिनिन्छ | नेपालको मौलिक सम्पदा र शक्तिको अपमान गर्दै धूर्त धर्मनिरपेक्षताको धमिरा भित्राएकाहरूबाट देशको कल्याण हुँदैन | हो, कमिसन प्राप्तिको लागि ठूलाठूला विमानस्थल निर्माण हुनेछन्, ठूलाठूला सडकहरू बन्ने छन्, महङ्गा उपयोगी सामग्रीहरू भित्रिने छन् तर सर्वसाधारण जनताले ती सडकमा हिड्ने, हवाईजहाज चढ्ने र सेवा प्राप्त गर्ने सपनासम्म देख्न विर्सने छन् | राज्यले विदेशीहरूको संरक्षणका लागि उद्योग खोल्ने नीति नलिंदा रोजगारका लागि विदेशिएका युवाशक्तिहरूको रेमिट्यान्स र विदेशीले दिने ऋणमा देश डुब्दै जाने छ र यो भइरहेको वर्तमानको यथार्थ हो |
११. अहिलेका गणतन्त्रवादीहरूले देश विरुद्ध जातीय, भौगोलिक तथा भाषागत घृणावाद फैलाएर अपराध गरेका छन् | जातीय आधारमा नेपाली-नेपाली बिच घृणाबादका बीऊ (जसलाई तथाकथित प्रगतिवादीहरू जनचेतना र अधिकार भनेर परिभाषित गर्छन्) अलिअलि गरेर उम्रन थालेका छन् | नेपाललाई बेच्न राखेकाहरू खुशीले रमाइरहेका छन् | हरेक दिन यी नेपाल र नेपालीको अस्मितालाई विक्रिमा राख्नेहरू पांचतारे होटलमा भोड्काको चुस्की लिरहेका छन् | यो निराशा वा अतिवादी विचार होइन आँखाले देखेको, कानले सुनेको र नेपालीले भोगेको यथार्थ हो | वर्तमान राजनैतिक नेतृत्वले नेपाली जनतालाई "घुम्ने मेचमाथिको अन्धो मान्छे" बनाएको छ | यदाकदा भ्रष्ट्राचार विरुद्ध सघन क्रियाकलापको नाटक मन्चन पनि नागरिकतामा गरिएको अपराध र जनतामा चुलिएको चरम क्रोधलाई दिशान्तर गर्ने प्रक्रिया भनेर बुझ्नु पर्ने हुन्छ |
विषवृक्षबाट अमृत फल्दैन | देश, संस्कृति, मौलिकता तथा आत्मसम्मान विक्रिमा राखेकाहरूबाट देशको विकास हुँदैन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...