Saturday, August 12, 2023

प्रधानमन्त्री नेपालीका हुन् !

 प्रधानमन्त्री नेपालीका हुन् !

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छन् | उनी नेपालको प्रधानमन्त्रीको हैसियतमा त्यहाँ गएका हुन् र सम्पूर्ण नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् | भारतीयहरूले उनको सम्मान नगरे नेपालको अपमान हुन्छ | ठूलो गणतन्त्र वा उदीयमान विश्वशक्ति हुँ भन्ने भारतले नेपालको अपमान गर्दा भारतको यश वा सम्मान बढ्दैन | नेपालको अस्थिर राजनीतिमा धेरै नेतृत्व आउलान् र जालान् तर एक दिनकै लागि किन नहोस् प्रधानमन्त्री त प्रधानमन्त्री नै हुन्छ | देशमा जेहोस् तर विदेशमा नेपालको प्रधानमन्त्री नै हुन्छ नेपालीको लागि र विदेशीको लागि पनि |
तर सम्मानीय प्रधानमन्त्री भारत प्रवासमा रहेको बखत "भारतले नेपाली प्रधानमन्त्रीलाई अपमान गरेर प्रचण्डको हैसियत देखाइदियो, ठिक्क पर्यो" जस्ता अपमान जनक, आफ्नै देशको मान मर्दन गर्ने, दुराग्रहपूर्ण तथा भारतीयहरूले गरेको व्यबहारलाई उचित भएका" कथन र लेखनहरू आएका छन् त्यो पनि नेपालीबाट | यो निकै पीडाजनक छ र हीनताबोधले ग्रस्त छ |
प्रचण्डसंग लाख विमति होलान् | प्रचण्डसंग लाख असहमति होलान्, रीस होला र त्यसको विषयमा उनी नेपालमा रहेको बखत आलोचना/प्रत्यालोचना तथा कानुनी लडाई जे- पनि लड्ने नेपाली जनतालाई अधिकार छ | तर स्वतन्त्र राष्ट्र नेपालको प्रतिनिधित्व गरेर विदेश भ्रमणका वखत "विदेशीले अपमान गरेर ठीक गर्यो" भन्नेहरुसंग कत्तिपनि सहमत हुनै सक्दिन |
नेपालीको प्रतिनिधित्व गरेर विदेशमा रहेका प्रचण्ड हामी सबै नेपालीका प्रधानमन्त्री हुन् | उनी संयुक्तराष्ट्र संघको स्वतन्त्र सदस्य राष्ट्रका शक्तिशाली प्रधानमन्त्री हुन् | नेपालका प्रधानमन्त्रीको हैसियत अमेरिका, ब्रिटेन, चाइना वा भारतका प्रधानमन्त्री भन्दा एकरत्ति कम छैन | नेपालको प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डको यदि कसैले अपमान गर्छ भने त्यो नेपाली जनताको अपमान हो |
रह्यो, सन्धिसम्झौताको कुरा, नेपालको पक्षमा विदेशीहरूसंग सन्धिसम्झौता गर्दा नेपाल र नेपालीको स्वार्थको रक्षा गर्ने काम प्रधानमन्त्री कै हो | प्रचण्डले मात्र होइन प्रधानमन्त्रीका रुपमा अरू कुनै व्यक्तिले पनि नेपाल र नेपालीको हितविपरित काम गर्छ/गराउँछ भने त्यो व्यक्ति राष्ट्रघाती हो | हरेक राष्ट्रले आफ्नो हितको रक्षा गर्छन् | यदि भारतले आफ्नो दीर्घकालीन हित र नेपालको अहितको पक्षमा सन्धि गर्न सफल भयो भने तेहाका जनताले प्रम मोदीलाई धन्यवाद दिन्छन् नै | मोदीसंग तुलना गरेर भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्रीको अपमानले भारतीयहरूलाई नेपाल र नेपालीसंग अपमान जनक व्यबहार गर्न प्रोत्साहित गर्छ |
भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीलाई त्यतिसारो ठाउँ दिंदैनन् | हेपेर प्रस्तुत गर्छन् | मोदीलेझैँ आफ्नो राष्ट्र, धर्म, संस्कृति, परम्परा तथा हितका विषयमा प्रष्टसंग व्यबहार गर्ने हो भने नेपाली प्रमहरूसंग ती झुक्न बाध्य हुन्छन् | सम्भवत: नेपाल नेपालीको हितमा सन्धिसम्झौता नगरेको हुँदा अधिकांश नेपाली प्रधानमन्त्रीहरू आलोचित हुन्छन् | विदेशनीति र नेपालको स्वार्थका सवालमा सत्तामा हुँदा पार्टीहरूको एउटा दृष्टिकोण र सत्ताबाट बाहिर रहंदा अर्को दृष्टिकोणले देशको भलो हुँदैन | सबै पार्टीले यो कुरा बुझेका छन् तर व्यबहार परिवर्तन गर्न सक्दैनन् | तर विदेशमा रहेका आफ्नै प्रधानमन्त्रीको आलोचना गर्ने र विदेशी प्रधानमन्त्रीको पक्षमा उभिनेचाहिं ठीक होइन |
आशा र विश्वास गरौँ प्रम दाहालले भारतसंग नेपाल र नेपालीको पक्षमा काम गर्नुहुने छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...