Saturday, August 12, 2023

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

 एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर बौद्ध र जैनीहरूलाई शास्त्रार्थमा जितेर सनातन धर्मको पुन: जग बलियो बनाउने काम गरेका थिए | आफ्नो ३२ वर्षको छोटो उमेरमा ७८ बटा संस्कृतका ठूलासाना पुस्तकहरू लेख्नु, अनेकौं स्थानमा देवमन्दिरहरू निर्माण र पुननिर्माण गरेर सनातन धर्मको सेवा गरेका थिए |
तुलनात्मक रूपले हेर्दा महावीर ८२ वर्ष, बुद्ध ८० वर्ष, रामानुजाचार्य १२० वर्ष, मद्वाचार्य ९७ वर्ष, निम्बार्क ५३ वर्ष जीवित रहेर आफ्नो मत वा सिद्धान्तको प्रचारप्रसार गरेका थिए | यी सबैको उमेरको तुलनामा आचार्य शङ्कर यो पृथ्वीमा थोरै जीवित रहे | तर आज पनि सनातनी हिन्दू सांस्कृतिक जीवनमा सबैभन्दा बढी प्रभाव आचार्य शङ्करकै देखिन्छ | जैन र बौद्ध अलगै धर्म भएकाले यो विषयको कुनै तुलना गर्नु पर्दैन |
श्रीमदशंकराचार्यले दर्शनशास्त्रको क्षेत्रमा प्रयोगात्मक "अद्वैतवाद" नामक सिद्धान्तको स्थापना मात्र गरेनन् अपितु यो सिद्धान्तलाई वैश्विकतहमा प्रचारप्रसार गर्न भारतवर्षका चारै कुनामा आचार्यपीठहरूको स्थापना गरेर सनातन धर्मका आधिकारिक विरक्त विद्वानहरूलाई ती गद्दीमा बसाले | यसले गर्दा बौद्धहरूले पुन: सनातन धर्ममा प्रहार गर्न पाएनन् |
केही पश्चिमा र पश्चिमा पोषित विद्वानहरूले आचार्य शङ्करलाई बौद्ध धर्मको विनाशका लागि जिम्मेदार ठानेका छन् | भगवान् बुद्धको मृत्युपछि ठूला विहार खडा गरेर भिक्षु बन्नेहरूको ठूलो भीड भयो | गृहस्थमा बसेर जीविकोपार्जन गर्न भन्दा बौद्ध-भिक्षु बनेर सित्तैमा र सम्मान पूर्वक बाँच्नेहरूको झुण्ड बढेपछि जनताहरू हायलकायल भएका थिए | यो तत्थ्य बौद्ध ग्रन्थहरूमा यत्रतत्र भेटिन्छ | लाखौंलाख भिक्षु भएका महाविहारको चर्चा छ जहाँ भिक्षुहरूले सबै प्रकारका सुविधा सित्तैमा प्राप्त गर्थे |
राजा अशोकको वेलामा बौद्ध भिक्षुहरूलाई दान नदिने ग्रामिणहरूलाई दण्डित गरिन्थ्यो | यस्ता अनेकौं कथाहरू बौद्ध निकायहरूमा प्रष्ट उल्लेख छन् | फलत: लाखौंलाखको सङ्ख्यामा भिक्षुहरू गाउँबाट निस्कंदा तत्कालीन ग्रामिणहरू भोकभोकै मर्ने अवस्था थियो | भिक्षा दिंदा भोकै मरिने, भिक्षा नंदिंदा राजदण्डले सबै लुटिने ! यो सबै कुरा अरवका इतिहासकार तथा शंकराचार्य भन्दा केही समय अगाडी भारतवर्ष घुमेका अल-बरुनीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् |
बौद्ध भिक्षु र शंकराचार्यको मतका सन्यासीहरूको रूपरङ्ग उस्तै देखिने हुँदा शंकराचार्यलाई "नक्कली बौद्ध" भन्ने आरोप लाग्ने गर्छ | तर बुझ्नु पर्ने तत्थ्य के हो भने उपनिषदहरूले नै सन्यास वारे चर्चा गरेका छन् जुन जैन तथा बुद्धभन्दा पहिलेका मानिन्छन् | बरू, बुद्धले भिक्षुको रूप दिंदा वैदिक सन्यासीको नक्कल गरेका थिए र तेस बखत त्यसको विकल्प पनि थिएन |
आजको समयमा बुद्ध र आचार्य शङ्कर इतिहासका विषय हुन् तर गुरुशिष्य परम्परामा दूवै जीवित छन् | फरक एत्ति छ कि आचार्य शङ्करले आरम्भ गरेको अद्वैतवादी धारा एकलरूपमा परावर्तित छ भने बौद्धहरू अनेकौं सम्प्रदाय र उपसम्प्रदायमा विभाजित भएर विश्वभारी फैलिएका छन् | आचार्य शङ्करले शङ्करले "ब्रह्ममात्र"का रूपमा आफु र विश्वलाई पाए जसले सैद्धान्तिक रूपमा बुद्धलाई पनि ब्रह्म नै देख्यो भने बुद्धका अनुयायीहरू बुद्ध भन्दा वाहिरका विविधतालाई स्वीकार गर्न सकेनन् |
आफ्नो ३२ वर्षको छोटो उमेरमा अद्वैतवाद नामक वेदान्तको स्थापना गर्न समर्थ, महान् आचार्य, वैदिक सनातन हिन्दू धर्मका पुनर्जागरण कर्ता विचारक महामना आचार्य शङ्करप्रति हार्दिक नमन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...