Friday, March 6, 2015

धर्म, सद्गुण र कर्तब्य

कर्तब्य कृ-धातुबाट बनेको हो र जसको अर्थ हो ‘गर्नु’ | यसरी कर्तव्यको अर्थ ‘गर्न योग्य कर्म’ हुन्छ | कर्तब्यसंग ‘गरिने छ’को आदर्श हुन्छ | हरेक व्यक्ति फरक हुन्छन् | वातावारण र हुर्काइका आधारमा हरेक व्यक्तिको व्यक्तित्व फरक हुन्छ | चरित्र तथा आचरणका आधारमा व्यक्तिको परिचय बन्छ | मनु लेख्छन् “ देश, काल र पात्रता अर्थात् योग्यताका अनुसार हरेक व्यक्तिको कर्तब्य निधारित हुन्छ | यसरी, देश, काल, वातावरण र परिवेशअनुसारका स्वीकार्य कर्म नै कर्तब्य हुन् | अस्वीकार्य कर्म कर्तब्य होइनन् |

वैदिक-सभ्यतामा सद्गुणहरू नै धर्म हो | हरेक व्यक्तिको चरित्र उसले गरेका कर्मका आधारमा निर्मित हुन्छ | खरावकर्मको त्याग नै असल चरित्र हो | सकल्प पापमय वा पुण्यमय हुन्छन् | असल कर्म पुण्य हो | खराव कर्म पाप हो | असल कर्मबाट सद्गुण निर्मित हुन्छन् | खराव कर्मले दुर्गुण उत्पन्न हुन्छन् | महर्षि पतंजलि पांचप्रकार सद्गुणको चर्चा गर्छन् : अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह | जैनहरूले यिनैलाई पंचब्रत भनेका छन् | पंचब्रतको पालनले मान्छेको चरित्र उन्नत हुन्छ | काम, क्रोध, राग, द्वेष तथा इर्ष्या उपर विजय मिल्छ | मोक्ष प्राप्तिका लागि अधर्मको त्याग र सद्गुणहरूको ग्रहण अनिवार्य हुन्छ |

असलमा, कर्तब्यको जन्म धर्मबाट हुन्छ | यहाँ धर्मको अर्थ ‘रिलिजन’ होइन | असल गुणहरू नै धर्म हुन् | धर्म सिधान्त हो भने कर्तब्य धर्मअनुकुल कर्म | गुरूले शिष्यको अपराध क्षमा गर्छ | यो कर्तब्य हो | धर्मबाट कर्तब्यको जन्म हुन्छ | क्षमा गर्नु, आदर गर्नु असल गुण हुन् | त्यसैले कर्तब्य हुन् | क्रोध गर्नु. हिँसा गर्नु अधर्म हुन् | त्यसैले गर्न नहुने काम हुन् | धर्म शाश्वत, नित्य, निरपेक्ष र असीम हुन्छ भने कर्तब्यहरू परिवर्तनशील, देशकाल सापेक्ष, सीमित र परिस्थितिमा आधारित हुन्छ | असल र कमसलको कसौटीमा जाँचेर कर्तब्य निधारित हुन्छन् | धर्म अनिवार्य हुँदैन तर कर्तब्य अनिवार्य हुन्छन् | धर्मको आफ्नै लागि हुन्छ | कर्तब्यहरू अन्यको लागि पालन गरिन्छन् | असलगुणहरू धर्म हुन् | स्वीकार्य कर्महरू कर्तब्य हुन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...