Monday, March 2, 2015

डा. श्रीबाबुराम भट्टराईलाई मेरो चिठी

श्रीपूर्वप्रधानमन्त्रीज्यु, तपाईं विद्वान हुनुहुन्छ भन्ने सबैले बुझेका छन् तर यो लेखले भनेको कुरा मैले त बुझिन भने सर्वसाधारणले कसरी बुझ्लान् !(http://baburambhattarai.com/content.php?update=418) तपाईंले बाहुनक्षेत्री बाहेकका सबैको लागि नेपालको कित्ताकाट गर्ने विचार राख्नु भएको छ | आफ्नो मातृभाषामा काम कुरा गर्न पाउने जनताको नैसर्गिक अधिकार हो, यस विषयमा कसैले तपाईंको अवधारणाको विरोध गरेको छ जस्तो लाग्दैन | जहाँसम्म बूढाबूढीले कुरा बुझ्न नसकेर मुद्दा हार्छन भन्नु भएको छ, यो कुरा तपाईले 'जातीय द्वन्द'का लागि सृजित गरेको बहस बढी र अन्याय परेका बूधको लागि थोरै हो | अवको नया पुस्तालाई भाषाले रोक्दैन | परमानन्द प्रवृति भएकालाई तपाईका 'भाटा' पनि केही गर्न सक्दैन | तपाईंको विचारमा भाषाको उपयोग लडाई जित्न हुन्छ भने यो तपाईंले अझै पनि जंगल विर्सनु भएको छैन भन्ने कुराको स्पस्ट संकेत हो | म व्यक्तिगत रूपमा बहुभाषिक सामाजिक संरचनाको पक्षमा छु | किनभने म त्यस्तो अभागी व्यक्ति हूँ जसले नेपाली भाषा बाहेक केही जान्दिन |

ल, देशको संघिएता भाषिकआधारमा हुनुपर्छ भन्ने कुरा मानिलिने हो भने पनि काठमाडौं उपत्यकामा टोखा, काठमाडौं, भक्तपुर, ललितपुरमा बोलिने नेवारी भाषा फरक-फरक छ | लिम्वुहरू र राईहरूका भाषिकहरू धेरैले आपसमा बुझ्दैनन् | पर्वतको मगरले खाम मगर जान्दैन, खाम भाषा बोल्ने मगरले पर्वतेली मगर बोलि बुझ्दैनन् | यस्ता हजारौं उदहारण दिन सकिन्छ | अनि, कुन भाषालाई राज्यको आधिकारिक भाषा बनाउनु हुन्छ | एउटा जुन भाषालाई आधिकारिक बनाए पनि द्वन्द त्त निश्चित हुन्छ | तपाईंले हुँदैन भन्दैमा, द्वन्द रोकिन्न | तँपाईंले जातीयता आधारमा संघिएताको कुरा गर्दा सुदूरपश्चिममामा बाहुनक्षेत्रीले बोल्ने भाषाको वारेमा बहस गर्नु भएको छैन, भाषा त उनीहरूको पनि आफ्नै छ | उनीहरूका लागि मातृभाषाका विषयमा तपाईंको मौनताले 'तपाईंहरू जातिवादी नै' हो भन्ने सिद्ध हुन्छ |

क्षमा गर्नुस् तँपाईंहरूको बुद्धिको संचालन जसुवा-प्रोजेक्टले (http://joshuaproject.net/) गरेको छ जस्तो मलाई लाग्छ | यो एउटा विश्वब्यापी इसाईहरूको संजाल हो जसले दक्षिण एसियामा इसाई धर्म फैलाउन जातजाति, भाषा र दलितहरूको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने कार्यदिशा तय गरेको छ | जातजातिका आधारमा परिचय, भाषाको आधारमा सांस्कृतिक पहिचान र हिन्दूजीवनसंग दलितहरूलाई अलग पारेपछि जनताको धर्म परिवर्तन सजिलो हुने यो साइटले स्पस्ट बोलेको छ | तपाईंहरूको कार्यदिशा पनि त्यहीं तिर केन्द्रीत छ |

कार्लमाक्स १७ शताब्दिको अर्थशास्त्री थिए | उनको चिन्तन, अर्थशास्त्रले तत्कालीन युरोपेली समाजको प्रतिनिधित्व गर्छ | उनका ती चिन्तनहरूको नाता नेपाल र नेपालीसंग संग थिएन | उनको अर्थशास्त्र र ज्ञान तात्कालिक युरोपियन अर्थनीतिको विद्रोह थियो | विदेशी भूमिमा विकसित भएको १७ त्रौं शताब्दीको अर्थशास्त्रमा 'अन्धविश्वास' गर्ने तपाईंको धर्मले नेपालको विकास हुँदैन | यो धर्म स्वीकार गरेका विश्वका देशहरूबाट समयले पाखा लगाएको छ | हिन्दूहरूले ई.पूर्वका शताब्दिहरूलाई स्वर्णकाल मान्छन्, मुस्लिमहरू ५ मोहम्मदको समयलाई स्वर्णकाल मान्छन्, इसाईहरू सन्त आगस्ताइनले देखेको सपना 'स्वर्ग-भूमि'लाई स्वर्णकाल ठानेर त्यसै समयको गुणगान गर्छन् | सक्ने भए त्यसैलाई आजको समाजलाई पस्कने थिए होला | तपाईंहरू पनि यिनै धार्मिकसमुहझैँ 'मार्क्स-गुरू'ले प्रतिपादन गरेको १७ त्रौं शताब्दीको युरोपेली धर्म नेपालीहरूला लाद्न आतुर हुनुहुन्छ |

तपाईंहरूले त्यो धर्मलाई केही मोडिफाई गर्नुभएको छ | हिजो मार्क्सले अफिम भनेको इसाई धर्म र तपाईंहरू बीच मुटूको सम्वन्ध जोरिएको छ | धर्महरू त आफैमा रुढीवादी हुन्छन् नै तर तपाईंहरूको धर्म त 'प्रगतिशील रूपमै रुढीग्रस्त' देखिन्छ | तपाईका चिन्तनले जोड्ने होइन तोड्ने परिकल्पना बाहेक केही दिंदैन | 'सर्प र बाहुन संगै देखे बाहुनलाई पहिले मार्नु' भन्ने राइलिम्बुमा प्रचलित उग्रता होस् अथवा एउटा सन्यासी नरहरिनाथले दंगेलीहरूसंग भूमि मागेर जोडेको नेपाल संस्कृत विश्वविद्यालयको विध्वंस गरिएको घटना होस्, तपाईंहरूले जोड्ने प्रयत्न गरेको एउटा पनि उदाहरण छैन |

तपाईले जातीय र भाषिक पहिचानको कुरा उठाउँदा कमसेकम २७-२८ सय वर्ष संगै बसेको अनुभव भएका नेपालीहरूको प्राकृतिक समावेशीपनका आधारमा सम्मानजनक रूपमा तथ्यहरुको उठान गरेको भए तपाईंका विचारहरूमा जतिएता होइन नेपालीहरूको विकासका लागि मदत गर्थ्यो | निरिह गरिव बाहुनका छोराहरूको टुप्पी काट्दा, मन्दिरहरू भत्काउँदा, मुक्तिनाथहरूको हत्या गर्दा एउटा पनि चर्च वा इसाईहरूलाई तपाईंले कुनै कारवाही गर्नु भएन | मुस्लिम र इसाईहरू परम्परागत नेपालका धार्मिक समुदायभन्दा हजारौं गुणा धार्मिक रूपमा असहिष्णु छन् भन्ने तत्थ्य तपाईंहरूबाट लुकेको होला जस्तो लाग्दैन तर पनि यी समुदाय किन धर्मनिरपेक्षताका पक्षमा उभिएका छन् ? भन्ने प्रश्नको जवाफ तपाईंहरूले जति राम्रो अरू कसैले दिन सक्छजस्तो लाग्दैन |

यदि तपाईंहरू नेपालमा जातीय र धार्मिक सद्भाव कायम रहोस भन्ने चाहनुहुन्छ भने ८२% हिन्दू भएको देशमा गाई काटेर खानु पर्छ भन्ने पदमरत्नहरूलाई कारवाही गर्नुस्. हिन्दूहरूलाई देश निकासा दिनुपर्छ भन्ने आन्काजीहरूलाई जातीय सद्भाव बारे प्रसिक्षण दिनुहोस, देशको ८२% जनताको अपमान गर्दै धरान घोषणापत्र (http://www.everesttimes.net/article.php?type=article&aid=663) जारी गर्ने नाराधमहरूलाई कारवाही गर्नुहोस र तिनलाई धन उपलब्ध गराउनेहरूप्रति आवाज निकाल्नुस् | मधेशवादका नाममा आफ्नो गोडा धुवाउनेहरूलाई जनताको कदर गर्न प्रेरित गर्नुस् |

तपाईंहरूले मधेसको अधिकारको कुरा गर्नु भएको छ | राज्यले विभेद गरेका विषयहरू गलत हुन् | यिनको अन्त्य हुनुपर्छ | तर सुदूरपश्चिमको दार्चुला भारतको धार्चुलासंग जोडिएको छ, पिथौरागढसंग जोडिएको छ | त्यहाँका नेपालीहरूको पनि पारि उस्तै सम्वन्ध छ तर तपाईंहरू बोल्नु हुँदैन | तपाईहरूका लागि ऊतर प्रदेश र विहारमा विकसित भएको भाषाको चिन्ता छ तर अझै पनि भारत सरकारको वहिस्कारमा परेको 'उत्तराखण्ड' र सुदूरपश्चिमेली जनताको भाषाको विकासमा तपाईंको बहस छैन | यही तपाईंहरूको व्यक्तिगत स्वार्थ लुकेको छ | जुन स्वार्थलाई नेपाली जनताले घृणा गर्नुपर्छ |

म तपाईंलाई सम्मान गर्छु | तपाईंको यो बौद्धिकता देश र जनताको हित र कल्याणका लागि प्रयोग हुँदा मजस्ता लाखौं जनता तपाईंका प्रसंशक हुनेछन् | तपाईंजस्ता प्रतिभाशाली विद्वानहरूका विचारले देशको भलो हुनुको सट्टा विध्वंस मात्र भएको देख्दा मन पोल्छ | अफ्रिकी नेता नेल्सन मन्डेलाले भनेका थिए 'कुनै पनि डक्टरले खिया लागेको औजार लिएर रोगीको शल्यक्रिया गर्दैन | यदि एस्तो गर्यो भने शल्यक्रिया राम्रै गरेको भए पनि रोगी टिटिनस भएर मर्छ |'' आजका दिनमा तपाईंको हातमा खिया लागेका औजारहरू मात्र छन् जसले उपचारको सट्टा देशवासीमा त्रास, घृणा, द्वेष, अविश्वास र रिसको संचार गर्छ | सुन्ताला खानका लागि सुन्तालाको रूख रोप्न पर्छ, बबूल रोपेर हुँदैन |

मलाई विश्वास तपाईं सहित नेपालका कुनै पनि नेताको नियत खराव छैन | सबैले जनताको विकास र भलो चाहनुहुन्छ | तर तपाईहरूले लिएका विचारहरूमा खिया लागेको छ | तपाईहरूले खिया लागेका विचारहरू बोकेर रोग, गरिवी, अशिक्षाजस्ता समस्याले ग्रस्त भएको नेपालको उपचार गर्न चाहनुहुन्छ | यहीं तपाईं चुक्नु भएको छ | भारतेली, अमेरिकी र युरोपेली बुद्धिले नेपाल वन्दैन | इसाई बुद्द्धिले नेपालको संस्कृति जोगिदैन | जवाहरलाल विश्वविद्यालयको शिक्षाले नेपालको विकासको रोडम्याप दिदैन | नेपालीहरूको रोडम्याप त्रिविवि, नेपाल संस्कृत विबिहरूले नै कोर्नुपर्छ | तर यो कुरा तपाईंहरूले जाने पनि, बुझे पनि जान्न र प्रयोग गर्न चाहनु हुँदैन | त्यो पनि मजस्ता हजारौं नेपालीले बुझेकै कुरा हो | त्यैपनि बोल्नै पर्छ, लेख्नै पर्छ |

मेरो कुराबाट सहमत हुन जरुरी छैन | त्यस्तै तपाईंहरूको विचारसंग असहमत हुनेहरूको अधिकारको सम्मान गर्न नसक्नु तपाईंहरूको 'असहिष्णुता' हो | संविधान बनोस् नबनोस् तर नेपालीहरूको आत्मसम्मान, प्राकृतिक समावेशीपन, हजारौं वर्षको सहअस्तित्व तथा धार्मिक सद्भाव गुम्नुहुदैन | राज्य अन्यायकारी हुनसक्छ, व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसका लागि समाजलाई एकआपसमा शत्रु बनाउने आन्दोलन आत्मघाती हुन्छ | हामी जस्ता जनतालाई संविधानले संघिएता दिए पनि फरक पर्दैन नदिए पनि फरक पर्दैन तर यहाँका जनता बीचको सद्भाव विग्रियो भने त्यसको क्षतिपूर्ति हुनेछैन | संस्कृति गुम्यो भने त्यो पुन: प्राप्त हुनेछैन | त्यसैले जोड्ने राजनीति गरौँ तोड्ने होइन | सबैले (नेपालीले) पत्याउने राजनीति गरौँ र सबैभन्दा महत्वपूर्ण कुरा सक्नुहुन्छ भने आफैले आफैलाई पत्याउने राजनीति गरौँ |
नेपाली जनताको जयहोस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...