Sunday, March 1, 2015

योगी नरहरिनाथलाई सम्झेर

आज नेपालका असली राष्ट्रगुरू, संस्कृतका प्रचण्ड विद्वान, अन्वेषक, पूरातत्वविद्, देशभक्त, वैदिक साम्यवादी, वैदिक संस्कृतिका पुरोधा योगी नरहरिनाथको शतवार्षिकी | माता गौरादेवी र पिता ललित सिंह थापाका सुपुत्र योगी नरहरिनाथ (बलबीर कृष्ण थापा) १७ गते फाल्गुन १९७१ सालमा जुम्लाको कालिकोटमा जन्मे र २९५९ साल फागुन १३ गते काठमाडौँको मृगस्थलीमा समाधिस्थ भए | आज नेपाल प्रज्ञाप्रतिष्ठान र केही संस्थाहरूले उहाँलाई सम्झे | प्राडा चुडामणि बन्धु र प्राज्ञ ज्ञानमणि नेपालले उहाँको विषयमा कार्यपत्र प्रस्तुत गरे |
यो पंक्तिकारले २०५८ मा (महिना याद भएन) उहाँलाई कुपण्डोलमा भेटेको थियो सायद बद्रीविक्रम थापासंग | उहा त्यस बखत विरामी हुनुहुथ्यो र थकित हुनुहुन्थ्यो | उहाँ त्यस वखत एमओवादीले नेपाल संस्कृत विश्वविद्यालय उपर भौतिक आक्रमणबाट ज्यादै दुखि हुनुहुन्थ्यो | उहाँले नेपाल संस्कृत विश्वविद्यालय स्थापना गर्न १४ सय बिघा जमीन स्थानीयहरूलाई जग्गादान गर्न उत्प्रेरित गरेर जोड्नु भै पछि महेन्द्र संस्कृत विश्वविद्यालयलाई दिनुभएको थियो | अर्काको आरिस गर्नेहरूले योगीले शिक्षाप्रति देखाएको यो उदारतालाई कसरी सम्झिन सक्छन् र ?
आफुलाई कार्लमाक्सको कट्टर चेला मान्नेहरूले देशमा विध्वंस बाहेक केही गर्न सकेनन् | आफुले जवाहरलाल विविमा पढेर डाक्टर साब कहलाउनेहरूले एउटा जोगीले जोडेको शिक्षा मन्दिरलाई ध्वस्त पार्न कुनै कसर छोडेनन् अहिले पनि जर्मनीको जूठो विचारमा (मार्क्सवाद) लागेर नेपालीहरूलाई आफ्नै धर्म, संस्कृति र सभ्यताप्रति घृणा फैलाउने काम गरिनै रहेका छन् |
प्राडा जयराज पन्तले सुनाएको एउटा श्लोकमा नरहरिनाथले त्यस बखतका राजालाई सुँगुर भनेर सम्वोधन गरेका रहेछन् | प्रगतिशील भनाउंदाहरूले २०६३ सालमा पनि त्यो काम गर्न सकेनन् | एउटा जोगीले नेपाल भारी घुमेर अहिलेसम्मको प्रमाणित इतिहास लेखे, १२८ कोटी होम गरेर नेपाली जनतालाई आफ्नो धर्म र संस्कृतिप्रति जागरूक बन्न अभिप्रेरित गरे |
२०३७ सालमा राजालाई अपरोक्षरूपमा राज्य छोड्न धम्की दिएपछि उनलाई जेलमा कोचियो | यो घटना छाताकाण्डका रूपमा प्रसिद्ध छ | एस्तो आँट त्यस बखत स्व. विपी कोइरालाले समेत गरेका थिएनन् | यसै रीसमा मृगस्थली स्थित उनको आश्रममा तत्कालीन सरकारले आगो लगाइदिएको थियो | सो आगोमा ३५ वर्षसम्म कठोर परिश्रम गरेर देशका कुनाकुनाबाट खोजेर ल्याएका हजारौं प्राचीन साक्षहरू जलेर खरानी भए | तत्कालीन सरकारले आफ्नै हातले नेपाली इतिहासको हत्या गरेको थियो भन्दा केही फरक पर्दैन | भनिन्छ, उनले संकलन गरेर लेखेको ७२ थान कितावहरू अझै पनि प्रकाशनको प्रतीक्षामा छन् | दुखको कुरा त के भने उनकै अग्रसरतामा स्थापित नेपाल संस्कृत विश्वविद्यालयले समेत उहाँका ती अजेय कृतिहरू छाप्ने काममा अग्रसरता देखाएको छैन |
निहत्ता जनतालाई हतियार र शक्ति देखाएर डाँकुले पनि लुट्न सक्छन् | आफ्नो ज्यान जोगाउन हतियारका अगाडी सबै सम्पत्ति छोड्न जो पनि बाध्य हुन्छ | ओक्सफोर्डमा पढे पनि जवाहरलाल नेहरू विविमा पढे पनि जनताको मन जितेर उनको सहभागितामा विकास कार्य गर्नु (संस्कृत विश्व विद्यालय) गर्नु पो असल काम गर्नु हो | जोगी भएर पनि नरहरिनाथले नेपाललाई जोड्ने प्रयत्न गरे | विश्वविद्यालयहरूबाट विखण्डवाद र विदेशी चिन्तनको प्रभुत्व स्वीकार गरेकाहरूले नरहरिनाथको कुरा कसरी बुझ्न सकून् !!!
नाथ सम्प्रदायका यी कानफटा सन्यासीले १४ बिघा जमीनमा ठूलो आश्रम बनाएर राजसी ठाटसंग बस्न सक्थे तर पूर्वीय धर्म र संस्कृतिको अनुसन्धान गर्न र नेपालीहरूलाई स्वसंस्कृति र साहित्यप्रति अभिरूची जगाउन उनले त्यो सम्पत्ति विविलाई दान दिए | आज देश र जनताको लागि राजनीति गर्नेहरूले यिनै जोगीले जोडेको विद्यालयको सम्पत्तिमा आँखा गाडेको देख्दा अचम्म लाग्छ र उखान सम्झना पनि आउंछ 'वांदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि देख्न सक्दैन' |
योगी नरहरिनाथ बहुआयामिक व्यक्तित्व थिए | उनले नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने कुरामा हरहमेशा जोड दिए | आज पश्चिमा विद्वानहरूले लेखिदिएको इतिहासको आँखाले नेपाल पढ्नेहरूले पनि नरहरिनाथको इतिहासलाई असत्य भन्न सक्ने स्थिति छैन | तर नरहरिनाथको योगदान र त्यागलाई अबमुल्यांकन गरेर इसाईहरूको वर्चस्वलाई स्थापित गर्न ती सक्रिय छन् |
ठकुरी कूलमा जन्मेका नरहरिनाथले एउटा ब्राह्मण कुलमा जन्मेका विद्वान भन्दा बढी सम्मान प्राप्त गरे | नाथको कसैले जाति सोधेन | आज जातिवाद नमान्नेहरूले दलित परिचय दिएर एउटा तबकको जाति पक्का बनाइदिएका छन् भने अन्य जातिहरूलाई पनि जातीय-संकुचनमा धकेलिदिएका छन् | पहिचान खोज्नु र प्राप्त गर्नु सबैको नैसर्गिक अधिकार हो | तर नरहरिनाथ योगीले पूर्वपश्चिम, उत्तरदक्षिण, पहाडहिमाल सबैमा नेपालीपन र आफ्नो गौरव जोगाउन प्रेरणा दिए | कमसेकम ३५ सय वर्ष संगै मिलेर बसेको अनुभव भएका नेपालीहरूलाई 'माक्सवादी दम्भमा फुट्न सिकाए | विदेशबाट जोड्ने नाममा तोड्न सिपालुहरूलाई निम्त्याएर आफु नांगिए |
हिजो तिनले गुरू नरहरिनाथको उपेक्षा गरे भने आज त्यही मृगस्थलीमा थलिएको अवस्थामा रहेका
काले राई भनिने स्वामी प्रपन्नाचार्य पनि इसाईहरूको जूठो चाट्ने 'जूठे'हरूको घोर अवमूल्यन र उपेक्षामा परेका छन् | यी जूठेहरूको काम नै आफ्नोपनका सवालमा बोल्ने, लेख्नेहरूको अवमूल्यन गर्दै विदेशी इतिहास नेपालमा थोपर्नु हो | स्वामी प्रपन्नाचार्य गम्भीर विरामी हुनुहुन्छ | सरकारले आफ्नो लागि खर्च गर्छन् तर देशको लागि काम गर्नेलाई उपेक्षा गर्छन् |
नेपालसंग कुनै पनि नातो नभएका सातसमुद्रपारी जन्मेर आफ्नो देशको तत्कालीन परिस्थितिसंग असहमत भै विद्रोही चिन्तक बनेका जर्मनी विद्वान कार्लमार्क्स, रुसी नेता एंगेल्स र चिनी नेता माओको 'फोटो पूजा गदै हरेक बैठकमा एक मिनट मौन बस्नेहरूले आफ्नै देशका यी सन्तहरूको योगदानलाई सम्झिने छैनन् | इतिहासले रूसबाट स्टालिन र मार्क्सलाई उखेलेर फालेझैँ आफ्नोपन प्रति उपेक्षाको भाव राख्दै विदेशी प्रभुहरूको शरण स्वीकारनेहरूको पनि नेपालको आगामी पुस्ताले उस्तै हविगत गर्ने छ |
शतवार्षिकीको अवसरमा योगी नरहरिनाथ प्रति शतशत नमन र प्रपन्नाचार्यको स्वास्थको कामना गर्छु | सबै नेपालीको कल्याण होस् र विदेशी प्रभुहरूप्रति गोडा टेक्नेहरूको उपेक्षा होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...