Monday, March 2, 2015

१०. एकदेववाद र बहुदेववाद

वैदिक चिन्तनमा एकेश्वर र बहुदेववाद दुवैका छन् | एकेश्वरवादमा एउटा शक्ति (देव वा देवी)लाई प्रमुख तत्वका रूपमा स्वीकार गरिन्छ भने बहुदेववादमा अनेकौ देवदेवीको अस्तित्वमा विश्वास गरिन्छ | वेद, उपनिषद्हरू र पुराणहरूमा दूबैप्रकारका उपासनाहरूको वर्णन छ | व्यक्तिको रूचि र प्राकृतिक गुणअनुसार उसले आफ्नो उपस्य चुन्न सक्छ | अधिकांश ज्ञानवादीहरू एकेश्वरको (ब्रह्म) उपासना गर्छन् भने भक्तिवादीहरू एकै ईश्वरको बहुलरूपको ‘भक्ति’ गर्छन् | जर्मन विद्वान म्याक्समुलरले तेस्रोवाद अर्थात् एकपटकमा एउटा शक्तिलाई ‘प्रमुख’ मान्ने समूह हिन्दूहरूमा उल्लेख गरेका छन् | यसको अर्थ हो – शिवको उपासना गरिरहंदा शिवलाई नैं प्रमुख मान्ने, कृष्णको उपासना गर्दा कृष्णलाई र रामको उपासना गर्दा रामलाई जगतको प्रमुख तत्व मानेर उपासना गर्ने |

वेदहरूले ‘एकोहम् बहुस्याम’, एकम् देवम् सद्विप्रा बहुधा वदन्ति भनेर एकत्वमा अनेकत्वलाई स्वीकार गरेको देखिन्छ | वेदले इन्द्र, उषा, वरुण, अग्नी आदि, सरस्वती आदि देवदेवीहरूको अस्तित्वलाई स्वीकार गरेको छ | यी देवदेवीहरूलाई उपनिषद्ले एकब्रह्म-बहुलका रूपमा ब्याख्या गरेको छ भने पुराणहरूले अवतारवादको अवधारणा अगाडी सारेर ब्रह्मा, विष्णु र शिवतत्वको सिर्जना गरेको छ | देवी-देवताको अनेकत्व र कार्यविभाजन समेत गरेको छ |

वैदिक सनातन धर्मकाअनुसार अद्वैत ब्रह्म नै संसारको मूल तत्व हो | यो मूलतत्वले आफुलाई सृष्टिकार ब्रह्मा, पालनकर्ता विष्णु र संहारक शिवका रूपमा अभिव्यक्त गरेको छ | पुन: यो ब्रह्म नै सरस्वती, लक्ष्मी र पार्वतीका रुपमा (देवीतत्व) विभाजित भएर ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्तिका रूपमा स्थापित भएको छ | इन्द्र, बायु, अग्नी, उषा, यम आदि देवी-देवताहरूले उपरोक्त देवत्रयको अधिनमा रहेर संसारको ब्यबस्था हेर्छन् |
हामी सनातनीहरू मौखिकरूपमा ‘तेत्तीस-करोड’ देवीदेवताको कुरा गर्छौं तर कुनै पनि सनातनधर्मका ग्रन्थहरूले यी तेत्तीस करोड देवीदेवताको नाम दिएको छैन | असलमा, महिलाहरूलाई ‘देवी’ भनेर सम्वोधन गरिने हुँदा यो तत्थ्य लेखिएको हो | दोस्रो कुरा, हामी मान्छेमा देवताको संसारको जनसंख्या गन्न सक्ने क्षमता छैन | त्यही भएर ‘देवता अनन्त’ छन् भनेर आफ्नो शक्तिको सीमिततालाई स्वीकार गरिएको हो |

सनातन धर्ममा अद्वैत ब्रह्मको उपासना गर्ने शंकाराचार्य, विशिष्टअद्वैतका रूपमा भगवानको उपासना गर्ने रामानुजाचार्य, द्वैत-अद्वैतका रूपमा श्रीराधाकृष्णको उपासना गर्ने आचार्य निम्वार्क, द्वैततत्व रूप राधाकृष्ण, सीताराम, लक्ष्मीनारायण आदिको उपासना गर्ने आचार्य मध्व, अचिन्त्य भेदअभेदका रूपमा श्रीकृष्णको आराधना गर्ने वंगाली निमाई पण्डित र शैव-शक्तिका उपासक, बाममार्गका उपासक, गाणपत्य तथा सूर्य, गणपति, कार्तिकेयआदि देव-देवीका उपासना गर्नेहरूका वीचमा आफ्नो मतको सैद्धान्तिक प्रभुत्व स्थापित गर्ने द्वन्द भए पनि एकअर्कालाई सम्मान छ | उपासनापद्यति र उपासना स्थलप्रति पूर्णसम्मान छ | सबैले सबैको सम्मान गर्छन् | शंकराचार्यका शिष्यहरू आफ्नो मतमा विश्वास छन् तर आचार्य रामानुजको उपासना पद्यतिसंग उनीहरूको ब्यबहारिक द्वन्द छैन | रामानुजाचार्यका शिष्यहरू लक्ष्मीनारायणका उपासक भए पनि आचार्य निम्वार्कका उपास्य राधाकृष्णको अर्चना-आराधना गर्न कुनै समस्या छैन | अझै सरल शब्दमा भन्ने हो भने देवीका उपासकहरू शिवका मन्दिरमा जान्छन्, शिवका उपासकहरू विष्णुको आराधना गर्छन् | एस्तो सुन्दरता र सहकार्यको सुन्दरतम तारतम्यका विषयमा यहुदी, इसाई र मुस्लिमहरू सोच्नसम्म सक्दैनन् |

वैदिकसनातन धर्मले हरेक व्यक्तिलाई आफ्नो इष्टदेव/देवी चुन्न पूर्णस्वतन्त्रता दिन्छ | त्यति मात्रै होइन, कुनै देवी-देवता नमाने पनि हिन्दू रहन स्वतन्त्रता प्रदान गर्छ | मन्दिर जाने/नजाने, पूजा गर्ने/नगर्ने, ईश्वर मान्ने/नमान्ने यहा सम्म कि समग्र हिन्दू सभ्यता र आस्थामा अनास्था राख्ने पनि हिन्दू नै रहन सक्छन् | एस्तो मानवीय स्वतन्त्रता विश्वको कुनै धर्मले दिन सक्दैन | त्यसैले होला, आजभोली पाश्चात्य क्रिश्चियन धर्मगुरूहरू ‘’संसारका मानिसहरू हिन्दू हुदैछन् | संसार चाडै नै हिन्दूहरूले भरिने छ |’’ यी कथनहरूको अर्थ हो वैचारिक र आस्थागत स्वतन्त्रताको विस्तार | जुन स्वतन्त्रता हिन्दूहरूमा प्राकृतिक रूप मै विद्यमान छ |

यसरी न हिन्दूहरू आस्तिक छन् न नास्तिक छन् | यिनको मूल गन्तब्य परमसत्य हो | हो, हिन्दूहरूले मानवता, संसार कल्याण र समग्र प्राणी जगतमात्र होइन पशु तथा प्राकृतिक जगतप्रति पनि आफ्नो आस्था, प्रेम र सद्भावना व्यक्त गर्छ | यो तत्थ्य बुझ्न हिन्दू ग्रन्थहरू पढ्नु पर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...