Wednesday, March 11, 2015

असली सल्लाहकार र धर्म

जीवनमा सबैभन्दा सजिलो अर्कोलाई 'सल्लाह' दिनु रहेछ | काम, क्रोध. लोभ. मोह, ममता, प्रेम. घृणाआदि मानसिक संवेदनहरू सबैमा हुन्छन् | प्रसिद्ध दार्शनिक सुकरात लेख्न्छन् 'यदि कसैले मलाई उपरोक्त विषयहरू प्रभाव पार्दैन भन्छ भने कि त त्यो देवता हो अथवा संसारको सबैभन्दा झूटो मानिस हो |'' जीवनमा प्रेम र घृणा, रीस र राग, अहंकार र त्याग जोडिएर आएका हुन्छन् | बुद्धका विचारमा अतिप्रेम वा अतिघृणा दूबै हुनुहुँदैन | अतिअहंकार होस् वा अतित्याग दूबैमा बन्धन हुन्छ | जोजति पाखण्डी हुन्छ त्यो त्यति नै ठूलो सल्लाहकार हुन्छ | नेपालको धर्मसंस्कृति, राजनीति, शिक्षानीति, प्रशासनतन्त्र यस्तै सल्लाहकारहरूबाट आक्रान्त छ | 

धेरैजसो पण्डित, साधु-महात्माहरूका लागि नकारात्मक संवेगहरूको आलोचना गर्नु निकै प्रिय विषय रहेको हुन्छ | उनीहरू हरहमेशा काम, क्रोध, लोभ, मोह आदिलाई जीवनको सबैभन्दा नकारात्मक र हानीकारक विषयका रूपमा प्रस्तुत गरिरहेका हुन्छन् | यौन पाप हो, क्रोध नर्कको द्वार हो, लोभले कसैको कल्याण गर्दैन आदिआदि | गीतामा पनि भगवान श्रीकृष्णले काम, क्रोधआदिलाई नर्कको द्वार भनेर सावधान गर्नुभएको छ तर उहाँले यिनलाई त्याग्नु भनेर तोक्नु भएको छैन |

यौनजन्य क्रियाकलाप गर्नु पाप हो भनेर उपदेश दिनेले के आफैले 'काम'मा नियन्त्रण गरेको छ ? क्रोध गर्नु पाप हो भनेर अर्कोलाई उपदेश दिने आफैले क्रोध गर्छ कि गर्दैन ? त्याग नै महान कार्य हो र दान गर्ने त्यागी हुन् भन्ने आफैमा कति त्यागी वा दानी छ ? यी विषयहरू जहिले पनि ओझेलमा परेको देखिन्छ | ब्यबहारिक जीवनमा 'काम'को निन्दा गरेर प्रवचन गर्नेहरू सबैभन्दा बढी स्त्री/पुरुष लम्पट, दानको महत्व बखान गर्नेहरू प्रथमश्रेणीका लोभी-संग्रही र क्रोध गर्नु हुँदैन भन्नेहरू नै रिसको पोकोका रूपमा हुन्छन् |

वाचालहरू राम्रो प्रवचनकार हुन्छन् | मान्छेहरू उनीहरूको मीठो र तर्कपूर्ण कुराहरू सुनेर लट्ठ पर्छन् | सरल र सहज भएकोले 'बोली'मा विश्वास गर्छन् | सजिलै विश्वास गर्नेहरू सहज, सरल, निष्पाप र पक्षपात रहित हुने सम्भावना बढी हुन्छ | यस्ता विश्वासीहरू आज्ञापालक र कर्तब्यपारायण हुन्छन् | क्रोध त्याग भनेर उपदेश दिनेहरूको क्रोधको ज्वालालाई सहजमा पिउन सक्छन् | काम त्यागको उपदेश दिनेहरूको यौनहिँसामा पर्न सक्छन् | त्यागको महत्व सुनेर दान दिएर उपदेशकको जीवनशैलीलाई 'विलासी' बन्न सघाऊछन् | वाचालहरूले गर्न सक्ने यही हो |

अधिकांश कमसल धर्मगुरूहरू र वेश्याहरू अभिनय गरेर अरूलाई प्रभावित पार्ने काममा कुशल हुन्छन् | वेश्याहरू आफ्नो यौवन देखाएर आफ्ना ग्राहकलाई आफूतिर आकर्षित गर्छन् भने धर्मगुरूहरू आफ्नो बाचालता र धार्मिकताको अभिनय गरेर अरूलाई स्वेच्छाले त्याग गर्न हौस्याउछन् | यी पाखण्डहरू एतिविध्न प्रभावकारी हुन्छन् कि गुमाउनेले आफ्नो सबैथोक (शरीर) समेत गुमाउँदा पनि गौरव गर्छ | अरूलाई समेत गुमाउन प्रेरित गर्छ |

असली कुरा बुझेका धर्मगुरू र साधुसन्तले त्यागको उपदेश दिन्छन् | उनी स्वयं पनि त्यागी नै हुन्छन् | जीवन सहज हुन्छ, सरल हुन्छ, दयालु हुन्छ, परोपकारी हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा घटनाशून्य हुन्छ | उनीहरूका लागि उपदेश गर्नु वा सल्लाह दिनुभन्दा पनि आफ्नो कर्मबाट अरूलाई प्रेरित गर्नु महत्वपूर्ण हुन्छ | रिसाहाले रिस त्यागको उपदेश त दिन सक्छन् तर त्यो उपदेशले काम गर्दैन | कामीले काम त्यागको उपदेश त दिन सक्छन् तर तिनका चारैतिर काम-वासनाको साम्राज्य हुन्छ | असलमा, यस्ता गुरूहरूको पेशा (ब्यापार) नै उपदेश दिएर धनार्जन गर्नु हुन्छ |

अहिले हिन्दू-समाज उपदेशक वा सल्लाहकारहरूले पिडित छ | धर्मको नाममा आफ्नो 'दूनो-सोझो' पार्नेहरूका कारण किम्कर्तब्य बिमूढ़ छ | धर्मगुरूहरू, राजनेताहरू, शिक्षकहरू, सामाजिक कार्यक्रताहरू उपदेशकका रूपमा क्रियाशील छन् | धर्मगुरूहरू समाजलाई आध्यात्मिक र नैतिकताको ब्यबहारिक शिक्षा दिनुको साटो 'विलासी जीवनशैली प्राप्त गर्न' राजनैतिक, आर्थिक र प्रशासनिक शक्तिहरूलाई प्रभावित गर्न ब्यस्त छन् | ठूला-ठूला धार्मिक योजनाका नाममा आफ्नो जस बढाउने र 'गोडा पूज्ने वर्ग'को उत्पादनमा लागि रहेका छन् | यस्ता वेशधारीहरूका वरिपरी ब्यापारी, राजनीतिज्ञ तथा प्रशाशनिक शक्तिहरूको ठूलो दलवल देखिन्छ |

परस्पर स्वार्थ भएका राजनैतिक, आर्थिक र प्रशासनिक शक्तिले यी गुरूहरूको आश्रमलाई 'मिलन-चौतारी'का रूपमा प्रयोग गर्छन् | बाबाहरूले समस्या समाधानकारीका रूपमा सहजकर्ताको कार्यगरिरहेका हुन्छन् | जतिजति स्वार्थी समुहका समस्याहरू समाधान हुन्छन्,त्यतित्यति नै बाबाहरूका लागि तिनको 'थैली' खुल्छ | बाबाहरूका आश्रम थपिन्छन्, विलासिताका साधनहरू सघन हुन्छन् र 'ढोग्ने'हरूको भीड बढ्छ | अनि, त्यागको 'मोडेल' बन्न पर्ने गुरूहरू 'संग्रही'का मोडेल बन्दछन् | आश्रममा प्राप्त हुने आधुनिक विलासिताका सामग्रीका आधारमा गुरूहरूको स्तर निर्धारण हुँदै गर्दा सनातन धर्मको आत्मा समेत मरिसकेको हुन्छ | त्याग, तपस्या, सेवा, धृति, दम, अस्तेयजस्ता धर्मका व्यहारिक पक्षहरूको आश्रममा 'चिहान' बन्छ | आश्रममा जानेआउनेहरूले 'धार्मिक-चिहान'मा पुगेर श्रद्धाञ्जली अर्पित गर्छन् |

सनातन धर्ममा गुरूलाई 'ब्रह्मा, विष्णु र महेश्वर'को स्थानमा राखिएको छ | यसको सरल अर्थ हो - गुरूहरूको मुख्य कर्तब्य सत्यको पक्षलाई जस्ताको तस्तै प्रस्तुत गर्नुहो | असली धर्मगुरूले त्यागको उपदेश गर्नुपर्छ त्यसैले उनीहरू त्यागमय जीवन व्यतित गर्छन् | दानको अर्थ बुझाउन महर्षि दधिचीले शरीरको दान गरे | ज्ञानको महत्व बुझाउन ऋषिहरूले कुनै 'कपिराइट'को कल्पना गरेनन् | धेरै गुरूहरूले बनमा बसेर अत्यन्त कष्टकर जीवन व्यतीत गरे | सत्यका पक्षधरहरूको आफ्नो कुनै स्वार्थ हुँदैन | विश्वमित्र, वशिष्ठ आदि सप्तऋषिहरूले आश्रम बनाएन् | घरगृहस्थी त्यागको नाटक मंचन गरेनन् |

असलीहरूको पहिचान उनीहरूको 'असलीपन' हो | नक्कलीहरूको पहिचान तिनले कमाएका आश्रमहरू, शिष्यहरू र बिलासितापूर्ण जीवनशैली हो | तिनको जीवनशैलीको पहिचान तिनका वरिपरी बस्ने/आउनेहरूसंग प्रस्ट हुन्छ | तर पनि बाह्यआवरणका आधारमा कुनै सन्तको अवमूल्यन गर्नु अनुपयुक्त हुन्छ | सन्तको निन्दा भन्दा पनि पाखण्डीको निन्दा गरिनुपर्छ | सबैलाई एकै 'घान'मा हालेर पिस्न मिल्दैन | सबै सल्लाहकारहरू खराव हुँदैनन् | भागवतमा भनिएको छ 'शरीरको सानो भागमा देखिने महारोगले सम्पूर्ण शरीरलाई नै कलंकित पार्छ | असललाई नमन र खरावहरूलाई दमन गर्नुपर्छ |

ढोंगी सल्लाहकारसंग जोगिनुपर्छ | सन्तको वेशमा 'मध्यस्थता' गर्नेहरूसंग सावधान हुनुपर्छ | ठूलो, धनी, सुविधा सम्पन्न आश्रमले धर्मको प्रतिनिधित्व नगरेको पनि हुनसक्छ | सुविधा, बैभव र ठूलोपनमा सरलता,सहजता, त्याग, तपस्या, सत्यनिष्ठा, परोपकार त्यागजस्ता धर्मको अभाव हुने बढी सम्भावना हुन्छ | विलासितापूर्ण जीवनशैली र त्याग नितान्त विरोधी विषय हुन् | सनातन वैदिक हिन्दू धर्मका रक्षकहरूमा विलासिताप्रति होइन त्याग, तपस्या र बलिदान र मोक्षप्रति बढी आकर्षण हुन्छ | यी सल्लाहकार कम र मोडेल बढी हुँदा पूजनीय, अनुकरणीय हुन्छन् | धर्मरक्षाको भारी यिनकै काँधमा हुन्छ |
एतोधर्म: ततो: जय: ||

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...