Sunday, March 1, 2015

बलमिचाई नेपाली सभ्यता....

पोहोरको दशैँ | सबै दशैंको टीका थाप्न व्यस्त | हरेक वर्षझैँ यस वर्ष पनि दलित परिवारका सदस्यहरू मेरो घरमा टीका थाप्न आये | ती मध्ये एकजना केटीले टीका थाप्न मानिनन् | मलाई अचम्म लाग्यो | तिनको नाम सीता थियो उमेर १४-१५ | मैले सोधें - सीता टीका किन न लगाउने ? उनले भनिन् : मैले क्रिस्तान धर्म लिएँ | क्रिस्तानले टीका लगाउन हुन्न रे !! 'अनि तिमी यहाँ किन आएको त ?उनी केही बोलिनन् | मैले कोट्याएँ | उनले लाज मान्दै बोलिन् 'सर ले टीका नलगाउनु तर दक्षिणा लिन हुन्छ भन्नु भएको छ | प्रसाद भनेर दिए नखानु तर त्यसै दिए खान हुन्छ !! 'तिमीलाई अरू के भने सर ले ? मैले फेरी सोधें | 'कोटको देवीथानमा पूजा गर्नु हुन्न रे, अनि देवीदेउता 'शैतान' हुन्छन् र तिनको पूजा गर्ने मानिसहरू पापी हुन्छन् र मरेपछि नर्कको आगोमा बाल्नुपर्छ रे ? फेरी, मैले सोधें 'शैतान के हो ? तिनले अलिकति झस्किदै भनिन् 'यिनै देबी देउता र यो कुरा पवित्र कितावमा लेखिएको छ रे !!मूर्ति र मन्दिर शैतानका घर हुन् | तिनलाई मान्न हुन्न रे !!!

मेरा एकजना क्रिस्तान मित्रले एक दिन आफ्नो घरमा आउन बडो कर गरे | शनिवारका दिन तिनको घर गएँ | घरमा शनिवारमा गरिने प्रार्थना सभा रहेछ | २० जना जति क्रिस्तानहरू त्यहाँ रहेछन् | सबैजसोले 'गवाही' बयान गरे | सबैजसोले क्रिस्तान ग्रहण गरेपछि आफु ठूलो विरामीबाट मुक्त भएको, ऋणबाट मुक्ति मिलेको, नोकरी लागेको, रक्सी र लागुपदार्थको लतबाट मुक्ति पाएको, 'शैतानहरू'को जालबाट छुटेको र हिन्दू हुँदाका 'कू-संस्कारहरू'बाट मुक्ति पाएको अनुभव सुनाए | मेरो लागि 'प्रार्थना गरे : ....लाई आफ्नो 'संगतिमा बोलाऊ, दुखबाट मुक्ति देऊ इत्यादि इत्यादि | प्रार्थना कोठाको भित्तामा सगरमाथाको चित्र कोरिएको थियो र त्यसउपर क्रसको चिन्हमा लेखिएको थियो 'जिजस सगरमाथा तिमीलाई' !!! रातभरि ती मित्रले मलाई 'क्रिश्चियन' महान् छन् र क्रिश्चियन बाहुल्य भएका पाश्चात्य मूलुकहरू धनि, विकसित र प्रभाबशाली हुनुमा 'क्रिश्चियानिटी''जिम्मेदार रहेको बताए | मैले सुने मात्र, प्रश्न गर्नु आवश्यक ठानिन |

सरकारी कामका सिलसिलामा म भारतको मथुरा जानु पर्ने भयो | मैले मेरो 'क्रिश्चियन' हाकिमलाई सहयोग गर्नु थियो | तिन दिनको यात्रा गरेर मथुरा पुग्यों | तीन दिनको प्रवासमा मैले धेरैजसो धार्मिकस्थलको भ्रमण गरें तर ती मित्र होटेलको कोठाबाट पनि बाहिर निस्केनन् | मैले भने 'सर, धार्मिक प्रयोजनका लागि नभए पनि पुरातात्विक बस्तुहरूका रूपमा त यो थलो महत्वपूर्ण छ किनभने यहाँ कनिष्क कालीन मूर्तिहरूको बेजोड संग्रहालय र श्रीकृष्ण कालीन सुन्दर मन्दिरहरू दर्शनीय छन् | उनको जवाफ थियो 'यी सबै कुरालाई हाम्रो धर्मले स्वीकार गर्दैन | पूरातात्विकरूप मै किन नहोस्, हाम्रो लागि यस्ता 'अधार्मिकस्थान'हरूको भ्रमण गर्नु उचित हुन्न | यसमा म कुनै कम्प्रोमाइज' गर्न सक्दिन |' अनि मैले कहिल्यै कर गरिन |

उपरोक्त घटनाहरू काल्पनिकजस्तो भए पनि मेरो जीवनमा घटेका हुन् | नेपालमा लगभग चारसय'क्रिश्चियन मिशनरी'हरू सामाजिक सेवाको खोल ओढेर नेपाली जनताको आस्था परिवर्तन गर्न लागि परेका छन् | यो सिलसीला २०६२ सालको राजनैतिक परिवर्तनपछि ह्वात्तै बढेको हो | आज, माओवादीका प्रमुख नेताहरू र तिनका श्रीमतीहरू समेत क्रिश्चियन बनेर नेपालीहरूको आस्था परिवर्तनमा लागि परेका छन् भने ५७ क्रिश्चियन सम्प्रदायहरू मध्ये नेपालमा क्याथोलिक, प्रोस्टेस्टेन्ट, यहोवाका साक्षी, म्याथोडिस्ट, टेन्थ डे, शान्ति सेना जस्ता लगभग १४ थरिका यहाँ क्रियाशील छन् | यी सबैको एउटै लक्ष छ :नेपालीहरूको परम्परागत आस्थापरिवर्तन गरी नेपाललाई क्रिश्चियन राष्ट्र बनाउनु !! नेपालीहरू सोझा छन्, भावुक छन्, सबैका देवीदेउता र आस्थालाई आदर गर्नुपर्छ भन्ने सभ्यतामा हुर्किएका छन् | गरीव र अशिक्षित पनि छन् | तिनको आस्था परिवर्तन गर्नु सजिलो छ - गरिवी र अशिक्षाका कारणले | धनि देशको धाक, सेतो छाला, बाइबलको किताव र धर्मनिरपेक्षताको आवरणमा नेपालीहरूको आस्था परिवर्तन गरिरहेका छन् | आस्था परिवर्तनको यो फोहोरी खेलमा नेपाली राजनैतिक नेताहरूको आशिर्वाद छ | गाउँगाउँमा सीताजस्ता अनेकौं बालबालिका र अन्य समुदायलाई लोभ र जालझेल गरेर आस्था परिवर्तनको जालमा तानिदै छ |

एक अनुमानअनुसार नेपालमा हाल सातलाख क्रिश्चियन जनसंख्या लगभग सातहजार ‘चर्च’मा आवद्ध रहेका छन् | एक जान पंचायत कालीन प्रधानमन्त्री र राजा ज्ञानेन्द्रले भारतबाट निम्त्याएर मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका ‘तुलसी गिरी’ क्रिश्चियन मतलाम्बी थिए भने हाल बाबुराम भट्टराई सरकरका समाज कल्याणमन्त्री एकनाथ ढकाल क्रिश्चियन हुन् | एउटा कोरियाली नव क्रिश्चियन सम्प्रदायको नेपाल अध्यक्ष समेत रहेका ढकाल ‘नेपाल परिवार दल’ नामक राजनीतिक दलको समेत अध्यक्ष हुन् | राजाकालीन मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदा तुलसी गिरीले राजकीय कार्यमा कम र पन्थगत (क्रिश्चियन) गतिविधिमा संलग्न रहेको समाचारझैँ एकनाथ ढकाल पनि आफ्नो मन्त्रालयलाई समेत ‘क्रिश्चियानिटी’को ‘फेवर’मा संचालन गर्ने गरेको समाचार प्रकाशित भएको छ | मन्त्रीका रुपमा उनको मुख्यकार्य सरकारी र नागरिक समाजका वरिष्ट व्यक्तिहरूलाई प्रभावमा ल्याएर ‘पान्थिक प्रचार’लाई गति दिने रहेको छ | यसको मुख्य उद्देश्य ‘सर्वसाधारण नेपालीको परम्परागत आस्थामा भ्रम सृजना गरी आस्था परिवर्तन गर्ने वातावरण निर्माण’ गर्नु रहेको देखिन्छ |

यस्तै, नेपालको सबै भन्दा जेठो ‘यूनाइटेड मिशन टू नेपाल’ समाज सेवाका नाममा आस्था परिवर्तनमा लागेको कुरा कसैबाट लुकेको छैन भने वर्ल्ड भिजन नेपाल, स्वयम् सेवक नेपाल, वर्ड लुथरन नेपाल, सन्त जेवियर कलेज र सन्त मेरिस स्कूल जस्ता संस्थाहरू संगठित रूपमा नेपालीहरूको परम्परागत आस्था परिवर्तन गर्न लागि रहेका छन् | यी कुनै पनि संस्थाको उच्चतहमा काम गर्न ‘क्रिश्चियन’ हुनै पर्छ भने नीतिनिर्मातातहमा सन्त जेभियरमा ‘भारतीय’ र अन्यमा ‘गोरा’हरूको हालिमुहाली चल्छ | नेपालमा कार्यरत यी क्रिश्चियन संस्थाहरूका एजेण्डाको पहिलो मन्त्र ‘नेपाली संस्कृति र सभ्यतालाई समाप्त पार’ रहेको छ | जसको पुष्टी विगत ५० वर्षबाट नेपाली समाजलाई शिक्षित गरिरहेको दावी गर्ने सन्त जेभीयर स्कूल र कलेजलाई लिन सकिन्छ | २०६२ सम्म माइतीघर र जाउलाखेलस्थित जेभीयर स्कूल र कलेजमा सबै धर्मलाई सम्मान गर्ने एउटा ‘प्रतीक’ सबैले देख्ने गरी उभिएको हुन्थ्यो | अहिले त्यो हटेको छ |कुनै पनि सामाजिक वा राजनैतिक संस्थाहरूले यस वारे प्रश्न उठाएका छैनन् | वि.स. २०६२ सालपछिको परिवर्तनले नेपाली समाजलाई केही देओस् अथवा नदेओस् तर धर्मनिरपेक्षताको छद्मआवरणमा र केही वामपन्थी भनाउँदा राजनैतिकदलहरूको मिलोमतोमा बहुराष्ट्रिय क्रिश्चियन संस्थाहरूलाई ‘नेपाली परम्परागत आस्था परिवर्तन’ गर्ने सुनौलो अवसर अवस्य दिएको छ |

मैले आस्था परिवर्तनको कुरा उठाइरहेको बखतमा तथाकथित ‘धर्मनिरपेक्षतावादीहरू’ले मलाई ‘क्रिश्चियन बिरोधि र धार्मिक सद्भाव बिथोल्न क्रियाशील, राजावादी भन्ने आरोप लाग्न सक्छ | यस्तो आरोप लागउने अधिकांस व्यक्तिहरू ‘सन्त जेभीयर’ कै ‘प्रोडक्ट’ हुनेछन् | के तिनले नेपाली जनतालाई वताउन सक्छन् कि २०६२ ‘जेभीयर’ले आफ्नो लोगो किन फेर्नु पर्यो र ‘यूनाइटेड मिशन टू नेपाल’का गैर-क्रिश्चियनहरूले किन रोजगार पाउदैन ? के कुनै ‘नागरिक समाजका अगुवाहरूले मलाई ‘तुलसी गिरी वा एकनाथ ढकाल ‘हिन्दू वा बौद्ध सांस्कृतिक’ कार्यक्रममा किन जान्दैनन् वा जेभीयर कलेज, ‘यूनाइटेड मिशन टू नेपाल’ नेपाल वा अन्य नेपालमा क्रियाशील ‘क्रिश्चियन अस्थावाल’ संस्था र तिनका अगुवाहरूले दशैँतिहारका अवसरमा ‘शुभकामना’सम्म किन दिँदैनन् ? भन्ने कुरा मलाई बुझाउन सक्छन् !!! अहँ, त्यसो गर्न सक्दैनन् | किनभने यसो गर्दा एकनाथ ढकालको लगानीमा विदेश शयर गर्ने र पाचतारे होटलमा ‘डिनर खाने अवसरहरू गुम्नेछन् |

मेरो जीवनकालमा कुनै पनि नेपाली अथवा भारतीय क्रिश्चियनले ‘धार्मिक एकताको लागि पहल गरेको वा आफु बाहेकको आस्था-समुहसंग सहकार्य गरेको’ मलाई जानकारी छैन | हिन्दूनेताहरू क्रिश्चियनका धार्मिक आयोजनाहरूमा जान्छन्, मुस्लिम धार्मिक आयोजनामा जान्छन्, तिनको अधिकार संरक्षणका लागि ‘काम गर्ने’ वचन दिन्छन् तर उनीहरूको उपस्थितिले निम्त्याएको ‘आस्था पलायन र सांस्कृतिक बिनाश’को कुरा भूलेर पनि बोलिमा ल्याउन्नन् !! नेपाली भूमिलाई ‘सांकृतिक पर्यटन र धार्मिक पर्यटनको मूल थलो’ बनाउनु पर्छ भन्नेहरूले नेपालमा मन्दिर, गुम्बा, चैत्य, लुम्बिनी र पशुपतिजस्ता धार्मिकस्थलहरूलाई ‘चर्च’मा रूपान्तरित गरेपछि कस्ता पर्यटकहरू भित्र्याउने हुन् ? उनीहरूलाई नै सोध्नुपर्छ | क्रिश्चियनहरूले १८रौँ शताब्दिको अन्त्यसम्म आस्था र सांस्कृतिक परिवर्तनको विनाशकारी कृत्य तलवार र बाइबलका साथ गर्दथे भने अहिले पैसा र छालाका आधारमा गर्छन् | यस्तो विनाशकारी कृत्यलाई ‘धार्मिक स्वतन्त्रता’को जामा पहिर्याएर पाश्चात्य मूलुकहरूले समर्थन गर्छन् |

मैले एउटा कुरा यहाँ उल्लेख गर्नै पर्छ, जहाँजहाँ क्रिश्चियानिटी र इस्लामको विकास भएको छ, त्यहाँबाट परम्परागत संस्कृति र सभ्यताहरू जरैदेखि उखेलिएका छन् | सुकरातकालीन सभ्यता ग्रीसबाट र जोरस्त्रोस्त कालीन सभ्यता ईरानबाट बिलुप्त भएको इतिहासप्रति विश्वले बुझेको छ | अहिले आधिभंदा बढी पाश्चात्य जनसंख्या नास्तिक छ र भौतिकवादमा विश्वास गर्छ | १६ शताब्दितिर बाट पोपवाद बिरुद्ध बौद्धिक जागरण सुरु भए एता ग्रीस, पोर्चुगल, योरोपेलीहरूले आफ्नो प्राचीन साँस्कृतिक धरोहरहरू खोज्ने प्रयत्न गरे | तर दुर्भाग्यको कुरा, उनीहरूका हातमा केही लिखित साहित्य मात्रै फेला परे, सभ्यताका चिन्हहरू लगभग विलुप्तभै सकेका थिए | त्यहाँ पनि नेपालमा झैँ मन्दिर, बिहार, चैत्य, चालचलन, भाषा, प्रथा र संस्कृति थिए | ती सबै क्रिश्चियन र मुस्लिमहरूले गरेको आस्थापरिवर्तनको ‘भेलमा’ भागेर नासिए | ‘प्रभूको संदेश फैलिंदै जाँदा, विधर्मीहरूका आस्था, मूर्ति, मन्दिर र साहित्यहरू स्वभाविक रूपले मर्ने छन् | मन्दिरमा मण्डलिका सदस्यहरूले ‘प्रभुको प्रशंसा गरिरहेको’ सुसमाचार टाढा छैन | प्रभूको सुसमाचारले ‘शैतानले तयार पारेका मन्दिर र मूर्तिहरू तिनको सभ्यताका साथ नाशिने निश्चित छ’ - आफ्नो लक्ष बारे क्रिश्चियन धर्मगुरु रोवर्ट किंगले लेखेका छन् |

क्रिश्चियनहरूको धार्मिकआस्था नै अन्य आस्थाहरूका लागि असहिष्णु छ | उनीहरूको आस्थामा मूर्तिपूजा, मन्दिर स्थापना जस्ता क्रियाहरूलाई ‘शैतानको जाल’ भनेर सम्बोधन गरिएको छ भने यस्ता बस्तुहरूको विनाश गर्नुलाई ‘पवित्र कर्तब्य’ मानिएको छ | नेपाल मन्दिर, चैत्य र गुम्बासंग जोडिएको आस्थाबाट अभिपूरित देश हो | नेपालबाट मन्दिर, गुम्बा, चैत्य, थान, देवीदेउराली, मस्टो, दशैतिहार, होली, लाखे र जातजातिका साँस्कृतिक मान्यतालाई हटाइदिने हो भने नेपाल नै रहन्न | समस्या आस्था परिवर्तनले निम्त्याउने साँस्कृतिक विनाश को हो | जव कुनै नेपाली आस्था परिवर्तन गरेर क्रिश्चियन बन्छ, उसलाई मन्दिर, गुम्वा, संस्कृति र चालचलनप्रति घृणा गर्न सिकाइन्छ | उनीहरूलाई दशैतिहारजस्ता नेपाली चाडवाड मनाउन वा तिनमा सम्मिलित हुनबाट रोकिन्छ | ‘तिमी गुम्बामा गयौ भने शैतानले घेर्ने छ’ भनेर सांस्कतिक विरासतबाट अलग्याइन्छ | हामी मध्ये कसैले पनि ‘नव दीक्षित क्रिश्चियन’लाई दशैँतिहार, ह्लोसार, ब्रतबन्ध, बिबाह, धार्मिककार्यमा सम्मिलित भएको देख्न सक्दैनौ – यही नै आस्था परिवर्तन र स्भ्यतागत विचलन हो |

दूर्भाग्यको कुरा के भने – नेपाली जातीय नेताहरू समेत आस्था परिवर्तनको यो खेलका गोटी बनेका छन् | अहिले सबैभन्दा बढी आस्था परिवर्तन गर्नेहरू ‘मङ्गोल’ समुदायका मानिसहरू छन् र दोस्रोमा हिमाली भेकका ‘भोटे’हरू | गाउँकागाउँ ‘भोटेहरू’ क्रिश्चियन बनिरहेका छन् तर नेताहरू ‘हिन्दूधर्म’लाई आफ्नो पूरातन संस्कृति अपहरण गरेको भनेर सत्तेसराप गरिरहेका छन् | यहाँसम्म कि आदिवासीजनजातिको अनुसन्धानका लागि भनेर सरकारी अनुदानमा छापिएका पुस्तकहरूमा समेत यस्तो ‘भ्रम’ पस्किएको छ | श्यामसुन्दर शेर्पा, गणेश गुरुङ, चैतन्य सुब्बा जस्ता प्राज्ञिक व्यक्तित्व र पृथ्वी सुब्बा, अशोक राई जस्ता राजनैतिक नेतासमेत जानेर वा नजानेर ‘सांस्कृतिक-विनाशका मतियार’ बन्न पुगेका छन् | मलाई लाग्छ, यी नेताहरूको पहिलो पहल वा कर्तब्य ‘आस्था परिवर्तनको माकुरे जालोबाट’ आफ्नो समुदायलाई जोगाउनु हुन्छ | नत्र हिन्दीको एउटा उखान चरितार्थ हुने छ : पछ्ताये क्या होत है चिडिया चुंगगई खेत’ !!!!

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...