Friday, March 6, 2015

वेदले भन्छ

वेदले भन्छ : धर्म ईश्वरले बनाएका हुन् | मान्छेले धर्म बनाउन सक्दैन | मान्छेले पानी बनाउन सक्दैन | पानीको चीसोपन पनि बनाउन सक्दैन | धर्मको अर्थ मूलगुण हो | मान्छेको धर्म हो – विवेक | मान्छेले राम्रो नराम्रो छुट्याउछ | शुभ-अशुभको फरक बुझ्दछन् | पाप-पुण्यको विवेक गर्दछ | स्वर्ग-नर्कको विचार पुर्याउँछ | धर्म-अधर्मको विचार मान्छेले गर्ने हो |

मान्छे सृष्टिको अमूल्य पुष्प हो | अनेकौं जन्मको पुण्यले मान्छे भइन्छ | असंख्य जन्मको पुण्यले मान्छे भइन्छ | पुण्यकर्मको फल मान्छेको योनि हो | भागवत भन्छ, धेरै जन्मको प्रयासले मान्छेको जन्म मिल्छ | देउताहरू पनि मान्छे बन्न चाहन्छन् | कुनै पनि जीवले मान्छे नवनि मोक्ष पाउन सक्दैन | मुक्तिका लागि मान्छे बन्नैपर्छ | देवताहरूले सुख भोग्छन् | वेदले तोकेको काम गर्छन् | पुण्यको फल सकिएपछि पुन: संसारमा फर्किन्छन् | देउताहरू स्वर्गबाट फर्केपछि मान्छे बन्छन् |

मान्छेको योनि धर्मको फल हो | अधर्मी जीव मान्छे बन्दैन | अधर्मले तल्लोस्तरको जीवन मिल्छ | वेदले भन्छ, मनुष्य जीवन मोक्षको ढोका हो | देवताहरू मान्छे बन्छन् वा ८३ लाख ९९ हजार ९९ योनि पछि मान्छे बन्ने अवसर ईश्वरले प्रदान गर्छन् | मान्छेको जन्म पुण्यको फल हो | जन्मदा मान्छे पापी हुँदैन | पाप वा पुण्य कर्मले कमाउने हो | असल कर्म गर्नेहरू स्वर्ग जान्छन् | खराव कर्मले नर्क परिन्छ | सांख्य दर्शन भन्छ, स्वर्ग र नर्क यहीं छ | दुख: नर्क हो | सुख स्वर्ग हो | अधर्मपूर्वक आर्जन गर्ने सुखले नर्क लैजान्छ | शास्त्रीय विधानअनुसार प्राप्त गरेको सुखले स्वर्ग लैजान्छ |

वेदले भन्छ, मनुष्य जन्म धर्मको परिणाम हो | जीव आफैमा धर्मी वा अधर्मी हुँदैन | जीव अनन्त छन् | जीव ईश्वररीय लोकमा निवास गर्छ | जीव र ईश्वरको निवास स्थानमा फरक छैन | जीवलाई संसार भोग्न मन लाग्छ | यही यही इच्छाले अनन्त जीव प्राणी बन्छ | प्राणी बनेपछि उसलाई संसारले ढाक्छ | उसले आफ्नो मूल स्वरूप बिर्सन्छ | अनि, उ संसारको बन्धनमा पर्छ | संसारको बन्धनले उसमा विभेद-बुद्धिको विकास हुन्छ | उसले संसारलाई आफ्नो नित्यलाई नित्य मान्छ | संसारीसंग नाता गाँस्छ | नाताले संसारप्रति मोह सृजित हुन्छ | मोहले काम-वासना बढ्छ | काम-वासनाले क्रोधको विकास हुन्छ | क्रोधले द्वन्दको सिर्जना गर्छ | द्वन्द नकारात्मकता को विकास हुन्छ | आफ्नोपन र आफ्नाहरूप्रतिको मोहले बुद्धि विग्रन्छ | विवेकहिनताले मृत्यु अर्थात् अन्धविश्वासको विकास हुन्छ | यही नै पापको मूलकारण बन्छ |

जीवको सिर्जना ईश्वरले गरेको हो | एकोहम् बहुस्याम – एक्लो ईश्वरले आफुलाई धेरै बनाएको हो | मान्छेमा पनि सबै ईश्वरीय गुणहरू छन् | जीव ईश्वरको अंश हो | ईश्वर समुद्र हो | मान्छे समुद्रको एउटा बूँद | थोपामा समुद्रका सबै गुण हुन्छन् | एउटा थोपा रगतबाट सबै रोग जाच्न सकिन्छ | रगतले शरीरको प्रतिनिधित्व गर्छ | ईश्वर र मान्छेमा रगतको नाता छ | ईश्वरका सबै गुणहरू सूक्ष्मरूपमा मान्छेमा विद्यमान छ | मान्छे आध्यात्मिक प्राणी हो | मान्छे आध्यात्मिकताको सम्भावना हो | मान्छे ईश्वर पनि हुन सक्छ | मान्छे दानव पनि हुन सक्छ | मान्छे मानिस पनि रहन सक्छ | मान्छेले आफुलाई जेपनि बनाउन सक्छ |

कर्मले मान्छेलाई ईश्वर बनाउँछ, कर्मले मान्छेलाई दानव वा शैतान | असल कर्मले स्वर्गको ढोका खोल्छ | नैतिकतापूर्ण जीवनले मोक्षको मार्ग प्रसस्त गर्छ | मानिसले बन्धनसंग घृणा गर्छ | जीवले बन्धन रुचाउँदैन | जीव प्राकृतिक रूपमा बन्धनरहित सृजना हो | त्यसैले हरेक मान्छे स्वतन्त्रता खोज्दछ | स्वतन्त्रताप्राप्त गर्नु मान्छेको मौलिकता हो | संसारी मानवले खोज्ने स्वतन्त्रता मुक्ति, मोक्ष वा निर्वाणको छायाँ हो | मान्छेको अन्तिम लक्ष स्वतन्त्रता हो अर्थात् मोक्ष हो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...