Friday, March 6, 2015

के मान्छे पापसंग जन्मिन्छ ?

मान्छेलाई ‘पाप’को संवाहक मान्नेहरू मूर्ख हुन् | पवित्र तथा दयालु ईश्वरले ‘दास’हरूको सृजना गर्न सक्दैन | ‘जन्मदै मान्छे पापी हुन्छ’ भन्नेहरूले आजीवन पापमय जीवन व्यतीत गर्छन् | दासत्वपूर्ण जीवनलाई धर्म ठान्छन् | ज्ञानलाई ‘पहिलोपाप’का रूपमा बुझ्दछन् | मान्छे पवित्र ईश्वरको पवित्र सृजना हो | पवित्र, दयालु र करुणामय ईश्वरले आफ्नो सृजनालाई माया गर्छ | उसंग अनन्त प्रेम गर्छ | असल कर्म गर्ने प्रेरणा दिन्छ | एस्तो प्रेरणाहरू वेदमा लेखिएका छन् | प्रेरणाहरू स्वीकार गर्न/नगर्न मान्छे स्वतन्त्र छ | पापमय कर्म गर्नेहरूले पनि कर्मफल भोगेपछि पुन: धर्मकर्म गर्ने अवसर प्राप्त गर्छन् | मान्छेको चोलामा उसले पुन: असल कर्म गरेर मोक्ष प्राप्त गर्न सक्छ | ईश्वरले जीवलाई पुन:पुन: अवसर दिनुहुन्छ | गल्तिका लागि क्षमा गर्न नसक्ने ईश्वर कसाई हो | आफ्नो सृजनालाई अनन्त नर्कमा जाक्ने ईश्वर शैतान हो |

धर्म सद्गुण हो | सद्गुणहरू धार्मिकताको पहिचान हो | धार्मिकतामा डर हुँदैन | धार्मिकतामा कर हुँदैन | धार्मिकतामा झगडा हुँदैन | धार्मिकहरू दयालु ईश्वरका सन्तान हुन् | हिन्दू धर्म हो | हिन्दूहरू धार्मिक हुन् | उनीहरूका लागि मोक्षको बाटो हमेशा खुला छ | करोडौं जन्मपछि होस् – धार्मिकहरूले मोक्ष प्राप्त गर्ने निश्चित छ | हरेक मान्छेले मोक्ष प्राप्त गर्छन् | नर्कहरू अस्थायी हुन् | स्वर्ग अर्थात् ईश्वरको समिपता मान्छेको अन्तिम गन्तब्य हो | दयालु ईश्वरले सबैलाई आफ्नो निकट चाहन्छ | हरेक जीवमा ईश्वरीय निवास देख्नु मानवीयता हो | हरेक प्राणीलाई आध्यात्मिक उत्स्का रूपमा चिन्नु धार्मिकता हो |

केही विकसित भनाउँदा धर्महरू आजको मानिस पापसंग जन्मेको हो र उसले जिससमा विश्वास नगरी मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर सर्वसाधारणलाई भ्रमित पार्ने काम गरिरहेका छन् | बाइबलको यो भनाइ गलत हो | कुनै पनि मानिस पापसंग जन्मिदैन | पाप र पुण्य यहीं कमाउने हो | जस्तो कमाउँछ उस्तै भोग्छ | वैदिकशास्त्रहरूले मानव जीवनलाई पुण्यको फल भनेका छन् | भागवत भन्छ - धेरै जन्मको फल जम्मा भएर मानिसको जन्म मिल्छ |  मानिसले कर्म गर्नुपर्छ | शास्त्रले बोलेको कर्म गर्नुपर्छ | बन्धनमा नपार्ने कर्म गर्नुपर्छ | एउटा बालक पापी हुनै सक्दैन | आधुनिक न्यायले पनि बालबालिकालाई दण्ड दिदैनन् |

हो, मानिसले गरेका कर्मले अर्को जन्म निर्धारित गर्छ | पापीले नर्क भोग्छन् |  असल कर्म गर्ने स्वर्ग जान्छन् | बाइबलले पनि असल कर्मको कुरा गर्छ | असल कर्म नगर्ने तर जिससलाई मान्नेहरू स्वर्ग जालान् त ! त्यही भएर मान्छे पापी छ भन्नु बाइबलको गल्ती हो | यो फोस्रो गफ हो |

हामी (हिन्दू)हरू धर्मका सन्तान हौँ | हाम्रो धार्मिकता प्राकृतिक हो | पन्थको अन्धविश्वासमा फस्नेहरूले धार्मिकता गुमाउँछ | धार्मिकता गुमाउनेहरूले मोक्ष प्राप्त गर्न सक्दैनन् | मोक्ष प्राप्तिको लागि हामीले धार्मिकता स्वीकार गर्नुपर्छ | धार्मिक हुनुको अर्थ – वेदमा विश्वास गर्नु हो | ज्ञानिले मोक्ष प्राप्त गर्छन् भनेर जान्नु हो | आत्माको, परमात्माको अस्तित्वमा विश्वास गर्नु हो | आत्माको अमरतामा आस्था राख्नु हो | परमात्मा डर होइन, ज्ञान हो | ईश्वर बाध्यता होइन, विधान हो | कर्म योग्यता हो | योग्यताप्राप्त व्यक्तिले मोक्ष प्राप्त गर्छन् – यही धार्मिकता हो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...