Saturday, October 8, 2022

हिमवत्खण्ड संचेतना प्रसंग

पहिलोपटक जरोकिलो महाभियानले "हिमवत्खण्ड सचेतना दिवस" घोषणा गर्दा धेरै नेपालीहरूले स्वागत गरेका थिए भने केही भारतीय मिडियाहरूले आलोचना पनि गरेका थिए | श्रीस्कन्दमहापुराण एउटा ठूलो हिस्सा "हिमवतखण्ड"लाई सधैं लुकाउने भारतीय प्रेस (संस्कृतका विद्वान्)लाई चुनौति दिंदै योगी नरहरिनाथले हिमवतखण्डको खोज र प्रकाशन गरेका थिए | यसो गर्दा नेपालको गौरव उजागर हुँदा निकै पीडा भएको थियो भने अहिले हिमवतखण्डका विषयमा चर्चपरिचर्चा र दिवसनै मनाउन लाग्दा झन् पीडा थपिएको छ |

हिमवतखण्ड" कुनै कल्पित विषय होइन | स्कन्दपुराणमा वेदव्यासले नेपालको गौरव गाथा गाएको विषय हो | कसैले रीस गर्दैमा सत्य परिवर्तित हुन सक्दैन | शालीग्रामका अभावमा जसरी कुनै पनि मन्दिरको (शिव शक्ति मन्दिर बाहेक) ले पूर्णता प्राप्त गर्न सक्दैन तेसैगरी हिमवतखण्डका अभावमा भारतवर्ष असम्भव हुन्छ | मुक्तिनाथ क्षेत्रमा भरत राजाले तपस्या नगरेको भए, ऋषभ देवले त्यही क्षेत्रमा साधना नगरेको भए, हिमवतखण्डको गण्डकी क्षेत्रमा व्यासले साधना गरेर पुराणहरू नलेखेको भए भारतवर्ष अधुरो रहन्थ्यो |
श्रीमद्भागवतको पाचौं स्कन्धमा भरतखण्डमा जन्म ग्रहण गर्नका लागि देवताहरू लालायित हुन्छन् भनिएको छ | भरतखण्डको भनेको नै गण्डकी प्रश्रवण क्षेत्र हो भने हिमवतखण्ड सम्पूर्ण हालको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानसहित तिब्बती क्षेत्रमा फैलिएको हिमाली क्षेत्र हो | खासगरी, पर्वत (पर्वतपुत्री पार्वतीको पैत्रिक थलो भएकोले) हिमवतखण्डको मूलधार हो भन्न मिल्छ | शक्तिका साधकहरूले यो तत्थ्य बुझ्नुपर्छ |
हिमवतखण्डको गौरव गाथा वेदव्यासले आरम्भ गरेका थिए | यसको महत्वलाई राष्ट्रसन्त नरहरिनाथले चिने, यसै परम्परामा जरोकिलो महाभियानलाई एउटा अवसरका रूपमा स्थापित गरेर सम्पूर्ण हिमवतखण्डका निवासीहरूलाई आत्मगौरव गर्न आह्वान गरेको हो र यो आह्वान केवल जरोकिलोको हो भनेर बुझ्नु अर्धसत्य हुने छ किनभने यो आह्वान ती सबै व्यक्ति, समुदाय, जातजातिआदि सबैको हो जो यस क्षेत्रका स्थायी निवासी हुन् वा यहाँबाट बसाइसरेर विश्वका कुनामा रहेका होउन |
अर्कोकुरा हिमवतखण्डको महत्व आजका राजनैतिक नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान सबैका लागि उत्तिकै छ | हो, धर्मपरिवर्तनका कारण केही देशहरूले आफ्नो जरोकिलो गुमाएका छन् तर हिमवतखण्ड सचेतना दिवसले उनीहरूलाई हिमवतखण्डसंग जोडिन मदत गर्छ | संस्कृतका आदिकवि कालिदासले "हिमालयो नाम नगाधिराज" भन्दै हिमवतखण्डलाई भारतवर्षको राजा नै भनेका छन् र यो हिमालयको राजा सगरमाथा कहाँ छ ? मैले उल्लेख गर्नु नपर्ला |
राष्ट्रहरू निर्माण हुन्छन् र विघटन हुन्छन् - यो मानव समाजको एउटा नियमित प्रक्रिया हो तर हिमवतखण्डको गौरव लगभग अखण्ड छ | बर्तमान नेपालले हिमवतखण्डका धेरैजसो महत्वपूर्ण इतिहासलाई समेटेको छ | वैदिक संस्कृतिको आधारक्षेत्रका रूपमा विश्वभरी वैदिक ज्ञान, विज्ञान तथा संस्कृतिको विस्तारका लागि हिमवतखण्डका निवासीहरूले अग्रसरता ग्रहण गर्नुपर्छ | अहिलेको समय नेपालीहरूका लागि सबैभन्दा उपयुक्त छ किनभने विश्वले अत्यन्त तीब्रतर रूपमा आ-आफ्नो संस्कृति फैलाईरहेको छ | विभिन्न संचारमध्यमहरूको प्रयोग गरेर हिमवतखण्डको गौरव बढाउने काम गर्दा नेपालको गौरव बढ्छ |
समय सधैं एउटा रहन्न | कुनै वेला सनातन धर्मको ( हिन्दू) थलो रहेको अफगानिस्तान र पाकिस्तान मुस्लिम बनेका छन् भने थाइल्याण्ड, कम्बोडियाले बौद्ध धर्म अपनाएका छन् | हामीले नेतृत्व लिएर ठीकठीक तवरले अवसरको उपयोग गर्न सक्यौं भने पुन: यी सबै देशहरूले हिमवतखण्डका प्राचीन गौरवहरूलाई पुन: प्राप्त गर्न सक्ने छन् |
विश्वको जुनसुकै राष्ट्रमा जन्मेको मान्छेले आफ्नो मातृभूमि प्रति गर्व गर्छ र यसो गर्नु उसको अधिकार र कर्तव्य दूवै हो | नेपालीहरूले यस्तो संस्कार क्रमशः गुमाउंदै छौँ | राजनीतिमा, शिक्षामा, संस्कृतिमा तथा मानसिक चेतनामा समेत नक्कलीलाई असली ठान्ने भ्रम बढिरहेको छ | विश्वको जुनसुकै धर्म, संस्कृति, भाषा, जातजतिको सम्मान गर्नुपर्छ भन्ने आदेश ऋषिमुनिहरूले दिएकै छन् तर आफ्नोपन छोडेर कुनै पनि व्यक्ति वा राष्ट्र महान् हुन सक्दैन | नयाँ कुराहरूप्रति चासो हुनु स्वभाविक हो तर आत्मसम्मानमा आधात गर्ने विषयहरूप्रति आलोचनात्मक दृष्टिकोण हुनैपर्छ | अन्यथा नेपाल नामको सभ्यताहरूको, संस्कृतिहरूको गुरूको गुरूता लोप हुनसक्छ | हिमवतखण्डको अभियानले आफ्नो मौलिकता प्रति समालोचनात्मक दृष्टिकोणको विकास गर्दै आत्मगौरवतिर उत्प्रेरित गर्छ |
हिमवतखण्डका हरेक उत्तराधिकारीलाई जोड्ने (विश्वको जुनसुकै कुनामा भए पनि) यो दिवसलाई स्वत:स्फूर्त रूपमा अंगिकार गरौँ र अंगिकार गर्न अभिप्रेरित गरौँ | हिमवतखण्डका उत्तराधिकारीले उत्तराधिकार स्वीकार नगरे कसले गर्ने ? हिमवतखण्डका सचेतना दिवसप्रति गौरव गरौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...