Saturday, October 1, 2022

पशुबलि र शास्त्र

पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ | आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ | बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेले आलोचना गर्नु आवश्यक छैन | शास्त्रहरुले पशुबलि र विशुद्ध सात्विक दूवै प्रकारका विधानहरूलाई मान्यता दिएका छन् | वैदिक सनातन धर्मको विशेषता हो कि हरेक व्यक्तिले आफ्नो परम्पराअनुसार ईश्वरको आराधना गरेर स्वर्ग वा पुण्य प्राप्ति गर्न सक्छन् | पशुबलि विधानको मूलमा "शक्ति" प्राप्तिको लक्ष रहेको थियो भन्ने तत्थ्य शास्त्रहरूले यत्रतत्र बोलेको हुँदा स्थापित परम्परा नै मान्नुपर्छ | विगतमा पशुबलि र अहिंसकको विवाद थिएन तर विकासेहरूले मलजल गरेका कारण "बलि" विवादको विषय बन्ने गरेको छ |

जवजव दशैं आउँछ, विकासेहरू अहिंसाको वकालत गर्छन् | यो नेपालको मौलिकताउपर ठाडो प्रहार हो | किनभने यी विकासेहरू बकरीदका दिन लाखौं पशुको हत्या हुँदा चुइक्कसम्म बोल्दैनन् | दशैंको वेलामा तथाकथित विकासे (होटल होटल चहारेर विभिन्न मासुका परिकार खाने) ले पशुबलिको विरोध गरेको देखिन्छ | तेसैगरी केही "अहिंसा"को प्रबर्धन गर्ने नाममा बलि विरुद्ध उग्रता प्रदर्शन गर्छन् | जव शास्त्रले पशुबलि युक्त र पशुबलिरहित दूवै पूजाआजाको व्यबस्था गरिदिएको छ भने एकअर्काको आलोचना गर्नुको साटो आफ्नो कुल परम्पराअनुसार पूजाआजा सम्पन्न गर्नेतिर ध्यान दिनुपर्छ | वैदिक सनातनीहरूनै गूट बनाएर पक्ष-विपक्षमा उभिंदा तेस्रो पक्ष अर्थात् विकासेहरू र धर्मपरिवर्तन गराउने पक्षचाहिं निकै मजबूत भैरहेका छन् भन्ने हेक्का राख्नुपर्छ |

पशुबलिका पक्षमा शास्त्रीय उदहारण पढौं - एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये । घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।। शतमर्धशतं वापि तदर्धं वा यथेच्छया । सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।। निर्णयसिन्धु, पृ. २३५ को यो श्लोकले पशुबलिको समर्थन गरेको छ भने मनुस्मृतिमा पनि बलिको पक्षमा श्लोकहरू छन् | यसैगरी शिव महापुराणको रुद्रसंहिता २ को खण्ड ५ को अध्याय छ मा प्रष्टसंग "एकाभिन्नक्षिते जीवं त्रैलोक्ये रक्षितं भवेत् | घातिते घातितं तद्वतस्माद्रक्षेन्न घातयेत् - अर्थात् एउटा जीवको रक्षा गर्नुभनेको त्रिलोकका जीवहरूको रक्षा गर्नु हो र एउटा जीवको हत्या गर्नु भनेको तीनलोकको हत्या गर्नु हो तेसैले जीवहत्या गर्नु हुँदैन | यी दूवै बचन शास्त्रकै हुन् | आफ्नो अनुकुल व्याख्या गर्नुहुँदैन | दूवै श्लोकको लक्ष स्वपरम्पराअनुसार आ-आफ्नो रितिरिवाजको पालना गर्नुपर्छ भन्ने मात्र हो |

व्याबहारिक दृष्टिकोणले विचार गर्दा १००% अहिंसात्मक तथा १००% हिंसात्मक दूवै पूजापद्धति असम्भव विषय हुन् | जो अहिंसाका पथमा छन्, उनीहरूले अहिंसाको पक्षमा कुरा गर्दा पशुबलिको परम्परा भएकाहरू आक्रोशित हुनुपर्दैन र पशुबलिको परम्परा भएकाले पशुबलि दिंदा पशुबलिको परम्परा नभएकाहरू आक्रोशित हुनु पर्दैन | बरू, दूवै पक्षले एकअर्काको आलोचना वा प्रत्यालोचना नगरी कन आ-आफ्नो शास्त्रीय मर्यादा रितिरिवाज (शास्त्रसहित) उल्लेख गर्दा सर्वसाधारणले आफ्नो प्रकृतिअनुसार निर्णय गर्न पाउँछन् |

म आफै जन्मजात शाकाहारी हुँ तर म शाकाहारी हुँ भन्दैमा शास्त्रले प्रष्ट रूपमा उल्लेख गरेका पशुबलिका तत्थ्यहरूलाई नकार्न सक्दिन | नेपालका गाउँगाउँका कोटहरूमा तथा देवीका मन्दिरहरूमा पशुबलिको वास्तविकतालाई नकार्न सक्दिन | शाक्त र स्मार्त परम्परामा पशुबलिको शास्त्रीय विधान उपलब्ध छन् | तान्त्रिक विधानमा पशुबलिलाई अनिवार्य भनिएको छ भने प्राचीन इतिहासमा समेत राजाहरूले शक्ति प्राप्त गर्न पशुबलि यहाँसम्म कि शक्ति प्राप्त गर्न आत्मबलि समेत दिएका प्रसस्त इतिहास छन् |

एति हुँदाहुँदै पनि कलियुगी मान्छेले पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानको पूर्ण पालना गर्न नसक्ने हुँदा पशुबलि प्रत्युत्पादक हुन सक्छ | शास्त्रहरूले जिव्रोको स्वादका लागि, रमाइलोका लागि पशुबलिको विधान पटक्कै गरेको होइन | यदि पशुबलि दिंदैगर्दा मनको कुनै कुनामा "मासुको स्वाद" जोडियो भने तेसले जीवलाई नर्कमा लैजाने छ | कलियुगमा पशुबलि दिनु भनेको तलवारको धारमा हिड्नु सरह हुन्छ भन्ने बुझ्नेहरूको कल्याण हुन्छ |

शास्त्रहरूले जुन कडा विधान बनाएर पशुबलि स्वीकृत गरेको छ, कलियुगी मनुवाले ती नियमहरू पालन गर्दै पशुबलि दिन्छन् भन्ने तत्थ्यमा निकै शङ्का गर्न सकिन्छ | आजको सन्दर्भमा बलि दिनुनै पर्छ भने मनभित्र रहेको लोभ, लालच, भ्रष्ट्राचार, अनाचारआदिको दिनुपर्छ | भगवती दुर्गामा दुर्भावहरूको बलि दिएर बरू मासुचाहिं पसलबाट किनेर प्रयोग गर्न सकिन्छ | पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानहरू, रीतहरू तथा पद्धतिहरू पुर्याउन सकिएन भने नर्कमा जाकिने वा अशान्तिको कारण बन्न सक्नेछ | एउटा मात्रा विग्रंदा इन्द्रले वृत्त्रासुर मार्न सफल भए भने विधाननै बिग्रियो भने पशुबलिदाताको के हविगत होला ? विचार गर्नुपर्छ |

दशैंतिहार हामी सबै नेपालीको साझा चाड हो | हिन्दूहरूको मात्र भनेर कित्ताकाट गर्नेहरू बैचारारिक रूपमा अपरिपक्व वा कसैका "गोठाला" हुन् | आ-आफ्नो कुल परम्पराअनुसार पूर्ण स्वामित्वका साथ दशैं मानौं, मनाओं तर कसैसंग जवर्जस्ती नगरौं | त्यो भन्दा पनि महत्वपूर्ण यदि तपाईंका छिमेकी गरिवीका कारण खुशीबाट बंचित हुँदैछन् भने उहाँलाई सक्दो सहयोग गरौँ | उहाँहरूको खुसीले हामी सबैको जीवन अझैं सुखले भरिने छ |

स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...