Saturday, October 29, 2022

कर्म तथा कर्मफल

कर्म र कर्मफल यी दूवै भौतिक यथार्थ हुन् | मान्छे गरेको कर्मअनुसार फल प्राप्त गर्छ | शिक्षकले बालबालिकालाई पढाउँछ | एउटा निजामति कर्मचारीले आफ्नो ओहदाअनुसार काम गर्छ | एउटा व्यापारीले व्यापार गर्छ - सबैले आ-आफ्नो कर्मअनुसार फल प्राप्त गर्छन् | शास्त्रहरूले यो जन्ममा बासनापूर्वक गरिएका कर्मको फल आगामी जन्महरूमा प्राप्त हुन्छ र ती कर्मको फल जीवले भोग्नैपर्छ भनेका छन् | कसैले विश्वास गर्दैमा वा नगर्दैमा आगोको पोल्ने काम, विषको विषालुपन नष्ट हुँदैनन् | कर्म र कर्मफल भौतिक यथार्थ हो भने कर्मफलको प्रवाह पनि त्यतिनै यथार्थ हो | कर्म नगर्ने होइन तर कर्म गर्दा ज्ञान, भक्ति तथा वैदिक आदेशहरू पालन गर्ने हो | वैदिक आदेशहरू विपरित, पूर्ण वासनाले युक्त भएर र विना भगवानलाई समर्पित गरिने हरेक कर्मले वर्तमान र अर्को जन्मका लागि इधन तयार गरिरहेका हुन्छन् |


शास्त्रहरूकाअनुसार हरेक जीवले आफ्नो कर्मको फल भोग्नैपर्छ | केवल भक्ति, ज्ञान र वैदिक आदेशहरूको विनम्रअनुयायी बनेर गरिएका कर्महरूले कर्मफल उत्पादन गर्दैनन् | विचारणीय विषय के हो भने निष्कर्म हुनका लागि पनि कर्म गर्नेपर्छ तर ती कर्मले फल उत्पन्न नगर्ने हुँदा निर्दोष हुन्छन्, सरल हुन्छन् र विफल हुन्छन् | यहाँ विफलको अर्थ - मोक्ष प्राप्ति नै हो किनभने फल र विफल दूवैबाट उपर मोक्ष वा भगवानको प्राप्ति हो | महाराज भरतले असल कर्म गरेका थिए तर असलकर्मको पनि वासना हुनुहुँदैन | मृगको रक्षा गर्नु उचित थियो तर मृगसावकप्रतिको वासनाले उनी जडभरत बनेर मृत्युको नजिक पुगे | साधक तथा तपस्वीको साधना खेरा जाँदैन | देवी दुर्गाले जडभरतको तपोबलको सम्मान गर्दै उहाँलाई मृत्युबाट जोगाइन् | यसको मूल मर्म थियो - जडभरतका कुनै पनि कर्म फलउत्पादन गर्नका लागि सकामभावले सम्पादन गरिएका थिएनन् |

संचित, क्रियमाण, प्रारब्ध तथा आगम - यी चारप्रकारका कर्मका विषयमा शास्त्रले चर्चा गरेको छ | संचित कर्मको अर्थ हो - ब्यांक ब्यालेन्स जुन तपाईंको अधिकारमा हुन्छ र प्रयोग गर्ने पर्ने हुन्छ | क्रियमाणको अर्थ हो अहिले यो जीवनमा गरिदै आएका र भविष्यमा गरिने कर्महरू | क्रियमाण कर्महरूमा अकर्म र विकर्म पर्न सक्ने सम्भावना हुन्छ | भाग्यले प्राप्त कर्महरूमा ग्रहदोषआदि पर्छन् भने आगम कर्मको अर्थ हो - शास्त्रअनुसार फलको इच्छा गरेर शास्त्र विधानअनुसार नै गरिएका कर्महरू | यी कर्महरू मध्ये केवल क्रियमाण कर्महरू गर्दा कर्ताले स्वविवेकको प्रयोग गरेर निष्कामकर्मको अभ्यास गर्न सक्छ र धर्मपूर्वक काम र अर्थको प्रयोग गरेर मोक्ष प्राप्त गर्न सक्छ | मोक्षको अर्थ हो - पुन: कर्म र तेसका परिणामहरूको अन्त्य | केही महापुरुषहरूले जीवनमुक्त भएर लोककल्याणका खातिर कर्म गरेको पनि पढ्न सकिन्छ |

जव व्यक्तिले साधना र भगवानको कृपा प्रसाद प्राप्त गरेर कामना, बासना तथा चाहनाहरूको अन्त्य गर्छ, उ आप्तकाम हुन्छ | उसका सम्पूर्ण कर्म र कर्मआसयहरू नष्ट भएका हुन्छन् | भगवानको भक्तिका कारण उसका कर्मबीजहरू सधैंका लागि नष्ट भएका हुन्छन् | जसरी बालबालिकाको चित्त निर्दोष हुन्छ, जसरी एउटा भक्तकको मन सबैका लागि समान हुन्छ तेसैगरी कर्महरूको चक्र विनाश भएपछि व्यक्ति शुभअशुभ, लाभहानी, मानअपमानबाट मुक्त हुन्छ | सम्पूर्ण विश्वलाई आफुभित्र प्रतिबिम्बित गरेपछि कोही कसैको शत्रु रहन सक्दैन |

मैले धेरै पटक अनुभव गरेको छु कि झट्ट सुन्दा यो सर्वसाधारण व्यक्तिका लागि असम्भवजस्तो लाग्छ तर सर्वसाधारणको मन "धनिमानी"भन्दा वासना, कामना र चाहनाहरू निकै कम हुन्छन् | धन र मानका साथ चाहना र कामनाहरू भारी पनि संगै आउँछ | जतिधेरै धन र मानको भारी बढ्दैजान्छ तेतितेति बासनाहरू पनि बढ्दै जान्छन् | जतिजति मान्छे धनि हुँदै जान्छ, तेतितेति उसका आवश्यताहरू बढिरहेका हुन्छन् | धन र मान कमाएर पनि तिनको "धर्म"मा उपयोग गर्न सक्नेहरू बढी आनन्दित, सुखी र सरल हुन्छन् | मान्छे निर्दोष हुन सक्छ, बासनारहित, चाहनारहित तथा कामनारहित हुन सक्छ | मैले धेरै पटक अनुभव गरेको छु र मेरा चाहनाहरू, बासनाहरू तथा कामनाहरू निरन्तर न्यून हुँदैगरेको साक्षी बनिरहेको छ | म जतिजति शास्त्रहरूको अध्ययन गर्नु, मेरो चित्त त्यतिनै निर्दोष र बासना रहित हुँदैछ |

स्वस्त्यस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...