Sunday, October 23, 2022

पुराणहरूको आधुनिक सन्दर्भ

१. आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसंग विद्रोह गरे एताको समयावधि जनाउँछ | नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ | आधुनिकताको सवाल र अर्थ विद्वानहरूले आ-आफ्नो समझअनुसार गर्छन् | तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वस्त्थ्यको कल्याणकारी व्यबस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार तथा मानवतावादी चिन्तनको विकाससंग जोडेर हेर्ने गरिन्छ | यस बाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ - निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसंग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र पश्चिमा संस्कृति, सभ्यता तथा संस्कारहरूप्रति प्रशंसाको दृष्टिकोण राख्नुलाई पनि बुझ्ने गरिन्छ | यहाँ आधुनिकतावादी नेपालीहरूले नबुझेको तत्थ्य के हो भने पाश्चात्य सभ्यताले पनि "पुराण"का विभिन्न चरण पार गरेर नै यहाँ आएका हुन् | हो, उनको लेखनशैली, व्यबहार गर्ने शैली र बुझ्ने/बुझाउने शैली यहाँको भन्दा फरक थियो |

२. पुराणको अर्थ नै इतिहासका विषय र ज्ञानविज्ञानका विषयवस्तुहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गरिने परम्परा हो | संस्कृत व्याकरणअनुसार पुराण शब्द 'पूरा भव' अर्थमा ट्यु प्रत्यय गर्दा बन्छ। यसको अर्थ पुराना घटनाहरू भन्ने हुन्छ। प्राचीन कालमा नयाँ भएको वस्तुलाई पुराण भनेर यास्कले भनेका छन्। जुन साहित्य पुरातन सृष्टि र लयसँग सम्बन्ध भएर पनि आधुनिक लोकजीवनसँग जोडिन सक्छ, त्यो नै पुराण हो | सर्ग, प्रतिसर्ग, बंश, मन्वन्तर तथा बंशानुचरित्र यी पुराणका पांचबटा लक्षण हुन्छन् भनेर मनुस्मृतिले बताएको छ | पुराणहरूले भने आफ्ना दशबटा (भा.२/१०/१-२) हुन्छन् भन्ने उल्लेख गरेका छन् | यहाँ बुझ्नु पर्ने चुरो कुरा के हो भने ऋषिमुनिहरूले इतिहास तथा वैदिक ज्ञान, कर्म तथा भक्ति मार्गका विषयहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गर्न अनेकौं कथाहरूको प्रयोग गरेका छन् | ती कथाहरू मध्ये कति ऐतिहासिक व्यक्ति, घटना, स्थान तथा समयसंग वास्तविक रूपमा सम्बन्धित छन् भने कतिपय कथा र घटनाहरू काल्पनिक पनि छन् जुन जनसाधाणले सरलरूपमा बुझुन् भन्ने उद्देश्यले अभिप्रेरित थिए |
३. सर्गको अर्थ हो - सृष्टिको विषयमा उठेका जिज्ञासाहरूको समाधान | आधुनिक विज्ञानले पनि सृष्टिको कुरा गर्छ तर प्रयोग भएका साधनहरू फरक छन् | वेदले सबैभन्दा पहिले "शब्द"को विस्फोटको कुरा गर्छ जुन आधुनिक महाविष्फोटको सिद्धान्तसंग मिल्छ | यसैगरी विष्णुको नाभिबाट ब्रह्माको उत्पतिको सिधान्त ठ्याक्कै आजको "अर्को कुनै प्लानेट"को सिद्धान्तबाट मिल्छ | वेद तथा पुराणहरूमा हजारौं यस्ता कथाहरू छन् जुनले पहिलो सर्ग आरम्भ हुँदा केवल ब्रह्माण्डहरूको उत्पति भयो र ती अनन्त थिए भन्ने तत्थ्य प्रष्टसंग उजागर गरेको छ | हजारौं वर्ष पहिलेका यी सिद्धान्तहरू ठ्याक्कै अहिलेको विज्ञानसंग तर्कसङ्गत हुनुपर्छ भन्ने चिन्तन केवल "मूर्ख"हरूले राख्न सक्छन् | तेतिवेलाको प्रज्ञाले जे-जस्तो सृष्टिका विषयमा बुझ्यो, जान्यो त्यही लेख्यो | आजभन्दा पांचहजारपछि अहिलेका सृष्टिविषयक खोजहरू "पुराण"कै श्रेणीमा राखिन सकिने छ भन्ने विपक्षमा कसैसंग तर्कसङ्गत प्रमाण हुनेछैन |
४. विसर्गको अर्थ हो - प्राथमिक सृष्टिपछि सृष्टिको विस्तार | पुराणहरूमा सृष्टि विस्तारको प्रसंग अचम्म लाग्दो छ | असलमा, विसर्गचाहिं मनु र सतरूपाबाट आरम्भ भएको यौनजन्य क्रियाबाट आरम्भ भएको मानिन्छ | यो मानव, पशुपक्षी, रूखविरुवा, जलीय जीवआदिको सृष्टिकको वर्णन हो | यो प्रसंगमा कतिपय सृष्टिका क्रियाहरू आधुनिक विज्ञानसम्मत देखिन्छन् भने कतिपय विज्ञानको नजरियाले पूर्णतया काल्पनिक नै देखिन्छन् | बुझ्नु पर्ने कुरा के हो भने काल्पनिकता नै भए पनि यसले अभिरुचि पूर्वक इतिहास खोज्न पाठकहरूलाई अभिप्रेरित गर्छ | तेस्रो, बंशको अर्थ हो राजा र प्रजाहरूको क्रमगत विकासको पूर्ण अथवा आंशिक वर्णन गर्नु | पुराणहरूले मुलत: मनुबाट आरम्भ भएको मानव बंश, सूर्यबाट आरम्भ भएको सूर्य वंश र चन्द्रबाट आरम्भ भएको चन्दवंशको विस्तृत वर्णन गरिएको छ | यहाँ एउटा तत्थ्य खोतल्न योग्य छ - पश्चिमाहरूले सिकन्दर तथा बाइबलआदिमा उल्लेख भएका राजाहरूलाई वास्तविक भन्छन् तर पुरणहरूले समय, ठाउँ, काम तथा व्यक्ति तोकेका इतिहासका पात्रहरूलाई काल्पनिक भन्दै अपहेलना गर्छन् | सूर्यवंशी राजा राम, उनी जन्मेको, राज्य गरेको ठाउँ अयोध्या, चन्द्र वंशी कृष्ण तथा उनी जन्मेको हुर्केको मथुरा वृन्दावन तथा निवास गरेको द्वारका र युद्ध लड़ेको हस्तिनापुरको स्थलगत अस्तित्व हुँदाहुँदै पनि पात्रहरूलाई काल्पनिक भन्नु पाश्चात्य इतिहासकार र उनको कुरामा विश्वास गर्ने नेपाली तथा भारतीय इतिहासकार, मानवशास्त्रीहरूको दृष्टिकोण निकै त्रुटीपूर्ण र (पूर्वाग्रहपूर्ण) मान्नुपर्छ |
५. तेस्रो मन्वन्तरको प्रसंग समय-मापन अर्थात् गणितसंग सम्बन्धित तत्थ्य हो | उदाहरणका लागि वैदिक समय मापन प्रणालीमा आँखाको परेला झिम्कंदा लाग्ने समयलाई निमेष भनिन्छ | १५ निमेषको १ काष्ठा, ३० काष्ठाको १ कला, ३० कलाको एक मुहुर्त, ३० मुहुर्तको एक दिनरात, ३० दिनको एकमहिना, ३६३ दिनको एकवर्ष, ६३ लाख ५४ हजार वर्षको एक युग, २८ च्तुरयुगीको एक कल्प र एवम् प्रकारेण१६ कल्पको ब्रह्माको १ दिन र अर्को चौधकल्पको ब्रह्माको रात हुने कुरा उल्लेख गरिएको छ | यसरी ब्रह्माको सयवर्षको आयुमा मान्छेका ४६३,८४२,०००,०००,०००/- मानववर्ष हुने शास्त्रमा उल्लेख गरिएको छ | राजा रेवतका प्रसंगमा समय-यात्राको प्रसंग उल्लेख गर्दै ब्रह्मलोकको एक घण्टामा पृथ्वीलोकमा लगभग २८ बटा चतुर्र्युग वित्ने उल्लेख छ | आजको विज्ञानले पृथ्वीको अर्बिट र हामी बस्ने ठाउँको समय फरक हुने तत्थ्य प्रमाणित गरिसकेको छ | तेसैले पुराणका विषय कल्पित हुन् भन्नेहरूले निस्पक्षरूपमा यी तत्थ्यहरूको अनुसन्धान गर्नुपर्छ | पाश्चात्य गणित कम्युटरहरूको आगमन भन्दा पहिले यी तत्थ्यहरूसंग परिचित थिएन | उनीहरू आज पनि त्रिलियन भन्दा माथिल्लो संख्यामामा पुगेका छैनन् | जवकि ब्रह्माण्डको आकार नै ३ त्रिलियन लाइट वर्षको छ भन्ने कल्पना गर्छन् |
६. पाँचौं, बंशानुचरित्रको प्रसंग प्रष्ट छ - वंशमा उत्पन्न भएका विशिष्ट व्यक्तिहरूले गरेका कामहरूको विस्तृतरुपमा वर्णन गर्नु | आजभोली "रोलमोडेल"को प्रसंगलाई बडो महत्वका साथ सामाजिक, सांस्कृतिक तथा देशभक्तिका प्रसंगमा उठाउने गरिन्छ | राजाको प्रसंगमा राजा पृथुले आफ्नो प्रशंसा नगर्न अनुरोध गरेका थिए | राजा रामचन्द्र एकपत्नी र मर्यादाका लागि आज पनि समाजमा पूजित छन् | कृष्णको प्रसंग लीला र आध्यात्मिक प्रसंगमा निकै पूजनीय छ भने सर्वसामान्य व्यक्ति विदूरआदिको प्रसंग पनि पुराणहरूले उल्लेख गरेका छन् | पुराणका उपरोक्त लक्षणहरू आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छन् र ग्रहणयोग्य छन् भन्ने तत्थ्य हामीले स्वीकार गर्दा नेपालको गौरव नै बढ्छ |
पुराणहरूका कतिपय सन्दर्भहरू वैश्विक छन् र मानवताका लागि कल्याणकारी छन् भने कतिपय सन्दर्भहरू गतार्थ भैसकेका छन् | तेसैले पाठकहरूले पुराणहरूको पौराणिकतालाई उपयोगिता तथा कल्याणकारी अर्थमा समयोचित तवरले बुझ्नुपर्छ | सबैथोक ग्रहणयोग्य नहोलान् तर त्याग्नै पर्ने पनि छैनन् | सबैभन्दा मुख्यकुरो, श्रद्धा तथा विश्वाससहित पूर्वाग्रहरहित अनुसन्धाताको रूपमा समीक्षा गर्नुपर्छ, जुन हाम्रा विविहरूले गर्न सकेका छैनन् र पूर्वाधार तयार गर्न समेत अनिच्छुक देखिएका छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...