Saturday, October 29, 2022

हाम्रो विश्व

यो भौतिक ब्रह्माण्ड भौतिक वस्तु होइन भन्ने तत्थ्य आधुनिक विज्ञानले सिद्ध गरिसकेको छ | जुन बस्तु तथा बस्तुहरूको समुहका रूपमा हामीले ब्रह्माण्डलाई साक्षात्कार गरिरहेका छौँ, यो सबै तरल शक्ति (Energy) हो | विश्वका पदार्थहरू यसै तरल इनर्जीबाट निर्मित हुन् | अहिलेसम्मको मानिसले ब्रह्माण्डका विषयमा जानकारी प्राप्त गरेको ५% छैन तर मान्छेको मष्तिस्कको क्षमता भने क्वान्टम कम्प्युटर भन्दा बढी नै रहेको हालै प्रकाशित जर्नलले उल्लेख गरेको छ | यदि हामीले आजसम्म केवल ५% जानेका छौँ भने ९५% ब्रह्माण्डका रहस्यहरू मध्ये आध्यात्मिक संसार पर्दैन भन्नु बैज्ञानिक धारणा विरुद्ध हुन्छ | अनि, पुराना मान्छेहरूले बुझेका थिएनन् र भविष्यका मान्छेहरूले बुझ्न सक्ने छैनन् भन्नु पनि उचित हुँदैन | सायद तेसैले होला मार्क्सवादी भौतिक चिन्तनमा आधारित राजनैतिक शक्तिहरूको अवशान हुँदै गर्दा "ईश्वररहित आध्यात्म तथा सेश्वर" अध्यात्मको स्वीकार्यता बढ्दैछ | यसको अर्थ, मार्क्सवादीलाई मात्र दोष दिन खोजेको होइन | मार्क्सवादी हुँदैमा निराकरणवादी हुन्छन् भन्ने हुँदैन, नास्तिक हुन्छन् भन्ने पनि हुँदैन |

प्राचीनकाल देखिनै सृष्टि विश्वको मान्छेको लागि एउटा रहस्यमय तर खोजिको विषयवस्तु रहेको छ | संसारका हरेक कुनाका मान्छेहरूले सृष्टिका विषयमा आफ्ना अभिमतहरू राखेका छन् | कही विरोधाभास देखिन्छ भने कही आधुनिक सृष्टिमीमांसासंग केही तादात्म्य पनि भेटिन्छ | उदाहरणका लागि सांख्य र बैशेषिकहरूले संसारको उत्त्पतिको मानसिक रेखाचित्र दिएका छन्, ती निरर्थक छैनन् तर मङ्गलमा जाने उपकरण बनाएको अवस्थामा प्राचीन सृष्टिका चिन्तनहरूलाई "नकार्नु" उचित हुँदैन | हामीले स्वीकार्नै पर्छ कि विश्वको उत्त्पत्तिका विषयमा प्राचीन परिकल्पमा वा मानसिक साक्षात्कारले नै आधुनिक तत्व, भौतिकी तथा अन्य जगत-मीमांसाका आधारशीलाहरू तयार भएका हुन् | साच्चिकै भन्ने हो भने बिगब्यांग सिद्धान्त पनि मान्छेको मानसिक कल्पना वाहेक केही होइन तर स्वीकार्यता बढ्दैजाँदा यसले बाइबलको सृष्टि-विषयक सिद्धान्तलाई विस्थापित गर्ने प्रयत्न गरिरहेको छ | थप सत्य के हो भने जति वैदिक साहित्यले विश्वको उत्त्पत्तिका विषयमा चर्चा गरेका छन् त्यति विश्वका अन्य ठाउँमा गरिएको थिएन |
श्रीमद्भागवत एउटा समग्र अध्यात्म ग्रन्थ हो जसले भौतिक, मानसिक तथा आध्यात्मिक ताप (दु:ख) हटाएर धर्म, अर्थ, काम तथा मोक्षको लक्ष प्राप्तिका लागि मानवलाई अभिप्रेरित गर्छ | पाँचौं स्कन्धमा विसर्ग अर्थात् भौतिक ब्रह्माण्डको आयतनहरू, मानवीय जीवनका समस्याहरू, वासनाले पार्ने प्रभावहरू र असंस्कृत कर्मको फल कसरी दु:खदायी हुन्छन् (नर्क) भनेर मान्छेलाई सावधान गरिएको छ | बासनाहरू एतिबिध्न शक्तिशाली हुन्छन् कि गण्डकीको किनारामा निरन्तर तपस्या गरिरहेका व्यक्तिलाई पनि मृग र जडभरतको रूपमा पुनर्जन्म ग्रहण गर्न बाध्य पर्छन् | दोश्रो कुरा, यहाँ बर्णन भएको विश्वको मानचित्र आजको विज्ञानका तुलनामा असंस्कृत लाग्ला तर अन्तरमनले साक्षत्कार गरेको त्यो विश्वको बारेमा पूर्वाग्रहरहित भएर अनुसन्धान गर्न आवश्यक छ | हामीले विर्सनु हुँदैन अहिलेको बैज्ञानिक विकास पनि निरन्तर चिन्तनको परिणाम हो | हाम्रा पुर्खाले जिज्ञासा गर्न, खोज्न र प्राप्त उपलब्धि भन्दा अझैं बृहत्तर खोज्ने उपक्रमलाई निरन्तरता नदिएको भए, सम्भवत: अविकसित नै हुन्थ्यौं होला | तेसैले वैदिक शास्त्रहरूले मान्छेलाई निरन्तर अनुसन्धान, जिज्ञासा जारी राख्न निर्देशन दिन्छ : चरेवैति, चरेवैति - निरन्तर खोज खोज्दै गरे |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...