Saturday, October 29, 2022

के महाकवि देवकोटा दार्शनिक थिए ?

१. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा | विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ | अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे | उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् |

नेपाली समाजमा राजा पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी देवत्वकरण गरिएका व्यक्ति देवकोटा नै हुन् | देवकोटाको गरिवी, उहाँको आशुकवित्व, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण, बहुभाषाहरूको ज्ञान सहित उनको बहुलट्ठीपन पनि चर्चाको विषय बनेका छन् | पृथ्वीनारायण शाहलाई "हिन्दूवादी" मान्नेहरू र राजा महेन्द्रलाई "नेपाली भाषा थोपरेको" आरोप लगाउनेहरू देवकोटाको बहुव्यक्तित्वका आगाडी उनके आफ्नो मन्त्रित्वकालमा नेपाली भाषाको सन्दर्भमा गरेका निर्णयहरूमा सवाल खडा गरेर अलोप्रिय बन्न चाहन्नन् |
जव हामी दर्शनशास्त्रको कुरा गर्छौं हामीले दर्शनशास्त्रका आधारभूत प्रश्नहरू र क्षेत्रका विषयमा सही जानकारी प्राप्त गरेको हुनुपर्छ | देवकोटाका विशाल विचार भण्डारमा अनेकौं दार्शनिक प्रश्नहरूका उत्तर छन् तर के उनी दार्शनिक सिद्धान्तकार कहलाउन योग्य छन् त ? के देवकोटालाई "सिद्धान्तकार" भन्न मिल्छ त ? यो प्रश्नको वस्तुगत उत्तर खोज्नु आवश्यक पर्छ | देवकोटा पनि मान्छे नै हुन्, उनी देउता होइन | उनी सबैथोकका ज्ञाता पनि होइन | तर उनी त्यस बखतको नेपाली सामाजिक, सांस्कृतिक राजनैतिक परिवेश भन्दा ५० बर्षपछिको चेतना बोकेका मान्छे हुन् भन्न मिल्छ |
२, उनले आफ्नो जीवनकालमा लेखेका ६५४ बटा कविता, छ बटा महाकाव्य, (छ बटा प्रकाशित भएका छैनन्) ११ बटा निवन्ध (अंग्रेजी सहित) ४ बटा अनुवाद, २ बटा नाटक, अनेकौं खण्डकाव्यहरू, समालोचनाहरू प्रकाशित छन् र अझैं थुप्रै प्रकाशनको क्रममा छन् | सम्भवत: अझैं पनि केही खोज समेत भैसकेका छैनन् | सम्भवत: खोज हुन बाँकी लेखौटमा विशुद्ध दर्शनशास्त्र सम्बन्धित पुस्तक भेटियो भने अचम्म मान्नु पर्दैन | आफ्नो समय भन्दा ५० वर्षपछिको सोच राख्ने देवकोटा दर्शनशास्त्रका सिद्धान्तहरूसंग अपरिचित थिए भन्न मिल्दैन | मैले यहाँ दर्शनशास्त्र शब्दको प्रयोग "दर्शनशास्त्र भनेकै वैदिक, उपनिषदीय, पौराणिक, जैन, बौद्ध वा षड्दर्शन मात्र हुन्" भन्ने पूर्वाग्रह मुक्त भएर गरेको छु | धरती धेरै फैलिएको छ | सबै थोक भारतवर्षले देख्न सक्दैन |
नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वरूपमा दार्शनिक चेतना पानीमा नून मिसिएझैं अभिन्न छ | दर्शनशास्त्र र अन्य विधालाई फरकफरक अवस्थामा अध्ययन/अध्यापन गर्न अभ्यस्त पश्चिमा अनुसन्धानकर्ताको लागि नेपाली सांस्कृतिक तथा धार्मिक बनावटबाट दार्शनिक चेतना अलग्याउनु निकै मेहनत गर्नुपर्छ | एतिबिध्न हुँदा पनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक चरित्रबाट दर्शनशास्त्रलाई टपक्क टिपेर अलग पार्ने कल्पना गर्न सकिन्न | यसको अर्थ, यहाँ दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व छैन भन्ने पटक्कै होइन |धर्म, संस्कृति, राजनीति, सिद्धान्त तथा संस्कारहरू एकअर्कोमा अन्योश्रित भएको नाताले दर्शनशास्त्रलाई बुझ्न पनि समग्रको ज्ञान हुनैपर्छ | दूई फक्लेटे सत्यमा विकसित भएको चिन्तन-संस्कारका लागि नेपाली दर्शनशास्त्र सधैं "अपूर्ण, धर्मसंग टाँसिएको" हुन्छ | जुन सत्य होइन | देवकोटा यही समाजका उपज भएकोले उनका दार्शनिक चिन्तन पनि उनका सृजनामा छरिएर रहेका छन् |
देवकोटाको दार्शनिक चिन्तनलाई सुकरात, अरस्तु, प्लेटोको आँखाले हेरिनुपर्छ, देकार्त, ह्युम, कान्ट वा सात्रेको आँखाले बुझ्ने प्रयत्न गर्नुहुँदैन | यसैगरी देवकोटालाई आचार्य शङ्कर, निम्बार्क, रामानुज, उपनिषद तथा वेदका बहुआयामिक दृष्टिकोणले बुझ्ने प्रयत्न गर्नुपर्छ, सांख्य, योग, वेदान्त वा राधाकृष्णन्, अरविँदोका नजरियाले बुझ्न गाह्रो हुन्छ | देवकोटालाई पढेर मार्क्सवाद" ठान्ने, देवकोटालाई पढेर आध्यात्मवादी मान्ने, देवकोटालाई पढेर मानवतावादी मान्ने र देवकोटालाई केवल बग्दो नदीझैं निर्झर मान्ने सबै ठीक छन् | किनभने वैदिक संस्कृति र सभ्यतामा विकसित हुने सत्य बहुआयामिक नै हुन्छ | जुन देवकोटामा छरपष्ट छरिएको छ | सिमल्न धेरै बाँकी छ तर देवकोटालाई केवल प्रगतिवादी ठान्नेहरूले देवकोटाको अर्धसत्य बखान गरेझैं मानवतावादी तथा आध्यात्मवादीहरू पनि यही श्रेणीमा पर्छन् |
३. तेसो भए के देवकोटा दार्शनिक हुन् वा होइनन् ? यो प्रश्न आफैमा पूर्वाग्रह पूर्ण पश्चिमेली दार्शनिक दृष्टिकोणमा आधारित छ | देवकोटा निश्चय नै दार्शनिक सिद्धान्तकार होइनन् न उनले दर्शनशास्त्र विषयमा विद्यावारिधि नै गरेका छन् तर उनका रचनाहरूमा दर्शनशास्त्रको चेतना राइछाई छ | उनी नेपाली समाजका सशक्त बौद्धिक आवाज हुन् जसले प्रथमत: नेपाली भाषालाई वैश्विकस्तरमा उभ्याएका छन् भने यही भाषामा व्यक्ति भएका परम्परागत तथा आफ्ना समयको सङ्घारमा उभिएर बहुआयामिक रूपमा व्यक्त भएका छन् | उनको चिन्तनको परिधि एतिबिध्न विशाल छ कि खोज्नेले आफ्नो अभिरुची अनुसार खोजेको विषयवस्तु प्राप्त गर्छ | उनी विश्वविद्यालयमा दीक्षित दार्शनिक होइन तर दार्शनिकहरूलाई दृष्टिकोण दिने शक्तिशाली विचारक अवश्य हुन् |
नेपालका धेरैजसो विचारकहरू तिनथरिका राजनैतिक घेरामा बाँधिएरका छन् | यही साँघुरो घेराभित्र रहेर विचारकहरूको समीक्षा गरिन्छ | पहिलो र शक्तिशाली घेरा हो "प्रगतिशील" बर्गको | प्रगतिशील भनिए पनि धेरैजसो समालोचकहरूहरू मार्क्सवादी हुन्छन् | उनीहरूले हरेक "चिन्तन"लाई मार्क्सवादी दृष्टिकोणमा ढाल्ने प्रयत्न गर्छन् | आधुनिक मनिषीहरूको कुरा छोडौं, यिनीहरूले मार्क्सवादसंग गोरू बेचेको पनि सम्बन्ध नभएको वेदका चिन्तनमा पनि मार्क्सवाद खोज्छन् र "सेथिस, एन्टीथेसिस र सिन्थेसिस"को जामा पहिराई दिन्छन् | मूलत: मार्क्सवाद एउटा प्रभावशाली "राजनैतिक अर्थचिन्तन" हो तर मार्क्सवाद बैज्ञानिक दर्शनशास्त्र हो भन्दै हरेक ठाउँमा थोपर्ने प्रयत्न गर्छन् र प्रगतिवादको चस्मा तयार गर्छन् | देवकोटाको चिन्तनउपर पनि "प्रगतिवाद"को कोट पहिराउनेहरू थुप्रै छन् | समरकन्दको भाषण, सुलोचना महाकाव्यमा प्रस्तुत भएका केही कथन र अन्धविश्वासउपर उनको प्रहारलाई "प्रगतिवाद"का रूपमा प्रस्तुत गर्छन् |
दोश्रो प्रवृति समाजवाद (प्रजातन्त्रवादी)हरूको हो जसले देवकोटाका विचारहरूका आधारमा उनलाई "समाजवादी घोषित गर्छन् | तेस्रोधार, परम्परावादीहरूको हो जसले देबकोटालाई पूर्णतया वैदिक सनातन धर्मका विनम्र र प्रखर प्रस्तोताका रूपमा देख्छन् र त्यही रूपमा प्रस्तुत गर्छन् | मैले माथि उल्लेख नगरेको चौथोधार चाहिं मानवतावादको हो जुन देवकोटाको सरलमन र समयको आवश्यकताका कारण देवकोटाको सवल पक्ष भन्न मिल्छ तर यसो गर्दा पनि उहाँका "चिन्तन"मा न्याय हुनैसक्दैन | यस सम्बन्धमा अंग्रेजीका प्राध्यापक डा. पद्म प्रसाद देवकोटाले "द विच डक्टर" नामक अंग्रेजी निवन्ध संग्रहमा महाकविको सम्वन्धमा लेखेको तत्थ्य मनन गर्नुपर्ने देखिन्छ | प्राध्यापक पद्मप्रसादले लेखेका छन् "...देबकोटा नेपाली समाजमा प्रचलित अनेकौं अन्धविश्वास र कुरीतिका प्रवल विरोधी थिए | तर उनी नास्तिक थिएनन् | उनले सधैं नेपाली समाजमा व्याप्त रहेको अध्यात्मिक चेतनाको भौतिकतहमा विश्वास गरिरहे र वैज्ञानिक चिन्तन तथा व्यबहारप्रति समर्थन गरिरहे | उनले नेपाली मौलिक परम्परा र बैज्ञानिक चिन्तनको जोड़मा जीवनको अर्थ खोजे |"
४. परम्परावादीले देवकोटालाई अन्धविश्वासतिर डोर्याउने सम्भावना हुन्छ, प्रगतिवादीले देवकोटालाई कम्युनिस्टका रूपमा उभ्याउन खोजेको देखिन्छ, समाजवादीले धर्मनिरपेक्षवादको राजनीतिको कित्तामा उभ्याउने प्रयत्न गरेको बुझ्न सकिन्छ भने मानवतावादी धारहरूमा उपरोक्त चारैप्रकारका प्रवृत्तिहरू बुझ्न सकिन्छ | मेरो ठम्याई भने उपरोक्त सबै अतिवादका विपरित देवकोटा एउटा विनम्र तथा चिन्तनशील नागरिक हुन् जसले नेपाल र नेपालीको चहुर्दिश विकासको सपना देखे | उनले आफुले देखेको सपना प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, नेपाली भाषालाई नेपालको पहिचानका तत्वका रूपमा स्थापित गरेर देखाए | उनी साधारण मान्छे नै थिए तर उनको चिन्तन "वाद. प्रतिवाद, विवाद"को पिंजडामा कैद थिएन | उनी जतिधेरै प्रगतिशील थिए त्यतिनै धेरै परम्परावादी पनि थिए | उनी जतिधेरै उदात्त चिन्तनका थिए तेतिनै धेरै स्वधर्म, संस्कृति तथा परम्पराका पक्षधर पनि थिए | उनले छुवाछुतको आलोचना गरे भने हत्यानै गर्ने भए पछि गाई हत्याको विपक्षमा विचार पनि दिए | साथै जनताको सर्वतोमुखी प्रगति र वैज्ञानिक विकासका लागि तत्कालीन सोभियतको साम्यवादका पक्षमा पनि उभिए |
लेखक तथा साहित्यकार सूर्य विक्रम ज्ञावलीले देवकोटाको प्रतिभालाई सम्मान गर्दै एउटा कार्यक्रममा "महाकवि" भन्दै सम्बोधन गरेको वाणी कालान्तरमा देवकोटाको एकल चिनारी बन्न पुग्यो | देवकोटा "महाकवि"को उपाधि कुनै विश्वविद्यालय, संघसंस्था वा सरकारबाट प्राप्त गरेका होइन | उनको "महाकवि" देशका जनताले सामुहिक रूपमा प्रदान गरेको प्रेमपूर्ण सम्मान हो | सायद यदि कुनै संघसंस्था वा सरकारले यो उपाधि दिएको भए, देवकोटाको व्यक्तित्व एतिबिध्न विशाल र स्वीकार्य हुने थिएन | भारतीय घुमन्ते विद्वान राहुल साँन्कृत्यायनले "पन्त, निराला र प्रसाद"को समवेत देवकोटा हुन्" भनेर गरेको प्रसंशा अर्थपूर्ण मान्नुपर्छ | भारतीयहरूले चानचुने अवस्थामा नेपाली विद्वानको सम्मानमा शब्द खर्च गरेको विरलै भेटिन्छ | भारतीय वाहेक आफ्ना छिमेकी मुलुकका प्रतिभाहरूको सम्मान गर्न गर्ने सवालमा भारतीय विद्वानहरू निकै कन्जुस्याइँ गर्छन् |
५. दर्शनशास्त्रका आफ्ना पूर्वस्थापित मान्यताहरू हुन्छन् | ती मान्यताहरूको फ्रेममा अटाउने गरि प्रेषित गरिएका विचारहरू दर्शनशास्त्रको श्रेणीमा पर्छन् | आजको समयमा अन्य शैक्षिक विषयवस्तुहरूले प्रगति गरेझैं दर्शनशास्त्रभित्र पनि अनेकौं नवीन विषयवस्तुहरूले स्थान पाएका छन् | यदि परम्परागत रूपमा भन्ने हो भने कुनै पनि विचारकको विचार "दर्शनशास्त्र" बन्न निम्नतम परमतत्वका विषयमा प्रश्न सोधिएको र उत्तर दिएको हुनुपर्छ | नैतिक-अनैतिक, शुभअशुभ, उचितअनुचित, राम्रो नराम्रो, मूल्यवान्, अमूल्य तथा मूल्यहीन विषयहरू वारे चर्चा गरिएको हुनुपर्छ | ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र सीमाका विषयमा छलफल गरिएको हुनुपर्छ | प्रस्तुत गरिएको विचार तर्कका दृष्टिकोणले बैध हुनुपर्छ र स्वतन्त्रता, परतन्त्रताआदिका विषयमा चर्चा गरिएको हुनुपर्छ | बर्तमान समयमा दर्शनशास्त्रले विश्वको जुनसुकै विधाभित्र मूल्यको तत्थ्य उठान गर्न आरम्भ गरेको छ - मनोविज्ञानको दर्शन, बायोलोजीको दर्शन, विज्ञानको दर्शन, अर्थशास्त्रको दर्शन, राजनीतिको दर्शनआदिआदि |
उपरोक्त परम्परागत दार्शनिक प्रश्नहरू गर्ने र तिनको अर्थपूर्ण वा निरर्थक उत्तर खोज्ने मान्छे हो | तेसैले अहिलेको विश्वमा दर्शनशास्त्रको मानवतावादी धार पनि निकै तिखारिंदै गैरहेको छ | के देवकोटाका कृतिहरूमा तत्वमीमांसा, ज्ञान मीमांसा, नीति मीमांसा, तर्क मीमांसा तथा मानवीय मूल्यका विषयमा प्रश्नहरूको उठान र उत्तर उपलब्ध छन् त ? के देवकोटाका कृतिहरूमा उपरोक्त प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ त ? यी प्रश्नहरूको उत्तर यदि "छ"मा आउँछ भने देवकोटा दार्शनिक हुन्, यदि "छैन" भन्ने आउँछ भने देवकोटा विचारक, समाजसेवी, राजनीतिज्ञ, बैज्ञानिक त हुन सक्छन् तर दार्शनिक होइन | निश्चयनै देवकोटा विश्वविद्यालयबाट दर्शनशास्त्रको डिग्री प्राप्त गरेका हिगल, राधाकृष्णन् वा रसेलजस्ता दार्शनिक त होइनन् तर उनले आफ्ना कृतिहरूमा उपरोक्त दर्शनशास्त्रका आधारभूत प्रश्नहरूको उत्तर दिएको हुँदा उनी दार्शनिक कवि, समाजसुधारक, राजनीतिज्ञ तथा चिन्तक अवश्य हुन् |
६. देवकोटाका कृतिहरूमा दर्शनशास्त्र राइछाई छ | यसको प्रमुख कारण उनको आफ्नो पृष्ठभूमि नै हो | विदेशी दार्शनिकहरूले नेपालीहरूको आलोचना गर्ने प्रमुख विषय नै "हिन्दूहरूको दार्शनिकता विहान उठेपछि र गहिरो निन्द्रामा नपरेसम्म चलिनै रहन्छ | मृत्युपछि पनि दार्शनिक चेतनाको अन्त्य हुँदैन - भन्ने प्रकारको हुन्छ | देबकोटाको जन्म एउटा परम्परागत पण्डित परम्परामा भएको धार्मिक जीवनशैलीमा रमिएको थियो | उनी सर्वप्रथम स्वसंस्कृति पक्षका दार्शनिक हुन् | यो तत्थ्य लक्ष्मी निवन्ध सङ्ग्रहको "पांचबटा चाहिमे कुरा नामक निवन्धको उठान गर्दै देवकोटाले "दूनियाँमा पाँचौटा चाहिने कुराहरू छन् - ईश्वर, आत्मा, स्वर्ग, नर्क र धर्म | यो उनको अन्तिम सत्य पनि हो किनभने आर्यघाटमा भारतीय अंग्रेजी साहित्यकार डोम मोरेललाई भेट्दा उनले "तिनीहरूले मलाई वामपन्थी भने, किन भने म रूस गएँ | म सिर्फ एक कविमात्र थिएँ, मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ | म नर्कको कुण्डमा गएँ भने यस्भन्द्दा वेस हुन्छ | म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ" भनेर गुनासो गरेको कुरा महाकवि देवकोटा (पेज-४५)मा नरेन्द्रनाथ प्रसाईंले उल्लेख गरेका छन् |
यसको अर्थ उनी प्रगतिशील लेखक, चिन्तक थिएनन् भन्ने पटक्कै होइन | उनी कम्म्युनिस्ट प्रगतिशील थिएनन् यो प्रष्ट छ | प्रगतिशील हुनका लागि कम्म्युनिस्ट नै हुनुपर्छ भन्ने केही छैन | देवकोटाले नेपालको विकास, प्रगति तथा उत्थानका सवालमा साम्यवादी चिन्तन र सामुहिक सक्रियतालाई मन पराए र मन पराएको कुरा स्वच्छन्द रूपमा लेखे | खण्डकाव्य, महाकाव्य, निवन्ध, कविता, उपन्यास तथा फुटकर रचनाहरूमा पनि देवकोटाको मौलिक संस्कृति र संस्कृत-साहित्यमा रहेको लालित्य तथा चिन्तनप्रति गहिरो अनुराग पढ्न, बुझ्न र देख्न सकिन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...