Saturday, October 29, 2022

राजनैतिक दर्शनमा स्वको चेतना

१. पश्चिमाहरूले प्लेटोको "रिपब्लिक"लाई प्रजातन्त्रको पहिलो दस्ताबेज ठान्छन् | रिपब्लिक लेखिनु भन्दा तीन हजार पहिला ऋग्वेदले स्वराज्य, वैराज्यआदि सात प्रकारका राष्ट्रसंचालनका व्यबस्थाहरू अभ्यास गरिसकेको थियो | सत्य के हो भने नेपाली राजनैतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तिनैलाई फ्युजन गरेर) बनाएको नया शब्द हो जुन नेपालको आफ्नो मौलिक होइन |

२. आधुनिक राज्यव्यबस्थाहरूमा अमेरिकाको लबीले सधैं प्रजातन्त्रको वकालत गरेको पाइन्छ | ब्राजील, भारतजस्ता विकासशील मुलुकहरूले लोकतन्त्रको वकालत गरिरहेका हुन्छन् भने कम्युनिस्टहरूले गणतन्त्रको वकालत गर्छन् | नेपालजस्ता मुलुकहरू कहिले भारत, कहिले चाइना त कहिले अमेरिकाको संबिधान र इच्छा बुझेर संविधानको नाम राख्छन् | "लोकतान्त्रिक गणतन्त्र" रिपब्लिकले कल्पना गरेको, माओले सोचेको वा अब्राहम लिंकनले कल्पना गरेको शब्द होइन | हामी "तुष्टीकरण"वादमा उभिएका छौँ जसले आफ्नो देशको मौलिकताको संरक्षणलाई भन्दा विदेशीहरूको इच्छाको बढी सम्मान गर्छ |
३. प्लेटो कालीन गणतन्त्र (प्रजातन्त्र) आजको जस्तो थिएन | स्त्री, कृषक, कामदार, मजदुर तथा दासदासीहरूलाई "मान्छे" भनिन्नथ्यो भने मत दिने, राज्यमा सहभागिता जनाउने कुनै अधिकार थिएन | त्यो न लोकतन्त्र थियो न प्रजातन्त्र न गणतन्त्र नै | प्लेटोको "गणतन्त्र" अभिजात्यहरूको भागवण्डा गर्ने एउटा प्रणाली थियो जसले प्राइभेट लिमिटेडका शेयर होल्डरहरूले झैं राज्यका संसाधनहरू बाँडेर उपभोग गरिन्थ्यो | साच्चिकै भन्ने हो भने तेस वखत प्लेटोले लेखेको र भोगेको गणतन्त्र र आजको "गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्र"मा आधारभूत फरक छैन | नेपाली सत्ता समीकरणमा त झन् ठ्याक्कै "प्लेटोवाद" घटीत हुँदैआएको छ |
४. लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र जुन शब्दको प्रयोग भए गरिए पनि आधुनिक राज्यव्यबस्थाहरूले प्लेटोको "रिपब्लिक"लाई आफ्नो बौद्धिक पितामह मानेका छन् | नेपाल, भारत, अमेरिका, ब्राजिलहरूको राजनैतिक सिद्धान्तको आधार "रिपब्लिक"नै हो | मुस्लिमहरूका ७४ सम्प्रदाय, इसाईहरूका ६४५ सम्प्रदाय र यहुदीहरूका ३ बटा सम्प्रदाय भएझैं "लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र" सबैका बौद्धिक र पवित्रतम स्रोत रिपब्लिक नै हो ठ्याक्कै इसाईका सबै सम्प्रदायहरूले बाइबल र मुस्लिमहरूले कुरानलाई सर्बोच्च ग्रन्थ मानेझैं | सबै कुरामा मतभेद होला तर यी राष्ट्रहरू बिच रिपब्लिकका विषयमा मतभेद छैन | त्रिविविको राजनीति विभागले पढाउने पाठ्यक्रममा पनि "रिपब्लिक"लाई प्रजातन्त्रको स्रोत भनेर पढ्नुपर्छ |
-५. आधुनिक प्रजातन्त्रका पांचबटा स्तम्भ स्वतन्त्रता, समानता, शिक्षा, सहभागिता र जीवनको अधिकार" सबैका लागि मानिन्छ | सुन्दा निकै उचित लाग्छन् र यदि यी भने र सोचेजस्तै कार्यान्वयन हुने हो भने मानवता सुखी हुन्छ पनि तर व्यबहारमा विश्वका कुनै पनि डेमिक्रेसीहरूले उपरोक्त सैद्धान्तिक आधारहरूको एक चौथाई पनि कार्यान्वयन गरेका छैनन् | अझैं भन्नुपर्दा, अब्राहम लिंकन, बेन्थम, मिलआदिले जे-जस्ता परिभाषा दिए पनि ठ्याक्कै प्लेटोको भावनाअनुसार नै प्रजातन्त्रहरू "ठूलाबडा"हरूको भागवण्डामा परेको छ | समानताको अर्थ हुने खाने विच सम्मान जनक भागबण्डा, स्वतन्त्रताको अर्थ भागबण्डाको सहमतिप्रति प्रतिबद्धता, शिक्षाको अर्थ शेयर होल्डरका लागि स्तरीय शिक्षा (नेपाल, भारत, पाकिस्तान, श्रीलंकाआदिका हकमा हुनेखानेनेका लागि नीजि र जनताका लागि सरकारी शिक्षा) सहभागिताकाको हकमा राज्य संचालकहरू बिच सत्ताका लागि "गठबन्धन" र जीवनको अधिकारका हकमा पहुँचवालको लागि मात्र औषधिउपचारआदिको सुनिश्चितता (नेपालमा पूर्वप्रधानमन्त्री, मन्त्री, निजामतिका शक्तिशालीहरूले सुविधा प्राप्त गर्छन् | उनीहरूको जीवन सुनिश्चित गर्न राज्यले अनुदान दिएर अमेरिका बेलायत पठाउँछ) भन्ने बुझ्नुपर्छ | यी राज्य (सत्ता)हरूको चरित्र ठ्याक्कै प्लेटोको डेमोक्रेसीझैं छ |
६. ऋग्वेदमा केही प्रकारका राज्य व्यबस्थाहरूको वर्णन छ : स्वराज्य, वैराज्य, पारमेष्ठ राज्यआदि | यी राज्य संचालक सिद्धान्तमा आधारित राष्ट्रको शासन प्रणाली कस्तो हुन्त्यो भन्न सकिन्न तर लगभग सात प्रकारका राष्ट्र संचालनका व्यबस्थाहरूमा "रिपब्लिक" पनि पर्न सक्छ | असलमा, संस्कृत वा नेपालीमा रिपब्लिकको ठ्याक्कै अनुवाद छैन | डेमोक्रेसी (रिपब्लिकको) आधुनिक व्याख्याहरू पढे र बुझेपछि ऋग्वेदको "स्वराज" रिपब्लिक वा डेमोक्रेसी भन्दा बढी महत्वपूर्ण लाग्यो | स्व तथा राज्य यी दूई शब्दले निर्मित भएको शब्दले "सबै सुखी रहनु, सबै निरोगी होउन, सबैको कल्याण होस् र सामाजमा कुनै पनि व्यक्ति दु:खी नरहोस् भने उपनिषदहरूको चाहना र मनुस्मृतिले खोजेझैं "पृथ्वीको प्रत्येक समाजले स्वत्रन्त्र पूर्वक आ-आफ्नो संस्कृति, परम्पराको शिक्षा प्राप्त गरोस् भन्ने भनाई चरितार्थ भएको ठान्छु | साथै, प्लेटोबाट आयात गरिएको डेमोक्रेसी वा रिपब्लिकले सैद्धान्तिक रूपमा पनि "स्वराज्य" प्रतिनिधित्व गर्न नसक्ने देख्छु | यद्यपि स्वराज्यका तुलनामा रिपब्लिक-मोडेल बढी प्रसिद्ध र चर्चित छ |
७. स्वराज्यका विषयमा चर्चा गरिरहंदा स्वतन्त्रता पनि परिचर्चाको विषय बन्नुपर्छ | मलाई कुनै पनि संदेह छैन कि स्वराज्य र स्वतन्त्रताका बिचमा गहिरो सम्बन्ध निर्विवाद छ | स्व र तन्त्र - यी दुई शब्दको मिलनबाट स्वतन्त्र शब्द बनेको छ जसले स्वराज्यको शासकीय व्यबस्थाको व्याबहारिक पक्षलाई उजागर गर्छ | सबैले स्वतन्त्रतापूर्वक आ-आफ्ना संस्कृतिअनुसार आफ्नो विकास गरुन् भने मनुस्मृतिको कथन होस् वा विश्वको अन्तिम मानिस दु:खी रहनु हुँदैन भन्ने बैदिक ऋषिहरूको चाहना नै किन नहोस्, स्वराज्यमा मात्र प्राप्त हुन्छ | स्वतन्त्र व्यक्तिहरूको सामूहिक कर्मले स्वराज्यको स्थापना हुन्छ र यस्तो राज्यले मात्र स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिन्छ | नियामकका रूपमा "स्वराट््"लाई बुझ्नुपर्छ | स्वराट त्यो अवस्था हो जसमा स्वराज्यभित्रका स्वतन्त्र व्यक्तिहरूले दशओटा धर्म (धृति, क्षमा, दम, अस्तेयआदि) पालन गरेर आर्जित गर्छन् | सद्गुण र विवेकबाट संचालित व्यक्तिनै स्वराट होस् जसले धर्मपूर्वक स्वराज्य र स्वतन्त्रताको संरक्षण गर्छ |
८. स्वतन्त्रता, स्वराट, स्वधर्म (रिलिजन होइन) र स्वराज्य यी चारबटा विषयहरूले मान्छेको बहुपक्षीय विकासलाई अनुप्रणित गर्छ | स्वराट अर्थात् आत्मबल नभएको व्यक्ति वा समाजले स्वतन्त्रताको महत्व र अनुभूति गर्न सक्दैन | व्यक्तिगत सद्गुणहरूलाई महत्व नदिने व्यक्तिले स्वराज्य प्राप्ति गर्न सक्दैन | यदि कुनै परिस्थितिवस स्वराज्य प्राप्त गरे पनि त्यसको संरक्षण गर्न सक्दैन | मलाई लाग्छ, स्वराट व्यक्तित्वमा स्वधर्म, स्वतन्त्रताको स्वभाविक उपस्थिति हुन्छ भने यस्तो गुणहरूको आधार भएको व्यक्तिका लागि स्वराज्य अनिवार्य हुन्छ | स्वधर्ममा स्वच्छन्दता र अधिकार, स्वतन्त्रता र अधिकारका बीचको सूक्ष्म कर्तव्य रेखा बुझ्ने प्रज्ञा हुन्छ | अधिकार र स्वतन्त्रता एउटा भाव हुन् भने कर्तव्य र भाव अर्को चेतना हुन् | यदि व्यक्तिमा स्वराज्य र स्वधर्मप्रतिको आस्था छैन भने अराजक अधिकार र स्वतन्त्रताले आत्मघाति व्यक्ति वा समाजको निर्माण हुन्छ |
अन्त्यमा, दार्शनिक र व्याबहारिक रूपमा चिन्तन मनन गर्दा वर्तमान नेपाल राष्ट्रका अभियन्ताहरूले स्वधर्म र स्वतन्त्रता, स्वराज्य र अधिकारका बिचको कर्तव्य रेखाको सीमांकन गर्नु आवश्यक देखिन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...