Sunday, October 2, 2022

टेक्नोलोजी, सुखदुखको अनुभूति र आजको चित्त

जतिजति टेक्नोलोजीको विकास हुँदैछ तेतितेतिनै सुखदु:खको परिभाषा पनि बदलिंदै छ | मात्रात्मक रुपमा सुख बलियो हुँदैछ कि दु:ख मैले बुझ्न सकिरहेको छैन | मनोविज्ञानले आध्यात्मिकतालाई सर्वमुखी स्वास्थ्यको श्रेणीमा राखेपछि सुखदु:खको परिभाषा अझैं जटिल बनेको छ किनभने आधुनिक विज्ञानले अदृश्य "आध्यात्मिक अवस्था"को स्वीकृति दिनुको सिधा अर्थ हुन्छ सुखप्राप्ति र दु:ख निवारणलाई केवल भौतिक अवस्थाका रूपमा बुझ्नु हुँदैन |


मान्छेले जतिसुकै प्रयत्न गरे पनि नित्य आत्मा, स्वर्गनर्क, पापपुण्य, ईश्वरजस्ता विषयवस्तुलाई भावनात्मक रूपमा बुझाउने साधन धर्मनै हुन् | आ-आफ्नो संस्कृति र तेसको परिवेशको सिकाई तथा बुझाइका आधारमा ईश्वर, आत्मा, स्वर्गनर्कजस्ता प्रत्ययहरू अभिनिर्मित भएका हुन्छन् | ती प्रत्ययहरूलाई सवल गर्न अनेकौं कथा, मिथक, घटना, परिवेश निर्माण भएका हुन्छन् | हजारौं वर्षदेखि निर्मित भएका यस्ता परिवेशहरूले संस्कृतिको निर्माण हुन्छ र संस्कृतिबाट सभ्यता निर्मित हुन्छन् | हरेक मान्छेले आफ्नो परिवेशमा आफ्नो निजत्व प्राप्त गर्छ र उसको यस्तो निजत्व नै उसको परिचय हुन्छ |

गौरव, स्वाभिमान, देशभक्ति, निजत्व, देश, भाषा, संस्कृति, सभ्यता तथा धार्मिकता, मौलिकताआदि परिवेशकै सृजना हुन् | सही अर्थमा भन्ने हो भने मान्छेको "चित्त"को निर्माण पनि परिवेशबाट नै भएको हुन्छ | मलाई लाग्छ, मानवीय "चित्त"भित्र दु:ख तथा सुखको परिभाषा निर्माण गर्न पनि परिवेशले ठूलो भूमिका वहन गरेको हुन्छ तर एउटा तत्थ्यचाहिं अकाट्य हो कि मान्छेले जसो गर्दा, जे गर्दा गौरव र सुखको अनुभूति गर्न सक्छ, त्यही कर्म उसले ग्रहण गर्छ | मैले धेरै व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा प्राप्त भइरहेका दु:खलाई पनि "गौरव"को आवरणमा सुखकै रूपमा ग्रहण गरिरहेको भेटेको छु, देखेको छु | उदाहरणका लागि गौरव, स्वाभिमान, देशभक्ति, मातृत्व, परिचय, धार्मिकताको रक्षाजस्ता क्रियाकलापमा मान्छेले आफुले भोगिरहेको दु:खलाई "गौरव"का खातिर सुखकै साक्षात्कार गर्छ |

विश्वभरिका प्राचीन होस् वा आधुनिक "कथा"हरू प्रायजसो दु:ख मुक्तिका लागि प्रयत्नमा आधारित भएको पढ्न सकिन्छ | वैदिक कथाका पात्रहरूले इन्द्र, विष्णु, रूद्र, उषाआदि पात्रहरूबाट दु:ख मुक्ति प्राप्त गर्ने प्रयत्न गरिरहेको पढ्न सकिन्छ भने सोमरस, अन्नआदिको उपयोग गरेर सुखानुभूति गरिरहेको जान्न सकिन्छ | वैदिक, उपनिषदीय, पौराणिक पात्रहरूले सधैं उपलब्ध साधनहरूबाट सन्तुष्टी प्राप्त गरेको र ती साधनहरूको सुरक्षा तथा प्राप्तिका लागि देवदेवीहरूसंग प्रार्थना गरेको भेटिन्छ | आफै कमाएर, दानमा प्राप्त गरेर तथा युद्धमा जितेर ढुक्कसंग भौतिक साधनहरूको प्रयोग गर्ने अवसर प्राप्त हुँदा त्यो "अवसरको अन्तराल"मा मान्छेले "चित्त"को विषयमा चिन्तन गरेको हो | अवरोधरहित भौतिक साधनहरूको उपलब्धिले मान्छेलाई भौतिक बस्तुहरू भन्दा "पर" जान्न उद्योग गरेको बुझ्नुपर्छ |

उपनिषदले मान्छेले पहिलो अवस्थामा शरीरको रक्षा र सुखलाई सुनिश्चित गर्न चाहन्छ | शरीरनै सुरक्षित रहने भने पश्चगमन र अग्रगमन दूवै अवस्थाको अन्त्य हुन्छ | "अन्नमय" अवस्थाले भौतिक सुरक्षा र स्थायित्व सुनिश्चित गर्छ | भौतिकरूपमा समस्याग्रस्त व्यक्तिको "चित्त"ले सुखानुभूति वा दुखानुभूतिको वारेमा चिन्तन गर्न सक्दैन | शरीरको सुरक्षाका लागि सङ्घर्ष गर्ने व्यक्तिसंग शरीरको रक्षा गर्नु वाहेक अन्य कुनै लक्ष हुँदैन | एकपटक समस्याबाट मुक्ति प्राप्त गर्दै "सुरक्षा चाखेको" व्यक्तिले मात्र दु:खसुखको कुरा बुझ्न सक्छ र दु:ख निवारण र सुखप्राप्तिको अर्थ बुझ्न सक्छ |

आजको विश्व चरमरूपमा असमान छ | यो असमानता टेक्नोलोजीको विकास र प्रयोगले निम्तिएको हो | टेक्नोलोजीले विश्वको मानवीय समाजलाई "हुने खाने र "खानका लागि सङ्घर्ष गर्ने" दुईबटा मूल श्रेणीमा विभाजित गरिदिएको छ | जोसंग टेक्नोलोजी छ उसका लागि "रोटी, कपडा, मकान"को प्राप्ति र एसको सुरक्षा अर्थपूर्ण छैन | टेक्नोलोजीको सहज उपलब्धता भएको समाजका लागि "रोटी, कपडा, मकान" वारे चिन्तन गर्नु पर्ने कुनै आवश्यकता हुँदैन | अर्कोतिर एस्तो समाज छ, जसले टेक्नोलोजीका विषयमा बुझेको छ तर उसले तेसबाट प्राप्त हुने अवसरहरूलाई उपयोगको कुरा त ठाडै जाओस् "रोटी, कपडा, मकान" प्राप्त गर्ने कुनै सम्भावना नै देख्दैन | "रोटी"का लागि रुन्मुलिएको व्यक्तिका लागि सुख र दु:खको निर्विकल्प अवस्था "रोटी" नै हो |

प्राचीनकालमा सुखी ती व्यक्ति वा समुदायहरू मानिन्थे जसले "रोटी, कपडा तथा मकान"को सुनिश्चितता प्राप्त गर्न सफल हुन्थे | प्राचीन समयमा रोटी, कपडा र मकानको मुकाम प्राप्त गरेका व्यक्तिहरूले भौतिक सुखको अन्तिम सुखानुभूति गर्न "सेक्स"को उपयोग गर्थे भने सेक्ससुखबाट जोगिएको समयमा धर्मकर्म गर्थे वा भविष्यका लागि "रोटी, कपडा मकान" सुरक्षित गर्न सङ्घर्ष गर्थे र राजा, महाराजा, चक्रवर्ती सम्राटजस्ता उपाधिहरू ग्रहण गरेर सुखका साधनहरूको "प्रदर्शन" गर्थे | तेसैले "राजाझैं सुखी" भन्ने उखाननै निर्माण भयो | ती राजाहरू सुखी थिए तर उनीहरूको दु:ख कस्तो थियो ? भन्न सकिन्न |

आजको समयमा रोटी, कपडा, मकान, शिक्षा, स्वास्थ्य तथा स्वतन्त्रता"को निर्वाध उपयोग गर्न सक्ने व्यक्तिलाई सफल र सुखी मानिन्छ | यी साधनहरूमा पहुँचको आधार "धन"को अधिक्यता हो | तर के धेरै धनि मान्छे सुखी हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन | यदि धेरै पैसा हुने मान्छे सुखी हुँदो हो त उनीहरूले सुखप्राप्तिका लागि कुनै पनि काम गर्दैनथे | यसबाट एउटा तत्थ्यचाहिं सिद्ध हुन्छ कि दु:ख नहुँदा पनि सुखप्राप्तिको उद्योग रोकिने रहेनछ | मान्छेहरू झन् "धेरै" सुखानुभूति गर्न चाहन्छन् तेसैले सुखप्राप्तिको उद्योग गरिनै रहन्छन् | जतिजति टेक्नोलोजीको विकास हुँदैछ त्यतिनै धेरै व्यक्तिहरूले प्राकृतिक माध्यमबाटमात्र होइन यन्त्रहरूको प्रयोग गरेर समेत अधिकतम सुखानुभूति गर्ने प्रयत्न गरिरहेका छन् |

चित्तले दुख र सुखको अनुभूति गर्छ तर टेक्नोलोजीको विकास र प्रयोगले गर्दा "चित्त"को आधारभूत स्वरूपमा पनि फरक परेको छ | प्राचीन चित्तहरूको संरचनामा प्राकृतिक आवश्यता पूर्ति हुँदा र तेसमा अवरोध हुँदा सुख र दु:खको प्राप्ति हुन्थ्यो भने टेक्नोलोजीको उयोगिता बढेसंगै टेक्नोलोजीको प्रयोग गरेर प्राप्त हुने सुख (सन्तुष्टि)ले चित्तको वृत्तिमा फरक परेको छ | टेक्नोलोजीको प्रयोगबाट उपलब्ध हुने सुखका लागि चित्तले प्राकृतिक सुखका मात्रहरूलाई विर्संदै जानुपर्ने छ | कालान्तरमा, मान्छेको चित्तले "प्राकृतिक साधनको प्रयोग र उपयोगबाट उत्पन्न हुने सुखदु:ख"का अनुभूतिहरूलाई इतिहासमा रुपान्तरित गर्नुपर्ने छ | परम्परागत चित्तको विनिर्मितिमा टेक्नोलोजीको निर्भरता बढ्ने सुनिश्चित छ | क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध वृत्तिहरूले बनेको चित्तमा मन मिसिएपछि बनेको चित्त अन्तत: यन्त्रकेन्द्रीत अनुभूतिको वाहक बन्ने सम्भावना छ | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...