Saturday, October 29, 2022

द्रव्यपिसाचको जन्म

म केटाकेटी हुँदा ज्यादै लोभी मान्छेलाई "द्रव्य पिसाच" भनेर सम्बोधन गरेको सुनेको थिएँ | यो संस्कृतको शब्द हो र गालीगलौजको प्रयोजनमा प्रयोग हुन्छ | द्रव्य पिसाच त्यो व्यक्ति हो जसले धन प्राप्ति र रक्षाका लागि जस्तोसुकै अनैतिक काम गर्न सक्छ | कश्यप ऋषि र दितीद्वारा (शास्त्रले निषेध गरेको समयमा) यौन कर्मद्वारा स्थापित गर्भबाट हिरण्यक्ष (जताततै सुन-सम्पत्ति मात्र देख्ने) हिरण्यकशिपु (सम्पूर्ण संसार नै सुनको होस्, परीधान पनि सुनका) दुई सन्तानको जन्म भयो |

ती मध्ये कान्छो हिरण्यक्षले पृथ्वीनै समुद्रमा लगेर लुकायो अर्थात् द्रव्य-पिसाचलाई सम्पूर्ण पृथ्वीको स्वामित्व प्राप्त हुँदा पनि असुरक्षित ठान्छ र त्यो लुकाएर राख्न चाहन्छ | द्रव्य-पिसाचसंग दया, माया, प्रेम, करूणाआदि सात्विक भाव हुँदैनन् | उ त्यस व्यक्तिसंग प्रेमको अभिनय गर्छ जुनबाट उसले धनप्राप्त गर्न सक्छ | यस्ता द्रव्य-पिसाचहरूको मृत्यु सधैं दु:खदायी नै हुन्छ किनभने वराह (सुँगुर) कुनै पनि अर्थमा सात्विक प्राणी होइन र उसको मृत्यु पनि वराहको दाह्राले थिचेर भएको थियो |
यहाँ एउटा कुरा प्रष्ट हुन्छ मान्छे जतिसुकै तपस्वी होस् (कश्यप जस्तो महान् तपस्वी) र जतिसुकै शक्तिशाली हो धर्मको उलंघन गरेर शास्त्रले हुँदैन भनेको अवस्थामा आफ्नै पत्नीसंग सेक्स गर्छ भने पनि उसबाट जन्मने सन्तानहरू "द्रव्य-पिसाच" नै हुन्छन् | आजभोली जसरी संसार "क्यापिटल"को वरिपरी घुमिरहेको छ, यसबाट एउटा साधारण व्यक्तिले पनि अनुमान लगाउन सक्छ कि समाज कसरी हिरण्यक्ष र हिरण्यकशिपुमा रुपान्तरित हुँदैछ |
आज हरेक मान्छेको प्राथमिकता "पैसा" बनेको छ र पैसा कमाएपछि सबै दायित्वहरू पुरा गर्न सकिन्छ भन्ने भ्रम बढ्दो छ | एक पटक कुनै मान्छेमा "द्रव्य कमाउने लत बस्छ" त्यसबाट फर्केर आउँदा धेरै ढिलो भैसकेको हुन्छ | मातापिता, श्रीमान्, श्रीमती, छोराछोरी, छिमेकी र कर्तव्यहरू अवसान भैसकेका हुन्छन् | द्रव्य आर्जन गरौँ तर द्रव्यपिसाच बन्ने अवस्थाबाट जोगिने प्रयत्न गरौँ |
मलाई थाहा छ कि धेरैजसो देहात्मवादी (शरीर शरीरबाट प्राप्त हुने सुख वाहेक संसारमा अन्य कुनै कर्तव्य छैन) धर्मपूर्वक दाम्पत्य धर्म (विधिपूर्वक विवाह गरेपछि मात्र यौनजन्य क्रियाकलाप गर्ने विधान) अन्धविश्वास लाग्न सक्छ | सत्य धेरैलाई पच्दैन र रमाइलो (रोमान्टिक) पनि हुँदैन | यो औषधि हो | सुन्न सक्ने, बुझ्न सक्ने र मनन गरेर धर्मको पालन गर्नेले मायालु सन्तान प्राप्त गर्छन् | यसलाई अन्धविश्वास ठान्नेको घरमा "हिरण्याक्ष जन्मिने छन् | मातापिताको मृत्यु हुँदा सन्तानबाट एउटा फूल पनि प्राप्त हुने छैन |
(श्रीमद्भागवत ३/१४-१८ अध्यायमा आधारित प्रसंग)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...