Monday, February 19, 2024

दृष्टिकोणको प्रभाव

 दृष्टिकोणको प्रभाव

दर्शनको अर्थ दृष्टिकोण होस् वा परमतत्वको साक्षात्कार दुवैले "देख्ने वा भेट्ने" नै कुरा गरेका हुन् | जतिसुकै देखेको वा भेटेको सूचना दिए पनि अहिलेसम्म "पूर्णसहमति" स्थापित भैसकेको छैन | वहस जारी छ | खोजले निरन्तरता पाइरहेको छ | दृष्टिकोणको कुरा त झन् जटील छ | विश्वको हरेक व्यक्तिसंग दृष्टिकोणको सम्भावना छ | दृष्टिकोण त्योसंग मात्र हुँदैन जसले सोच्ने अवस्था प्राप्त गरेको छैन वा चिन्तन गर्ने क्षमता गुमाएको छ | गुमाउनु र नहुनु यी दुई फरक प्रकृति हुन् | गुमाउनुको अर्थ हो - सामर्थ्य समाप्त हुनु | नहुनुको अर्थ हो - त्यस्तो सामर्थ्य प्राप्त नै नहुनु |
तेसैले दृष्टिकोण हुनुको अर्थ हो - क्षमता हुनु | यस अर्थमा चिन्तन, मनन तथा तर्क गर्ने क्षमता भएको व्यक्तिमा दृष्टिकोण हुन्छ | कुनै पनि दृष्टिकोण सार्थक वा निरर्थक हुँदैन | समय, परिवेश, आवश्यकता तथा दृष्टिकोणले अर्कोमा पार्ने प्रभावले दृष्टिकोणको भविष्य निर्धारित हुन्छ | साथै, यदि कसैले आफ्नो दृष्टिकोणलाई लक्ष बनाएको छ भने, त्यो दृष्टिकोण अन्यका तुलनामा शक्तिशाली हुन्छ | शक्तिशाली हुनुको अर्थ विश्वव्यापी वा सर्वस्वीकार्य हुनु कदाचित् होइन | हरेक दृष्टिकोणले विश्वव्यापी लक्ष ग्रहण गरेका हुन सक्छन् तर मानवीय इतिहासमा यस्तोलक्ष कुनै पनि "दृष्टिकोण"ले प्राप्त गरेका छैनन् |
दर्शनशास्त्रीहरूका लागि "दृष्टिकोण" निकै महत्वपूर्ण तथा संवेदनशील क्षण हुन्छ | कुनै दृष्टिकोण किन तुरुत्न ग्राह हुन्छ, कुनै दृष्टिकोण धेरै समयपछि ग्राह्य हुन्छ तथा कुनै दृष्टिकोणको जन्म र मृत्युसंगै हुन्छ ? जस्ता प्रश्नहरू निकै जटील हुन्छन् | सम्भवत: सबै भन्दा भरपर्दो उत्तर "दृष्टिकोण" प्रतिको "दृष्टिकोणहरू"नै हुनुपर्छ | दृष्टिकोण पस्कने व्यक्ति, परिवेश तथा दृष्टिकोणले सम्बोधन गरेका सन्दर्भले पनि दृष्टिकोणको ग्राह्यता विनिर्माण गर्छ नै | अन्यथा आजभन्दा ३५ वर्ष पहिले लेखिएका वेदका दृष्टिकोणहरू वारे चर्चा-परिचर्चाको आवश्यकता नै पर्ने थिएन | थेल्स, प्लेटो वा कान्टलाई सम्झनु पर्ने आवश्यता नै थिएन | सायद, दृष्टिकोणको इतिहास खोज्ने क्रममा पूर्ववर्ती व्यक्तिहरूका दृष्टिकोणले त्यस बखतको समाजलाई प्रभावित पारेको थियो |
एउटा दर्शनशास्त्रीका लागि दृष्टिकोणको अर्थ हो, त्यसले जीवन-जगतका समस्याहरूलाई सम्बोधन गरेको हुनुपर्छ | अहिलेको मानवपुस्ता विगतको मानव होइन | नितान्त नयाँ हो तर यसले पुराना पुस्ताहरूको जैविकगुणको वहन गरिरहेको छ | आज पनि पूर्खाले उठाएका अस्तित्व सम्बन्धि समस्या, नैतिकता तथा अनैतिकता सम्बन्धि समस्या तथा परमतत्व सम्बन्धि समस्याहरू यथावत् नै छन् | आज पनि मान्छेले "सत्यको खोज" गरिनै रहेको छ | आज पनि मान्छेले सर्वोत्तम अर्थात् सत्यम् विश्वम् सुन्दरम् को यात्रा त्यागेको छैन | इतिहासका रूपमा दृष्टिकोणहरूले निरन्तरता प्राप्त गरेका छन् | इतिहास र वर्तमानलाई जोडेर "दृष्टिकोण"हरू आविष्कार भइरहेका छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...