Monday, February 19, 2024

निर्णयमा प्रश्नचिन्ह

 निर्णयमा प्रश्नचिन्ह

१० हजारवर्षमा जस्तासुकै मानवीय आविष्कारहरू पूर्णरूपले नष्ट हुन्छन् | लगभग दुई लाखवर्ष पहिले अस्तित्वमा आएको भनेको "मान्छे"ले तपाईं/हाम्रो युगमा "बैज्ञानिक" विकास गरेको छ, पहिले थिएन भन्नु विज्ञान सम्मत हुँदैन | हुन सक्छ, विगतका मान्छेहरूले गरेका विकसित सभ्यताहरू, निर्माणहरू तथा पराक्रमहरू प्राकृतिक घटनाहरूले नष्ट भए होलान् | यदि विश्वबाट डाइनासोर नष्ट हुन सक्छन् भने सभ्यताहरू, मानवीय विकासहरू पनि नष्ट हुन सक्छन् | अहिलेको "मानवीय विकास"लाई सबैभन्दा उत्कृष्ट हो भन्दै ठोकुवा गर्दा विचार पुर्याउनु उचित हुन्छ |
"मान्छेका अनेकौं जाति थिए" भन्ने कुरा "होमो सेपियंस"ले स्वीकार गरेकै छ | अनि, हामी होमोसेपियंस भन्दा अन्य जाति बढी बुद्धिमान, अनुसन्धानशील तथा ज्ञानी थिएनन् भन्ने कुराको प्रमाण आजसम्म जुटाइएको छैन | होमोसेपियंसले अन्य मानव जातिको इतिहास मेटाएको वा अन्य मानवजातिहरू कुनै प्राकृतिक प्रकोपमा परेर लोप हुँदा गर्दा होमोसेपियंस भर्खरै "मान्छे" बन्नेतिर उन्मुख भएको पनि हुन सक्छ | आजको "मान्छे"संग यस प्रश्नको भरपर्दो जवाफ छैन | आजको इतिहास होमोसेपियंसले आफ्नो पूर्वाग्रहबाट निर्माण गरेको होइन भन्न मिल्दैन |
-इस्टर द्विपका ढुङ्गाका मूर्तिहरू, इजिप्टका पिरामिडहरू, भारतीय प्राचीन संस्कृत ग्रन्थमा उल्लेख "विमान"हरू, दिव्यशशस्त्रहरू, पशुको टाउको मान्छेको शरीरमा जोडेका कथाहरू तेसै आएका होइनन् | भाषाशास्त्रीय नियमलाई मान्ने हो भने कुनै पनि समाजमा प्रचलित "शब्द" निरापद हुनै सक्दैन | विटगेन स्टाइनले "ईश्वर, आत्मा, परमात्मा, नीति, शुभजस्ता" शब्दहरू "मूल्य विहिन हुन्" भनेर घोषणा गरे पनि ती आज पनि ९४% विश्वका मान्छेहरूका लागि सार्थक नै छन् |
सत्य हो, मैले र मजस्ता करोडौं मान्छेले "ईश्वर"को दर्शन नगरेका हुन सक्छौं र साच्चिकै ईश्वर नहुन पनि सक्छ तर ईश्वर शब्दले सार्थकता प्राप्त गरिसकेको छ | आत्मा शब्दले सार्थकता प्राप्त गरिसकेको छ | ईश्वर आफैमा होस् वा न होस् केही फरक पर्नेवाला छैन | ईश्वरको शक्ति, सामर्थ्य, व्यापकताआदि गुणहरू समेटेर एउटा सार्थक शब्द विश्वभरी चलिनै रहेको छ | युग, मनवंतर, परार्धआदि सीमामा विभाजित देव, मानव, दानव, किन्नर, गन्धर्व, राक्षस युगहरूले बोल्न र बताउन खोजेको तत्थ्यहरूलाई आजको उपलब्धिलाई सर्वोत्कृष्ट मानेर अस्वीकार गर्नु तर्कसङ्गत हुँदैन |
ब्रह्माण्डको उत्पत्तिका विषयमा विवाद छ | मानव जातिको विकासका वारेमा विवाद छ | सूर्य र पृथ्वीको निर्माण र जीवको विकासका विषयमा पनि विवाद छन् | यस्ता विवादहरूका विचमा "मान्छेको विकास दूई लाख वर्ष पहिला आरम्भ भएको हो" भन्नु पनि धर्मका अनेकौं सम्प्रदायहरू मध्ये एउटाको समर्थन गर्दै अरूलाई अस्वीकार गर्नु सरह नै हुन्छ | सूर्यको प्रकाशमा कुनै विवाद छैन | पानीको अस्तित्वमा कुनै विवाद छैन तर विकासको प्रक्रियामा धेरै विवादहरू छन् | विकासको एउटा सिद्धान्तलाई स्वीकार्नुको अर्थ अर्को सत्यको हत्या गर्नु पनि हुन सक्छ | तेसैले "होमोसेपियंस"ले लेखेको, बुझेको तथा स्थापित गरेको सत्यलाई प्रमाणिक मान्न सकिन्न |
यदि तार्किक र निरपेक्ष दृष्टिकोणले निष्कर्ष निकाल्ने हो भने आचार्य शङ्करले "ब्रह्म वाहेक केही छैन" भन्नु र क्वान्टम फिजिक्सले "दृश्य अदृष्य विश्व केवल वेभ-फर्म" भन्नुमा तात्विक फरक छैन | यसैगरी परम्परागत फिजिक्सले "यो युनिभर्स ट्रिलीयन लाइट इयर्समा फैलिएको छ" भन्नु र वैदिक ऋषिहरूले "नेतिनेति वा अनन्त" भन्नुमा केही फरक छैन | पृथ्वीको जीवन (आठ खर्व वर्ष) कालमा पुग्न नसकिने १ लाइट इयर टाढाको ताराको कुरा गर्नु र विश्व अनिर्वचनीय तथा सम्पूर्ण रूपमा बुझ्न नसकिने छ भन्ने ऋषिका बचनहरूमा केही फरक छैन |
एउटा कुरा सत्य हो "होमोसेपियंस"हरूको चिन्तन शक्ति, अन्वेषण शक्ति तथा ज्ञानलाई भण्डारण गरेर दोश्रो, तेस्रो तथा आगामी अनेकौं पुस्ताहरूलाई त्यो ज्ञान पुस्तान्तरण गर्ने सामर्थ्य प्राप्त भएको छ | अनन्त बाटो हिड्दै गर्दा ईश्वर सधैंका लागि लोप पनि हुन सक्छ, होमोसेपियंसले आफ्नो अस्तित्व गुमाएर अर्को "मानव"को आगमन पनि हुन सक्छ | "सक्यता"को सामर्थ्य प्रकृतिमा छ | तेसैले चिन्तन गरौँ | मनन गरौँ तर विज्ञान वा धर्मका विनम्र विश्वासी होइन समालोचक बनौं | आफ्नो निजी अस्तित्वलाई रमाइलो गरी उपभोग गरौँ | हरेक निर्णयमा प्रश्न गरौँ | विनम्र अनुयायी बन्नबाट जोगिऔ | दार्शनिक दृष्टिकोणका उपभोक्ता बनौं |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...