Monday, February 19, 2024

मनुस्मृतिका लोग्नेस्वास्नी र हामी

 मनुस्मृतिका लोग्नेस्वास्नी र हामी

विश्वमा असंख्य विवाहका विधिहरू छन् | ती सबै तेस ठाउँको आवश्यकता, परिवेश एवं स्त्री एवं पुरुषलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक रूपमा जे-जसरी बुझ्ने गरिएको छ, तेसैबाट निर्धारित भएका हुन् | वैदिक संस्कृतिमा विवाह संस्थाका संस्थापक स्वेतकेतु मानिन्छन् | यद्यपि ब्रह्मा, विष्णु, शिव त्रिदेवहरूले क्रमश सावित्री, लक्ष्मी तथा पार्वतीसंग प्रेम, छानी र मागी विवाह गरेको इतिहास छ | यसैगरी देवराज इन्द्रले शचिसंग, चन्द्रमाले रोहिणीसंग, रामले सीतासंग, कृष्णले रुक्मणीसंग विवाह गरेको इतिहास छ |
मनुस्मृति (३/२१) ले तत्कालीन वैदिक समाजमा ब्राहम, दैव, आर्ष, प्रजापत्य, आसुर, गन्धर्व, राक्षस र पैशाच गरी आठप्रकारका विवाह गर्ने चलन रहेको इङ्गित गरेको छ | यी आठप्रकारका विवाह मध्ये ब्राहम, दैव, आर्ष र प्रजापत्यलाई उत्त्तम र आसुर, गन्धर्व, राक्षस र पैशाच निम्नतहको विवाह भनिएको छ | यद्यपि समाजमा चलन रहेको भए पनि राक्षस र पैशाच विवाह भने कुनै हालतमा पनि नगर्नु (मनु ३/२५) भन्ने आदेश दिएको छ | वैदिक इतिहास पढ्दा ब्रह्माले आफै रोजेर सावित्रीसंग विवाह गरेका छन् | विष्णुलाई लक्ष्मीले आफै रोजेको बुझिन्छ भने पार्वतीले शिवलाई आफै रोजे पनि मांगी विवाह नै गरिएको छ | इन्द्र, चन्द्रमाआदिले विधिपूर्वक विवाह नै गरेको देखिन्छ | उपनिषदकालका अधिकांश विवाहहरू "पिताले माग्न आएका वरलाई कन्या दान दिएको" पढ्न सकिन्छ |
राम र सीताको विवाह होस् वा कृष्ण र रुक्मणीको विवाह नै किन नहोस्, दूवैमा महिलाले अग्रसरता लिएको बुझिन्छ | यहाँसम्म कि द्रोपदीले पनि आफै अर्जुनलाई रोजेको इतिहास छ | ऋग्वेद तथा अथर्ववेदका सूक्तहरू पढ्दा उमेर पुगेका दुई स्त्री पुरुषले एकआपसमा सल्लाह गरेर आ-आफ्ना मातापिताको अनुमति प्राप्त गरेर विवाह गरेको देख्न सकिन्छ | मनुस्मृतिकालमा भने वालविवाह स्वीकार्न थालिएको छ | यद्यपि सैद्धान्तिक रूपमा स्त्रीका लागि १६ वर्ष र पुरुषका लागि विवाहको उमेर २५ निर्धारित गरिएको छ |
-नेपाली तथा भारतीय समाजमा विवाह संस्थाप्रति ठूलो विश्वास, आस्था र श्रद्धा छ | विवाहलाई सोह्र संस्कारहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ | आज पनि नेपाली समाजमा अविवाहित दाम्पत्य भन्दा वैवाहिक दाम्पत्यलाई श्रद्धा तथा विश्वासको भावले हेरिन्छ | तेसैले होला, एकआपसमा सल्लाह गरेर घरबाट भाग्ने "केटाकेटी"ले पनि कुनै मन्दिरमा पुगेर तेहाका देवप्रतिमालाई साक्षी राखेर सिन्दुरपोते र मालाआदानप्रदान गरेर सङ्क्षेपमा विवाह सम्पन्न गर्छन् र एकअर्कालाई जीवनभरिका लागि "पतिपत्नी"का रूपमा स्वीकार गर्छन् |
एकआपसमा मन पराएर स्वेच्छाले भागेर गरिने विवाहलाई मनुस्मृतिको "गन्धर्व-विवाह" अन्तर्गत राख्न सकिन्छ | प्रसिद्ध पौराणिक पात्र शाकुत्न्तला र दुष्यंतको विवाहलाई गन्धर्व विवाह मानिन्छ | अहिले नेपाली समाजमा उपरोक्त आठप्रकारका विवाह मध्ये सबैजसो विवाह न्युनाधिकरूपमा प्रचलित नै छन् तर दैव, आर्ष, प्रजापत्य तथा गान्धर्व बढी प्रचलन छन् | तर मनुस्मृतिमा उल्लेखनै नगरेको दाइजो-प्रथा हिन्दू विवाह विधिमा कसर्री प्रवेश गर्यो ? खोज्नु पर्छ | विवाह गर्दा छोरीका लागि स्वेच्छाले धनसम्पति दिनु पर्छ भन्ने मनुस्मृतिले आदेश दिएको छ तर छोरी दिंदा छोरापक्षले दाइजो माग्ने प्रसंग उल्लेख छैन | मनुस्मृतिकारका लागि हाल प्रचलित कन्या दिनेसंग वरपक्षले दाइजो माग्नु आश्चर्यजनक र अनौठो चलन हो |
हालका दिनमा पाठकहरूका विच लोकप्रिय पुस्तक "इकीगाइ"मा प्रष्टसंग ओकिनावाका विश्वका सबैभन्दा पाको उमेरका मान्छेहरूले "आफ्नो परम्पराप्रति गौरव गर्ने" तत्थ्यलाई सबैभन्दा महत्व दिएको बताएका छन् र साथै सिन्तो धार्मिक व्यबहारहरू गर्दा सबैभन्दा सन्तुष्टी मिल्ने" उल्लेख गरेका छन् | यसैगरी, वैदिक विवाह र वैदिक विवाहमा आधारमा निर्मित दाम्पत्य नेपाली समाजको जीवन्त यथार्थ हो | सहज, सरल र प्राकृतिक जीवन बाँच्नेले परम्परागत पद्यतिलाई समयअनुकुल बनाएर अगाडी बढिरहेका हुन्छन् | अर्काको नक्कल गरेर "राम्रो जीवन"को कल्पना गर्नेहरू "प्रयोग"का भिक्टिम बन्छन् | परम्पराप्रति विद्रोहले चर्चा चुलिन्छ तर परिवार र परिवारमा आधारित सुख (दाम्पत्य) चुडिन्छ |
धेरैजसो अधिकार अभियन्ताहरूको पारिवारिक जीवन निकै पीडादायी हुन्छ | अभियानका लागि दाम्पत्य गुमाउनेहरू पनि छन् | पीडा सहन नसकेर अभियानकर्ता बनेका पनि थुप्रै छन् | तर एउटा तत्थ्य सत्य हो - घृणावादमा आधारित अभियान भन्दा प्रेमको एकान्त मानव जीवनका लागि धेरै अर्थपूर्ण हुन्छ | दाम्पत्यको सार्थकता प्रेम र मिलनमा हुन्छ | मिल्नै नसक्ने दाम्पत्य र प्रेम नै नभएका लोग्नेस्वास्नी नर्क हो | नर्कबाट निस्कने बुद्धिमान हुन्छन् | तर निजी स्वार्थका लागि दाम्पत्यलाई नर्कमा रुपान्तरित गर्नेहरू संसारका सबैभन्दा दुखी प्राणी हुन् | जसले आफैलाई समेत क्षमा गर्न सक्दैनन् |
-स्त्री र पुरुषकाविच विवाहको प्रचलन यौन तथा गृहस्थ जीवनलाई सुव्यवस्थित र स्थायी बनाउनका लागि आरम्भ भएको हो | विश्वभरी विवाहका विभिन्न प्रचलन छन् | ती मध्ये वैदिक विवाह सबैभन्दा व्यवस्थित तर दिगो मानिन्छ | हुन त आ-आफ्नो धर्म र संस्कृतिअनुसार सबैलाई आफ्नो विवाहनै उचित लाग्दो हो तर भारतवर्षमा डिभोर्सको रेट १ प्रतिशत भन्दा पनि कम हुनुले विवाह र विवाहद्वारा निर्मित परिवार सबैभन्दा भरपर्दो रहेको विश्वले स्वीकार गरिरहेको छ | स्वतन्त्र यौन चाहने, विवाहलाई पार्टनरसीपको रूपमा ग्रहण गर्ने र व्यक्तिगत स्वतन्त्रतालाई परिवार वा सामाजिक व्यबस्थाभन्दा बढी महत्वपूर्ण ठान्नेहरूका लागि विवाह र दाम्पत्य दूवै स्वीकार्य नहुन सक्छन् | यो अपवाद हो, विश्वभरिका विवाहित दम्पतिहरू मध्ये उपर्युक्त किसिमका दम्पत्तिहरू औलामा गन्न सकिने छन् | आ-आफ्नो मर्जी !
मनुस्मृतिका आधारमा मुख्य दुई र ती दुईका एकएक उपगरी चारप्रकारका दम्पत्ति र तिनको दाम्पत्य सम्बन्धको अनुमान गर्न सकिन्छ | वैदिक संस्कृतिमा सत्व, रज र तममा आधारित व्यबहार, विवाहमा देव, असुर र मनुष्यगणको प्रबृत्तिले प्रभाव पार्छ | साथै, विवाहको क्रम पनि ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र (शास्त्र जीवि, शस्त्रजीवि, व्यापार र कृषि जीवि र सेवा जीवि) प्रबृत्तिसंग मिल्नेको दाम्पत्य सुखी हुन्छ | विपरित प्रवृत्ति भएकाहरूको दाम्पत्य असजिलो हुन्छ | निश्चय नै दाम्पत्यको यस्तो सम्बन्ध बुझ्न परामर्शदातामा वैदिक संस्कृतिको ज्ञान हुनु पर्छ | फेमिली वा कपल काउन्सेलिंगका पश्चिमा विधिहरूले समस्याको पहिचान पनि नहुन सक्छ | पश्चिमा अभिमुखी करणले पश्चिमा पद्यतिका कपलहरूका समस्या निदान गर्न सहयोग मिल्छ, पूर्वीयाका सवालमा काकताली मान्नुपर्छ |
ब्रह्म, दैव, आर्ष र प्रजापत्य - यी चार प्रकारका विधिबाट विवाह गरिएका पतिपत्नीहरू परम्परागत शैलीका दम्पति हुन्छन् | यिनको सम्पूर्ण दाम्पत्य जीवनमा परम्पराप्रति पूर्ण, अर्ध र आंशिक समर्पण रहन्छ | यी चारमध्ये पछिल्ला दुई आर्ष र प्रजापत्य विवाहका माध्यमबाट दाम्पत्य जीवनमा प्रवेश गरेका अलि उदार हुन्छन् | अर्कोतिर, आसुर, गन्धर्व, राक्षस र पैशाचिक विधिको विवाह वैदिक मूलधार विरुद्ध भएकोले स्वीकार्य दुई गान्धर्व र आसुर निकै प्रोग्रेसिभ हुन् | राक्षस र पैशाच विधि पूर्णतया शास्त्र विरुद्ध भएकोले यस्तो विधिबाट दाम्पत्यमा बाँधिएका (फालिएका) पतिपत्नीको दाम्पत्यमा सुख, सन्तोष, प्रेम, ममता, माया, समझदारी, सहयोगिपनजस्ता असल सम्बन्धहरूको कल्पना नै नगरे हुन्छ | पैशाच र राक्षसी मनोवृत्ति भएकाको दाम्पत्य, दाम्पत्य नभएर दासत्व र यौनदासत्व नै हुन्छ |
-ब्राह्म प्रवृत्ति भएका दम्पतिहरू अत्यन्त सरल, सहज र जीवनलाई मोक्ष प्राप्त गर्ने आध्यात्मिक साधनको रूपमा प्रयोग गर्छन् | यहाँ एकआपसमा कुनै पनि प्रकारको लोभ, लालच, देखावटीपन, लुकाउनु पर्ने केही हुन्न | यस्ता दम्पतिहरू तडकभडकमा मन दिन्नन् | स्वाध्याय, तपस्या, संतोष तथा सहयोग यिनका मुख्यगुण हुन्छन् | दु:ख सुख दुवै जीवनका अभिन्न अङ्ग हुन् भनेर बुझेको हुँदा एकआपसको सम्बन्ध सहज हुन्छ | ब्रह्मको आराधना गर्ने र मोक्ष प्राप्त गर्नुमात्र उपर्युक्त दम्पतिको लक्ष भएको हुँदा संसारिक व्यक्तिहरूका लागि यी "अस्वाभाविक" हुन्छन् | ऋषि कर्दम र देवहतिको दाम्पत्य यसको उदाहरण हो |
दैव प्रबृत्तिका दम्पतिहरू शास्त्रका नियमहरूलाई पूर्णतया पालन गर्ने, सामाजिक, सांस्कृतिक तथा धार्मिक मान्यताहरूलाई स्वीकार गर्ने तर ऐश्वर्यपूर्ण जीवनका लागि सङ्घर्ष गर्न रुचाउने हुन्छन् | पत्नीहरू पतिबाट डोमिनेन्ट हुन्छन् तर समानअधिकारको उपयोग गर्छन् | जीवनका सबै विषयमा छलफल गर्छन् | अन्याय, अनीति तथा अराजकताप्रति यिनको तीब्रअसहमति रहन्छ | आफ्नै पतिले गल्ती गरे पनि त्यसको प्रतिवाद गर्छन् | दैव प्रवृति भएका दम्पतिले बहुविवाहलाई अस्वीकार गर्दैनन् | एकआपसमा छलछाम नगरे पनि परिवार र व्यक्तिगत स्वार्थका लागि आफु वाहिरकासंग छलछाम गर्न पछि पर्दैनन् |
आर्ष प्रबृत्ति भएका दम्पतिहरू बढी कर्मकाण्डी हुन्छन् | हरेक कामका लागि तिथिमितिमा विश्वास गर्ने, देवताहरूको आराधना गर्ने, यज्ञ गर्ने, यज्ञ गराउने, दान दिने, दान ग्रहण गर्ने, तन्त्रमन्त्र गर्ने, तन्त्रमन्त्र गराउने तथा पतिपत्नीको दाम्पत्य सफल पार्न भौतिक, दैविक तथा पारामर्थिक सहयोग लिन्छन् | आर्ष वृत्ति भएका दम्पतिहरू आजीवन एकपत्नी वा एकपति ब्रता हुन्छन् | यस्ता दम्पतिको आपसी असहमति निष्क्रियतासंग हुन्छ | हरेक क्षण, हरेक पल कर्म गर्नुनै यस्ता दम्पतिको पहिचान हो | यी आपसमा मिल्छन् | एकआपसमा सहयोगी हुन्छन् | मायालु हुन्छन् तर माया सबैको चासोको विषय हुँदैन |
प्रजापत्य विधिबाट विवाहित दम्पतिमा प्रजापतिका गुणहरू हुन्छन् | यस्ता दम्पतिमा "अधिकार जमाउने" गुण बलियो हुन्छ | यस्ता दम्पतिहरूका एकआपसी सम्बन्धका सीमाहरू प्रष्टसंग कोरिएका हुन्छन् | एकआपसमा सहमति, असहमति, छलफल तथा सहकार्य यस्ता दम्पतिहरूको विशेषता हो | यस्ता दम्पतिहरूका विचमा पूर्वनिर्धारित गरिएका सीमाहरू उलंघन गर्दा झैँझगडा उत्पन्न हुन्छ | अन्त्यमा सम्झौता हुन्छ र विवाद टुंगिन्छ | परिवार, समाज र राष्ट्रप्रति दायित्व पूरा गर्ने सवालमा सधैं अब्बल हुन्छन् |
उपर्युक्त सबै दाम्पत्यका गुणहरू अध्ययन/अध्यापन गर्ने, दानदिने/लिने/, वेद पढ्ने/पढाउने, यज्ञ गर्ने/यज्ञ गराउने र सधैं संसारको बन्धनबाट मुक्तिको लागि प्रयासरत रहने स्त्री तथा पुरुषका लागि उपयुक्त हुन्छ | यदि करणवस विपरित गुण भएका व्यक्तिसंग दाम्पत्य सम्बन्ध बन्यो भने त्यस्तो दाम्पत्यमा अनेकौं समस्या हुन्छन् | चारैबटा दाम्पत्यका विधिहरू परम्परागत शास्त्रीय आदेशको निरन्तरतामा आधारित छन् | तेसैले वैदिक संस्कृतिमा माथिल्लो दर्जामा परेका छन् |
अहिले विविधकारणले विवाहित दम्पतिहरूका अनेकौं समस्या छन् | केही आर्थिककारणले, केही पारिवारिककारणले, केही महत्वाकांक्षी स्वभावका कारणले र धेरैजसो आधुनिकतासंग आएका बजारीकरणका कारणले पतिपत्नीका विचमा समस्याहरू बढिरहेका छन् | पति वा पत्नीका विचको प्राकृतिक सम्बन्धलाई "अधिकारवादी"हरूको बक्रदृष्टि पनि परेको छ भने अर्कोतिर परम्परागत तथा आधुनिकता दूवैतिरबाट "जाँडरक्सी"ले पतिपत्नीकाविचमा प्रवेश गरेर सुखमय पारिवारिक जीवनमा ग्रहण लगाउने काम गरेको छ | साथै, लोग्नेस्वास्नी समानताको नाममा दूवैमा झुक्नै नसकिने गरी अहङ्कार बढेको छ | प्रेम-विवाहको सङ्ख्या बढेसंगै "पतिपत्नी"हरू एकआपसमा शंकालु मनका भएका छन् | धेरैजसोले "पत्नी वा पति" अर्कोसंग "लागेको" निष्कर्षमा पुगेर दाम्पत्य प्रेम गुमाउंदै छन् |
-सहनशीलता, सहयोगिपन, समझदारी, विश्वास, समर्पण र प्राकृतिक प्रेममा "बजारीकरण"को लेप चढेको छ | एकातिर रक्सी र रक्सी सेवन गर्नेलाई "मोडर्नहुड"को दर्जा दिएर जड्याहा बन्न प्रेरित गर्ने अर्कोतिर "पारिवारिक काउन्सेलिग, फेमिली काउन्सेलिंग, कपल काउन्सेलिंग"को सर्टिफिकेटबोकेर पतिपत्नीका विचको सम्बन्ध सुधार्ने "खेती"को बजारीकरण गर्ने प्रबृत्ति बढेको छ | काउन्सेलिंग आफैमा सहयोग गर्ने राम्रो उपाय हो बढ्दो अहङ्कार, महत्वाकांक्षा, गजेटहरूको चाहना, व्यक्तिवादी स्वभाव र एकआपसमा पूरा गर्नु पर्ने कर्तव्य भन्दा अधिकारलाई महत्व दिंदा पतिपत्नीका विचमा बेमेल बढेको छ | यस्तो वेमेलमा प्रेमविवाह गरेकाहरू एकआपसमा झुक्नै नहुने अन्धविश्वासका कारण झन् पिडित छन् |
हाम्रो समाज अचम्मको छ | पीडा सहेर पनि लोग्नेस्वास्नीले आफुबिच रहेका मानसिक, भौतिक समस्याहरू लुकाएर हिड्छन् | समस्याहरूको समाधानका लागि उचित परामर्श लिने तिर निकै उदासीन देखिन्छन् | नेपाली पतिपत्नीमा आफ्ना एकआपसी समस्या लुकाउँदै "मुटुमा ढुङ्गा राखी हाँस्नु पर्या छ" भन्ने उखान प्रमाणित गर्न महारत प्राप्त छ | घरभित्र एकआपसमा पानीवारावार गर्ने लोग्ने स्वास्नीले "सामाजिक जमघटमा जाँदा" नक्कली प्रेम प्रदर्शन गरेको पनि धेरै ठाउँमा भेटेको छु | मनमा अनेकौं पीडा, घृणा, दुख, गुनासाहरू बोकेर आफैलाई "टर्चर" दिनुभन्दा पतिपत्नीले समस्याहरूको समाधानको बाटो रोज्नु पर्छ | धमिरा लागेको काठको आयु बढी हुँदैन | पतिपत्नीविचमा देखिएका मानसिक घाउँले पनि परिवार र व्यक्तिस्वयंलाई ध्वस्त बनाउँछ |
आठप्रकारका विवाह विधिले केटाकेटीको भविष्यको दाम्पत्य कस्तो हुन्छ ? भन्ने प्रश्नको प्रष्ट जवाफ दिएका छन् | आर्ष, प्रजापत्य, गन्धर्व विधिले स्थापित भएको दाम्पत्य अन्यका तुलनामा गतिशील हुन्छ | आर्ष, प्रजापत्य तथा गान्धर्व गुण भएका दम्पतिले -आफ्ना आपसी समस्या निराकरण गर्न "सम्बाद, एकअर्काको कुरा सुन्ने, आफ्नो गल्ती स्वीकार गर्ने र एकअर्काप्रति पूर्ण विश्वास स्थापित गर्ने दिशातिर लाग्छन् | यो एउटा प्राचीनतम उपाय हो | प्राचीन पुराणहरूमा "शिवपार्वती सम्बादे" तेसै भनिएको होइन | यदि तपाईं एकअर्कालाई सम्मान गर्दै सम्मान गर्ने गुण विकसित भयो भने विश्वास गर्नुस्, तपाईंको दाम्पत्य जीवन सुखी, खुसी र अन्यका लागि "रोलमोडेल" हुने छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...