Monday, February 19, 2024

पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ

 पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ |

१. पर्वतकी एकमात्र छोरी पार्वतीलाई महादेव शिव मन पर्नुभयो | पार्वतीले तपस्या गरिन् | पर्वतले शिवसंग पार्वतीको विवाह गरिदिए | ती शिवपार्वती भनिए | यी दूवैको वैदिक विधिअनुसार ब्रह्माजीले विवाह गराएका हुन् | मन मिलेपछि राजकी छोरी र मसानमा बस्ने शिवको परिवार पनि सुखी हुने रहेछ |
लोग्ने स्वास्नीको मन मिलेको छ भने शिवपार्वतीको जस्तो नमिल्दो परिवार पनि सुखी हुन्छ | शिव मसानमा बस्ने | खरानी धस्ने | हिमालमा बस्ने | ध्यान लागेपछि युगौं न उठ्ने | पार्वती राजाकी छोरी | सारै सुखले पालिएकी | बाघ बाघमा चढ्ने | महादेव गोरूमा चढ्ने | बाघले गोरूलाई देख्नै नसक्ने | शिवपार्वती को मन मिलेपछि | तिनको पनि मन मिलेकै छ |
छोरा गणेश हात्ती जस्तै | मुसामा चढ्ने | महादेवले सर्पको माला लाउने | मुसालाई सर्पले देख्नै नसक्ने | शिवपार्वतीको मन मिलेपछि तिनको पनि मन मिलेकै छ | सर्पले मुसालाई खाँदैन | छोरा कार्तिकेयको बाहन मयूर | मयुरले सर्पलाई देख्नै नसक्ने | तर शिवपार्वतीको मन मिलेपछि | न बाघले गोरू खान्छ | न सर्पले मुसो खान्छ | न मयुरले सर्प खान्छ | न पार्वतीलाई शङ्करसंग गुनासो छ | न शिवलाई पार्वतीसंग गुनासो छ | हिउँको चीसो घर स्वर्गसरह छ |
लोग्नेस्वास्नीको मन मिल्छ | यो घर स्वर्ग हो | पतिपत्नीविच प्रेम छ | त्यो घर वृन्दावन हो | दम्पतिले एकअर्कालाई विश्वास गर्छन् | त्यो घर बैकुण्ठ हो | धन सम्पत्ति चाहिन्छ | छरछिमेकी चाहिन्छन् | परिवार चाहिन्छ | सबैभन्दा बढी | सबैभन्दा महत्वपूर्ण लोग्नेस्वास्नीका विचमा विश्वास चाहिन्छ |
शिवपार्वती विश्वास हुन् | त्यो विश्वासले शिवपरिवार सुखको पर्याय बनेको छ | पुराणहरूले सुखी दाम्पत्यमा शिव-परिवारलाई सम्झिन्छ | समस्या हुन्छन् | तनाव हुन्छन् | दु:ख हुन्छन् | यदि पतिपत्नी मिलेका छन् भने दु:ख सजिलै काटिन्छ | यदि पतिपत्नीमा मिलाप छैन भने त्यो घर नर्क हुन्छ | शिवपार्वतीको घर कैलाश स्वर्गसरह छ | किनभने शिवपार्वतीमा मिलाप छ | आशिर्वाद दिनेले "शिवपार्वती"को जोडीलाई सम्झिनन् | शिवपरिवारको असंगति होइन | पतिपत्नीमा मिलाप छ भने सबै असंगति सहयोगी हुन्छन् |
२. ऋषि कर्दम तपस्वी थिए | जङ्गलमा तपस्या गर्थे | ब्रह्माले भने तपस्या गर्नु राम्रो हो | विवाह गरेर सन्तान जन्माउनु | ऋषि,देव तथा पितृ ऋणबाट मुक्त हुनु हो | तिमीले विबाह गर्नुपर्छ | तपस्वीको विवाह भयो | राजा मनुकी छोरी सत्यवती पत्नी बनिन् | पतिपत्नी दूवै जङ्गलमा निवास गर्न थाले | एक दूवैमा ठूलो विश्वास थियो | तपस्वी तपस्या गर्थे | राज कुमारी पतिको तपस्यामा सहयोग गर्थिन् |
एक दिन कर्दम ऋषिले सम्झे | उनी विवाहित हुन् ! सत्यवतीसंग क्षमा मांगे | तपस्याको बलले सबै सुख जुटाए | सत्यवती र कर्दमका ११ बटा सन्तान भए | अन्तिम सन्तान ऋषि कपिल जन्मे | ऋषिले तपस्या गरिरहंदा सत्यवतीले दु:ख मानिनन् | कर्दमलाई छोडिनन् | आफ्ना बुवा सम्राटसंग गुनासो पोखिनन् | सधैं विश्वास र श्रद्धाका साथ ऋषिसंग रहिन् | ऋषिको लक्षलाई आफ्नो लक्षमामा समाहित गरिन् |
ऋषि कर्दम र राजपुत्री देवहुतिको आपसी विश्वासले "भगवान्" नै छोरा बनेर आए | छोराले आमालाई सांख्य दर्शनको उपदेश दिए | बुवा कर्दम आफ्नै त्याग, प्रेम र समर्पणले मोक्ष प्राप्त गरे | पतिपत्नीको एकआपसी समर्पणले जङ्गलमा मङ्गल भयो | ऋषि कर्दम र राजकुमारी देवहुति दुवैले ससुरा र बुवाको राज्य सुखको आवश्यकता परेन |
३. सीता नेपालको खेतबाट जन्मेकी थिइन् | राम दशरथ राजाका छोरा थिए | दुवै राजकुमार/राजकुमारी थिए | विश्वामित्रसंग घुम्दै जनकपुरमा सीतारामको आँखा जुधे | स्वयंवरमा सीताले रामलाई पतिको रूपमा स्वीकार गरिन् | रामले सीतालाई पत्नीको रूपमा स्वीकार गरे | दुवैको वैदिक विधिले विबाह भयो | दुवै एकआपसमा दम्पति बने | अयोध्या फर्केर दाम्पत्य जीवन विताउन थाले |
समयले कोल्टे फेर्यो | रामलाई१४ वर्षको बनवास मिल्यो | राम एक्कै बनवास जान चाहन्थे | सीताले पटक्कै मानिनन् | सीता र रामको मन मिलेको थियो | सीतारामको मन मिलेको हुँदा अयोध्या नै बैकुण्ठ बन्यो | पतिपत्नी मिल्दा घर स्वर्ग हुन्छ | गाउँ बैकुण्ठ हुन्छ | पतिपत्नी नमिल्दा घर लंका हुन्छ |
४. सत्यवान राजकुमार थिए | सावित्री राजा अश्वपतिकी छोरी थिइन् | सत्यवान् र सावित्रीको विवाह भयो | सत्यवान् केवल एकवर्ष जीवित रहने छन् - नारदले सूचना दिए | सावित्री कत्ति पनि आत्तिइनन् | बरू सधैं छायाँझैं संगै रहन थालिन् |
एक दिन काल आयो | कालले भन्यो - मैले सत्यवान् लाई लैजानु पर्छ | विधाताको यही नियम हो | सावित्रीले मानिनन् | कालले धेरै प्रयत्न गरे | धेरै वरदान दिए | तर सावित्रीले मानिनन् | उनी आफ्ना पतिसंग साँचो प्रेम गर्थिन् | उनको प्रेम शरीरसंग थिएन | आत्मासंग थियो | पतिसंग उनको कुनै स्वार्थ थिएन | अन्तत: काल हार्यो | सावित्रीले विजय प्राप्त गरिन् | यो सबै आपसी विश्वासले भयो | दु:खको बेलामा छोड्ने के पति ! दु:खको वेलामा साथ छोड्ने के पत्नी ? पतिपत्नी दु:ख सुखका साथी हुन् | एकआपसमा पुरक हुन् | पतिपत्नीका विचमा अविश्वास, झैँझगडा तथा मन नमिल्दा काल चांढो आउँछ |
मन्दोदरीको कुरा नमान्दा रावण मारियो | पत्नीको कुरा नटेर्दा कंश मर्यो | आफ्नी धर्मपत्नीको सल्लाह अस्वीकार गर्दा जरासन्ध मारियो | पत्नी गान्धारीको आग्रह नस्वीकार गर्दा धृतराष्टले राज्य र सन्तान गुमाए | लोग्नेको कुरा नमान्दा सत्यवतीले ज्यान गुमाईन् | पत्नीको कुरा नमान्दा इन्द्रले राज्य गुमाए | संसार पतिपत्नीको मिलनमा सुन्दर हुन्छ | झगडालु पतिपत्नीको संसार कालो हुन्छ | साच्चिकै नर्कको द्वार हुन्छ |
जङ्गलमा रावणले सीतालाई अपहरण गर्यो | सीताको वियोगमा राम रोए | रामको वियोगमा सीता रोइन् | रावणसंग युद्ध गरेर सीतालाई रामले घर फर्काए | कुनै गुनासो गरेनन् | लव र कुश दुई सन्तानको जन्म भयो | तेस बखतको चलन तेस्तै थियो | सीतालाई बात लाग्यो | रामले त्यागे | लक्ष्मणले सितालाई लागेर जङ्गलमा छोडिदिए | सीताले कुनै गुनासो गरिनन् | रामको कुरा काटिनन् | राम पनि सीताको वियोगमा रहे | त्यसपछि कुनै विवाह नै गरेन् | सीता र रामको दाम्पत्यको उदाहरण आजको समयमा पनि "सीताराम" भनेर दिइन्छ | रावणले लागेको भनेर सीताको रामले अपमान गरेनन् | रामले त्यागेको भनेर सीताले रामलाई "मानवाधिकारको कठघरा"मा उभ्याइनन् |
श्रीकृष्णले सत्यभामाको मान राख्न स्वर्गबाट पारिजात ल्याए | राजा हरिश्चन्द्रले पत्नीको मान राख्न मसानको काम गरे | पत्नीको मान, आत्मसम्मान जोगाउन पाण्डवले महाभारतको युद्ध लडे | पति गरम हुँदा पत्नी नरम हुने | पत्नी गरम हुँदा पति नरम हुने | आगोले आगो बाल्छ | पानीले आगो निभाउंछ | एउटा बोल्दा अर्को चूप लाग्ने | अर्को बोल्दा अर्को चूप लाग्ने | मतभेद स्वाभाविक हो | मनभेद हुनै हुँदैन | पत्नी पतिको ऐना हुन् | पति पत्नीको ऐना हो | एउटाले अर्काको अनुहार हेर्नु पर्छ | शिवले सधैं पार्वतीको उत्तर दिए | सबै शास्त्रहरू शिव-पार्वतीको सम्बाद हुन् | सम्बाद गर्नेहरू सधैं सुखी हुन्छन् | विवाद गर्नेहरू सधैं दुखी हुन्छ |
संवाद पत्नीए आरम्भ गरे पनि हुन्छ | संवाद पत्नीमे आरम्भ गरे पनि हुन्छ | सम्बाद समस्या समाधानको साँचो हो | संवाद गर्दा एकअर्काको सम्मान गरौँ | एकले अर्कोलाई तल पार्ने, अपमान गर्ने काम नगरौं | पत्नीलाई अपमानित गर्ने पतिहरू आफु अपमानित हुन्छन् | पतिको अपमान गर्ने पत्नीहरू आफैमा अपमानित हुनुपर्छ | तेसैले विवादलाई संवादमा रुपान्तरित गरौँ |
दाम्पत्यको अर्थ हो - घर र घरायसी मामिलामा समान अधिकार | आफै विच ठूलो-सानो, मेरो तेरो भन्नेहरूले दाम्पत्य जानेका छैनन् | वेदले पति र पत्नीलाई घरका विषयमा समान अधिकार दिएको छ | कसैले कसैलाई हेला गर्न मिल्दैन | हेला गर्नु पाप हो | आफ्नै प्रतिज्ञा विरुद्धको विद्रोह हो | घर, सम्पत्ति, बालबालिका, परिवार, नातागोता र कर्तव्यमा समानता छ | कर्तव्य पालन नगर्ने तर अधिकार खोज्नु धुर्त्याई हो | कर्तव्य पालन गर्नेले अधिकार स्वत: प्राप्त गर्छ | पतिपत्नी नै "घर-परिवार" हुन् |
विवाह नै दाम्पत्यको जग हो | हिन्दु संस्कृतिमा विवाह विनाको दाम्पत्य राम्रो मानिन्न | आठ प्रकारका विवाह हुन्छन् - ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच | यी मध्ये राक्षस र पैसाच विवाह अस्वीकार्य नै छ | साथै, विवाह भोगलिप्साको साधन होइन, अपितु एउटा पवित्र धार्मिक संस्कार हो l संस्कारले अंत:शुद्धि हुन्छ, शुद्ध अंत:करणमा तत्वज्ञान या भगवतप्रेम उत्पन्न हुन्छ, जुनचाहिं जीवनको चरम एवं परम पुरुषार्थ हो l विवाहमा सेक्स एउटा सानो अङ्ग हुन्छ | विवाहको मुख्य उद्देश्य ऋषि, देव तथा पितृऋण तिर्न सन्तान उत्पादन गर्नु र गृहस्थका रूपमा परिवार, गाउँ, राष्ट्र तथा विश्वका लागि आफ्नो कर्तव्य पूरा गर्नु हो |
वैदिक संस्कृतिले केवल सेक्सका लागि. केवल आर्थिक स्वार्थका लागि संगै बस्ने "जोडी"लाई दम्पत्ति मान्दैन | यस्ता जोडीहरू "पार्टनर" हुन् | सेक्स व्यापारिक सम्झौता हो | कुरा नमिलेपछि टुंगिन्छ | कम्पनिको पार्टनसीप टुंगिएझैं "सहयात्रा" सकिन्छ | ​पार्टनरसीपमा विश्वास गर्नेहरूको वैवाहिक जीवन छोटो हुन्छ | विवाह संस्थासंग बाँधिएकाहरूको वैवाहिक जीवन आजीवन रहन्छ | पार्टनरसिपले पारचुके निम्त्याउँछ | विवाहले जीवनमा स्थायित्व स्थापित गर्छ | नेपाल र भारतमा १% भन्दा कम डिभोर्स हुनूनै विवाह संस्थाको देन हो |
सबै पार्टनरसिप असफल हुँदैनन् | सबै विवाह सफल हुँदैनन् | धेरैजसो प्रेम विवाहको आयु छोटो हुन्छ | धेरैजसो मांगी विवाहको आयु लामो हुन्छ | सानो उमेरको प्रेम एकप्रकारको उन्माद हुन्छ | जुन उन्मादमा सेक्स र चलचित्रहरूले देखाएको "स्वप्नजस्तो भावनामा बग्ने" प्रेम हुन्छ | जसको कुनै गन्तव्य नै हुँदैन | वास्तविक जीवन चलचित्रको जस्तो रि-टेक होइन | धेरैजसो चलचित्रका हिरो-हिरोइनको प्रेमको आयु छोटो हुन्छ | तेसरी नै सेक्सको चाहना र चलचित्रको रङ्गीन भावनामा बगेर गरेको "पार्टनरसीप" चांढो टुंगिन्छ | मिल्न नसकेर डिभोर्सलाई "अधिकार"संग जोड्न मिल्दैन |
पति र पत्नी दूवै फरक व्यक्ति हुन् | फरक परिवेशमा हुर्किएका हुन् | दूवैको आ-आफ्नो क्षमता छ | यदाकदा मतभिन्नता स्वाभाविक ठान्नु पर्छ | लोग्नेलाई मन पर्ने भोजन स्वास्नीलाई मन नपर्ला | झिनामसिना विमतिलाई स्वाभाविक सम्मान गर्दै गृहस्थ चल्नुपर्छ | सधैं झगडा गर्ने केका पतिपत्नी | कहिलै पनि विवाद नगर्ने केका पतिपत्नी ? हातमा चुरा भएपछि बज्दछन् | ती चुरा फोरिन्न | बरू झन् जतन गरिन्छ | यस्तै पतिपत्नीले आफ्नो सम्बन्धलाई जतन गर्ने हो भने घर स्वर्ग बन्छ | जतन नगर्ने हो भने फुटेको चूराझैं परिवार विखण्डनमा जान्छ | तेसैले विमति हुँदा "सम्बाद" गर्नुपर्छ | सम्बाद नगर्दा समस्या बल्झिन्दै जान्छ | बल्झिदै गरेको समस्याहरू अविश्वास निम्त्याउँछ | अविश्वासले विग्रह आउँछ | तेसैले शिवपार्वतीझैं हरेक कुरामा सम्बाद गरौँ |
पतिपत्नी दम्पति हुन् | वैदिक विधिले विवाह गरेका पतिपत्नी हुन् | विवाह नगरी दाम्पत्य हुँदैन | विवाहका साक्षी अग्नि हुन् | अग्नि, सूर्य, पृथ्वी र यज्ञ दाम्पत्यका साक्षी हुन् | परिवार, आफन्त र आमन्त्रित दाम्पत्यका साक्षी हुन् | विवाह पवित्र यज्ञ हो | दाम्पत्य पवित्र सम्बन्ध हो | गृहस्थ जीवनको आरम्भ हो | संसार चलाउने साँचो हो | पतिपत्नी घर हुन् | पतिपत्नी परिवार हुन् | पतिपत्नी घरका जग हुन् |
दम्पतिको अर्थ हो - घरपति | पति र पत्नी दुवै घरका मालिक हुन् | दुवै समान स्वामी हुन् | पतिको अर्थ मालिक हो | पत्नीको अर्थ मालिक्नी हो | दुवै समान हुन् | सानोठूलो कल्पना हो | तेसैले घर दुवैको हो | दुवैले मिलेर घर चलाउने हो | पतिले पत्नीलाई | पत्नीले पतिलाई | विश्वास गर्नु पर्छ | विश्वासमा संसार टिकेको छ | अविश्वास सम्बन्धको शत्रु हो | शंका रावण हो | शंका सबैभन्दा ठुलो शत्रु हो | शत्रुसंग सम्झौता नगर्नु | विश्वाससंग संझौता गर्नु |
हरेक पतिपत्नीले एकआपसमा मनमनै सोधौं - के तपाईंले आफ्नी पत्नीको सुखदुख (तिमीलाई कस्तो छ ? मेरा कारण तिमीलाई कुनै समस्या त भएको छैन ? मलाई थाहा छ तिमीले मेरो/परिवारको हेरविचार गर्दा धेरै थोक गुमाएकी छौं | मैले तिमीउपर न्याय गर्न सकेको छैन, मैले तिमीलाई गालीगलौज गरिहाले भने पनि मलाई क्षमा गर्नु ) वारे नियमित सोधपुछ र सहयोग गर्नु हुन्छ ? धेरैजसो नेपाली पतिहरू पत्नीहरूलाई "केटाकेटी र आइमाई" भनेर अपहेलनाको दृष्टिले हेर्छन् | शास्त्र र व्यवहारको दृष्टिकोणले यस्तो नजरिया पूर्ण गलत र क्षमायोग्य होइन | विवाह गर्दा पत्नीलाई "मैले तिमीलाई हरेक सुखदुखमा साथ दिने छु, जीवनका कुनै निर्णयहरू लुकाउने छैन र मैले गरेका हरेक काममा तिम्रो आधि स्वामित्व हुने छ" भन्दै अग्नि साक्षी राखेर कसम खाएको हो | तेसैले हरेक पतिले आफ्ना पत्नीहरूलाई आफ्नो आधिअङ्ग मान्नुपर्छ | पत्नीलाई दासी ठान्ने मानसिकता पाप हो | यस्ता पापीहरूको जीवन सधैं दुखमय हुन्छ |
तेसै गरी हरेक पत्नीहरूले पनि आफ्नो पतिलाई आधा अङ्ग नै मान्नु पर्छ | दाहिने आँखाले देब्रे आँखालाई छल्न सक्दैन | तेसैगरी पत्नीसंग पतिबाट लुकाउनु पर्ने केही हुँदैन | पतिबाट माया, प्रेम, सद्भाव, निस्छल व्यबहार चाहनेले तेस्तै व्यबहार गर्नुपर्छ |
पति र पत्नी शब्द र त्यसको अर्थझैँ अभिन्न हुन्छन् | तेसैले शास्त्रको आज्ञा पालन गरौँ | पति र पत्नी दूवैले दाहिने र वायाँ आँखाझैं समन्वय गरेर संसारको धर्म पालन गरौँ र मोक्ष प्राप्त गरौँ | विश्वास गर्नुस्, आपसमा मिल्ने पतिपत्नीको घर स्वर्ग हो | नमिल्ने पतिपत्नीको घर नर्क हो | स्वर्गको सुख चाहनु हुन्छ भने पतिपत्नी मिलेर बस्नुस् | जीवनमै नर्कमा निवास गर्न चाहनुहुन्छ भने आपसमा अविश्वास तथा आरोपहरू लगाएर हिड्नुस् | सबैको भलोहोस् |
तपाईंको दाम्पत्य जीवन शिवपार्वती, लक्ष्मीनारायण, सत्यवान-सावित्री, सीताराम तथा विशिष्ट तथा अरुन्धतिको झैं महान् बनोस् | हामी आफै अगाडी सरेर आफ्नो दाम्पत्य जीवन सुखमय बनाउनका लागि सहजीकरण गरौँ | सधैं याद राखौं : पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...