Monday, February 19, 2024

कट्टरपन्थी धर्मनिरपेक्षता

 कट्टरपन्थी धर्मनिरपेक्षता

भारतमा राममन्दिरको उद्घाटन हुँदै गर्दा नेपाली राजनैतिक शक्तिहरू गुफामा पसेका थिए तर स्वतन्त्र भनिने मतियारहरूले नेपाली हिन्दू धर्मावलम्बीहरूलाई "सुझाव र विश्लेषण"को घृणावादी चस्मा निर्माण गर्ने प्रयत्न गरे र गरिरहेका छन् | धेरैले यिनको यो बोलीलाई "डलरवाद" भन्दै आलोचना पनि गर्छन् | आज नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिन्दूहरूलाई धम्क्याउने काम भइरहेको छ | भारतमा राममन्दिरको उद्घाटन भएपछि "नेपालको हिन्दुधर्म "धर्मनिरपेक्ष" थियो तर अहिले "भारतीय हिन्दु अतिवाद"ले प्रभावित हुन् थालेको छ | अर्थात् नेपाली हिन्दु धर्म ठीक, भारतीय हिन्दु धर्म अनुदारवादी, कम्युनियल, विभेदकारी र अर्कोलाई देखि नसक्ने !
तथाकथित नेपाली धर्मनिरपेक्षहरूमा "नेपाली वैदिक सनातन हिन्दु धर्मप्रति" सद्भाव पलाएकै हो त ? के उनीहरूले नेपाल सनातन वैदिक संस्कृतिको मौलिक थलो हो भन्ने तत्थ्यलाई स्वीकार गरेका हुन् त ? पटक्कै होइन | नेपाली हिन्दुहरूलाई पनि अंग्रेजले झैं "कट्टरपन्थी र उदारवादी" दूई वर्गमा विभाजन गरेर फुटाउने र राज गर्ने षड्यन्त्र रचेका हुन् |
भारतमा जे भइरहेको त्यो उसको नितान्त आन्तरिक मामिला हो | आजको राजनैतिक भारतले लगभग ८ औं शताब्दि देखि बाहिरी आक्रमण खेप्दै आएको हो | सन् १९४७ पछि "अंग्रेजको फूटाओ और राजकरो" भन्ने मनोविज्ञानबाट भारतीय राजनीति मुक्त भएन | विपी कोइराला, कृष्णप्रसाद भट्टराईजस्ता अनेकौं नेपालको प्रमुख पदमा काम गरेका नेताहरू भारतीय स्वतन्त्रता सेनानी थिए भन्ने तत्थ्य जगजाहेर नै छ |
नेपाली सनातनीहरूमा राममन्दिरको बाछिटा पर्दा गौरव गर्नुपर्छ | आफ्नो धर्म, संस्कृति, इतिहास र गौरव वारे "अनभिज्ञ" रहेर अन्धकारमय जीवन जिउनु भन्दा कहीबाट देखेर/सिकेर भए पनि मौलिकता जान्नु/बुझ्नु र त्यसको संरक्षणका लागि अग्रसर हुनु धेरै उचित हुन्छ | भारतीय हिन्दु आन्दोलन र त्यसका उपलब्धिहरूलाई "अतिवाद" देख्ने आँखाले नेपाली संस्कृतिलाई धमिराझैं पचाईरहेका मुसाईहरूको "कट्टरपन्थी" व्यबहारको आलोचना किन गर्न सक्दैन ? अल्पसंख्यक हुनुको अर्थ "खाएको थालमा प्वाल" पार्नु भन्ने हुँदैन | मिलेर, संरक्षण गरेर पनि अर्काको "एकलकाटे अत्याचार"लाई "अल्पसंख्यक"को अधिकार भन्दै सहने प्रबृत्तिलाई नेपालीहरूले जतिसक्दो चाँडो विदा दिनुपर्छ | तेसैमा नेपाल, नेपाली र यहाँका रैथाने संस्कृतिको रक्षा हुन्छ |
भारतमा राजा छैन भन्दैमा नेपालमा पनि राजा हुनुहुँदैन भन्ने तर्कको कुनै औचित्य छैन | विश्वका अधिकांश देशहरू (अमेरिका र जर्मनी" वाहेक संबैधानिक राजतन्त्रहरू छन् | समस्या राजतन्त्र, लोकतन्त्र वा समाजवादको होइन | नेपाली राजनीतिको समस्या "नेता-व्यबस्थापन"को हो | भारतीय राममन्दिरको बाछिटाले नेपाली जनताको आँखा खोल्दै छ | धर्मको महलमा "हिन्दू" लेख्ने तर भोट दिंदा "कम्युनिस्ट"लाई दिने "अज्ञानी" मानसिकतामा परिवर्तन हुँदैछ | धर्मको महलमा "बौद्ध" लेख्ने तर "गुम्वा, मानेहरू"लाई चर्च वा मस्जिदमा परिवर्तन गर्दा रमाइलो मान्ने "मानसिकता"मा परिवर्तन हुँदैछ | राजाको वापिसी नेपाली जनताको आन्तरिक मामिला हो तर हिन्दुत्व नेपाली र भारतीयहरूको साझा बुझाई हो |
भारतीयहरूको नक्कल गरेर नेपाली राजनैतिक शक्तिहरूले प्रचण्ड बहुमत भएका हिन्दुहरूको निरन्तर मान मर्दन गरिरहेको छन् | बहुसंख्यक त्यसमा पनि हिन्दूहुनुको अर्थ - साम्यवादी, समाजवादी, नास्तिक, इसाई. मुस्लिम, अम्बेदकर ब्राण्डका घृणावादी नक्कली बौद्ध, आदिवासी-जनजातिको आवरणमा राजनीति गर्ने इसाई सबैको "आलोचनाको बस्तु" बन्नु परेको छ | हिन्दूले सबैको आलोचना, थिचोमिचो तथा आक्रमण सहनु पर्ने भाष्य रचिन्छ तर हिन्दुहरूले प्रत्याक्रमणमा एकशब्द बोल्यो भने पनि साझा आलोचनाको तारो बन्छ | नेपालका धर्मनिरपेक्षवादी, तिनका विदेशी "प्रभु" सबै मिलेर हिन्दूको खैरो खन्छन् | नेपालमा साम्यवाद, समाजवाद, उदारतावाद तथा घृणावादको ककलेटबाट कट्टरपन्थी धर्मनिरपेक्षतावाद जन्मिएको छ जहाँ हिन्दूहरूलाई नियोजित रूपमा वहिष्कार गरिन्छ |
अल्पसंख्यक नाममा मुसलमानहरूले "मुस्लिम आयोग" पाएका छन् | "आदिवासी जनजाति आयोग"का छद्म नाममा इसाईहरूले पनि सरकारी आरक्षण प्राप्त गरेका छन् तर हिन्दुहरूले आफ्नै आराध्यदेव पशुपति नाथ, जानकी मन्दिरको शुद्ध आयस्था पनि "धर्मनिरपेक्षताको रक्षा गर्न" सरकारलाई बुझाउन बाध्य पारिएको छ | सत्य त् के हो भने नेपाली बहुसंख्यक हिन्दूले नेपालमात्र होइन विदेशमा रहंदा पनि "अल्पमत"को अपमान गरेको इतिहास छैन | बङ्गाल देखि काठमाण्डुं उपत्यकामा आएर पशुपतिनाथको मन्दिर जलाउने कुनै हिन्दु थिएन र यदि आजको मितिमा राउटेहरूका झोपडीका अगाडी "भव्यचर्च" गरेर राउटेको पहिचान मेट्ने पनि हिन्दू होइनन् !
राममन्दिर कुनै लहट होइन | यो निरन्तर सङ्घर्ष र आत्मगौरवले ठड्याएको भव्य "हिन्दू-प्रतिक" हो | भारतीय जनता पार्टीसंग पूर्ण असहमत हुनेले पनि राम मन्दिरको आलोचना गर्न सक्दैनन् | यदि तथाकथित नेपाली धर्मनिरपेक्षतावादीहरूका लागि "राम मन्दिर" अल्पसंख्यकहरूप्रति "डर" हो भने कुनै बखत पूर्णतया हिन्दू र बौद्ध पहिचान बोकेका पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया र बंगलादेशबाट आफ्नो अस्तित्व गुमाएका हिन्दुहरूका लागि पनि न्यायको आवाज उठ्नुपर्छ | इतिहास भनेर पन्छिन मिल्दैन भने अर्कोतिर नेपाली राजनैतिक पार्टीहरूले दिल्लीमा भेटेर गरेको र त्यहींबाट बोकेर नेपाली राजनीतिमा थोपरिएको "१२ बूँदे"का बूँदहरू आफ्नै श्रोततिर फर्किनु पर्छ |
भारतले अयोध्यामा राममन्दिरको उद्घाटन गरेर हिन्दूहरूको स्वाभिमान जगाएको छ | तेहाका प्रधानमन्त्री नरेन्द्र मोदीले "हिन्दु-गौरव"लाई कुनै छलछाम नगरी आफै सङ्लग्न आफ्नो वर्गीय जागरणका लागि उत्साहित गरेका छन् | साथै, मोदीले जसरी राममन्दिरको विज्ञापन गरेका छन्, त्यो विज्ञापनका कारण लाखौंलाख नेपालीहरू पनि "अर्थ" बोकेर भारतीय धार्मिक पर्यटनको अर्थतन्त्रलाई सघाउँन त्यहाँ पुग्ने छन् | हामी नेपालीहरूको दुर्भाग्य भन्नुपर्छ, मिथिलावासीहरूको दुर्भाग्य नै भन्नुपर्छ, जनकपुर वासीको भाग्यमा प्वाल परेको भन्नुपर्छ कुनै पनि नेपाली नेताले राममन्दिरको एतिबिध्न "विज्ञापन" हुँदा सीतासंग जोडेर भारतसंग सहकार्य गर्न अग्रसरता देखाएनन् !
धार्मिक प्रर्यटनको महत्व बुझेर पनि "समाजवाद"को साँघुरो घेरा र कठमुल्ला प्रगतिवादको दम्भमा थुनिएर नेपाली नेतृत्वले रामको स्वागत गर्न सकेन | स्वाभाविक रूपमा उप्रान्त नेपालीहरू जगतले आफ्नो ऊद्धारकर्ता अर्को पृथ्वीनारायण शाह खोज्ने छ | जसले नेपाली धर्मनिरपेक्षतावादी, समाजवादी तथा प्रगतिवादी कठमुल्लाहरूबाट नेपाल र नेपालीलाई उन्मुक्ति दिने छन् | आफ्नो धर्म, संस्कृति, इतिहास र गौरवशाली परम्परालाई नकार्ने र विदेशी प्रतिमानहरूलाई स्वागत गर्ने प्रवृत्तिको अन्त्य गर्ने छ |
जय नेपाल

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...