Monday, February 19, 2024

पहिलो प्रेमपत्र र भेलेन्टाइन-डे

 पहिलो प्रेमपत्र र भेलेन्टाइन-डे

यस पटक भेलेन्टाइन-डे र बसन्त पंचमी एकै दिन परेको छ | धेरैजसो बैंसले मातिएकाहरूले भेलेन्टाइन-डेका दिन विवेक गुमाउँछन् | प्रेम, दिवस, प्रणय दिवसलाई "सेक्स-डे"का रूपमा मनाउन आतुर पनि धेरै होलान् | भेलेन्टाइन-डेको उद्देश्य हेर्ने हो भने प्रेम-साटासाट गर्ने हो तर प्रेमको अर्थनै रेस्टोरेन्ट, रक्सी, होटलको कोठा र सेक्स" नै लागेपछि प्रेमको अर्थ नै सेक्स हो भन्ने ठहरिन्छ | प्रेमको बाटोमा सेक्स एउटा सानो प्रक्रिया हो जुन १० मिनट देखि २३ मिनटसम्मको समय ओगट्छ |
बसन्त पंचमी पर्व पनि प्रेम साटासाट गर्ने दिन नै हो | फरक एत्ति छ कि बसन्त पंचमी पर्वको आरम्भ परिवारका सबै जना मिलेर देवो सरस्वतीलाई सर्स्युको फूल, रङ्गीविरंगी प्राकृतिक कलरहरू समर्पण गरेर मनाइन्छ | पूजाआराधना पछि एकआपसमा देवी सरस्वतीको प्रसाद स्वरूप आपसमा रङ्गहरू दलेर प्रेम प्रकट गरिन्छ | यो पर्वमा परिवारका सबै सदस्यहरू प्रेम साटासाट गर्छन् | बसन्तको सुन्दर ऋतु आरम्भ भएपछि विवाहित पतिपत्नीकाविचमा प्रणयको रङ्ग बढी नै चल्छ | काठमाडौँ उपत्यकाका नेवारहरूले त झन् वसन्त राग गाएर बसन्तको स्वागत नै गर्छन् |
बसन्त पंचमी र भेलेन्टाइन-डेको सम्झना गर्दैगर्दा मलाई भगवान् श्रीकृष्णकी प्रथम पत्नी रुक्मिणीजीले श्रीकृष्णलाई लेखेको प्रेमपत्रको (श्रीमद्भागवत १०/५२) याद आयो | श्रीकृष्णलाई रुक्मिणीले लेखेको प्रणयपत्र सम्भवत: विश्वको पहिलो होला ! मैले ओडिसी वा एलियाडमा कुनै प्रेमपत्र लेखेको पढेको छैन | आफुलाई मन परेको व्यक्तिप्रति प्रेम प्रकट गर्नु, प्रेमको याचना गर्नुलाई वैदिक संस्कृतिमा अनुचित ठानिन्छ | त्यस्तो अनुचित भएको भए रुक्मिणीले श्रीकृष्णलाई प्रेमपत्र लेख्ने आँट नै गर्ने थिइनन् | भेलेन्टाइन-डेमा विश्वास गर्ने र बसंतोत्सवमा रमाइलो गर्न चाहनेले देवी रुक्मिणीले लेखेको प्रेम पत्र पढ्नुपर्छ |
हो, आजभन्दा पांचहजार वर्ष पहिलेको समाज र आजको समाज वदलिएको छ | संस्कृति निरन्तर परिवर्तन भैरहन्छ | आज स्त्री र पुरुषका आवश्यकताहरू, मानसिक व्यबस्थाहरू, सांस्कृतिक मान्यताहरू तथा जीवनका भोगाईहरू बदलिएका छन् | तर प्रेम र प्रेमीहरूको मन जस्ताको तस्तै छ | विवाह संस्था पनि प्रचलनमा नै छ | नितान्त भौतिक क्रिया "सेक्स र त्यसको सान्दर्भिकता" पनि उस्तै छ | तर प्रेम र प्रेमप्रतिको परिभाषा र बुझाई बदलिंदै छ | लिभिंग टुगेदर होस् वा विवाहपूर्व यौनक्रिया केही व्यक्तिहरूमा स्वीकार्य देखिन्छन् | प्रेम धुमिल भएको छ, सेक्स चम्केको छ |
एउटा कुरा पक्का हो - आधुनिक बजारले सेक्सलाई व्यापारीकरण गरिदिंदा नितान्त प्राकृतिक यो प्रक्रियाप्रति उमेर नपुग्दै, असुरक्षित तवरले आकर्षण बढेको छ | एकातिर कानुनले १८ वर्ष मुनिका लागि सेक्स वर्जित गरेको छ अर्कोतिर बजारीकरण गरेर उमेरभन्दा पहिलानै सेक्सप्रति अनावश्यक उत्सुकता जगाएको छ | यसैका विचमा युवापुस्ता होस् वा बजारीकरणको प्रभावलाई थेग्न नसक्ने कुनै पनि उमेरका व्यक्तिहरूले सेक्स र प्रेमका विचको "सीमा" विर्सिन थालेका छन् | बसन्त - पंचमी प्रेम र सेक्सबिचको मीठो सीमा हो भने भेलेन्टाइन-डेले यस्तो सीमा मिचीसकेको छ | बाँकी कुरा भेलेन्टाइन-डेका दिन सुदीप र पलशाहहरूलाई सम्झिनु बढी उचित हुन्छ |
यहाँ रुक्मिणीले श्रीकृष्णलाई लेखेको प्रेमपत्र टाँसेको छु | जाँगर हुनेले नेपाली, अंग्रेजी वा हिन्दीमा अर्थ खोजेर पढ्नु | अनि, भेलेन्टाइन-डे मनाउने हो कि बसन्त पंचमी मनाउने भन्ने कुराको टुङ्गो गर्नु | आफ्नो संस्कृति सबैको सजिलो हुन्छ, अर्काको संस्कृति मांगेर लगाएको कोटझैं नमिल्दो हुन्छ | प्रेम गर्नु तर प्रेमका नाममा होस न गुमाउनु | प्रेम बलियो भए विवाहपछि सेक्स र प्रेम दूवैलाई धर्म, संस्कृति, परम्परा तथा कानुनले स्वीकृति दिएकै छन् | रुक्मिणीले प्रेमपत्र लेखेर प्रेम प्रकट गरेपछि श्रीकृष्ण र रुक्मिणीको विवाह भएको हो |
हामी सबैको कल्याण होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...