Monday, February 19, 2024

पचास काटेसी !

 उमेरले ५० काटेपछि मेरो मनमा अलिअलि वृद्धावस्था र रोगका विषयमा ध्यान मोडिएको छ । पुराना कुराहरू याद आउन थालेका छन् । कहिले राम्रो गरेजस्तो त कहिले असफल भएजस्तो लाग्छ । यसो गाउँतिर फर्केर हेर्छु –आमावा बूढो हुनुभएको छ । उहाँहरूले घरको जिम्मेदारी छोड्नु भएको छ । उहाँहरू १५ वर्ष अगाडिको जस्तो फुर्तिलो हुनुहुन्न । उहाँहरू हरेक पटक ‘तिमेरको पालो’ भन्न थाल्नु भएको छ । उहाँबाट क्रमशः सक्रियता सकिंदै छ । मभित्र बुढ्यौलीले प्रवेश गरेको छैन । मन युवा नै छ । बूढो हुने उमेर घटेको छ । मलाई लाग्छ, म ६५ वर्षको उमेरसम्म पनि स्वास्थ्य नै फील गर्ने छु । सहज रूपमा उपलब्ध स्वास्थ्य सुविधाहरू, सहज खाद्य उपलब्धि तथा विभिन्न काममा प्रत्यक्ष सहभागिताले म तरोताजा र थकित दुवै हुन्छु ।

मैले अनुभव गरेको अचम्मको तत्थ्य – मैले आफूलाई पचास काट्न लागेको छु भन्ने तत्थ्यबाट टाढा राख्न चाहन्छु । किनकिन मलाई उमेरले पचास काटेको स्वीकार्य हुने छैन । मन बूढो भएको छैन तर शरीरले पचास काटेको सूचना दिएकै छ – चाँडो थाकेर र अलि बढी आराम खोजेर !
अर्कोतिर संगैका साथीहरू पनि ‘अब बूढो भइयो’ भन्न थालेका छन् । उनीहरूको अनुहारमा चाउरी देखिन थालेको छ । साथै, उनीहरू त्यो गाउँका ती पदहरूमा छन्, जुन पदमा तिनका र मेरा आमावुवा हुने गर्थे । मैले मेरो वुवालाई ती पदहरूमा रहंदा धेरै जिम्मेदारीहरू उठाएको देखेको थिएँ । आज ती साथीहरू तिनै पदमा छन् । कुनै बखत हाम्रा आमाबुवा ती पदमा रहेर सबैको सहयोग गर्थे । आज तिनका सन्तानहरूले त्यही गरिरहेका छन् ।

मैले देखें, मेरा समकालीन ‘केटाकेटी’हरू गाउँका मुख्य र खास मान्छेमा रुपान्तरित भएका छन् । मेरोझैं उनीहरूका कपाल पनि फुल्न थालेका छन् । उनीहरू क्रमशः गाउँका मूल मान्छे बन्दै छन् । त्यतिमात्र होइन, नाता–सम्बन्धहरू पनि फेरिएका छन् । अब हामी सबै ‘बा, अंकल, आन्टी, काकाकाकी’मा रुपान्तरित भैसकेका छौँ ।

आमावा सक्रिय भएको बेलामा म घर जाँदा अहिलेका सबै साथीहरू ‘पण्डितको घरमा पण्डितको छोरासंग’भेट्न आउँथे । अहिले उनीहरू डा. गोविन्दसँग भेट्न आउँछन् र बाआमाको हालखवर सोध्छन् । उनीहरूले ‘मसँग सीधै’ व्यवहार गर्छन् । हिजो मेरो पहिचान वा–आमासंग जोडिएको थियो । आज मेरो पहिचानसँग बाआमा जोडिनुहुन्छ । यी सबैले म बूढो हुँदै गरेको सूचना दिन्छन् । विश्वास गर्नुस्, मैले मेरो शरीरलाई धेरै माया गर्छु । यो उमेरमा शरीरले अलिकति ‘आराम’ खोजेको अनुभव गर्न थालेको छु । शारीरिक काम गर्ने क्षमतामा कमिभएको अनुभव गर्दैछु । अर्कोतिर, मानसिक रूपमा अलि बढी नै थकान अनुभव गर्न थालेको छु । तीन महिना अगाडी +१.५ को चस्मा लगाएपछि शरीरको परिवर्तनलाई मान्न बाध्य भएको छु ।

म सकारात्मक चिन्तन भएको मान्छे हुँ । तर छोराछोरीको भविष्यको चिन्ता लाग्छ । घरव्यवहारको पीडाबोध हुन्छ । सरकार अस्थिर हुँदा होस् वा रूसले युक्रेनमा आक्रमण गर्दा होस् वा दिनहुँ मिडियामा सुनिने नकारात्मक समाचार सबैले मेरो भित्रि मनमा असुरक्षाको भाव प्रकट गर्छन् । तर केटाकेटी, पत्नी, साथीहरूका अगाडी ‘झुकेर’ कुरा गर्न मन लाग्दैन । सुशासन र कुसाशनको समाचारले मेरो बेडरूमसम्म सुरक्षित छैन । सबैले मेरो मनमा असुरक्षा उत्पन्न गर्छन् र मेरो वृद्धावस्था खराव हुने हो कि भन्ने चिन्ता लाग्छ ।

म चिन्ता गर्ने मान्छे होइन । विश्वास गर्नुस्, मैले पचासमा टेकेपछि चिन्तन होइन चिन्ता गर्न थालेको छु । तर धेरैचाहिं होइन । छोराछोरीको उच्चशिक्षाको चिन्ता, आमावुवाको स्वास्थ्यको चिन्ता, सामाजिक प्रतिष्ठा र मानको चिन्ता र सबैभन्दा बढी चिन्ताचाहिं ६३ वर्षपछि के गर्ने होला भन्ने आउंदै छ । तर त्यति बलियो छैन । सायद, गीता पढेकोले होला ‘जे होला ठीकै होला’भन्दै अगाडी बढिरहेको छु । मलाई थाहा छ चिन्ता र चिता मध्ये चिताले एकै पटक खरानी पार्छ, चिन्ताले अलिअलि गरेर शरीर र मनलाई कमजोर बनाउँछ । पचास मैले गुनासो पोख्ने ठाउँ गुमाएको छु । मसँग सबै गुनासो गर्नेमात्र आउँछन् । मैले आस गर्ने, भरोस गर्ने, गुहार माग्ने ठाउँ वा व्यक्ति छैनन् । मसँग आस गर्ने, गुहार माग्ने र भरोसा माग्नेहरूहरुको लाइन छ । सायद, यो उमेर गुनासो सुन्ने रहेछ । सहयोग गर्ने रहेछ । दिने रहेछ र एकान्तमा रून मन लागेर पनि रून नसक्ने रहेछ ्र शरीर दुख्नु र पेट विग्रनु सायद यस उमेरमा सामान्य कुरा रहेछन् । तर नियमित स्वास्थ्य जांच गराउनु पर्छ । यो कुरा मलाई थाहा छ । तर मैले स्वाथ्य जांच गराएको छैन । कुनै ठूलो रोग लागेको रिपोर्ट आउँछ कि भन्ने डर लाग्छ ।

मैले १७ वर्षको उमेर देखि निरन्तर आसनहरू गर्छु । गुरूले दिएको गायत्री मन्त्र एकान्तमा बसेर जप्दा “मेडीतेसन” हुन्छ । प्राणायाम गर्छु । केहीबेर भागवत र गीता तथा वेद पाठ गर्छु । बडो आत्मविश्वास मिल्छ । कामको लोड कम गर्ने प्रयत्न गर्छु । जिउ र मन चाँडो थाक्छ । सकेसम्म १० बजेभित्र नै विस्तरामा निदाउँछु । घर मै उफ्रेर भए पनि २००० पाइला पुर्याउँछु । पहिले भन्दा चिया–कफी कम गरेको छु ।
घरमा सुगा पालेकी छ छोरीले । ती सुगाहरूसँग खेल्दा मन खुसी हुन्छ । बूढीले पनि साथ दिन्छिन् । मनमा धेरै कमाउने विचार छैन । बरू, समयले साथ दिए तीर्थयात्रामा जाने, देश–विदेश घुम्ने गरेको छु । कम बोल्ने र आदेश नदिने व्यवहारको अभ्यास गर्दै छु । एउटा शिक्षकले धेरै पढ्नु पर्दो रहेछ । तर मेरो पढ्ने/लेख्ने इनर्जी पनि कम भएको छ । मभित्र काम “पर सार्ने” व्यवहारको विकास भएको छु । सायद शरीर र मनले आराम गर्न खोजेर होला ।

यो मेरो कुरामात्र होइन । ५० वर्षको उमेर पार गरेर ७० वर्ष नपुगेकाहरूको शारीरिक तथा मानसिक परिवर्तन हुन्छ नै । हर्मोनहरू बीच भयानक छिनाझपटी हुन्छ । यसले गर्दा मन देख्ने, रीस उठ्ने, इर्ष्या लाग्ने तथा भावनाहरू आहत सजिलै हुन्छन् । विचारा विवेकलाई यी सबै कुरालाई तह लगाउन निकै श्रम गर्नुपर्छ । विवेकको प्रयोग गर्नेहरू अलिअलि फरासिला हुन्छन् । केवल भावनाको प्रयोग गर्नेहरू बढी दुःखी हुन्छन् ।जव बृद्धवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नेपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन । मैले जीवनको मन्त्रका रूपमा बेलुका चाँडो सुत्ने र विहान चांडो उठ्ने सवालमा कत्ति पनि अल्छी गर्दिन ।

मैले आफ्नो कुरा लेखेको हो । यी कुरामा केही विज्ञान र केही अनुभवको संगालो छ । तपाईं पनि यदि पचासे बाटोमा हिंड्न थाल्नु भएको छ भने विचार साटासाट गर्नु राम्रै हुनेछ । तपाईं र म भाग्यमानी छौं कि प्रकृतिसँग सहकार्य र युद्ध गर्दै यो शरीरलाई पचास वर्षसम्म सुरक्षित राख्न समर्थ भयौं । हामी सबैले वेदका वाक्य ‘जीवेम शरद शतम् अर्थात् हामीले १०० बटा शरद ऋतु भोग्नै पर्छ’ भन्ने सङ्कल्पसंग अगाडी बढौं । आउने हरेक अवरोधहरूले मन र शरीरलाई अझै सहनशील र सङ्घर्षशील बनाउने छन् । मेरो सङ्कल्प कमजोर छैन ।

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...