Monday, February 19, 2024

लोग्नेस्वास्नीका विच खटपटका चारबटा प्रमुख कारण

 लोग्नेस्वास्नीका विच खटपटका चारबटा प्रमुख कारण

अलिअलि मतभेद नहुने र कहिलेकाहीं स-सानो खटपट नहुने कुनै पनि लोग्नेस्वास्नी हुँदैनन् | नेपाली लोग्नेस्वास्नी यो तत्थ्यबाट मुक्त छैनन् | हरेक खटपटको कुनै न कुनै कारण हुन्छ | संसारका ६८% लोग्नेस्वास्नीका खटपटहरू स्वत: समाधान हुन्छन् वा एकआपसमा सम्बाद गरेपछि समाप्त हुन्छन् | तर संवादहीनताले -ससाना समस्याहरू बढ्दै जान्छन् र घरवार नै विग्रिन्छ |
तपाईंहामीलाई लोग्नेस्वास्नीका विच कुन् र कतिविषयमा सबैभन्दा बढी खटपट पर्छ भन्ने विषयमा जानकारी प्राप्त गर्नु उपयोगी नै हुन्छ | यहाँ क्रमशः बरिष्ठता क्रमले प्रस्तुत गरिएको छ :
१. एपिएको टीमले लोग्नेस्वास्नीमा सबैभन्दा खटपट हुने विषयको पहिलो खुड्किलामा "अविश्वास वा शङ्का" पर्छ | लोग्नेस्वास्नीका विचमा सबैभन्दा बढी झैझगडा एकआपसमा अविश्वास र तथा शङ्काको कारणले पर्छन् | त्यसमा पनि पत्नी वा पतिले काम, सम्पति, अन्य महिला वा पुरुषसंगको सम्बन्ध र धोका दिएको शङ्का गर्ने र पति वा पत्नीले दिएको सफाईमा विश्वास नगर्नाले हुन्छ | उदाहरणका लागि यदि लोग्ने वा स्वास्नीले "मोवाइलमा आएका म्यासेजहरू देखाउन अनुरोध गर्ने र अर्कोले त्यो अनुरोध अस्वीकार गर्दा" शङ्का र अविश्वास दूवै बढ्छ | खासगरी प्रेमी-प्रेमिकाका विचमा "मोबाइलको पासवर्ड, म्यासेजआदि" साटासाट नगर्दा आजभोली ब्रेकअप हुने गरेको देखिएको छ |
२. लोग्नेस्वास्नीका विचमा दोश्रो सबैभन्दा व्यापक सम्बन्ध विगार्ने कारक "होच्याएर बोल्ने र व्यबहार गर्ने" बानी पर्छ | लोग्ने होस् वा स्वास्नी दूवै फरकफरक इकाई हुन् र दूवैले स्वेच्छाले पतिपत्नी बनेर बस्न सहमत भएका हुन् | लोग्नेस्वास्नी हुँदैमा एकले अर्कालाई होच्याएर बोल्ने, ब्यबहार गर्ने छूट हुँदैन | पत्नी र पति दूवैले एकअर्कालाई सम्मान जनक र मायालु ब्यबहार गर्नुपर्छ | तपाईंले आफ्नो लोग्ने वा स्वास्नीलाई "तँ, तिमी वा तपाईं" भनेर सम्बोधन गर्नुस् वा नगर्नुस् तर एकअर्काको अस्तित्वलाई "सम्मान जनक"रूपमा स्वीकार गर्नुहुन्छ भने लोग्नेस्वास्नीको पारिवारिक जीवन सुखी हुन्छ |
३. लोग्नेस्वास्नीको विचमा तेस्रो सबैभन्दा बढी खटपट निम्त्याउने कारण हो - "घरायसी काममा असहयोग" गर्नु | कुनै पनि लोग्ने वा स्वास्नीले "घरायसी काममा" एकले अर्कोलाई सहयोग गरोस् भन्ने चाहन्छन् | केटाकेटीको हेरविचार गर्न, घरको सरसफाई गर्न, पाहुनाको व्यबस्थापन गर्न, भोजन बनाउन, घरलाई सुन्दर बनाएर राख्न र सामाजिक अवसरहरूलाई मिलेर काम गर्न पन्छिने लोग्ने वा स्वास्नीको सम्बन्ध राम्रो हुँदैन | नेपाली समाजमा स्वास्नी मान्छेहरूले "लोग्ने ठूला मान्छे हुन् मान्नु पर्ने नाताका हुन्" भन्ने सांस्कृतिक विश्वासले गर्दा धेरैजसो घरायसी बोझ आफुले बोक्ने गर्छन् | लोग्नेले "सघाउँदा" अचम्भित हुन्छन् | स्वास्नीलाई घरायसी कामकाजको भारी बोकाएर आफुले सोफामा उल्टी खुट्टा लाएर टेलिभिजन हेर्दै "खाजाको अर्डर" दिने लोग्नेहरू "सामन्त" हुन् | लोग्नेका सहयोगी वा मित्र होइनन् |
४. लोग्नेस्वास्नीका विचमा चौथो सबैभन्दा बढी खटपट निम्त्याउने कारण "सेक्स" हो | हरेक स्त्री होस् वा पुरुष सेक्स-नीड फरकफरक हुन्छ | सेक्सका सवालमा लोग्ने वा स्वास्नीले एकआपसमा "जवर्जस्ती" गर्नु हुँदैन | उदाहरणका लागि आफ्नी स्वास्नीको मानसिक चाहना, शारीरिक अवस्था तथा स्वास्थ्य यी विषयमा विचार नगरी "जवर्जस्ती" सेक्स गर्नु अत्याचार हो, अन्याय हो र बलात्कार हो | केही स्त्री वा पुरुषमा हर्मोनका कारणले सेक्सचाहना बढी हुन्छ र केही लोग्ने वा स्वास्नीमा सेक्सको चाहना कम हुन्छ | यस्तो अवस्थामा, एउटाले अर्कोलाई दोष दिनु भन्दा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था वारे जानकारी लिनु उचित हुन्छ |
यसरी विश्वभरी नै धेरैजसो झगडाका कारणहरू शङ्का, एकअर्कोलाई होच्याउने वानी, घरायसीकाममा असहयोग र चाहना नहुँदानहुँदै पनि जवर्जस्ती "सेक्स"को उपयोग गर्दा लोग्नेस्वास्नीका विचमा खटपट हुन्छ | समस्या बढ्दै जाँदा अन्य अनेकौं समस्या देखिन्छन् | मानसिक, सामाजिक, शारीरिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् | आशा छ, पाठकहरूले यो आलेख पढेपछि शङ्कालु स्वभावमा परिवर्तन गर्नु हुने छ, एकले अर्कोलाई होच्याउने स्वभावमा परिवर्तन गर्नु हुने छ, घरायसी कामहरू मिलेर संगै गर्ने वानीको विकास गर्नु हुने छ र एकआपसमा सम्बाद र सहमतिमा "सेक्स" गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्नु हुने छ |
माथि लेखिएका चारबटा कारणहरू बाहेक अन्य असंख्य कारणहरू पनि हुन्छन् तर गहिरो रूपमा विश्लेषण गर्दा यी चारबटा प्रमुख कारणहरूभित्र सबैजसो समेटिन्छन् | लोग्नेस्वास्नीले आफु विचको खटपट आपसी सम्बाद गरेर सुझ्याउने प्रयत्न गर्नुपर्छ तर सकिन्न भने परामर्शदातासंग सहयोग लिन हच्किनु हुँदैन | खट्पट स्वाभाविक हो, अत्याधिक खट्पट नर्क हो | लोग्नेले स्वास्नीको स्वास्नीले लोग्नेको मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यको ख्याल गरौँ | सुखी रहौं |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...