Monday, February 23, 2015

सांस्कृतिक पहिचानको खोजीमा नेपाली-हिन्दू

१.     आज मैले मेरा पूर्खाहरूले लेखेका हस्तलिखित कितावहरूका पानाहरू पल्टाउदै छु | मेरा बा, हजुर वा, जिजुबुबा, उहाँका पनि बा, जिजुबुबाहरु मध्ये कसैले यी कितावहरू लेखेका थिए | अन्दाजी पांचसय वर्ष पहिले लेखिएको यो ऋग्वेदमा करिव २०० पेज छन् | किराले प्वाल पारेर किताव जीर्ण बनेको छ | मैले आधुनिक विद्याको बाटो समातेका केही दिनमा बुबाको देहावसान भयो | आमाले ‘खुट्टाले छोए पापलाग्ने डरले ‘एक डोकोजति हस्तलिखित कितावहरू गण्डकीमा बगाइदिनु भएछ | आंटीका कन्तुरमा रहेका केही भाग्यमानी कितावहरू जोगिए | ४० वर्षको उमेरपछि यी कितावहरूप्रति मेरो वात्सल्य जाग्यो | अझै भन्नुपर्दा, पुरातत्व विभागका एकजना अधिकृतले सुनाएको घटनाले मलाई ‘हस्तलिखित’हरूप्रति असाध्यै माया जगायो |
२.       उनले यसरी सुनाए - वि.स. २०२७ साल देखि नेपालमा हस्तलिखित पुस्तकहरूको खोजि र तिनको संरक्षणका लागि जर्मन सरकारको सहयोगमा ‘माइक्रो फिल्मिग’को कार्य आरम्भ भयो | टोलीहरू पुस्तकको खोजीमा परिचालित भए | एउटा टोली हिमालको एउटा गुम्वामा ‘स्वर्ण अक्षरले लेखेको ठूलो किताव छ’ भन्ने जानकारी पाएर त्यहाँ पुग्यो | बौद्धगुरुहरूले पुस्तकको माइक्रो खिच्न मानेनन् | तर पछि उहाँहरू कै सामु खिच्ने भने पछि कितावको माइक्रो फिल्म बन्यो |  यो घटना वि.स. २०३७ तिरको हुनुपर्छ | पुरातत्व विभागमा भएको जानकारी अनुसार त्यो पुस्तक सुनको अक्षरले ढुंगामा लेखिएको थियो र करिव १४ सय वर्ष पुरानो थियो |
३.       गतवर्ष एकजना बौद्धभिक्षुले आफ्नो परिचय खुलाउंदै उक्त कितावको प्रतिलिपि दिन अनुरोध गरे तर उनी पुरातत्वविभागको नियमअनुसार लाग्ने शुल्क तिर्न तयार भएनन् | पछि, त्यो पुस्तक कहाँ गयो र तपाईंलाई प्रतिलिपि चाहियो भनेर प्रश्न गरेपछि उनी खच्किए | अनि उनी फेरी यहाँ देखा परेनन् | हामीले उक्त अमूल्य किताव तस्करको हातमा परेर कुनै अमेरिकी वा युरोपेलीहरूको स्वामित्वमा पुगेको अनुमान गर्यौ | कति सजिलैसंग देशको एउटा अमूल्य सम्पदा विदेशीका हातमा पुग्यो कि ?
४.       मैले आफ्ना पूर्खाहरूले आफ्ना सन्तानको लागि विद्या जोगाइराख्न गरेको अघोर परिश्रम सम्झें | मेरो घरमा त एकदूईवटा किताव मात्र छन् | पुरातत्वविभाग, केशर पुस्तकालय, नेपाल राष्ट्रीय पुस्तकालय, नेपालका गुम्वा, चैत्य, बज्राचार्यहरू, पशुपतिको भण्डारखाल, पूराना निजी पुस्तकालयहरूमा अझै पनि हजारौंहजार यस्ता हस्तलिखित कृतिहरू छन् | यी सबैमा हाम्रा पूर्खाको पसिना छ | उनीहरूको कठोर परिश्रम छ | उनीहरूले गरेको निर्दयी त्याग छ |
५.       केही पश्चिमेलीका ‘दास’हरू भन्छन् – यी सबै धार्मिक कुरा हुन् | औषधि विज्ञान, बत्स्यायानको कामसूत्र, चाणक्यको अर्थशास्त्र, भरतको नाट्य र गायनशास्त्र, चार्वाकको भौतिकवाद, कालिदासको रघुवंस, कुमार संभव, कुमारील भट्टको मीमांसाजस्ता हजारौं विधाहरूको पनि हाम्रा पूर्खाले ऋग्वेद र गीताको संरक्षण गरेझैँ लेखेर संरक्षण गरेका थिए | विद्याप्रति उनीहरूको कुनै पूर्वाग्रह थिएन | धर्मप्रति पूर्वाग्रह भएको भए मुस्लिम र इसाईहरूले बाइबल र कुरान हातमा लिएर पुस्तकालयहरू ध्वस्त पारेझैँ एउटा पनि गैरधार्मिक कितावहरू पोलेर सक्थे | बाइबल र कुरानका क्रूरतापूर्ण आँखाले पूर्खाको मूल्यांकन गर्न सकिन्न | यी विध्वंसकारी, आत्मघाती, डलरभक्त र धर्मपरिवर्तनकारीशक्तिहरूका मतियार हुन् | सन् १३४५-४६मा बंगालबाट नेपाल छिरेका एउटा मुस्लिम आतंककारीले सुल्तान समसुद्दीनले भत्काएका पशुपति र पाटनका पुस्तकालयमा लगाएको आगो अझै निभेको छैन
६.       जति सजिलो बनेकालाई विगार्न हुन्छ, मित्रता तोड्न हुन्छ, आरोप लगाएर लड्न लगाउन हुन्छ, अर्कालाई दोष दिन हुन्छ त्यस भन्दा हजारगुणा परिश्रम विग्रेकोलाई सपार्न, मित्रता गास्न, शत्रुतालाई मित्रतामा वदल्न र अर्काको सकारात्मक गुण देख्नमा पर्छ | हामी नेपालीहरूमा अहिले अनायास यी दुर्गुणहरू बढिरहेका छन् | हामी निर्माणका नाममा विध्वंसतिर मुखरित भइरहेका छौँ | मुखले निर्माणको कुरा बोल्छौं तर मन र कर्मले विध्वंस गरिरहेका छौँ, आत्मघात गरिरहेका छौँ |
७.       कुनै पनि मानवीय समाजको विकास सरल रेखाबाट भएको छैन | देश, काल, परिस्थितिअनुसार सबैले फरकप्रकृतिका त्रासदीहरू भोग्दै आएका हुन् | शोषण, युद्ध, अत्याचार र दासत्वको इतिहास नभएको समाज संसारमा विद्यमान थिएन र हुने पनि छैन |आजको विकसित मानिने विश्वको ९९% सम्पदाहरू १% जनसंख्याको हातमा पुगेको कुरा अव गोप्य रहेन | आजको जस्तो अविवेकी वितरणप्रणाली मानवीय इतिहासमा कहिले पनि थिएन | संसारका सबै मानवीय समाज शोषण, अत्याचार, दासत्व र अविवेकी शासकहरूले छोडेका पुरा हुन् | हाम्रो नेपाली समाज चोखो छैन तर अरूको जस्तो अविवेकी र असहिष्णु पनि कहिले रहेन | असहिष्णु भएको भए, संस्कृतिका र सभ्यताका एतिविध्न विविधताहरू सुरक्षित रहन सक्दैनथे | असहिष्णुहरूले यो तत्थ्य स्वीकार्न सक्दैनन् किनभने एसो गर्न प्रायोजित छन् |
८.  सबैजसो राजनैतिक शक्तिहरूको विकासको स्रोत इतिहास नै हो | अधिकांश राजनैतिक शक्तिहरूको उदय विगतको इतिहासको आलोचनासंग भएको छ | तर नेपाली नेतृत्वमा इतिहासको आलोचना गर्ने आँखा युरोपेली सामाजिक परिवेशमा परिकल्पना गरेको साम्यवाद छ अथवा समाजवादसंग जोडिएको हुनाले नेपालीपनसंग सोच्न सक्ने प्राकृतिक शक्ति गुमाइसकेको छ | हामी नेपालीको दुर्भाग्य नै भन्नुपर्छ हाम्रो नेतृत्व इतिहासलाई गालीगलौज गरेर आत्मरतिमा माग्न छ | आफ्नै संस्कृति र संस्कारको एतिविध्न आलोचना गर्ने/प्रतिवाद गर्ने पात्रहरू संसार अन्य समाजमा  भेट्न मुस्किल पर्ला | जनताको अधिकार इतिहासलाई गालीगलौज गरेर स्थापित गर्न सकिन्छ भन्ने भ्रम सिर्जनामा व्यस्त छ |
९.       दक्षिण एसियाली देशको दुर्भाग्य भन्नुपर्छ कि यहाँको नेतृत्वले आफुले केवल युरोपेली वा अमेरिकीहरूलाई अनुकरण गर्न सिकाए र जनतालाई पनि त्यही मान्न वाध्य पारे | यी नेताहरूले आफ्नो भूमिसँग गाँसिएको संस्कृतिको विषयमा उनीहरूलाई जानकारी दिने कहिले प्रयत्न गरेनन् |अमेरिका वा युरोपेलीहरूले धेरै असल कुरामा प्रगति गरेका छन् | हाम्रो नेतृत्वले असल कुराहरूको अनुसरण गर्नुभन्दा उनीहरूका सपनाको अनुसरण गरेर जनता र आफैप्रति आत्मघात गरिरहेको छ |
१०.    देशको नेतृत्वको प्रमुखकार्य देशका जनतालाई सुशासनको अनुभूति दिनु र आफ्नो परम्परागत सीप, कला, संस्कृति र शिक्षालाई विस्तार गर्नु हो | युरोपेली र अमेरिकीहरूले यो काम अत्यन्त सघन तरिकाले सफलतापूर्वक सम्पादन गरिरहेका छन् | सरकारी तवरमा गर्नु पर्ने एस्तो काम घरवार त्यागेर जोगी भएका  प्रयत्न स्वामी विवेकानन्द जस्तो सन्यासीले गरे अथवा सिक्ने चाहनाले विदेशीहरू हाम्रो धर्म-संस्कृति र सभ्यताको अध्ययनतिर तानिए | केही इसाई मिशनरीहरूले हाम्रो धर्म-संस्कृतिमा रहेको कमजोरीहरूलाई बुझेर वदनाम गर्न र आफ्नो धर्मको प्रभूत्व स्थापित गर्न पास्टर वा पादरीलाई हाम्रो साहित्य पढ्न लगाए | विडम्वना भन्नुपर्छ, नेपालको नेतृत्वले ‘मिसनरीहरूको बुझाईलाई प्रमाणिक ठानेर काम गर्छन् |
११.    हाम्रो धर्म र संस्कृतिको विकास, अनुसन्धान तथा प्रसारप्रचारका लागि नेपाली राजनैतिक नेतृत्व मरूभूमि थियो छ र रहने छ | हाम्रो राजनैतिक नेतृत्वले यस्ता धर्म र संस्कृतिको सम्वर्धन गर्छ जसको सम्वन्ध नेपालको माटोसंग कहिले पनि थिएन | स-साना बालबालिकाले पढ्ने कितावमा इसाई र मुस्लिमहरूलाई नेपालका प्रमुख धर्ममा समावेश गरिएको छ | यी दूबै संस्कृतिक पद्यतिहरू नेपालका रैथाने संस्कृति कसरी भए ? मलाई मुस्लिम र इसाईहरूसंग कुनै आपत्ति छैन र हुनु पनि हुँदैन तर नेपालको पुरातन धर्म, संस्कृति र संस्कारसंग कुनै सरोकार नै नभएका विषयहरूको प्रचारप्रसारको सरकारलाई के आवश्यकता पर्यो ? बोन्पो, किरातीहरूको आस्था प्रमुख मान्न नसकिने अवस्था के हुन सक्छ ?
१२.    कार्लमाक्सको एउटा मूर्खतापूर्ण बुझाई छ इतिहास कुनै कालखण्डमा दोहोरिन्छ | जनता रोटीका पछाडी दौडिन्छन् | मलाई लाग्छ, यो अठारौं शताब्दिको सबैभन्दा मूर्खतापूर्ण बुझाई थियो | नेपालका केही बामपन्थीहरूले इतिहास फर्काउने प्रयत्न गरिरहेका छन् | इतिहास त पर्कन सक्दैन तर देश अठारौं शताब्दितिर फर्कने तयारी गर्दैछ | जातीयता, धार्मिक जडता, राजनैतिक अन्धविश्वास यी सबैले यही बताइरहेको छ | नेत्तृत्वमा रहेका व्यक्तिहरूले ‘कुनै पनि विदेशीले पहिले आफ्नो देश, जनता र आत्मगौरवलाई प्राथमिकतामा राख्छ’ भनेर बुझिदिए पुग्थ्यो | भारतीय हुन् वा युरोपेली अथवा अमेरिकी नै किन नहुन, तिनले सर्वप्रथम आफ्नो देश र जनताको भलो गरिरहेका छन् | यदि नेपाल र नेपालीलाई प्रयोग गरेर त्यस्तो बाटो खुला हुन्छ भने उनीहरूलाई कुनै आपत्तिजनक हुनेछैन |
१३.    मौलिकताको रक्षा गर्नु पर्छ भनेको अर्थ समाजलाई १० शताब्दीकोतिर फर्कन बाध्य पारिनुपर्छ भन्ने होइन | हाम्रा पुर्खाहरूले पछाडी फर्कने इतिहासलाई कहिले पनि सम्मान गरेनन् | हिन्दू-समाजमा महिलाहरूले धार्मिक नेतृत्व गरिरहेका छन् तर प्रोस्टेस्टेन्ट होस् वा क्याथोलिक अथवा मुस्लिमहरूको कुनै समुह नै किन नहोस्, उनीहरूले यस विषयमा सोच्नसम्म सक्दैनन् | किनभने तिनको धार्मिक कितावले एस्तो आदेश दिन सक्दैन | त्यसै भएर पुर्खाहरूको अनुसरण गर्नुपर्छ अनुकरण होइन | अनुसरण आफ्नो दायित्वको पालना हो, पूर्खाप्रतिको सम्मान हो भने अनुकरण अन्धविश्वास र अबौद्धिकता |
१४.   संस्कृति गतिशील हुन्छ | यसको गतिशीलतालाई कसैले रोक्न सक्दैन | कुरान र बाइबल बाहेक सबै असत्य हुन् भनेर मोहम्मद वा जिससको समयमा फर्कन चाहनेहरूले पनि आधुनिकीकरणको प्रयोग गर्नुपर्छ | मुस्लिम कट्टरपन्थीहरू तलवारको साटो बन्दुकले लड्दैछन् | इसाईहरू आफ्नो प्रभाव ‘धन’का आधारमा विस्तार गर्दैछन् | तर नेपाली हाम्रो राजनैतिक चिन्तनमा केवल विदेशीहरूको अनुकरण गर्ने रोग मात्र लागेको छ | रूसो, मार्क्सआदिका चिन्तन थोपरिंदा नेपाल रन्थनिएको छ | यी थोपरिएका विचारहरूले विश्वको विकास हुन्थ्यो भने साम्यवाद र प्रजातन्त्र थोपरिएका देशहरूका ‘अमेरिका र युरोप’ हुन्थे | आफ्नो इतिहासले दिएका अमूल्य सम्पदाहरूको अध्ययन/अध्यापन नगर्ने तर आफ्नै सभ्यताका विषयमा विदेशीहरूले लेखिदिएको आखाँले आत्मघात गर्नेहरूलाई धन्यवाद बाहेक के भन्न सकिन्छ र ?
१५. जवाहरलाल विश्वविद्यालयमा पढेका श्रीबाबुरामजी, कृषि क्याम्पसमा पढेका श्रीपुष्पकमलजी, बेलायतमा पढेका श्रीशेरबहादुरजी, त्रिविविका केही स्वनामधन्य ओम गुरुङ, भट्टचनआदि गुरूहरूको विवेकले आफ्ना पूर्खाहरूले लेखेर गएको विशाल शास्त्रीय सम्पदाहरूको अध्ययन/अध्यापनतिर पुग्न सक्दैन | उनीहरूका लागि ‘विदेशी-शास्त्र’मात्र विकास र चिन्तनका एकमात्र प्रमाणिक स्रोत हुन् | विदेशीले लेखे ‘पहिचानको कुरा महत्वपूर्ण हो, यिनले नेपालमा लादे | विदेशीले लेखे ‘जातीय पहिचान मुख्य हुनुपर्छ, उनीहरूले यसलाई एजेन्डा बनाए | विदेशीले भने धर्मपरिवर्तन नगराई देशको विकास असम्भव छ, यिनीहरूले ‘धर्मनिरपेक्षता’ रोजे | उनीहरूले लेखे संस्कृत मृतभाषा हो, यिनीहरूले विश्वविद्यालयमा आगो लगाए, बटुकहरूको टुप्पीकाटे शिक्षकहरूको हत्या गरे | उनीहरूले भने ‘अव तिमीहरू संसदमा जाउँ, यिनीहरू अहिले संसदमा छन् | आज पनि संसदीय भएपछि युद्ध र व्यक्तिहत्याको उद्देश्यलाई स्पस्ट पार्ने सक्ने कुनै औचित्यपूर्ण तर्क जनतालाई दिन सकेका छैनन् | एउटा ख्याउटे बाहुन कसरी सामन्त, शोषक र विभेदकारी र आक्रमणकारी विदेशी भयो ? भनेर जनतालाई प्रष्ट पार्न सक्नुपर्छ | इसाई बनेपछि विकसित भइन्छ भने दक्षिण अफ्रिकेली देशहरूमा किन भोकमरी फैलिएको छ ? भन्ने प्रश्नको औचित्यपूर्ण जवाफ दिन दिनुपर्छ | नेपालका सबै राजनीतिक पार्टीहरूको हैसिएत यस्तै छ | एमाओवादी त एउटा प्रबृत्तिमात्र हो |
१६.    नेपाली संस्कृति र सभ्यताको आलोचना गर्नु आजको फेसन बनेको छ | विदेशीहरूलाई रिझाउने एउटा अचूक अस्त्र बनेको छ | विभेद निर्मलीकरण गर्ने र समतामूलक सामाजिक ब्यबस्था कायम गर्न डलर झार्ने ‘मन्त्र’ बनेको छ भने नेताहरूलाई बलियो भोट-ब्यांक | एस्तो गर्नुपर्दा पनि कुनै पूर्वाग्रही पादरीले लेखेको एउटा अंग्रेजी उद्धरण प्रस्तुत गर्छन् | त्यसको सट्टा मनुस्मृति, याग्यबल्क्य स्मृतिजस्ता हजारौं ग्रन्थहरू नेपालीमा अनुवाद गर्न लगाएर, त्यहींबाट उदाहरण दिएको भए घैटोमा घाम लाग्ने थियो | असल/कमसल जेजस्तो भए पनि नेपाली जनताले आफ्नो कुराहरूलाई आफ्नो मन र आफ्नो पनले बुझ्ने थिए | खगेन्द्र संग्रौला, श्रीकृष्णबहादुर भट्टचन, श्रीगणेश गुरुङ, चैतन्य सुब्बाहरूले अंग्रेजीको अनुवादको मनुस्मृति पढेर आफ्ना छिमेकीहरूलाई गालीगलौज गरेको सुन्दा मन दुख्छ | हजारौं वर्षसम्म नेपालीमाटोसंग रहेको साइनो र त्यागप्रति मन गढ़ंते आरोप सुन्नुपर्दा भक्कानो छुटेर आउँछ | रह्यो कुरा, इसाई नेपालीहरूको उनीहरूको लक्ष नै बाइबलको आधिपत्य स्थापित गर्नु भएकोले नेपाल र नेपालीको हितका लागि उनीहरूले केही गर्लान् भन्ने सोच्नु गलत हुनेछ | बालुवा पेल्दा तेल निस्कन सम्भव छ तर इसाई र मुस्लिम बाइबल र कुरानको विरुद्ध जालान् भनेर विश्वास गर्न सकिन्न | अहिलेका संविधानसभाका अध्यक्षको रोजाई पनि यही हो |
१७.    हिन्दूवादी आन्दोलन, ब्राह्मणवादी आन्दोलन, खसक्षेत्री दसनामीहरूको आन्दोलनहरूको तार ‘धरान घोषणापत्र २०६८ संग जोडिएको छ जहाँ हिन्दूहरूलाई अनैतिक, अवैध, विभेदकारी असामाजिकका रूपमा पहिचान गरेर पूर्णतया रोक लगाउनु पर्ने मांग राखिएको छ | छिमेकीघरमा बस्ने हिन्दू परिवारप्रति एस्तो उग्रता नेपालीपनको उपज हुन सक्दैन | एउटा नेपालीले अर्को नेपालीप्रति एस्तो दूरासयपूर्ण चिन्तन राख्न सक्दैन | (http://www.everesttimes.net/article.php?type=article&aid=663) अहिलेको धर्मनिरपेक्षता विरोधी आन्दोलन होस् वा हिन्दू राष्ट्रको आन्दोलन देशको ८२% जनताले आफ्नो उपस्थिति देखाउन दिएको अभिव्यक्ति मात्र हो | आज पनि यो वर्गले कुनै पनि जातजाति वा वर्गलाई धरान घोषणापत्रले मांग गरेजस्तो बाटो अपनाएको छैन | यिनीहरूका विचारहरू उग्रवामपन्थी छन् | छिमेकीलाई समाप्त नपारी आफ्नो पहिचान स्थापित हुँदैन भन्ने चिन्तन केवल बाइबल र कुरानमा मात्र छ |
१८.    हाम्रा पुर्खाहरूले विद्याको जति महत्व बुझेका थिए, संसारका कुनै पनि समाजले त्यसरी बुझेका थिएनन् | २३ सय वर्ष पहिलाका चाणक्यले स्पस्ट रूपमा 'आफ्ना बालबालिकालाई शिक्षादीक्षा नदिने  आमाबाबु शत्रु हुन्' भनेर विद्याको महत्व प्रकाशित गरेका थिए भने आश्रम ब्यबस्था अन्तर्गत २५ वर्षको उमेरसम्म पढ्न कै लागि भनेर आरक्षित थियो | ब्रह्मचर्य अवस्था पढ्ने अवस्था थियो | पश्चिमाहरूको दिमागमा सन् १९१० मा मात्र एस्तो कुरा फुरेको थियो | विद्याप्रतिको यो सोचाई र समर्पणलाई नतमस्तक भएर सम्मान गर्छु | यही भएर होला सन् १९७८ मा मैक्वेलले हिन्दूहरूको आत्मवल र स्वाभिमान समाप्त पार्नुछ भने गुरूकुल पद्यतिमा प्रहार गर्नुपर्छ भनेको | विगतमा माओवादी आन्दोलनले समेत गुरुकुललाई किन निसाना बनाएको रहेछ र आज आदिवासी-जनजातिको नाममा जुटेका इसाईहरूले किन हिन्दूहरूलाई तारो बनाइरहेका छन् भन्ने कुरा बुझ्न सजिलो हुन्छ |  
१९.    यदि कुनैले हिन्दू-संस्कृतिमा पठनपाठनलाई महत्व दिएको छैन भनेर लेख्छ वा बोल्छ  भने उसले हिन्दू संस्कृतिको मर्मलाई बुझेको छैन अथवा हिन्दू संस्कृतिलाई वदनाम गर्दैछ भने बुझ्नु पर्छ | निश्चय नै हिन्दू संस्कृतिमा छुवाछुत हुनु दुर्भाग्यको कुरा हो | तर अहिलेको पुस्ता यो कू-प्रथा विरुद्ध बलियो तवरले उभिएको छ | हजारौं वर्ष देखि रगतमा बग्दै आएको यो दुर्भाग्यलाई ढाल्ने प्रयत्न गर्दैछ | हिन्दू संस्कृतिका प्राचीन सबै कुरा स्वीकार्य छन् भन्ने मूर्खतापूर्ण सोच मैले राख्न सक्दिन तर हिन्दू सामाजिक संरचनाजत्तिको उदार संरचना भएको समाज विश्वमा अर्को छैन भने ठोकूवा चाहिं गर्न सक्छु | ८२% मुस्लिम वा क्रिश्चियन रहेको देशमा १२५ भाषा बोल्ने, १२५ थरिका संस्कृति मान्ने, धार्मिक र अधार्मिक दूबै संरचनालाई आत्मसात् गर्न सक्ने सामाजिक संरचना जीवित रहन सक्थ्यो भन्ने कुराको कल्पना विश्वका कुनै पनि विज्ञ वा मूर्खले गर्न सक्दैन | हिन्दूहरूले आदिवासी-जनजातिहरूको सांस्कृतिक र भाषिक पहिचान मेटे भनेर कोकोहलो मचाउनेहरू सउदीअरव वा आयरल्याण्ड गए हुन्छ |
२०.    अहिले बरू राज्यले एउटा समुदायलाई दलितको पहिचान दिएको छ तर यदि इतिहासको सकारात्मक पाटोलाई प्रवर्धन गर्ने हो भने दलितको परिचयपत्रको आवस्यकता नै रहन्न | ऋषि बाल्मिकी, विश्वामित्र, वेदव्यास यी तीनजना ऋषिहरू हिन्दू धर्म र संस्कृतिका खम्वा हुन् | जन्मले यी शूद्र थिए | यदि त्यस जमानामा सानो-जातिलाई विद्यार्जन गर्न रोक भए यी रामायण, अठारपूराण र गायत्रिका सृजनाकर हुँदैन थिए | अहिले पनि काठमाडौंको मुटुमा रहेको भद्रकाली मन्दिर, बानेश्वरको छक्कुबक्कु मन्दिर, पाटनको चण्डी मन्दिर र मधेशको गढीमाईका पूजारीहरू दलित नै छन् भन्ने सम्झन सक्नुपर्छ | गैरदलितहरूले यी सबै मन्दिरमा जाँदा पूजारीले दिएको प्रसाद आस्थापूर्वक स्वीकार गर्छन् | गैरदलितहरूलाई यी उदाहरण दिनुको सट्टा पचीससय वर्ष पहिला लेखिएको र तत्कालीन समाजलाई प्रतिनिधित्व गर्ने मनुस्मृतिका (अंग्रेजी अनुवाद) उदाहरण दिएर दलित र गैरदलितवादको खाल्डो अझै गहिरो बनाउने काम गरिदै छ | हाम्रो दूर्भाग्य भन्नुपर्छ एस्तो काम सरकारीस्तरबाट हुँदैछ | धर्मपरिवर्तन गराउने बूटीको रूपमा विदेशीहरूले यसलाई प्रयोग गरेर समाजलाई अस्थिर, असहिष्णु र धार्मिककट्टरतातिर धकेल्दै छन् |
२१.    पश्चिमीहरूले दिएको ‘दलित’ परिचयपत्र बोक्नेहरूले उपरोक्त सामाजिक यथार्थलाई समाचार वा परिचर्चामा ल्याउन सक्दैनन् | एस्तो गर्दा आर्थिक स्रोत रोकिन्छ | अस्ति एकजना दलित अगुवाले ‘दलित’ हाम्रो पहिचान हो, यो हामीले संघर्ष गरेर कमाएको पूँजी हो भनेर लेखे | यदि ‘दलित’ पहिचान हो र यसले आर्थिक फाइदा हुन्छ भने छुवाछुतको विरोध गर्नुको कुनै औचित्य छैन | बरू यसलाई अझै बलियोसँग संस्थागत गर्नुपर्छ | होइन भने भागवतका कथाकार पण्डित मानप्रसाद रसाइलीसंग सिक्नुपर्छ | दलितउत्त्थानका लागि काम गर्ने कुनै पनि संघसंस्थाले पण्डित रसाइलीको सम्मान गरेन् (http://www.ekantipur.com/np/2071/3/32/full-story/392421.html) किनभने दलितहरूलाई आफ्नो मूलधारसंग तोड्ने प्रयोजनका लागि संचालित दलित परिचयधारीहरूका लागि पण्डित रसाइली, छ्क्कुबक्कु, भद्रकाली, मनकामना, गढ़िमाईजस्ता विषयहरू अवान्छनीय तत्व हुन् |
२२.    मैले आज पनि मेरो पुर्खाले विद्याको संरक्षण गर्न लोक्ताको कागत बनाएर, जडिबुटीको मसीले लेखेको 'ऋग्वेद'को पाना यहाहरू समक्ष समर्पण गरेको छु | हो, यो विद्या आधुनिक संसारमा रोजगारी प्राप्त गर्न उपयुक्त नहोला तर पूर्खाले हाम्रा लागि विद्यालाई निरन्तरता दिन गरेको संघर्षको यो जीवन्त प्रमाण हो | त्यैपनि त्रिभुवन विश्वविद्यालयमा आधुनिक विषय पढेको पण्डितले भन्दा नेपाल संस्कृत विश्वबिद्यालयमा पढेको पण्डित स्वरोजगारमा सफल देखिन्छ | संस्कृत पढेको कुनै पनि व्यक्ति रोजगारीका लागि रुँदै हिंडेको लेखकले भेटेको छैन |
२३.    युरोपेलीहरूसंग उनीहरूले आँखा खोल्दा बाइबल बाहेक कुनै किताव थिएन तर आज हामी हिन्दू, बौद्ध, जैनहरूसंग पुरातन विद्याको ठूलो भण्डार जीवित छ | मेरो आग्रह छ, पहिले हामी सबै मिलेर आफ्ना पूर्खाहरूले सृजित गरेका विचारहरूको अध्ययन/अध्यापन र अनुसन्धान गरौँ | असल र कमसल कुराहरू हामी आफैले केलाओं | असल कुराहरू रहने छन् कमसल कुराहरू हट्ने छन् | विदेशी संस्कृति र सभ्यता बोक्न हामीले अहिले जति प्रयत्न गरिरहेका छौँ त्यसको १०% पनि हामीले आफ्नोपनको सुरक्षा र सम्वर्धनमा खर्चिनेहो भने देश र समाजको नक्सा वदलिने निश्चित छ | देशको यो विविधता, सहअस्तित्व, प्राकृतिक सहिष्णुतालाई निरन्तरता दिन हाम्रा पूर्खाहरूले कमसेकम तीनहजार वर्षदेखि प्रयत्न गरेका हुन् | हामीसंग सहअस्तित्वको सबैभन्दा पूरानो अनुभव छ | यो अनुभवलाई नष्ट हुनबाट जोगाउनुपर्छ | यो काम हामीले बाहेक अरू कसैले गर्न सक्दैन |
२४.    यो लेख पढ्ने केही पाठकले स्यावास भन्ने छन् भने केहीले ‘हिन्दू कट्टरपन्थी वा पूरातनवादी’ भनेर ओठ लेप्राउने छन् | जुन धर्म र संस्कृतिमा व्यक्ति जन्मेको हुर्केको हुन्छ, त्यसप्रति उसको आकर्षण हुन्छ, लेखक यो तत्थ्यबाट अलग हुनसक्दैन | तर तत्थ्यसंग खेल्नु र पूर्वाग्रहसंग बग्नुमा फरक हुन्छ | धार्मिकहरू कट्टरपन्थी हुन्छन् | हिन्दू समाजको मान्छे धार्मिक हुन जरुरी छैन | मेरो यो आलेख आफ्नोपनतिर फर्केर हेर्न एउटा आग्रह हो | धार्मिक होइन मानवीय बनेर उभिने प्रेरणा हो | अनुकरण होइन अनुसरण गर्ने प्रार्थना हो | सहअस्तित्वका लागि ‘गालीगलौज’ सहयोगी हुन् सक्दैनन् भन्ने चेतना हो | हरेक मान्छेको चित्त बुझाउने प्रयत्न गर्न सकिन्छ तर चित्त बुझाउन सकिन्न भन्ने मनोविज्ञानको प्रसारण हो | नकारात्मक सोचबाट सकारात्मक परिणाम निस्कन्छ भन्ने सोचप्रति विद्रोह हो |      

२५.    यहाँ हाम्रो ३ हजार वर्षलामो सहअस्तित्वको इतिहाससंग रन्थनिएको एउटा वर्ग छ | यसले हाम्रो समन्वय, सहास्तित्व र सामन्जस्यलाई अस्तव्यस्त पार्न चाहन्छ | ऋषिहरूले  रूखको फेदमा बसेर बाँसको कलमले कोरेको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको प्राकृतिक संविधानलाई पांचतारे होटलमा रक्सी र यौनसुखको काखबाट षड्यन्त्रपूर्ण तवरले लेखिएको अप्राकृतिक र अन्यायी संविधानसंग विस्थापित गर्ने घनघोर प्रयत्न हुँदैछ | एस्तो दुर्गन्धित संविधानका छिटाहरूले हाम्रो समाज रन्थनिन थालेको छ | अभद्र, अमर्यादित र देशको ठूलो जनसख्या विरुद्ध घृणा फैलाउने विचार रुखको फेदमा लेखिंदैन | तैपनि यस्ता दूर्जनहरूको पनि सम्मान गर्नुपर्छ | हात धोएर गुदद्वार धोइन्न | गुदद्वार धोएपछि हात धोइन्छ | दूर्जनम् प्रथमम् बन्दे सज्जनम् तदनन्तरम् | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...