यदि
कसैले तपाईलाई ‘तपाईं किन हिन्दू हुनुहुन्छ भनेर सोध्यो भने तपाईंसंग कस्तो जवाफ
होला ! एकपटक आफैलाई सोध्नुहोस् | यदि आफुसंग प्रश्नको सही जवाफ छैन भने तलको
लेखले तपाईंलाई मदत गर्ने छ | यदि कुनै महिला वा पुरुषले निम्न दशबटा धर्मका
लक्षणहरू मध्ये न्युनाधिक रूपमा छ बटासम्म पालन गरिरहेको छ भने उ हिन्दू-प्रयोगकर्ता
हुन्छ |
धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह:।
धीर्विद्या सत्यमक्रोधो
दशकं धर्मलक्षणम् ॥ मनु स्मृति 6/92
धृति: हरेक परिवेश र
परिस्थितिमा धैर्य न गुमाउनु धृति हो | सनातन धर्मका अनुयायीहरूले संकटका वखतमा
पनि आफ्नो विवेक गुमाउनु हुँदैन | जीवनमा धेरैपटक धर्मसंकटहरू आइपर्छन् | खाडीमा
काम गर्ने लाखौं नेपालीहरूका सामु हरेक पाइलामा गो-मांसको त्रासदीपूर्ण अवस्था हुन्छन्
| आफ्नो धर्म रक्षा गर्न धैर्यतापूर्वक त्यसलाई अस्वीकार गर्नुपर्छ |
क्षमा: क्रोध गर्ने अवस्था
उत्पन्न हुँदा पनि क्रोध नगर्नु नै क्षमा हो | क्षमा जीवनको असली गहना हो | हामी
क्षमाशील हुनुपर्छ | क्षमाशील हुनु हिन्दूहरूको लक्षण हो | अनुकौं सम्प्रदायमा
विभाजित भएका हिन्दूहरू एकापसमा मिलेर बसेको यही ‘क्षमा’ गुणका कारण हो | मुस्लिम
र क्रिश्चियनहरूका सम्प्रदायहरू एकअर्काको अस्तित्व मेट्न आज पनि रक्तपातपूर्ण
संघर्ष गरिरहेका छन् | हामी हिन्दू, बौद्ध, सीख, जैनहरू आपसमा संघर्ष गर्ने कल्पना
पनि गर्दैनौं किनभने हामी क्षमाशील छौँ | हामीले आफ्ना साथी, छोराछोरी, आफन्त वा
पति/पत्नीले गरेका स-साना गल्तीहरूलाई क्षमा गर्न सक्नुपर्छ
दम: हरेक परिस्थितिमा
इन्द्रियहरूउपर बौद्धिक नियन्त्रण राख्नु वा उद्दण्ड नहुनु दम हो | अतिमहत्वकांक्षी
जीवन अत्यन्त कष्टकर हुन्छ | महत्वकांक्षीहरूले आफुउपरको नियन्त्रण गुमाएका
हुन्छन् | मनमा उब्जिएका सबै इच्छाहरू पूरा गर्न सकिन्न | जीवनका लागि अत्यावस्यक
इच्छाहरू मात्र पूरा गर्ने प्रयत्न गर्नुपर्छ
| मनका इच्छाअनुसार इन्द्रीयहरूको प्रयोग गर्दा रोग लाग्छन् | मान्छेले
गल्ती गर्छ | कानुनको उलंघन गर्न र त्यसको फल जेलनेल र सामाजिक वा सांस्कृतिक
बहिस्कारमा परेर भोग्नुपर्छ |
अस्तेय : अरूको सम्पत्ति
देखेर त्यसप्रति डाह नगर्नु वा आफुलाई चाहिए भन्दा बढीको इच्छा नराख्नु अस्तेय हो |
मान्छे प्राकृतिक रूपमा लोभी प्राणी हो, भोलीको लागि भनेर जोहो गर्ने प्राणी हो |
शास्त्रहरूले आफ्नो लागि आवश्यकता भन्दा बढी सामग्रीहरूको संग्रह गर्न रोकेको छ |
हामीले आफुलाई आवस्यकता भन्दा बढी सामग्रीहरू थुपार्दा अत्यावश्यक भएको मान्छेले
त्यसको उपयोग गर्ने अवसरबाट बन्चित हुनुपर्छ | त्यसैले हिन्दूले आफुलाई र आफ्नो परिवारलाई
आवश्यकता पर्ने भन्दा बढी सामग्री संग्रह गर्नु हुँदैन |
शौच: मन, बचन र कर्ममा
पवित्रता र कर्तब्यको भावना राख्नु शौच हो अपवित्र वस्तु वा विचार अस्वीकार गर्नु नै शौच
हो | वर्तमान समयमा अपवित्रताको भोल्युम बढ्दो छ | रेडियो, टेलिभिजन, छापा,
चलचित्रका माध्यमबाट मानसिकरूपमा प्रदुषण पैदा गर्ने यौनजन्य, हिंसात्मक तथा इन्द्रीयहरूलाई
उत्तेजित पार्ने सामग्रीहरू प्रवाहित भैरहेका छन् | शास्त्रले निषेध गरेका
विषयहरूलाई पनि ‘अन्धविश्वास’को विषय ठानेर स्वीकार गरिंदै छ | रक्सी, बीयर, मासुको
प्रयोग असाधारण रूपमा बढेको छ | राजसिक र तामसिक विषयवस्तुलाई परित्याग गर्नु नै
शौच हो | स्नानले शरीर स्वच्छ हुन्छ, पवित्र होइन | पवित्रताका लागि शास्त्रले
बताएअनुसारको कर्म गर्नुपर्छ | मन, बचन र कर्मले अर्काको भलो चाहनु नै शौच हो |
इन्द्रीयनिग्रह: विवाहित पति/पत्नी
बाहेक यौनजन्य काम नगर्नु नै इन्द्रीयहरूको निग्रह हो | मनको गतिविधि अत्यन्त चंचल
हुन्छ | मनमा बौद्धिक नियन्त्रण प्राप्त गर्न नसके इन्द्रीयहरू जथाभावी हुन्छन् | आजभोली मान्छेमा
खानपान र यौनजन्य कार्यलाई खुला हुनुपर्ने चिन्तन बढ्न थालेको छ | एस्तो हुँदा
एड्स, एभोलाजस्ता प्राणघातक रोगहरू देखा परेका छन् | हाम्रो क्रियाकलापले हाम्रा
बालबालिकाहरू पनि प्रभावित हुन्छन् | अत: इन्द्रीयहरूको जथाभावी सक्रियतालाई
रोक्नु नै इन्द्रीय निग्रह हो | हिन्दूहरू इन्द्रीयको इच्छामा चल्ने होइन आफ्नो
बौद्धिक इच्छामा इन्द्रीयहरू संचालित गर्ने हुनुपर्छ |
धी: : हरेक कुरा वा
विचारलाई राम्ररी बुझ्नु नै धी हो | आजभोली हामी धेरै जान्ने त भएका छौँ तर
बुझ्नचाहिं छोडेका छौं | खासगरी, पश्चिमा-संस्कृतिको तीब्र प्रभावले गर्दा हामीले
आफ्ना मौलिक चालचलन, धर्म र संस्कृतिहरू गुमाउंदै छौँ | हाम्रा पूर्खाले हरेक दिन
नुहाउनु पर्छ, भान्सामा जाँदा हातगोडा धोएर जानुपर्छ, आफूभन्दा ठूलोको सम्मान
गर्नुपर्छ भनेर सिकाए | आजको विज्ञानले पनि दिनहुँ नुहाउन पर्छ, भोजन गर्दा
सकेसम्म सफा र सुद्ध गर्नुपर्छ, ठूलोलाई सम्मान गर्नु पर्छ भन्ने कुरालाई स्वीकार
गरेको छ | अरू वा आफ्नो असल आचरण, संस्कृति वा विचारलाई बुझेर स्वीकार/अस्वीकार
गर्नु पर्छ | हिन्दूहरूले हरेक कर्म लैलैमा लागेर होइन बुझेर गर्नुपर्छ | लैलैमा
लागेर आफ्नो धर्म, संस्कृति र चालचलन छोड्नेहरू अहिन्दू हुन् |
विद्या: धर्म, अर्थ, काम,
मोक्ष तथा संसारिक विषयमा प्रयाप्त जानकारी राख्नु नै विद्या हो | हिन्दू भएर आफ्ना
बालबालिकालाई अनिवार्यरूपमा शिक्षित बनाउनु पर्छ | आत्मनिर्भर बन्ने शिक्षा
दिनुपर्छ | आधुनिक शिक्षाले ‘पेटभर्ने’ कूरामा मात्र जोड दिन्छ तर हिन्दू शिक्षा
प्रणालीले संसारमा ‘पेट पाल्न मिल्ने’ र मृत्युपछि स्वर्गको बाटो खोल्छ | हामी
हिन्दूहरूले आत्माको अमरत्व, स्वर्ग-नर्क, कर्म र कर्मफलको प्रभाव, पूनर्जन्म तथा
परमतत्वमा विश्वास गर्ने हुँदा आफुसहित अरूलाई जीवनोपयोगी विद्यमा बल दिन्छौं |
एउटा हिन्दू विद्वान हुनुपर्छ |
सत्य: सत्यको पालन गर्नु नै
सत्यता हो | सत्य बोल्नु, सत्यको उपासना गर्नु, सत्यको ब्यबहार गर्नु र अरूलाई पनि
सत्याचरण गर्न प्रेरित गर्नु हिन्दूत्व भित्र पर्छन् | शास्त्रले सत्य बोल्दा यदि
कसैको जीवन नै समाप्त हुन्छ, विवाह तोडिन्छ, कसैको हिँसा हुन्छ र जीविकाको साधन नै
समाप्त हुन्छ भने केही घुमाउरो पारामा सत्य बोल्न सकिन्छ भनेको छ, अन्यथा असत्य
बोल्नु हुँदैन | एउटा हिन्दूले छलकपट, ढाट्ने र गलतबाटो देखाउने काम गर्नु हुँदैन |
सत्याचरण गर्नेले ‘ब्रह्म साक्षात्कार’ गर्छन् वेदमा भनिएको छ | अत: हरेक सत्याचरण
गर्ने मानिस हिन्दू नै हुन्छ |
अक्रोध: रीस नगर्नु वा
वदलाको भावना त्याग्नु अक्रोध हो | तर स्वधर्म र स्वसंस्कारको रक्षाका खातिर
रीसलाई बौद्धिकता पूर्वक प्रयोग गर्न सकिन्छ | आजभोली खानपान, रहनसहन र पश्चिमा
संस्कृतिको प्रभावले गर्दा हामी बढी क्रोधी भएका छौँ | अमिलो, पीरो, वासी, असमयमा
पाकेको, हिंसापूर्वक तयार पारिएको र अन्याय पूर्वक काममा लगाएका मजदूरहरूबाट तयार
पारिएको तामसिक भोजन गर्छौं | यसले हाम्रो रगतमा ‘रीस’को लागि उर्जा भरिन्छ | आफ्नो रहनसहन र भोजनमा ध्यान दिएर हामीले रीस
कम गर्न सक्छौं | हामी क्रोधरहित हुनसक्दैनौं तर अक्रोधको अवस्थालाई प्राप्त गर्न
सक्छौं | एउटा हिन्दूले विवेकहीन क्रोध गर्नु हुँदैन तर आत्मरक्षाका लागि विवेकीय
आधारमा क्रोध गर्नु पाप होइन |
यसरी महात्मा मनुको मनुस्मृतिले धर्मका दशबटा
लक्षणहरूको प्रतिपादन गरेको छ | जसले धर्मका यी दशलक्षणहरू आफ्नो जीवनमा धारण
गर्छ, उही हिन्दू हुन्छ | पूजाआजा, मन्दिर, एवं चालचलनहरूले हिन्दूहरूका उपरोक्त
दश आधारहरूमा टेकेको हुनुपर्छ | अव कसैले ‘तपाईं हिन्दू किन ?’ भनेर सोध्यो भने माथि
लेखिएका कुरा भन्नुहोला |
No comments:
Post a Comment