Tuesday, February 24, 2015

हिन्दू संस्कृतिमा महिला..

हिन्दू-संस्कृतिमा महिलाको कस्तो स्थान छ भनेर बुझ्नका लागि संवन्धित व्यक्तिले हिन्दूत्व सम्वन्धि प्राचीन संस्कृत ग्रन्थहरूको अध्ययन गरेकै हुनुपर्छ | प्राचीन संस्कृत साहित्यको अध्ययन नगरी‘हिन्दुसंस्कृतिमामहिला’को स्थान अपमान जनक छ र मानवाधिकार विरुद्ध पनि छ’ भन्ने आरोप लगाउने चलन बढेको छ | यहा हामीले बुझ्नै पर्ने कुरा के हो भने हरेक संस्कृतिका सामाजिक दार्शनिक चिन्तनहरू समय र परिवेशका आधारमा परिवर्तन भइरहेका हुन्छन् भने मूल धार्मिक मूल्यहरू सदैव एकसमान रहन्छन् | सामाजिक चिन्तनमा परिवर्तन हुँदा मूल-चिन्तनमा परिवर्तन हुन्छ भन्ने भ्रम पनि हुन्छ | हिन्दुत्वका सवालमा पनि विकासका क्रममा समय र परिस्थितिअनुसार महिलाहरूका विषयमा फरक-फरक अवधारणा विकसितभएको देखिन्छ तर जवसम्म विश्लेषकले धर्मका मूल भनाईहरू मूलभाषामा बुझ्दैनन्, सम्वन्धित विषयमा भ्रम फैलाउने काम बाहेक केही हुन्न | अहिले हिन्दू-महिलाको अधिकारकाक्षेत्रमा काम गर्ने अधिकांश विज्ञहरूका स्रोतहरूहिन्दूमहिलाका बारेमा लेखिएका पाश्चत्य लेखकहरूका अधुरा विचार भएकोले तीसंग जोडिएको देखिन्छ |

हिन्दू धर्मशास्त्रहरू दूईखालका छन् : श्रुति र स्मृति | श्रुतिको अर्थ हो श्रुति-परम्परामा आधारित शास्त्रहरू र स्मृतिको अर्थ हो सुनेर स्मरण गरिएको परम्परामा आधारति धर्मशास्त्र| वेद, आरन्यक र उपनिषद्हरू श्रुति हुन् जसको साक्षात्कार ऋषिमुनिहरूले ‘ध्यानावास्था’मा सुनेर लेखेका थिए भने श्रीमद्भगवत गीता र केही अद्वैतवाद, द्वैताद्वैतवाद, विशिष्टताद्वैत, द्वैतवादजस्ता केही प्राचीन सम्प्रदायहरूलाई समेत ‘श्रुति’ नै मानिन्छन् | यसरी यी शास्त्रहरूलाई मानवीकृत मान्न सकिन्न भन्ने हिन्दू-विद्वानहरूको मान्यता रहेको छ भने हिन्दू धर्म र संस्कृतिमा श्रुति-परम्पराका‘’कुरा’’हरूलाई सर्वाधिक प्रमाणिक मानिन्छ | महिलाहरूका सवालमा पनि श्रुतिले बोलेका वाक्यहरू नै सर्वाधिक प्रमाणिक हुन्छन् र हिन्दूसंस्कृति र धर्ममा महिलाहरूका सवालमा कलम चलाउँदा सम्वन्धित लेखकलाई ‘मूलचिन्तन’का ज्ञान हुनैपर्छ भन्ने कुरामा विवाद रहन्न |

हिन्दू साहित्यको दोस्रो विधामा स्मृति शास्त्रहरू पर्छन् | स्मृतिहरू मानिसले रचना गरेका हुन् | रामायण, महाभारत, मनुस्मृतिजस्ताग्रन्थहरू स्मृति ग्रन्थ हुन् | स्मृतिहरूको रचना श्रुतिको समर्थन वा ब्याख्याका लागि गरिएको हो | स्मृतिको काम श्रुतिका उपलब्धिहरूको संरक्षण गर्नु हो |असलमा स्मृति ग्रन्थहरूका भनाइहरूलाई सबैले बुझ्न सक्दैनन्, अ-आफ्नो क्षमताअनुरूपमानिसले श्रुतिको अर्थ बुझ्ने गर्छन् रआफ्नो सामर्थ्यअनुसार त्यसको ब्याख्या गर्छन् | समय-परिवेशअनुसार ‘मूल’लाई परिवर्तन गरेर समय सापेक्ष बनाइन्छन् | असलमा, श्रुतिहरू मूल दर्शनशास्त्र वा सिद्धान्त हुन् भने स्मृतिहरू मानिसले आफ्नो आवश्यकताअनुसार परिवर्तनशीलता तथाएउटा निश्चित प्रयोजन पूरा गर्नसाथ लेखेका ग्रन्थ हुन् | यस्ता स्मृति ग्रन्थहरूको सान्दर्भिकता र महत्व समय-परिवेशपरिवर्तनका साथ वदलिंछन् | श्रुतिहरूका सिद्धान्त ‘अपरिवर्तननीय, स्थायी र प्रमाणिक हुन्छन् |

महिलाका वारेमा हिन्दू धर्मग्रन्थको‘चिन्तन’को प्रामाणिकता पनि स्मृति ग्रन्थहरूका तुलनामा श्रुति ग्रन्थहरू नै महत्वपूर्ण पूर्ण ठहरिन्छन् | उपनिषद्हरू श्रुति हुन्, वेद हुन् | समग्र श्रुतिहरूले आफ्नो सिद्धान्तलाई चारवटा मूल बाक्य मार्फत प्रकट गरेका छन् ‘अहँ ब्रह्म अस्मि ( म नै पूर्ण ब्रह्म हुँ) तत्वम् असि(म नै परमतत्व हुँ) प्रज्ञानम् ब्रह्म(ज्ञान नै ब्रहम हो) अयम् आत्मा ब्रहम (यो आत्मा नै परम ब्रह्म हो) | यी महाबाक्यहरूले कुनै जात, लिंग, चिन्तनकामानिसलाई जात वा वर्णका आधारमा सानो वा ठूलो भनेको छैन | न यी शास्त्र वाख्यहरूले वर्णका आधारमा कुनै भेद गरेका छन् न पुरूष वा महिला भनेर छुट्याएका छन् | सेतो वा गोरो, नेपाली वा अमेरिकन, क्रिश्चियन वा हिन्दू, पूर्वेली वा पश्चिमेलीको भेद पनि महावाक्यमा देखिन्न | यी महावाक्यले मनुष्यमात्रका लागि आफ्नो प्रयोजन व्यक्त गरेका छन् | विना भेदभाव | सबैमाएकै आत्मा विद्यमान छ | हो आत्माको निवासस्थल रूप शरीर फरक हुन सक्छ तर यस्तो भिन्नताले विभेदलाई महत्व प्रदान गर्न सक्दैन | महिला वा स्त्रीको आवरणमा पनि उही ‘आत्मा’नै विद्यमान रहेको हुँदा ‘हिन्दूशास्त्रले महिला र पुरुषका वीच भेदभाव गरेको छ’ भनेर बुझ्नु र बोल्नु असत्य हो | हो, महिला र पुरुषका वीचमा शारीरिक वनावट फरक छ तर आध्यात्मिक स्वरूपमा कुनै पनि भेदभाव छैन| रह्यो कुरा शरीरको, हरेक आत्माले आफ्नो कर्मअनुसार नै शरीर प्राप्त गरेको हुन्छ | आज पुरुषको आवरणमा रहेको आत्मा अर्को जन्ममा महिलाको आवरणमा पनि रहन सक्ने सम्भावना हुन्छ | श्रीमद्भागवतको पूरंजनको कथामा यस तथ्यलाई सिद्ध गरिएको छ | त्यसले‘स्त्री र पुरुष चराका दूईतिरका प्वाँख हुन्’ (ऋग्वेद) भनेर शास्त्रले महिला र पुरुष बीचका सबै भेदभावहरू समाप्त पारेको छ |

हिन्दूधर्मअनुसार विधिवत विवाह गरेका जोडीहरूले राम्ररी बुझेका हुन्छन् कि कसरी महिला र पुरुष दुबैले एकअर्कालाई सात जन्मसम्म सहयोग गर्ने वाचा गर्नुपर्छ | अग्निलाई साक्षी राखेर ‘सप्तपदी’ वचनबद्धता प्रकट गरिन्छ | ‘अग्नीलाई साक्षी मानेर (अ)एक अर्कालाई सहयोग गर्ने छौँ, (आ) हामी दुवै मिलेर शक्ति संचय गर्ने छौँ, (इ) दुवै मिलेर सम्पत्ति कमाउने र रक्षा गर्ने छौँ, (ई) सुखदुख दुबैले भोग्ने छौँ, (उ) दुवै मिलेर बालबालिकाको हेरचाह र लालनपालन गर्ने छौँ, (ऊ) हामी दुवैले एकअर्कोलाई हरहमेशा साथ दिने छौँ र (ए) हामी दुवै जीवन पर्यन्त मित्र हुने छौ’’ वचनबद्धता व्यक्त गर्नुपर्छ| विवाहका यी वचनहरूनै‘हिन्दूधर्मले नारी र पुरुषकाबीच कुनै प्रकारको विभेद गर्दैन’ भन्ने कुराका बलिया प्रमाण हुन् | संस्कृतिक र व्याबहारिक विभेदलाई हिन्दूधर्मसंग जोडेर ‘समग्र हिन्दू धर्म नै महिला विरोधी छ’ भन्ने आरोप काल्पनिक हो भन्ने कुरामा अव विवाद नरहला |महिला र पुरुष वीचमा भएका सामाजिक र परिवेशजन्य विरोधाभाषपूर्ण र विभेदकारी चिन्तनलाई ‘सप्तपदी’को प्रतिज्ञालाई प्रोत्साहित गरेर मेटाउने अवसरका रूपमा हिन्दू-विवाहलाई प्रयोग गरे वर्तमानमा महिलाप्रति भइरहेका भेदभावपूर्ण व्यवहारहरू मेटाउन सहयोगी ठहरिने देखिन्छ | बरू, कौवाले कान लग्यो भने कौवातिर दौडनु भन्दा आफ्नै कान छाम्न उचित होला कि ?

वेदमा नारी-समानताका निम्न उदाहरणहरूलाई ‘सकारात्मक ढंग’ले बुझेर तिनलाई ब्यबहारमा प्रयोग गर्न, प्रवर्धन गर्न चासो दिने कि :
हेईश्वर ! जो जोडा प्रेमपक्षीको झैँ होस् | यीदुबै सन्तानको सुख प्राप्त गरेर लामो समय सम्म सुखी रहुन् र एकआपसमा माया गरिरहुन | अथर्ववेद संहिता १४.२.६४
हामी दुबैको (पतिपत्नीको) प्रार्थना एकै प्रकारको होस् र हाम्रा आचार, ब्यबहार र विचार पनि समान होस् | : ऋग्वेद संहिता १०.१९१.३
पतिपत्नी रथका चक्का सरह हुन् | जीवन पर्यन्त एकापसमा सहयोग, विश्वास र सामान ब्यबहार गरेर जीवनको सर्वोत्तम प्राप्त गर्न सकिन्छ | समानता नै स्त्रीपुरुष वीचको सर्वोच्च न्याय हो | मनुस्मृति ९.१०१

असलमा हिन्दूविवाहका वेला खासगरी ‘गोडा धुने’वखतमा पुरुष र महिला दुबैलाई  श्रीलक्ष्मीनारायणका रूपमा संम्मान गरिन्छ | महिलालाईमात्र‘दान दिने वस्तुका रूपमा’ प्रस्तुत गरिएको कुरा साँचो होइन|विवाहका वखतमा दुबैको समानस्तर निर्धारित होस् भनेर भगवानका रूपमा पुजिन्छ | व्यवहारमा महिलासंग अपमान पूर्ण ब्यबहार हुनुमा हिन्दूधर्मशास्त्रको कुनै भूमिका देखिन्न किनभने शास्त्रले नारायण भन्दा पहिला लक्ष्मी, राम भन्दा पहिला सीता, कृष्ण भन्दा पहिला राधालाई स्थापित गरेर हरेक महिलाका लागि गौरवपूर्णपरिवेशनिर्धारित गरेको छ | यहासम्म कि ‘पूजाआजाका वखतमा विवाहित महिला-पुरुषको जोडी अनिवार्य हुन्छ | एक्लै महिला वा एक्लै पुरुषले मात्र पूजाआजा गरेर यज्ञपूर्ण हुनै सक्दैन| आज पनि नेपाली ग्रामीणभेकमा पूजाआजा हुँदा पतिपत्नी अनिवार्यरूपले पूजास्थलमामा सहभागी हुनै पर्छ| यज्ञका वेला ‘पूर्णमानिस’ बन्न पति र पत्नीको अनिवार्यता हुन्छ किनभने वाया अंग पत्नी हुन् भने दायाँ अंग प्रुरुष |

यदि वैदिकसंहिता हेर्ने हो भने ऋग्वेदका ४०७जना साक्षात्कार गर्ने ऋषि वा रचनाकारहरू मध्ये २१बटा महिला मनिषी छन् | वेद, उपनिषद् र आरान्यककालमा (श्रुतिकालमा)महिलाहरूको अवस्था ज्यादै सम्मानजनक रहेपनि स्मृतिकालमा क्रमशः तत्कालीन सामाजिकर सांस्कृतिक परिवेशका कारण महिलाहरूको उच्चता खस्केको देखिन्छ | आज हिन्दूसमाजमा महिलाहरूले खेपिरहेका विभेदहरू ‘हिन्दू-धर्मको’ सारनजानेर हो |जव वेदका रचनाकारमध्येहरू नै महिला पर्छन् भने‘महिलाले वेद पढ्न हुन्न, गायत्री सुन्न हुन्न’ भन्ने चलनचल्ती हिन्दूधर्मको मूलमर्म विपरित ठहरिन्छ | अत: ‘जहा महिलाहरूको आदरसम्मान हुन्छ त्त्यहा देउता खुसी रहन्छन् र जहाँ महिलाहरू अपहेलित हुन्छन् त्यहाँ कुनै पनि यज्ञ फलिभूत हुँदैन’ (मनुस्मृति ३.५६)  भन्नेमहात्मा मनुका वाक्यहरूलाई हरेक नेपाली हिन्दूहरूले मान्नुपर्छ | यस्ता विचारहरूलाई प्रशस्तै जानकारी दिनुपर्छ र हिन्दूसंस्कृतिमा प्रचलित महिला समतामूलक चेतनालाई सकारात्मकरुपमा प्रचारप्रसार गरिनुपर्छ| तर महिला-विरुद्ध हिंसाका प्रबृत्ति र घटनाहरूलाई कुनै पनि मूल्यमा प्रश्रय दिनु/दिइनु हुन्न |आफैले हिन्दूशास्त्रीय तत्थ्यहरूलाई जांचपरख, लेखपढ नगरी, सत्यतथ्य नबुझी ‘हिन्दू नारी अधिकार विरोधी धर्म हो’ भनेर निष्कर्ष निकाल्नु एउटा प्राचीनतम सभ्यताप्रतिको अन्याय हुनेछ र आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुनेछ |

(c) gsu300(at)gmail.com

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...