Tuesday, September 19, 2023

दुई सन्त : योगी र विवेकानन्द

 दुई सन्त : योगी र विवेकानन्द

कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र (विवेकानन्द) १९१५ मा जन्मिएका बलवीर कृष्ण थापा ( योगी नरहरी नाथ) भारतवर्षका ज्वलन्त हीरा थिए | उमेरको र कालखण्डको विषयलाई छोड्ने हो भने दूवै सन्तले कालजयी काम गरेका छन् | दूवैले भारतवर्षको प्राचीन गौरवलाई आ-आफ्नो तरिकाले स्थापित गर्ने प्रयत्न गरेका छन् | स्वामी विवेकानन्दको मृत्यु भएको ६ वर्षपछि जन्मिएको भए पनि नेपालका लागि नरहरिनाथ योगीको स्थान र गौरव विवेकानन्दको झैं हुनुपर्छ |
योगी नरहरिनाथले नाथ पन्थमा दीक्षित भएर नेपाल र भारतका अधिकांश ठाउँहरूमा पुगेर वैदिक संस्कृतिको बास्तविक परिचय खोज्ने काम गरे फलत: ६०० बटा जति पुस्तक लेखिए भने उनले उपर्युक्त स्रोतचाहिं करिव २८ बटा भाषाबाट लिएका थिए | भनिन्छ, योगी नरहरिनाथले उपर्युक्त २८ भाषा बोल्न र लेख्न सक्थे | योगीको अर्को पक्ष पनि छ, उनी १९४० ताका उज्जैनीको संस्कृत विद्यालयमा पढ्दा महात्मा गान्धीसंग प्रभावित भएर भारतीय स्वतन्त्रताको लागि जेलनेल पनि परेका थिए |
उता विवेकानन्दले सन्त रामकृष्ण परमहंससंग दीक्षा ग्रहण गरेर वैदिक संस्कृतिको गौरवलाई अंग्रेजी भाषाका माध्यमबाट विश्वका लागि पस्के | स्वामी विवेकानन्दको यो कार्यलाई स्वतन्त्रतापछि पनि भारतले स्वामित्व ग्रहण गर्यो | आज भारतका हरेक विद्यालय, विश्वविद्यालय र संस्थानहरूमा विवेकानन्दबारे चर्चा गर्छन् | भारतले धर्मनिरपेक्षता भन्दा माथि उठेर भारतवर्षीय गौरव विश्वलाई चिनाएकोमा "राष्ट्रसन्त"का रूपमा ग्रहण गर्यो | आज भारतसहित नेपालमा स्वामी विवेकानन्दलाई नचिन्ने थोरै छन् |
आज भारतीय र विवेकानन्द एकआपसमा पर्यायवाची बनेका छन् | भारतसरकारले स्वामी विवेकानन्द सेन्टर स्थापित गरेर विश्वभरि भारतीय संस्कृतिको प्रचारप्रसार गर्छ | नेपालमा पनि भारतीय राजदूतावासअन्तर्गत विवेकानन्द सांस्कृतिक केन्द्र संचालनमा छ | भारतके विश्वभरी विवेकानन्द सांस्कृतिक केन्द्र संचालन गर्छ | भारतका मार्क्सवादी, समाजवादी सबैलाई थाहा छ : भारतले विश्वमा चिनाउने विषयमा सबैभन्दा माथिल्लो कुरा "भारतीय संस्कृति, कला तथा आदर्श" नै हुन् |
तर स्वतन्त्र हिन्दू राष्ट्र, त्यसपछि धर्मनिरपेक्ष राष्ट्र भएको नेपालले नाथ योगी नरहरीको महत्व र गौरवको कहिले पनि सम्मान गर्न सकेन | नरहरिनाथको परिचय र कार्यको कुनै मूल्यांकन छैन | निजीस्तरका केही संघसंस्थाहरूले बाहेक सरकारीतन्त्रले योगीको योगदानलाई अस्वीकार गरेको छ | उहाँले वैदिक संस्कृतिको निरन्तरताका लागि भिक्षा मागेर स्थापित गरेको संस्कृत विवि सधैं बामपन्थी र समाजवादीहरूको "इगो-सेन्टर" बनेको छ | नेपालको राजनैतिक शक्तिले नरहरिनाथको योगदानउपर निरन्तर अन्याय गरिरहेको छ | उहाँको नाम मेटाउने प्रयन्त गरिरहेको छ |
योगी नरहरीनाथले लगौटी र चिम्टा लिएर वैदिक सनातन धर्मको बास्तविक इतिहास पत्तो लगाउने प्रयत्न गरे र ६०० बटा कितावहरू लेखे | नेपालले उपर्युक्त सम्पदाबाट फाइदा लिन सकेन | नेपाली राजनैतिक शक्तिहरूलाई समाजवाद र साम्यवादको एस्तो नशा लाग्यो कि उनले आफ्नो सबै "खरानी" र अर्काको सबै "हिरा"का रूपमा स्वीकार गरे |
यहाँ लेख्ने पर्ने तत्थ्य पनि छ : सन् १८६३ मा नरेन्द्र जन्मिदा र उनको सन् १९०९ मा मृत्यु हुँदा आधुनिक भारतको उदय भैसकेको थिएन | त्यहाँ नेपालजस्ता अनेकौं राष्ट्रहरू थिए | सन् १९४७ मा आधुनिक स्वरूप ग्रहण गर्ने तरखरमा लागेको भारतले स्वामी विवेकानन्दको योगदानलाई महत्व दियो |
तर कहिल्यै पनि अर्काको "गुलाम" नबनेको नेपालले योगी नरहरिनाथको महत्वलाई चिन्न सकेन | उहाँले गरेका महत्वपूर्ण कार्यहरूलाई न त्यस बखतका शासकहरूले महत्व दिए, न आजका शासकहरूले उहाँको सम्मान गर्ने मनसाय भेटिन्छ | कार्लमार्क्सको फोटोमा फूल अर्पण गर्नेहरूले देशी सन्तयोगीको फोटो पनि सम्झिंदा नेपालीको गौरव बढ्ने थियो |
धर्मनिरपेक्ष भारतले स्वामी विवेकानन्दको सम्मान गर्न हुँदा नेपालका धर्मनिरपेक्षहरूले योगी नरहरीनाथको सम्मान गर्न उचित नै देखिन्छ | अनेकौं बिश्वविद्यालयहरू स्थापना हुँदै गर्दा एउटा "योगी नरहरीनाथ इतिहास विश्वविद्यालय" पनि स्थापित हुन सक्छ |
आज नेपाली विद्यालय, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरूले स्वामी विवेकानन्द भनेर चिनेका हुन सक्छन् तर विद्वानहरूको वेवास्ता र सरकारको उपेक्षाले महान इतिहासका अन्वेषक, समाजसेवी, लेखक, भाषाविद्, सन्त तथा वैदिक धर्म, संस्कृतिकको मौलिक परिचय स्थापित गरेर नेपाललाई चिनाउने योगी नरहरी नाथका विषयमा थोरैले जानेका छन् | आफ्नैलाई उपेक्षा गने नेपालका, विविहरू र शिक्षा व्यबस्थाको मूल्यांकन गर्ने बखत आएको छ |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...