Friday, September 29, 2023

ॐ कारको नासा कनेक्शन !!

ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो | वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन् - यो सत्य हो | आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुन: जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो |

आजभोली ॐ कारको सामाजिक संजालमा निकै चर्चापरिचर्चा भैरहेको छ | खासगरी Swagat Nepal को समुहको मुद्दामा अदालतले आदेश जारी गरेपछि चर्चा चुलिएको हो | यो परिचर्चाका कारण ॐ कारसंग निरपेक्ष रहेका वा ॐ कारको विषयमा केही पनि नजानेका व्यक्ति वा समुदाय पनि ॐ कारको विषयमा खोजिखोजी पढेका छन् | यो राम्रो पक्ष हो |
तर ॐ कार अमेरिकी अन्तरीक्षको अध्ययन गर्ने संस्थासंग जोडेर "ॐ कारको ध्वनी अन्तरीक्षमा प्रमाणिक भएको छ, नासाले ॐ कारलाई मान्यता दिएको छ, ॐ कारका आधारमा नासाके अन्तरीक्षको खोज गरिरहेको छ"जस्ता भ्रामक तथा कपोलकल्पित लेख्ने जमात पनि बढेको छ | सर्वसाधारणसहित विद्वान पनि यो भ्रामक प्रचारप्रसारमा सरिक भएका छन् | यस्तो भ्रामक प्रचारप्रसारले सनातन संस्कृतिको बैज्ञानिक पक्षमा आधात र अविश्वास बढ्छ | ॐ कारलाई नासाजस्ता कुनै पनि देशी वा विदेशी संस्थाहरूले मान्यता दिनु पर्दैन | यो हामी सबैको आस्थाको धरोहर हो |
उपर्युक्त विषयमा पाठकहरूले के बुझ्न पर्छ भने अमेरिकी संस्था नासाले ॐ कारको विषयमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन | आजको मितिसम्म अन्तरीक्ष विज्ञानमा काम गर्ने कुनै पनि संस्थाले अन्तरीक्षमा ॐ कारको अध्ययन गरेको कुनै प्रमाण छैन | तर दर्शनशास्त्र, मनोविज्ञान, cognitive science, न्युरो-साइन्स तथा तान्त्रिक विज्ञानअन्तरगत अनुसन्धान भएका छन् | उदाहरणका लागि महर्षि महेश योगी तथा आचार्य श्रीराम शर्माका संस्थाहरूले ॐ कार र त्यसले शारीरिक, मानसिकतहमा पर्ने प्रभावहरूको डाटा-बेसमा अनुसन्धान गरेका छन् | केही स्वतन्त्र संस्थाहरूले पनि ॐ कारको ध्वनि र तेसले पार्ने प्रभाव बारे अनुसन्धान गरेका छन् | सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने सबैजसो अनुसन्धानले ॐ कारलाई थेरापीका रूपमा उपयुक्त भएको ठहर गरेका छन् |
पुन: ॐ कार सम्पूर्ण सनातानिको साझा तथा अपौरुषेय सम्पदा हो, अस्तित्व तथा परिचय हो | जन्मदेखि मृत्युसम्मको साधना हो | आध्यात्मको उत्स हो | ॐ कार विना वैदिक सभ्यता परिचय विहिन हुन्छ | यसको सुरक्षा र निरन्तरता हरेक सनातनीको प्राथमिक दायित्व हो | ॐ कार विरुद्ध कुनै पनि षड्यन्त्र अक्षम्य हुन्छ | तर पनि वैज्ञानिकताका नाममा ॐ कारसंग असम्बद्ध संस्था तथा व्यक्तिहरूको नाम जोड्नु उचित होइन | सचेत रहेर ॐ कारको आराधना गरौँ |
ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः |
कामदं मोक्षदं चैव ओंकाराय नमो नमः ||
अर्थ : ऋषिमुनि तथा योगीहरूले विन्दुभएको ॐ कारको सधैं साधना गर्छन् | किनभने ॐ कारमा सम्पूर्ण कामना पूर्ण गर्ने र अनन्त: मोक्ष दिने शक्ति छ, ॐ कारप्रति नमन गरौँ |
स्वस्त्यस्तु (सबैको कल्याण होस्)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...