Saturday, October 7, 2023

सानो कुरा - ७६ (ब्रह्मनाल)

 सानो कुरा - ७६ (ब्रह्मनाल)

समय : ४:३०, आर्यघाट
आर्यघाटमा मृतकको शव आउने क्रम चलिरहेको थियो | आर्यघाटको ब्रह्मनालमा सुताएर पानी ख्वायेपछि मृतकको आत्मा स्वर्ग जान्छ भन्ने विश्वासले ब्रह्मनालको पालो कुर्नुपर्छ | तीनचारबटा मृतशरीर राखेर आफन्तहरूले ब्रह्मनाल खाली हुने प्रतिक्षा गरिरहेका थिए | आफन्तहरू रोइकराई गरिरहेका थिए |
एत्तिकैमा एउटा समूह मृतकको मृत शरीर लिएर आइपुग्यो | त्यो समूहले आफुले ल्याएको मृत शरीरलाई पहिले त्यहाँ रहेका मृतशरीर भन्दा अगाडी ल्याएर सुताए | आफन्तको मृत्युका कारण दुखी आफन्तले पालो मिच्दा अचम्म माने तर केही बोलेनन् | फलानो राजनैतिक पार्टीको झण्डाले शव छोपिएको हुँदा त्यो शव कुनै नेताको हो भन्ने प्रष्ट हुन्थ्यो | शवलाई फलानो पार्टीको झण्डाले छोपिएको थियो |
यो घटना मैले आर्यघाट माथिको बाग्मतीतिरको पशुपतिको दलानबाट नियाली रहेको थिएँ | अनि, ब्रह्मनालमा सुताएको शव निकाल्दासाथ पालो मिचेर झण्डाले छोपिएको शव ब्रह्मनालमा सुताए | पालो मिचिएकाले केही प्रतिवाद गर्न खोजे तर अन्तिम दर्शनका लागि आएका सरकारी मान्छेहरूका सुरक्षाकर्मीले अवरोध उत्पन्न गरे | कसैको केही लागेन, शवले प्राथमिकता पायो | अनि, उठाएर चितातिर लगियो |
यो दृश्य हुँदै गर्दा मसंगै एकजना जोगी उभिएका थिए | त्यो सबै घटना देखेपनि उनले मुख विगार्दै भने "मरेपछि पनि यो मान्छेको लाशले राजनीतिबाट मुक्ति पाएन | पार्टीको झण्डा ओढाएपछि घाटमा पनि पालो मिच्ने मिल्ने रहेछ | अव यो मान्छेले यही पार्टीको झण्डा बोकेर नर्कमा पनि पालो मिच्ने होला नि ! " हे भगवान्, मरेपछि पनि पार्टीको झण्डा ओढाएर ब्रह्मनालको पालो मिच्नेले देश र जनताको भलो गर्छन् भन्नु त सपनामा नसोचे पनि हुन्छ | समाजवादको बाटो एस्तो रहेछ बाबु ! होइन र ? मसंग कुनै जवाफ थिएन | मैले राजनैतिक झण्डाको आडमा धेरै ठाउँमा नियम मिचेको देखेको थिएँ तर शवको लागि नियम (पालो मिचेको) मिचेको भने पहिलोपटक आफैले देखेको छु |
'''''''''
म भने ती जोगी, शव र पालो मिचेर "ठूला-बडा" भएका राजनैतिक मलामीलाई हेरेर ट्वाल्ल परिरहें |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...