Tuesday, September 19, 2023

स्वस्ति ६ श्री भानुभक्त बाजे !

 स्वस्ति ६ श्री भानुभक्त बाजे !

आगे तपाईं जिउँदो भए आज २१०को बूढो हुनुहुन्थ्यो | यस्तो पितृसंग सम्बाद गर्दा निकै रमाइलो हुने थियो | तर तपाईं मूर्तिका रुपमा, रामायणका रूपमा, बधुशिक्षाका रुपमा हुनुहुन्छ | केहीले तपाईंको खेदो खन्छन् | केहीले तपाईंको बचाऊ गर्छन् | म चाहिं तपाईंलाई माया गर्छु | आज तपाईंले रामायणमा लेखेको भाषा पनि २१० वर्ष बूढो भयो भन्ने मेरो मान्यता हो | स्वर्गमा भए पनि तलका तिनोटा "नेपाली पढ्नुस् ल !!
(१) अंग्रेजी माध्यमबाट पढेका आफुलाई मोडर्न मान्नेले र नेपाल्ग्रेजी बोल्ने संचारकर्मीहरूले एफएम, टेलिभिजन, फेसबुकआदिमा यसरी बोल्छन् र लेख्छन्
"इस्टर्न फिलोसफी र मोरल भ्यालु दिक्लाइनले प्रेक्तिकल लाइफलाई प्रोब्लेमेटिक बनाउंदै छ | इन्गलिश ल्यांग्वेजको फास्ट ग्रोथले नेपाली ल्याङ्ग्वेजलाई च्यालेन्ज गर्दैछ | आज पोइट भानुभक्तको युभिभरसरी सेलेब्रेशनबाट हाम्रो न्यु जनेरेशनलाई नेपाली ल्याङ्ग्वेजको इम्पोरटेन्स बुझ्न सहयोग गर्ने छ | केटाकेटीले कुरा बुझ्ने छ |
(२) संस्कृतका विद्वानहरू नेपाली यसरी बोल्छन् र लेख्छन्
"पौरस्त्य दार्शनिक तथा नैतिक मूल्यहरूको अवमूल्यन हुँदा सम्पूर्ण नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवन पद्धतिमा कुठाराघात हुँदैछ | आंग्लभाषाप्रतिको तीब्रतर मोह र स्वेकीय भाषाप्रति हीनताबोधले नेपाली भाषा क्षयमा प्राप्त हुँदैन | आज भानुभक्त जयन्तिको शताधिक जयन्तिका सुअवसरले समग्र नेपालीय समाज र नेपाली भाषिकालाई दैनन्दिनीमा प्रयोग गर्नेहरूमा विशिष्ट शक्तिपात हुने छ |"
(२) नेपाली जरो भएका विद्वान्हरूले यसरी बोल्छन् र लेख्छन् -
"पूर्वीय दार्शनिक तथा नैतिक मूल्यहरू घट्दै जाँदा नेपाल र नेपालीको सामाजिक. सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवनमा असजिलो हुँदैछ | अंग्रेजी भाषाको मोहले नेपाली भाषा कमजोर हुँदैछ | आज भानुभक्त जयन्ति मनाउंदै गर्दा सम्पूर्ण नेपालीभाषिले आफ्नो भाषाप्रति पुनर्ताजगी प्राप्त गर्ने छन् |
मलाई त झन् संस्कृत, नेपाली वा अंग्रेजी आउन्न | मैले नेपाली बोल्छु तर मैले विश्वविद्यालयमा पढ्या होइन | हाम्रोतिरका मान्छेले तेसरी बोल्न जान्या छैनन् | मलाई उपल्लो नेपाली आउन्नन्, क्यारूँ ? बिजोक भयो | ठ्याकै नहोला तर आजभोलीको नेपाली उपल्लो झैं छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...