Tuesday, September 19, 2023

गुरू चिन्ने र छान्ने सङ्कट !

 गुरू चिन्ने र छान्ने सङ्कट !

आजको सङ्कट भनेको असली र नक्कली गुरुको फरक छुट्याउन सक्ने सामर्थ्य हो | बजारमा ठूलो व्यापार भएका गुरूहरूको जगजगी छ | मिठो बोल्ने र मिलाएर बोल्ने गुरूहरूको जगजगी छ | संस्कृत पढेका गुरूहरू "बाजे" भनिन्छन् तर अंग्रेजी बोल्नेहरूले बजार लिन्छन् | साधना, तपस्या, निष्ठा र आत्मज्ञानका विषयमा सोच्ने र पर्गल्ने कसैलाई फुर्सद छैन | १०८, १००८, अनन्त विभूषित, जगद्गुरूआदि लेख्ने, जयजयकार गराउने, महङ्गा कारहरू चड्ने, कमलो मखमली गद्दामा विश्राम गर्ने, मोडर्न हौँ भन्ने समुदायलाई मन पर्ने गरी बोल्ने र सधैं मिठोमिठो खानेहरूनै महान् सन्त मानिन्छन् | मोडर्न गुरूहरूका चेलाचेलीले किन नारद, विश्वामित्र, भारद्वाजआदि ऋषिहरूले "जगद्गुरू" किन लेखेनन् ? १८ पुराणका लेखक व्यासदेवले किन विश्वगुरू, पतितपावनआदि उपाधि किन लेखेनन् ? भनेर सोध्ने सोच नै आउंदैन !
ठूला व्यापारी गुरुका ठुला आश्रमहरू, अंग्रेजी भाषा, अमेरिक र वेलायतको ठेगाना र "मेम्बरशीप" मोडर्न सभ्यताको स्टाटसका रूपमा बजारको अंग भएको छ | व्यापारी गुरूहरू झ्यालखानामा हुँदा पनि व्यापार रोकिएको छैन | "गीता-गङ्गा"जस्ता असंख्य साहित्यहरू बोकेर व्यापारी गुरुका धनि चेलाचेलीहरू "मोडर्न" गुरूको व्यापारमा अनन्त प्रयत्नशील छन् | शास्त्रले देखाएका गुरूका चरित्रहरूको खोज गर्ने, तर्कद्वारा स्थापित गर्ने र आचार, ज्ञान र साधनामा श्रेष्ठ गुरूलाई जीवन अर्पण गर्नेहरू थोरै छन् |
शास्त्रहरूले गुरूको प्रमुख लक्षण भनेकै जस्तोसुकै तर्कको शास्त्रीय, तार्कीक र मोक्षका लागि बाटो खोल्ने तवरले उत्तर दिने र मन, बचन र कर्मलाई परोपकार तर मोक्षामा केन्द्रीत गर्ने हुनुपर्छ भनेर लक्षण दिएका छन् | आजका "ठूला"गुरूहरूको र तिनका प्रमुख चेलाचेलीको प्रमुख कार्यनै "ब्रेनवास"बाट आरम्भ हुन्छ | नवदीक्षित चेलाचेलीहरू एतिबिध्न असहिष्णु हुन्छन् कि सम्बन्धित "ठूला"गुरूको विपक्षमा एउटा प्रश्न वा शङ्का पनि सुन्न चाहन्नन् | रामरहिमका चेलाहरूले हरियाणालाई चिहानमा परिवर्तन गरेका थिए | उपनिषद कालीन ऋषिहरूको प्रमुख कार्य नै "संगै बसेर शिष्य वा जिज्ञासुहरूका शङ्काहरूको भद्रतवरले उत्तर दिने थियो | आफ्नो बाक्चतुरतालाई "बाबावाद"मा रुपान्तरण गर्न सफल "ठुला" गुरूहरूले नारद, शुकदेवआदि ऋषिहरूलाई समेत आफ्नो शिष्य भन्ने गरेको र त्यो भनाइमा विश्वास गर्नेहरूको समुह बढ्दै छ |
सम्पत्ति, पेट, चेलाचेलीको सङ्ख्या, कार, आश्रम, बोली होइन साधना, त्याग, असलआचरण र कल्याणकारी चेतना हेरेर गुरू थापौं, आत्मकल्याण गरौँ | "ब्रेनवास" गरेर वावावाद फैलाउने होइन साधनाद्वारा ईश्वरसंग मिलन गराउने गुरु चिनेरमात्र शिष्यत्व स्वीकार गरौँ | सन्तकोले अस्तित्व निर्माण गर्छ, बाबावादीहरूले तपाईंबाट सम्पत्ति थुतेर आफ्ना लागि ठूलाठूला आश्रम, गाडी, हेलिकप्टरको जुगाड गर्छ | यसको अर्थ - सबै आश्रम भएकाहरू "गुरूहरू" खराव हुँदैनन् | भारतवर्ष आत्मज्ञानी गुरूहरूको तपोभूमि भएकाले जुनसुकै आवरणमा उपलब्ध हुनसक्छन् |
नोट : यो विचार नक्कली गुरू र तिनका ब्रेनवास चेलाचेलीले पढे भने तिनको ब्रह्माण्ड तात्ने निश्चित छ तर यदि विनम्र गुरू र उहाँक शिष्यले यो पढे भने धन्यवाद नै दिने छन् |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...