Tuesday, July 18, 2017

मनोविज्ञान र योगसूत्र

महर्षि पतंजलीले योगसूत्रको रचना गरेको लगभग तीनहजार वर्ष वितेको छ तर आधुनिक मनोविज्ञानको विकास भएको दूई सयवर्ष पनि पूरा भएको छैन | आजको मनोविज्ञान योगविना एककदम पनि हिड्न नसक्ने अवस्थामा छ | योगले मनोविज्ञानलाई ठूलो सहारा दिएको छ |

पहिले योगसूत्रको कुरा गरौँ | पश्चिमा विद्वान फिलिप ए. मोसले महर्षि पतंजलीको समय ई.पू. ४०० तिर भएको अनुमान गरेका छन् भने अर्का विद्वान एडमिनले ई.पू. दोस्रो शताब्दिमा योगसूत्र लेखिएको अनुमान गर्छन् तर परम्परागत नेपाली तथा भारतीय विद्वानहरू यिनीहरूले तय गरेको समयसीमा स्वीकार्न तयार छैनन् |

पश्चिमा विद्वानहरूको खोजप्रणाली सधैं विवादित रहेको छ | किनभने उनीहरूले विश्वका जुन सुकै कृतिहरू वा सभ्यताको समयसीमा निर्धारित गर्दा "बाइबलको समयसीमा भन्दा प्राचीन हुनुहुँदैन" भन्ने पूर्वाग्रह राख्ने आरोप लाग्छ | धेरै विषयमा यी आरोपहरू सिद्ध पनि भएका छन् | त्यैपनि नेपाली तथा भारतीय विद्वानहरू लुरुलुरु यिनै पश्चिमा विद्वानहरूले लेखेको कुरा सारेर आफ्नो पुरुषार्थ प्रदर्शन गरिरहेका छन् - केही अपवाद बाहेक |

भारतीय विद्वान महामहोपाध्याय गोपीनाथ चक्रवर्ती, प्राडा बलदेव उपाध्याय, मनमोहन मालवीय आदि र नेपालका केही विद्वानहरूले उपरोक्त समयसीमाको सप्रमाण प्रतिवाद गरेको देखिन्छ | त्यैपनि लेखक स्वयम्ले आफ्नो वारेमा केही न बताएको हुँदा समय-सीमा सधैं विवादित नै रहने छन् | नेपाली विद्वानहरूले आफ्नै बलवुतामा आफ्नो इतिहास खोज्ने र त्यसलाई प्रमाणित गर्ने काम गर्न बाँकी नै छ | इतिहासमा अरूको भर पर्न हुँदैन |

परम्परागत नेपाली तथा भारतीय विद्वानहरूले महर्षि पतंजली र योगसूत्रको समय ई.पू. ३५०० बाट ३००० तिर भएका प्रमाणहरू दिएका छन् | यसको मूल कारण जैन (ई.पू. ७००) बौद्धहरूले (ई.पू. ६००) योगका विषयमा निकै परिचर्चा गरेका छन् | महावीर तथा बुद्ध दूबै योगका पारखी भएको कुरा तिनका धर्मग्रन्थहरूमा यत्रतत्र उल्लेख छ |

योगको मूल ग्रन्थ योगसूत्र चारभागमा विभाजित छ : समाधिपाद, साधनापाद, विभूतिपाद तथा कैवल्यपाद | पहिलो भागमा ५१ सूत्रहरू छन् अध्यायको नाम अनुसार नै समाधिका विविध अवस्थाका विषयमा वर्णन गरिएको छ | दोस्रो पादमा योगका ब्यबहारिक स्वरूपहरूको उल्लेख छ जसमा ५५ बटा सूत्रहरू छन् |

तेस्रो अध्यायमा ५६ बटा सूत्रहरू छन् | यसमा योगका माध्यमबाट प्राप्त गर्न सकिने विभिन्न उपलब्धिहरूको सूक्ष्म विवरण दिएको छ भने अन्तिम अध्यायमा ३४ बटा सूत्रहरू छन् यसमा मुक्ति, मोक्ष वा निर्वाणका विषयवस्तुहरूको जानकारी छ | असलमा, समग्र वैदिक दर्शनको मूल गन्तब्य नै "मोक्ष" हो जसलाई योगदर्शनले नेतृत्व गरेको देखिन्छ |

श्रीमद्भगवत-गीतापछि सबैभन्दा बढी अंग्रेजी तथा अन्य भाषाहरूमा सबैभन्दा अनुवाद हुने प्राचीन वैदिक ग्रन्थ नै "योगसूत्र" हो भनिन्छ | सन् १८७९ मा स्वामी विवेकानन्दले अमेरिकी धर्म संसदमा सम्वोधन गरेपछि पाश्चात्य जगतले योग तथा अन्य वैदिक विधाहरूका विषयमा अभिरुचि देखाउन थाले |

आज योगका कारण विश्व नै "हिन्दू"हरूको निवासस्थल भएको आरोप इसाई विसपहरूले लगाउन थालेका छन् | आज योग विश्वब्यापी बनेको छ | योग लोकप्रिय बनेको छ | हिजोसम्म योगलाई "सेक्सपावर" बढाउने साधनका रूपमा वेस्टले चिने पनि अव यो शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यको मूलधार बनेको छ | आजको जीवन शैलीमा योग तरकारीको नून बनेको छ |

आज मनोविज्ञान र योगको मांग बढेको छ | जसरी घरघरमा योग पुगेको छ त्यसैगरी मनोविज्ञानको आवश्यकता पनि अनुभुव गरिएको छ | मनोविज्ञानले मनको स्वभावको कारण बैज्ञानिक आधारमा खोजिरहेको छ भने योगले शरीर, मन तथा आत्माको आवश्यकताहरूलाई आसन, ध्यान तथा समाधिका माध्यमबाट स्थापित गर्ने प्रयत्न गरिरहेको छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...