Tuesday, July 18, 2017

म र मेरो संस्कृत

म आफै संस्कृत भाषाको विद्वान् होइन | मैले आँखा खोल्दा पिताजीसंग कौमुदी, रुद्री, चण्डी र अन्य कर्मकाण्ड सिक्नेहरूको भीड हुन्थ्यो | गुल्मी, स्याङ्गजा र बाग्लुंगबाट महिनादिन पुग्ने सामल बोकेर विद्यार्थीहरू पढ्न आउंथे र पिताजीले आफुले जानेको कुरा सिकाउनु हुन्थ्यो |

पछिल्ला दिनमा पिताजीको स्वास्थ्य त्यति राम्रो थिएन त्यैपनि उहाँ झिसमिसेमै उठेर स्नान गरेपछि विद्यार्थीहरूबाट अघिल्लो दिन दिएको पाठ मुखाग्र सुन्ने र तिनलाई नया पाठ दिनेकाम गर्नुहुन्थ्यो |

पाठ सुन्ने र पढाउने कार्य रुद्रीबाट हुन्थ्यो भने अन्त्य लघुकौमुदीबाट | रूद्री र चण्डी कण्ठस्थ नगरेसम्म कौमुदी पढ्न पाइन्नथ्यो | कर्मकाण्डमा रुचि भएकाहरूले कौमुदी पढ्दैनथे भने कौमुदी पढ्नेहरूले बेलुकापख भागवत पढ्थे |

म सम्झन्छु, मलाई रुद्री र चण्डीमा त्यति रुचि थिएन तर विद्यार्थीहरूले स्वस्वर पाठ गरेको सुनेकै भरमा यी दूबै कितावहरूका अधिकांश अंशहरू "मुखाग्र" भएका थिए | मैले जिस्क्याउन कै लागि पनि जोरसोरले मन्त्रहरूको उच्चारण गर्थे | असलमा, पिताजीसंग पढ्न आउने विद्यार्थीहरू १८-२० वर्षका हुन्थे र धेरैजसो त विवाहित पनि हुन्थे, मुखाग्र गर्ने सवालमा ती सधैं कमजोर सावित हुन्थे र म प्राकृतिक रूपमा अब्बल | यो सबै म ६-७ वर्षको हुँदाको कुरा हो |

पछि पिताजीले मलाई कौमुदी पढाउन आरम्भ गर्नुभयो | त्यस बेला बुझ्नु भन्दा पनि दिएको पाठ मुखाग्र गरेर सुनाउनु महत्वपूर्ण हुन्थ्यो | धेरै पाठ छोटो समयमा मुखाग्र पारेर सुनाउन सक्नेहरूलाई "जान्ने"मा गनिन्थ्यो | म पिताजी र विद्यार्थीको नजरमा जान्ने थिएँ |

त्यसबेला त्यतिधेरै आधुनिक विद्यालयहरू थिएनन् र ती विद्यालयहरूप्रति त्यति आकर्षण पनि थिएन | आकर्षण नहुनुको मुख्यकारण ती आधुनिक विद्यालयमा पढेर कर्मकाण्ड, ज्योतिषी, भागवत कथाआदि गर्न नसक्नु नै थियो |

त्यस बखतका आधुनिक विद्यालयहरूले दिएको शिक्षादीक्षाले सर्वसाधारणको आवश्यकतालाई पूरा गर्ने सक्दैनथ्यो न त अहिले नै यो आवश्यकता पूरा भएको छ | असलमा, सरकारले ठूलो लगानी गरेका आधुनिक विद्यालयहरूले "साक्षर" गर्ने बाहेक अन्य काम गर्न सकेका छैनन् |

पिताजीको धेरैजसो समय विद्यार्थीहरूलाई पाठ दिंदा र सुन्दा जान्थ्यो | शिक्षाको लागि कुनै शुल्क थिएन र वस्ने ठाउँ पनि नि:शुल्क नै हुन्थ्यो | विद्यार्थीले स्वेच्छाले दिएको वस्तु नै विद्याको शुल्क थियो | केही विद्यार्थीहरू निकै गरीव हुन्थे, उनीहरूको पालनपोषण हाम्रो घर मै हुन्थ्यो |

मैले पनि अक्षर सिकेको धूलेपाटीमा हो |

अहिले मान्छेको सोच तथा जीवनशैली बदलिएको छ | प्राथमिकता वद्लिएका छन् | आवश्यकता पनि बदलिएका छन् | २०२८ सालको शिक्षानीतिले नेपालको शैक्षिक प्राथमिकतालाई आधुनिक विश्वसंग जोड्ने प्रयत्न गर्यो | शैक्षिक आधुनिकीकरणको दौडमा हामीले धेरै मिहनत गरेर जोगाउनु पर्ने, विकास गर्नु पर्ने र विश्वका लागि नेपालले दिन सक्ने आफ्नो शैक्षिक धरोहरहरू गुमायौं भने जतन गरेर रोक्नु पर्ने अवान्छनीय विषयहरू भित्याउने काम गर्यौं | र यस्तो कामलाई नै हामीले विकास ठानिरहेका छौँ |


क्रमशः

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...