Tuesday, July 18, 2017

घृणावादको पासो नेपाली विद्वानहरू

जव कुनै व्यक्ति आफ्नो क्षमता, विद्वता तथा कार्यले सर्वग्राह्य हुन्छ, त्यसवेला ऊ सबैको साझा बन्न पुग्छ | जातीयता, क्षेत्रीयता, भाषाआदि गौण हुन्छन् |

संस्कृत भाषाका आदिकवि ऋषि बाल्मिकीको जन्म शूद्रकूलमा भएको थियो | उनले रामायण लेखे | आज सबै सनातन वैदिक धर्मावलम्बीहरूले मन्दिरमा राखेर पूजाआराधना गर्छौं |

प्रसिद्ध ऋषि श्रीनारद शूद्र दासीपुत्र थिए | उनको त्याग, ज्ञान, तपस्या तथा लोककल्याणकारी स्वभावले गर्दा उनी आज सबैका आराध्य बनेका छन् | उनको विनम्रता देखेर ऋषिहरूले उनलाई आफैसंग राखेर शिक्षादीक्षा दिएको कुरा भागवतमा उल्लेख छ |

तनहुँको ब्यास नगरपालिकामा जन्मेका ऋषि द्वैपायन ब्यास पनि तल्लो जात मानिने माझिकी छोरी सत्यवतीका सन्तान थिए | उनले आफ्नो अदम्य संकल्प शक्तिका कारण शिक्षादीक्षा प्राप्त गरे, अठार पुराण, ब्रह्मसूत्र तथा महाभारतजस्ता ग्रन्थहरूको रचना गरे | आज हामी सबैले उनलाई आफ्नो आध्यात्मिक गुरूको रूपमा पूजा गर्छौं |
श्रीसूतजी वेदब्यास कै प्रत्यक्ष शिष्यथिए | उनी जन्मेको जात पनि शूद्र नै थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ | उनको विद्वताका कारण नैमिषारन्य क्षेत्रमा उपस्थित भएका ऋषिहरूले उनैलाई सर्वोच्च आसनमा बसालेर पूजा गर्दै पूराण सुनेका थिए भन्ने पूराणमै उल्लेख छ |

महाभारतका अनुसार धृतराष्ट्रका महामन्त्री विदूर शूद्रजातिका थिए | उनको विद्वता तथा तपस्याका कारण उनी पाण्डव तथा कौरवहरूको सभामा भीष्मपछि सबैभन्दा पूजित व्यक्ति थिए |

क्षेत्रीय जातिमा अवतार ग्रहण गरेका भगवान्रा श्रीरामले शूद्रजातिमा जन्मेकी सवरीको जूठो र क्षत्रीका छोरा श्रीकृष्णले विदूरकी पत्नीको जूठो सजिलैसंग ग्रहण गरेका थिए |

नेपाल कै सन्दर्भमा हेर्ने हो भने पनि बानेश्वरको प्रसिद्ध छ्क्कुबक्कु मन्दिरका पूजारी दलित छन्, प्रसाद ग्रहण गर्दा कसैलाई समस्या छैन | काठमाडौँ उपत्यकामा थुप्रै मन्दिरहरू छन् जहाँ दलितहरूको पूजा स्वीकार गरिन्छ |

नेपालका अन्य भागहरूमा पनि धेरै पूजारीहरू दलित छन् | यस्ता ठाउँहरूको खोजि हुन वाँकी नै छ भने जस्तो महत्वपूर्ण संस्कारमा विश्वकर्मालाई पगरी नगुथाई जन्ती अगाडी बढ्दैन |

यस भन्दा पनि महत्वपूर्ण कुरा दलित भनेर चिनिने समुदायहरूसंग पुर्ख्यौली सीप हुन्छ | उनीहरूका सीपहरूले उनीहरूको आफ्नो आर्थिकस्तर उकास्ने काम गर्छ, आत्मनिर्भर गराउने काम गर्छ | उनीहरू सबै शिल्पी हुन्छन् |
मेकियावेली शिक्षा पद्यतिलाई अङ्गीकार गरेपछि यी शिल्पीहरू आफ्नो पुर्ख्यौली पेशाबाट विस्थापित भए | यी विस्थापित वर्गहरूलाई प्रयोग गरेर जातीयघृणावादको विकास गरियो |

संस्कृत र ब्राह्मण-क्षेत्रीहरूलाई "दलितवाद"का लागि जिम्मेदार ठानियो | दलित नामक काल्पनिक ब्यानर निर्माण गरेर दलितहरूलाई बाहुनविरुद्ध घृणावाद बलियो बनाउन प्रयोग गरियो |

भारतका डा.अम्वेडकरले मेकियावेली शिक्षामा आधारित भएर गुरुकुल पद्यतिको विरोध गरे | मेकियावेली शिक्षाको जगमा उभिएर छुवाछुत समाप्त पार्न ब्राह्मणहरूलाई तारो बनाएका अम्वेदकरको आरम्भ नै गलत भएकोले भारतीय दलितहरूको वास्तविक जीवनशैलीमा कुनै फरक परेको देखिन्न |

बालगंगाधर तिलक, महात्मा गान्धी, विनोवा भावे, महात्मा फूले, डा. सावरकर, मदनमोहन मालवीय, स्वामी विवेकानन्दआदिले मेकियावेली शिक्षाको कू-प्रभाव बुझेर छुवाछुतको कुरीतिलाई जोगाउन शास्त्रीय बाटो अंगाले तर मेकियावेली शिक्षाको कठोरतामा यी टिक्न सकेनन् |

नेपालमा सबैभन्दा पहिला जोसमनी सन्तहरूले शास्त्रीय आधारमा छुवाछुत रुपी कलंक समाजवाद मेट्ने प्रयत्न गरेका हुन् र त्यस बखत आंशिकरुपमा सफलता पनि प्राप्त गरेका हुन् तर मेकियावेली शिक्षाको घृणावादी सोचमा विकसित भएको दलितवाद र दलितवाद विरुद्ध विकसित भएको सम्भ्रान्तवादले छुवाछुत हट्न/हटाउन दिएन |

दलितकार्डलाई प्रयोग गरेर सम्भ्रान्त भएका दलित नेता तथा विद्वानहरू र दलितको कार्डलाई जीवित राखेर भोट जोगाउने राजनीतिज्ञ र धर्मनिरपेक्षताको खोल ओढेर धर्मपरिवर्तनको बलियो आधारका रुपमा दलितहरूलाई प्रयोग गर्ने इसाईहरूको षडयन्त्रको भूमरीमा दलित छन् |

सबैभन्दा उदेक लाग्ने कुरा त के हो भने - यी समुदायहरू आफ्नो रैथाने सीपबाट विस्थापित भएका छन् र घृणावादका बलियो सिपाहीका रूपमा आफ्नो छिमेकी विरुद्ध प्रयोग हुँदैछन् |

आज विश्वले अनुभव गरिसकेको छ, मेकियावेली शिक्षा पद्यतिको परिणाम घृणावाद नै हो | जातिजातिविचमा, भाषा भाषाक बीचमा, देश-देशकाविचमा समुदाय-समुदायका विचमा पहिचानको मुद्दा उठाएर झगडाको वीऊ रोप्ने र झगडालुहरूको मतियार बनेर आफ्नो झन्डा गाड्ने षड्यन्त्र नै मेकियावेली शिक्षाप्रणालीको मुख्य लक्ष हो जुन नेपाली समाजमा देखिएको छ |

उदाहरणका लागि संसारको सबैभन्दा ठूलो प्राचीन साहित्य र दर्शन भएको संस्कृत भाषालाई "बाहुनको भाषा, शोषकहरूको भाषा, छुवाछुतवादीको भाषा, मृतभाषा" भनेर सर्वसाधारणलाई भ्रमित पार्दै अंग्रेजीको प्रसार गर्ने/गराउने र त्यसका माध्यमबाट धर्म-संस्कारहरूमा प्रहार गर्दै सामाजिक, सांस्कृतिक सद्भाव विथोल्न दुष्कर्म यसैका माध्यमबाट भएको हो |

मेकियावेली शिक्षानीतिका पक्षधर नेपाली शिक्षाविद तथा राजनीतिज्ञहरूले जवाफ दिनुपर्छ कि संस्कृत त बाहुनको, अन्धविश्वासको भाषा भएकोले अस्वीकार्य थियो तर अन्य रैथाने भाषा संस्कृतिको विकास किन रोकियो ?

मेकियावेली पद्यतिले सबैभन्दा पहिले समग्र भारतवर्षलाई भावनात्मकरूपले एकसूत्रमा बाध्ने संस्कृत भाषाउपर प्रहार गरेर कमजोर बनायो त्यसपछि रैथानेहरूको "पहिचान स्थापना" स्थपनाको भ्रम फैलाएर अंग्रेजी लादियो | नेपालमा पनि यही भयो र भैरहेको छ |

शिक्षाविदहरूले जवाफ दिनुपर्छ - के संस्कृत विस्थापित भएपछि किन रैथाने भाषा-पहिचानको विकास हुनुपर्ने ठाउँमा किन अंग्रेजीको विकास हुँदैछ ? अंग्रेजी र अंग्रेजीसंग भित्रिएको इसाईले देश र जनताको कुन पहिचान स्थापित गर्यो ?

साँचो कुरा त के हो भने संस्कृत भाषालाई विस्थपित गरेर अंग्रेजी र त्यसका माध्यमबाट भित्रिएको "दास-मानसिकता"का विषयमा विद्वानहरूले चालनै पाएनन् | मेकियाबेली शिक्षानीतिले आफ्नै धर्म, सम्पर्कभाषा, गुरूकुलीय शिक्षापद्यति, अर्थनीति, राज्यराष्ट्रको राजनैतिक पद्यतिले सु-सम्पन्न भारतवर्षीय जनतालाई विदेशीको दासतामा गौरव गर्ने नागरिकमा परिवर्तित गरिदियो |

सबै विधामा सार्वभौमिकता सम्पन्न नेपाली जनताहरू मेकियावेली शिक्षानीतिको चेपुवामा परेर आफ्नो मौलिकता गुमेका "गौरवशाली दास"हरूमा परिवर्तित भएका छन् | आधुनिकता र विज्ञानका नाममा मेकियावेली शिक्षानीतिले नेपालीहरूको सबैभन्दा बढी मानसिक शोषण गरेको छ, ब्लेकमेलिंग गरेको छ |

दलितवाद होस् वा बाहुनवाद दुबैको अन्त्य हुनु आवश्यक छ | समाजवाद दलितवाद र बाहुनवाद दूबैलाई विस्थापित गर्न कार्यक्रम नै बनाएर, अत्यन्त उत्साहपूर्ण तवरले मैले माथि दिएका उदाहरणहरू पाठ्यपुस्तकहरूमा समावेश गरेर पढाइनुपर्छ |

दलित, राजनैतिक तथा गैरसरकारी संस्थाहरूले उपरोक्त उदाहरणहरूको प्रयोग दलितगैरदलित दुबैका विचमा प्रस्तुत गर्नुपर्छ | यी महापुरुषहरू सबैको साझा भएकाले दलित-गैरदलितहरूको परम्परागतमा आएको गलत सोचको अन्त्य हुन्छ |

जव दलित तथा गैरदलित दूबैले संगै बस्दा आफ्नो गोत्र तथा पूर्वजहरूमा कुनै प्रकारको विभेद नरहेको थाहा पाउँछन्, स्वभावाविक रूपमा हाम्रो सोचमा रहेको दलितवाद र बाहुनवाद समाप्त हुन्छ |

र एस्तो सकारात्मक शिक्षाको सबैभन्दा ठूलो वाधक शक्ति नै "मेकियावेली" शिक्षा पद्यति हो | मेकियावेली शिक्षाको कू-प्रभावबाट जोगिएको इन्डोनेसियाको बाली प्रान्त जातीय घृणावादी चिन्तनबाट मुक्त छ |

इन्डोनेसियाको बालीमा वालीमा चारैजात छन् तर छुवाछुत छैन | हिन्दूहरूका जातजातिविच कुनै प्रकारको घृणावाद छैन | शूद्रको (मजदूर) सन्तान बाहुन हुन्सक्छ, बाहुनको छोरी मजदुर हुन्सक्छिन् | काम छुवाछुतको कारण बन्ने छैन |

वैदिक शास्त्रमै रहेका उपरोक्त उदाहरणलाई प्रयोग गरेर छुवाछुतवादी चिन्तनलाई समाजवाट सजिलै निमिट्यान्न पार्न सकिन्छ | यो सबैभन्दा सकारात्मक बाटो हो |

समाजमा गहिरोसंग जरो गाडेको घृणावादलाई विस्थापित गर्न मेकियावेली शिक्षालाई गुरुकुलीय रैथाने पद्यतिले विस्थापित गर्नुपर्छ | आफ्नो मौलिक रैथाने जरोकिलोको गौरवलाई जागृत गर्न गुरुकुल शिक्षा नै चाहिन्छ |

विज्ञान सबैको लागि एक समान हुन्छ | संसारको जुनसुकै कुनामा विज्ञानको परिणाम एकै हुन्छ | तर सामाजिकशास्त्रका नियमहरू एकसमान हुँदैनन् | इतिहास, परम्परा, मौलिकताहरू एकै हुँदैनन् | त्यसैले अंग्रेजहरूले विकास गरेको शिक्षा पद्यति उनीहरूको लागि अनुकुल भए पनि हामी नेपालीहरूको लागि अनुकुल हुँदैन |

देश विदेशी राजनीतिको दासत्वमा छदैंछ | अव नेपाली विद्वानहरूले मेकियावेली शिक्षापद्यतिसंग भित्रिएको "दास-मानसिकता"बाट मुक्त हुने प्रयत्न गर्नुपर्छ | नत्र नेपाल विद्वान-दासहरूको देशका रूपमा परिचित हुनेछ |

आफ्नो जरोकिलोसंग www.jarokilo.org जोडिएर सबैखाले विभेदहरूको प्रेमपूर्वक अन्त्य गर्ने संकल्पमा हाम्रो सहभागिता अनिवार्य भएको छ |

सबैको कल्याण होस्, स्वस्ति हो, जय होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...