Monday, May 29, 2017

घृणावाद कि सहअस्तित्व ?

घृणावाद कि सहअस्तित्व ?
नेपालको इतिहास र संस्कृति "सहयोग र सहअस्तित्व" को हो | कमसेकम विगत ५००० हजार वर्षदेखि हामीले आफ्नो यो अनुभव निरन्तर तिखार्दै आएका छौँ | तर जव देखि पश्चिमाहरूले हामीलाई "सिकाउन थाले तव देखि हाम्रो यो पांचहजारवर्षको अनुभव खल्वलियो | हामी क्षेत्रवादी, जातिवादी, अतिवादी बन्यौं | हामीले वर्गीकरणलाई महत्व दिन थाल्यौं |

युरोपेलीहरूको विज्ञता "विभाजन"मा रहेको छ | उनीहरू हरेक वस्तु-विषय वा चिन्तनलाई तोडेर, अलग्याएर परीक्षण गर्छन् | अणु-परमाणुहरूको विकास यसरी नै भएको हो | उनीहरूले राष्ट्रहरूको विकास पनि जातजातिलाई भाषा, नाक, कान वर्ग तथा लिंगको विभाजनका आधारमा गरेका हुन् | उनीहरूको रगतमा विभाजन गराउने डी,एन,ए छ |

मिलेर रहेको समाज जव विभाजनकारी चिन्तनको सम्पर्कमा आयो, स्वभावत: त्यो अतिक्रमित भयो | उनीहरूले त्यसो संक्रमण "अंग्रेजी शिक्षा"का माध्यमबाट फैलाए | गुरुकुलको समावेशी शिक्षा पद्यतिलाई विभाजनकारी शिक्षापद्यतिले विस्थापित गर्यो | हामी नराम्रोसंग संक्रमित भयौं |

अहिले हाम्रो चिन्तन विभाजनकारी पद्यतिले निर्मित भएको छ | हामी सबै विषयवस्तुहरू तोडेर, फोरेर, विभाजन गरेर बुझ्न अभ्यस्त भएका छौँ | त्यतिमात्र होइन, हाम्रो बौद्धिकताले कुनै विषयवस्तुको प्रमाणितता वा अप्रमनिकता पनि पश्चिमाहरूले नभने/नलेखेको आधारमा निर्धारित गर्छ |

हाम्रो दिमाग पश्चिमा विभाजनकारी शिक्षापद्यतिको संक्रमणले दुषित भएको भए पनि हाम्रो ब्यबहार अझै ९०% प्रदूषण मुक्त रहेको छ | १०३ जातजातिहरू १२४बटा मातृभाषा तथा संस्कृतिहरूसंगै मिलेर बसिरहेका छौँ |

विदेशीहरूको विभाजनकारी पद्यतिका संक्रमितहरूको अथक प्रयत्नले पनि हाम्रो नेपाली समाज विभाजित छैन | काठमांडूका नेवारहरूले काठमांडूबाट बाहिरका सबै जातजातिलाई सहजरूपमा स्वीकार गरेको छ | तराईले पहाडीलाई तिरस्कार गरेको छैन |

असली जीवनमा हामी नेपालीहरू भाषा, जाति, क्षेत्र वा चालचलनका नाममा कत्ति पनि झगडा गर्दैनौं | हामी एकआपसका सभ्यताहरू स्वीकार गर्छौं | नेवारले बाहुनको डाह गर्दैन न् मधेसीले पहाडीसंग नै कुनै इर्ष्या गर्छ | हामी सर्वसामान्य नेपालीहरूले यो तत्थ्य धेरै पटक, धेरै ठाउँमा प्रमाणित गर्दै आएका छौँ | यो एकता-सहकार्यको डी.एन.ए हाम्रो आफ्नो हो |

मेरो खुला चुनौती छ : कुनै पनि अमेरिकन वा युरोपेलीहरूले नेपाली समाजलाई एकताको प्रशिक्षणको प्रस्ताव नगरे हुन्छ | नेपालको हरेक व्यक्ति "सहकार्य, सहअस्तित्व तथा एकता"का विषयमा प्राकृतिक रूपले विद्यावारिधि (PhD) गरेको छ | उनीहरूले एकताको ब्यबहारिक पीएचडी गर्न नेपाली एक जना साधारण नेपालीलाई समाते हुन्छ |

मिति २७/०५/२०१७ का दिन मैले र डा. निर्मलमणि अधिकारीको सहलेखन "राज्यराष्ट्र : सिद्धान्त र अवधारणा" नामक कितावको दोस्रो संस्करणको विमोचनको घटनालाई नै उदाहरणका रुपमा लिन सकिन्छ |

कितावको लेखन पहाडियाहरूले गरेका थियौं | कितावको छपाई भक्तपुरका रैथाने नेवारहरूले गरे भने किताव छपाईको आर्थिक प्रवन्ध मधेसीबाट गरियो | एस्तो सहकार्य तथा सहअस्तित्वको ब्यबहारिक अभ्यास गरिरहेका नेपालीहरूलाई उनीहरू देखिसहेका छैनन् |

कार्यक्रमका एकजना बक्ता राजनैतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले टिप्पणी गरेका थिए "मैले स्वीट्जरल्याण्डमा जर्मनभाषी स्वीस र फ्रेन्चभाषी स्वीसहरू बीच ठूलो घृणा देखें | यी दूबैजातिहरू एउटाको बाहुल्यता रहेको ठाउँमा रात विताउने कल्पना पनि गर्न सक्दैनन् |"

तिनै आएर नेपालीहरूलाई "एकता,सहकार्य तथा सहअस्तित्वको शिक्षा दिनु एउटा ठूलो दुर्घटना मात्र हो | यो दुर्घटनाका मतियाररू जनता होइन तिनका नेताहरू बनेका छन् | जनता सहअस्तित्व, सहकार्यका अनुभवी छन्, नेता र तथाकथित बुद्धिजीवीहरू त्यो अस्तित्वभित्र विभाजनका बीऊ रोपेर आफ्नो ब्युजिनेस गर्न चाहन्छ |

त्यसैले, हामी नेपालीहरूले आफ्नो प्राकृतिक विज्ञताको महत्वलाई चिन्नुपर्छ | सहअस्तित्व तथा सहकार्यको आफ्नो प्राचीन पद्यतिमा कायम रहनुपर्छ | उनीहरूले सुनुन् : हामी एक छौँ, हाम्रो सहकार्य र सहअस्तित्वको अभ्यास बेजोड छ | तिमीहरू विभाजनका वीऊ छर्नमा विज्ञ छौँ भने हामी एकता तथा सहअस्तित्त्वको बीऊका लागि प्रतिबद्ध छौँ |

तिम्रो राष्ट्रराज्य (जातीय राज्य), घृणामा आधारित पहिचानवाद र सुरक्षाका नाममा मानवीय अस्तित्व नाश गर्ने विकासको अवधारणा तिमीसंगे राख | हामीसंग हाम्रो आफ्नो रैथाने राज्यराष्ट्र, प्रेम र सहकार्यमा आधारित पहिचानवाद तथा सबैको कल्याणकारी चिन्तनको आधारमा विज्ञानको विकासका सिद्धान्त हामीसंग छन् |

हाम्रो सहअस्तित्व, सहकार्य तथा विकासको यात्रा हामी आफै गर्न सक्षम छौँ | अव तिम्रो घृणावादी पहिचान तथा राष्ट्रियताको अधोगतिका दिन आरम्भ भए | हामी अव आफ्नै जरोकिलोमा उभिएर, छरिएर कम गर्न समर्थ छौँ | हामी बीचका गुनासाहरू सुल्झाउने छौँ तर "पहिचानवादको महत्व मतदाताले बुझ्न सकेनन्" भन्दै जनतको तिरस्कार गर्ने घृणावादको यो देशबाट अवशान हुनैपर्छ |

हाम्रा सर्वसाधारण जनता पनि सहअस्तित्वको ब्यबहारमा पीएचडी छन् | जात र भाषालाई नै राष्ट्र ठान्ने विभाजनकारी चिन्तनको विष छर्नेहरूलाई देशले बहिष्कार गरेको छ | अवका दिनमा उनीहरू "एकादेशका राजा"का रूपमा याद गरिनेछन् | यो गर्न हामी सक्छौं, अवको युग नेपालबाट आरम्भ हुन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...