Wednesday, May 31, 2017

शोध निर्देशकहरूका लागि


संस्कृत र पालीभाषामा लेखिएका हजारौं ग्रन्थहरूको अध्ययन/अध्यापन नगर्ने तर कुइरेहरूले अंग्रेजीमा लेखिएदिएका कितावहरूलाई आफ्नो विचारको माध्यमबनाउंदा नचाहेर पनि कुइरेहरूको बायसनेसले ठाउँ पाउँछ |

बरू, थोरै भए पनि संस्कृत र प्राचीन पाली भाषाको अध्ययन आरम्भ गर्नेहरूले बढी स्रोत प्राप्त गर्छन् | त्यैपनि अव सन् १७-१८ तिर अनुवाद गरिएका किताव तथा लेखिएका इतिहासको उद्धरण गर्ने जमाना धेरै छुटिसकेको छ | सन् १९९० एता प्राचीन संस्कृत तथा पाली साहित्यका धेरै र विश्वासनीय अनुवाद-अनुसन्धान भएका छन् |

संस्कृत र पालीका सवालमा विदेशी (अंग्रेजी) अनुवादको विश्वसनीयतामा धेरै खोट लगाउने स्थान छन् | अनुवादहरूलाई प्रमाणिक ठानेर सीधै उद्धरण गर्नुभन्दा, त्यस उद्धरणको पुष्टि गर्न सम्वन्धित मूल पुस्तकको स्रोत पढ्नु र बुझ्नु धेरै राम्रो हुन्छ |

अंग्रेजहरूले भारतमा राज्य गरिरहेको अवस्थामा उनीहरूको मुख्य उदेश्य इसाई धर्मको प्रचारप्रसार गर्नु थियो भने त्यस बखतका विद्वानहरूले संस्कृतको अध्ययन केवल इसाई धर्मको प्रचारप्रसारमा सहयोगका लागि गरेका थिए |

उनीहरूको उदेश्य भारतीय शास्त्रहरू पनि बाइबल कै पक्षधर छन् र भास्तीय शास्त्रहरूले पनि विश्वका सबै मानिसहरूलाई इसाईधर्म अपनाउन नै प्रेरित गर्छन् भन्ने रहेको थियो |

त्यस्तो अवस्थामा बाइबलको मर्म विपरित अर्थ दिने वा अंग्रेजहरूको शिक्षानीति, अर्थनीति तथा राजनीतिसंग असहमति राख्ने शब्द र मर्महरूको अर्थ तोडमरोड गरेर प्रस्तुत गरिएको थियो | जुन कुरा आजका पाश्चात्य विद्वानहरूले पनि स्वीकार गरिसकेको अवस्था छ |

किथ, म्याक्समूलर आदि स्थापित विद्वानहरूले पनि भारतवर्षीय साहित्यहरूको अनुवाद इसाई-मुसाई दृष्टिकोणले नै गरेका थिए | आज यो विषयपूर्ण स्थापित भैसकेको छ |

कमसेकम विश्वविद्यालयमा शोधको निर्देशन गर्ने प्राध्यापकज्यूहरूले माथिल्लो तत्थ्यलाई दृष्टिगत गरेको हुनुपर्छ | अन्यथा, प्राचीन संस्कृत तथा पाली साहित्यको पूर्वाग्रही दृष्टिकोणले नवविद्वानहरू पनि ग्रसीत हुने निश्चित छ |

विद्वानहरूका सबै दोषहरू क्षम्य हुन्छन् तर पूर्वाग्रही दृष्टिकोण कहिले पनि क्षमा योग्य हुँदैन किनभने यसले नवागन्तुक विद्वानहरूलाई समेत संक्रमणमा पार्छ |

आफैले आफ्नो जरोकिलो खोज्ने प्रयत्न नगर्ने, अरूले गरेको प्रयत्नलाई समेत पश्चिमाको सहमति खोज्ने र अरूले खोजिदिएको तत्थ्यलाई समेत समालोचनात्मक विधिले सत्यापन नगरी जस्ताको तस्तै स्वीकार्ने "रेडिमेड" संस्कृतिले नेपाली प्राज्ञहरूको सबैभन्दा बढी अवामुल्यांकन भएको छ | अव यसको सुधारका लागि प्रयत्नशील हुनुपर्छ |

आधुनिक गुरुकुलले यसको थालनी हो | जहाँ पूर्वाग्रह र पक्षपातलाई कुनै ठाउँ हुने छैन | ऋषिहरू लोककल्याणका लागि पनि झूटो कुरा बोल्दैनथे, आधुनिक गुरुकुल सत्यको बाटो हो, जहाँका विद्यार्थी तथा अध्यापकहरूले सत्यका लागि काम गर्नेछन् |

हो, तर हाम्रा विविका प्राध्यापकज्यु र राजनीतिज्ञहरूको सोच आज पनि त्यसैले गाइड गरेको छ | देशको राजनीतिलाई हाक्ने हाम्रा नेताहरू सन् १७-१९ को विचका विदेशी सोचबाट ग्रस्त छन् | र त्यसो सोच पढेर होइन सुनेर स्थापित भएको छ | सुनेर लेखिएको र बोलिएको विषयलाई अव प्रमाणिक मान्ने जमाना छैन |

अहिले जमाना वदलिएको छ र १८-१९ तिरको तुलना विदेशी अनुसान्धाताहरूको ट्रेन्ड वदलिएको छ | नेपाली, भारतीय तथा विदेशी मूलकै विद्वान अनुसन्धाताहरूले धार्मिकतामा आधारित पक्षपातपूर्ण अनुवाद गर्ने इसाईसोचको विरुद्ध उभिएका छन् | वेद, पुराण, महाभारत, चाणक्यनीतिआदिका नया अनुवाद आएका छन् | अनुवादकहरूले इन्टरनेट प्रविधिको फाइदा उठाउँदै आफ्ना अनुसन्धानहरूमा संस्कृत वा पाली मूललाई देवनागरी, रन्जना वा अन्य लिपिमा सार्न थालेका छन् |

जातीयता, क्षेत्रीयता र विदेशी जरोकिलोमा बाँधिएका नेपाली राजनीतिज्ञ र तिनको मतियारका रुपमा सन् १७-१९ सयको विश्वलाई पछ्याउने सोचले ग्रस्त नेपाली प्राज्ञहरूले पनि ढिलोचाडो यी कुरा नबुझी धर छैन | जवसम्म हाम्रा राजनीतिज्ञ र विद्वानहरूले आफ्नो परम्परामा भएका जीवनोपयोगी र अनुपयोगी विषय आफ्नै बलबुतामा खुट्याउने औकात प्राप्त गर्दैनन्, तवसम्म हामी विदेशीबाट डोमिनेन्ट हुनैपर्छ |

यो त्यहाँको शिक्षा पद्यतिप्रति इमान्दारिताको सूचक र पुरक हो | हामीमा राजनीति र रेडिमेड संस्कृति हावी भएको छ | नेपालमा भाषाको समस्या पनिं छ | संस्कृतक विद्वानहरूले अग्रेजी नजानेको हुन सक्छ र अंग्रेजी वा अन्य विधय पढेकाहरूले संस्कृत जान्दैन | तर एउटा कमन कुरो के छ भने दूबैले अंग्रेजी र संस्कृत जान्न चाहन्छन् | दूबै भाषामा पोख्त नेपाली विद्वानहरूले बुझेर पनि नया किताव किनेर पढ्ने\/पढाउने आर्थिक हैसियत राख्दैनन् | ती पुस्तकहरूमा हाम्रा विद्वानहरूको पहुँच छैन | हामी ती कितावहरू किन्न पनि सक्दैनौं

आफ्नो धर्म तथा संस्कृतिप्रति विश्वभरी केही न केही पक्षपातपूर्ण दृष्टिकोण हुन्छ नै, हामीमा पनि त्यस्तो हुन सक्छ तर कामको थालनी नै नगर्नु सबैभन्दा दुखको कुरा हो |अरूलाई दोष दिनुको सट्टा हामीले आफ्नो साहित्यिक विरासततिर फर्केर हेर्नु उचित हुन्छ | तर हाम्रा विद्वानहरूले नया अनुवाद्तिर ध्यान दिन सकिरहेका छैनन्, यो कमी हाम्रै हो |

नेपाली विश्वविद्यालयहरूले गराउने अनुसन्धान प्रणाली अझै फितलो छ | शोध निर्देशन गर्ने र शोधकार्य गर्ने दूबैमा टालटुल गर्ने प्रवृति छ | हाम्रा अनुसन्धानहरूको यो पाटो निराशाजनक नै रहेको छ | हाम्रा धेरै अनुसन्धानहरू विश्वअनुसन्धानको मानकमा असफल हुन्छन् | अहिले मुख्य कारण कपि-पेस्ट नै रहेको छ | अव हामीले यस विषय गम्भीरतापूर्वक लिएनौं भने विश्वको नया संस्कृतिमा हामीले टेक्न टेन सक्ने अवस्था छैन | अनुसन्धानको विश्वसनीयता र गुणस्तरीयता जाच्न एउटा बटन दबाए पुग्ने प्रविधिको युगमा “ढांटे”का शोधहरूको कुनै मूल्य हुँदैन |

अव हामीले शोधकार्य गर्दा/गराउंदा विश्वप्रविधिमा अवतरित भएको कुनै पनि कथन तुरुन्त परीक्षित हुन सम्भव छ भन्ने कुराको हेक्का राख्नैपर्छ र यसका लागि तयार रहनुपर्छ | विदेशी वा स्वदेशीले ढाँटन सक्ने अवस्थाको अन्त्य इन्टरनेटले सधैंका लागि गरिदिएको छ | अव हाम्रा मौलिक कार्यहरूलाई कुनै चुनौती छैन तर नक्कली कामहरूको कुनै भविष्य छैन |

अवका लागि सक्कली काम भनेको : आफ्नै जरोकिलोसंग जोडिएर, तिनको गहिराईमा पुगेर तिनमा रहेको जीवनोपयोगी, विश्वको लागि उपयोगी तथा अनुपयोगी तत्थ्यहरू बाहिर निकाल्नु नै हो | यसमा आफ्नो, आफ्नो देशको र पूर्खाहरूले गरेको अथक परिश्रमको सम्मान हुनेछ भने हाम्रा शोधकार्यहरू विश्वको लागि उपयोगी हुनुका साथै आफ्नै जीवनका लागि पनि आर्थिक सवलीकरणको बलियो साधन बन्ने छ |


Copyright (gsu300@gmail.com)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...