Tuesday, May 30, 2017

धार्मिक भुइचालो

भुईचालोका दूईवर्ष....धार्मिक भुइचालो 

भूइँचालोले घरवार मात्र विग्रेको होइन मन पनि विग्रेको हो | धेरैका लागि भुइचालो फलिफाप भएको छ | INGO/NGO का माध्यमबाट धेरैले रोजगारी पाएका छन् |

NGO/INGO का अगुवाहरूलाई "भूइचालो पर्यटन"को सुवर्ण अवसर जुटेको छ | यी भुइचालो-पर्यटकहरूले इन्टरनेटमा अपलोड गरेका फोटोहरू हेर्दा मन पोलेर, कुडिएर, रिसाएर, चिसियेर, खिजिएर र भरिएर आउँछ | यी भुईचालो पर्यटकहरूको पर्यटनले भुइचालो पिडितहरूलाई कति फाइदा भयो भन्न सकिन्न

तर ती तस्वीरहरू भुइचालो पीडितहरूले हेर्न सक्ने भने मनबाट बगेको आँशु आँखाबाट निस्कने थियो | अव फोटो बेचेर भूइचालोले छियाछिया भएको मनमा भुइचालो निम्त्याउने कामको अन्त्य हुनुपर्छ | भुईचालो बेचेर चर्चहरू थप्ने काममा रोक लाग्नुपर्छ |

भुइचालो पिडितहरूको सहयोगका लागि आफ्नो तन, मन तथा धन लगाउनेहरू पनि धेरै छन् | उनीहरू अगाडी नसरेको भए देशको इज्जत अझै लुटिने थियो | उनीहरू जीवित सत्य हुन् | धेरैले असल नियतले काम गरेका छन् |

चितवनका मोहन श्रेष्ठले (नाम परिवर्तन) आफ्नो दूईबिघा जग्गा बेचेर भूइँचालो पिडितहरुका लागि १८ बटा घर निर्माण गरे र त्यसका लागि आफै मजदूर बनेर खटे | यो सबै उनको आफ्नै दान हो भन्ने भनक समेत सहयोगप्राप्त गर्नेलाई छैन | क्यानाडामा बस्ने पंजावी मूलकी हरिप्रित कौरले आफ्नो घर बेचेर भूकम्प पिडितहरूका लागि चलाएको लंगरमा दान दिइन् | काठमाडौंका प्रसादले आठआना घडेरी बेचेर आफ्ना छिमेकीलाई बसोबासको ब्यबस्था गरे |

यस्ता हजारौं पात्र छन्, जसले यो देशको धर्म थामेका छन् | उनीहरूका लागि सहयोग न सेल्फीको विषय बन्न सक्यो न सरकारी अडिट को नै | यिनीहरूले सहयोग गरे किनभने सहयोग गर्नुपर्छ | सहयोगको कुनै मूल्य हुँदैन | हरेक पलमा आफ्नो सहयोगको मूल्य खोज्ने पश्चिमा NGO/INGO संग एस्तो आँखा र मन नै छैन |

एस्ता धेरै पात्र छन् जसले केवल सहयोगका लागि सहयोग गरे | चर्चा र सेल्फीका लागि सहयोग गरेनन् | असल नियतले र उचित व्यक्तिका लागि सहयोग गरेर सेल्फी लिनेहरू पनि प्रसस्त छन् | धेरैले सेल्फी खिज्दा आफ्नो छाक काटेर सहयोग गरेका छन् | विद्यार्थीहरूले सेल्फी खिचें किनभने उनको मनले पछि पनि त्यो सम्झन चाहेको थियो | उनीहरूको यो सेल्फी बिक्रिका लागि थिएन | धेरै डाक्टरहरूले पनि सेवा गरे किनभने त्यसबेला सेवा गर्नुपर्थ्यो | मैले आफ्नै खर्च बोकेर सेवामा खट्ने डक्टर चिनेको छु भेटेको छु |

फोटो बेचेर घर आफ्नो घर बनाउने समाजसेवीहरूलाई पनि मैले चिनेको छु | उनको लागि भुईचालो जानु समाज-सेवा फलिफाप थियो | अहिले आफ्नै कारमा हिड्छन्, आफ्नै घरमा बस्छन् |

एउटा कुरा पक्का हो : खराव नियत भएका व्यक्तिहरूले असल काम गर्न सक्दैनन् भने असल नियत भएका व्यक्तिहरूले खराव काम गर्न सक्दैनन् | हाम्रो सरोकार असल नियतका व्यक्तिहरूको असल कामसंग छ | खरावीहरूको प्रशंशा हुँदैन |

समयले मनका घाउँहरू पुर्दै लैजान्छ | तर केही व्यक्तिहरूको मनमा एतिविध्न गहिरा घाउँ लागेका हुन्छन् कि तिनका लागि सहयोग चाहिन्छ नै | एस्तो मनको घाउँ कोट्याएर औषधिमूलो गर्नुपर्छ | गाउँगाउँमा रहेका पुरोहित, गुरू तथा फुकफाक गर्नेहरूले एस्तो मल्हमपट्टी गरिरहनुभएको छ भने गर्नुपर्छ |

भुइचालोपछि काम नै भएन भनेर सरकारी प्रयत्नको निन्दा गर्नेहरूमा INGO/NGO कर्मीहरू नै अग्रस्थानमा छन् | किनभने एस्तो गर्नु उनीहरूको धर्म हो | सरकारले चाहिएजति काम गर्न सकेन तर नगरेको होइन | कर्मचारीहरू असल नियतले अहर्निश खटिरहेका छन् | धेरै सहयोगीछन् थोरै कामचोर र भातमारा छन् | आखिर उनीहरू पनि यही देशका साक्षी हुन्, भुइचालोले क्षति उनको मन र धनमा पनि भएकै हो |

मनको घाउँ निको पारिदिने नाममा बाइबलको किताव घोकाउने, विदेशी धर्म बोकाउने, आफ्नै धर्म तथा संस्कृतिबाट विस्थापित गर्न धर्मनिरपेक्षताको सरकारी मन्त्र प्रयोग गर्नेहरूसंग प्रतिकारको विकल्प छैन |

हामी नेपालीले भूइँचालोमा धेरै थोक गुमाइसकेका छौँ, अव आफ्नो धर्म, संस्कृति तथा परिचयमा भूइँचालो स्वीकार्य हुँदैन | भुइचालोबाट विग्रेको मन र भत्केको घर पुनर्निर्माण हुन्छ तर एकपटक धर्मसंस्कृतिमा भुइचालो गयो भने सधैंका लागि गुम्छ |

धर्मपरिवर्तन गरेपछि आफु जन्मेको हुर्केको र राम्रो/नराम्रो अवसरमा ओत लाग्ने आफ्नो सांस्कृतिक तथा धार्मिक सम्पदा सधैंका लागि गुम्ने छ | हामीले स्पस्ट भन्नुपर्छ - भुईचालोको मूल्यमा हामीले आफ्नो धर्म संस्कृतिको बलिदान दिन्नौं | एकमाथि अर्को पीडा थप्दैनौं |

मेरो मनमा सबैभन्दा बढी पीडा त्यतिबेला भयो जव घर पुगेर बुझ्दा भूइँचालोको भागवण्डा पनि राजनैतिक आस्थाका आधारमा लागेछ र घर भत्केकाहरूका लागि प्रार्थनाका लागि नया चर्च बनेछ | चर्चका लागि विदेशीहरूले पैसा खर्च गरे तर भत्केका घरहरू बनाउने जिम्मा जिससलाई मिल्यो |

चर्च बनाउनका लागि मिसनरी घर बनाउनका लागि जिसससंग प्रार्थना ! कस्तो अचम्म !! पढ्नै नजान्नेहरूका घरमा बाइबलका कितावहरू !!! सरकार आफ्ना जनताहरूको धार्मिक बलात्कार हेरेर, खेपेर बसिरहेको छ | मानवाधिकारको ढालमा गोरोछालाको अत्याचार रोक्ने यो देशमा कुनै निकाय छैन | कसैले बोल्यो भने - धर्मनिरपेक्षताउपर आक्रमण ठानिन्छ |

दूईवर्षपछि फर्केर हेर्दा, भूइँचालोले मर्माहत भएका मनहरू, भवनहरू, डाँडाकाँडाहरू विस्तारै रुपान्तरित हुँदैछन् तर डलर र बाइबलले निम्त्याईरहेका धार्मिक तथा सांस्कृतिक भूइँचालो अझै डरलाग्दो बनेर घरआँगनमा पुगिरहेको छ |

मेरो मन यहीं कुडिएको छ : लाचार सरकारी तन्त्रसंग, विकासको र पुनर्निर्माणको नाममा धर्मपरिवर्तनको अभिशाप बेच्नेहरूसंग र ती व्यक्तिहरूसंग जो धर्मपरिवर्तनका मतियार बनेर अनपढ र थिचोमिचोमा परेकाहरूलाई आफ्नै धर्म, संस्कृति तथा ओतदेखि विमुख गरिरहेका छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...