बुबाको मुख हेर्ने औशी : कुश-अमावश्या
विरिश्चेन सहोत्पन्न परमेष्टि निसर्गज: | नुद
सर्वािण पापानि दर्भ स्वस्ति करो भव : |
‘हे कुश ! तिम्रो उत्पत्ति ब्रह्माबाट
भएको हो भने ब्रह्माले नै सर्वप्रथम तिम्रो प्रयोग गरेका हुन् | तिम्रो प्रयोगले
समस्त पाप नाश हुन्छन् अत: सबैको कल्याणकारी बन |” कुशको अर्को संस्कृत नाम दर्भ
पनि हो | वेदमा दर्भको प्रार्थनामा थुप्रै मन्त्रहरू छन् | उपरोक्त मन्त्रले कुश
उखेलिंछ | यही मन्त्र पढेर कुशको आसनमा बस्नुपर्छ | कुशले प्राणवायु (ओक्सिजन) को
फैलाउन सबैभन्दा बढी कार्य गर्छ, यो एन्टी ओक्सीडेन्टल छ, यो पाइल्सको रोग निको
पार्न प्रयोग हुन्छ | पाइल्सको रोग निको हुने भएकोले नै होला आसनको रूपमा प्रयोग
गरिएको | पिसाव पोलेको निको पार्ने भएर पनि आसनका रुपमा प्रयोग आरम्भ भएको स्पष्ट
हुन्छ | दर्भयुग्मम् पवित्रस्यान्मूत्र क्रिछ्रघ्नशीलतम् (कै.नि. १२४१
औषधिवर्ग)
कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने
पर्व हो | वर्षभरी गरिने पूजाआजाका लागि यस दिन घरघरमा कुशको संग्रह हुन्छ | कुश र
धार्मिक संस्कारको गहिरो सम्वन्ध छ | कुनै पनि हिन्दू संस्कारमा कुश हुनै पर्छ | संकल्पका
लागि कुश चाहिन्छ नै | पूजाआजा गर्दा हातको औलामा लगाइने ‘पवित्रा’ कुश कै हुन्छ |
एस्तो औठी पवित्रताको सूचक हो | शास्त्रले यही भन्छन् |
कुशे औँसीका दिन हामी विश्वभरीका हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा
भित्र्याउँ छौं । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर
जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक परम्परा
छ । हामी हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छौं । हामीले आफ्नो यो
परम्परा नया पुस्तालाई पनि सिकाउनु पर्छ | भेलन्टाइन डे, क्रिसमसआदिमा अभ्यस्त
गर्नुको कुनै तुक छैन |
कुशलाई बैज्ञानिक रूपमा उर्जाको
कू-चालक मानिन्छ | | त्यसैले पूजाआजामा कुशको आशनमा बसिन्छ | कुशको आसनले उर्जालाई
सुरक्षित गर्छ | शास्त्रहरूले कुशलाई आरोग्यवर्धक, वातावारण शुद्धकारक, जीवनवायु
प्रदाताका रूपामा पहिचान गरिएको छ | प्राचीन ऋषिहरूले कुशको कुचालक शक्तिलाई बुझेर
नै सूर्य-चन्द्र ग्रहणका बेला विकिरणबाट अन्नपात, भोजनआदि जोगाउन कुशको प्रयोग
गर्थे | आज पनि हामी सनातन धर्मी हिन्दूहरू ग्रहणका बखतमा कुशको प्रयोग गर्छौं |
अंग्रेजीमा यसलाई Love grass भनिन्छ | अचम्मको कुरा के भने पश्चिमा देशहरूमा
कुशलाई यौनशक्ति वर्धक घाँसका रूपमा प्रयोग गरिन्छ | आयुर्वेदकाअनुसार कुशले
रक्तपित्तको दोष निवारण गर्छ (ध.नि ४/११९) | कुशले मूत्र दोषहरूलाई निवारण गर्छ
(अ.स.सु १५/३२ मूत्र विरेचन गण) | महिलाहरूका स्तनपान सम्वन्धि समस्या समाधान गर्न
मदत गर्छ ( अ.स.सु १५/१९ स्तन्य जननगण) | आधुनिक ल्याबले समेत कुशका उपरोक्त
औषधिगुण प्रमाणित गरेको छ | बोटनी विज्ञान विभाग, साइन्स कलेज डपोलीका सह
प्राध्यापक सचिन सालाकर र विद्यार्थी नैना कम्बलेले गरेको प्रयोग र परीक्षणहरूले समेत
यसको औषधीय गुण सिद्ध गरेका छन् (INDIAN JOURNAL OF APPLIED RESEARCH Volume : 4 | Issue : 4 | Apr 2014 |
ISSN - 2249-555X) | यस बैज्ञानिक
परिक्षणमा कुशका अन्य आधुनिक उपयोगिताका विषयमा
विस्तृत जानकारी छ | फुर्सद भए पढ्नुहोला |
कुशको उत्पत्तिको कथा सृष्टिसंग
जोडिएको छ | हिरण्यक्ष नामका राक्षसले पृथ्वीलाई पातालमा लगेर कैद गर्यो | यसले
सृष्टिकार्य रोकियो | ब्रह्माको हाछिऊबाट एउटा बराहको जन्म भयो | त्यस बराहले
हिरण्यक्षको बध गर्यो | फर्कने क्रममा वराहको जिऊबाट कपालहरू झरे | तिनै कपालहरू
कुश बने | कुश यज्ञमा प्रयोग हुन्छन् | किनभने शास्त्रहरूले वराहलाई यज्ञपुरुषका
रुपमा प्रतिष्ठित गरेका छन् | यज्ञ र कुशको सम्वन्ध यही है | त्यही समयदेखि
पूजाआजा र यज्ञआदिमा कुशको प्रयोग हुन्छ |
बुबाको मुख हेर्ने : अव बुबाको मुख हेर्ने विषयको कुरा
गरौँ | शास्त्रहरूमा बुबाको मुख हेर्ने चलन छैन | पितृगणहरूलाई तर्पण दिने आज्ञा छ
| नमन, बन्दन, हेरविचार गर्ने निर्देशन छ | बुबाको मुख हेर्ने चलन खाट्टी नेपाली चलन हो | नेवारजातिहरूबाट यसको उत्पत्ति भएको हुन सक्छ | बाबुलाई स्मरण गर्ने
यो चलन अत्यन्त महत्वपूर्ण छ | पहिले काठमाडौं उपत्यकामा मात्र प्रचलित यो रूढ़ी
पर्व मिडियाका कारण देशब्यापी बनेको छ | असलचलनहरू फैलिएकै राम्रो | आज यो नेपाली
चाड बनेको छ | यस चाडका आधारमा हामी ‘विश्वबुबा’ दिवसको मांग गर्न सक्छौं |
नेपालका राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले यसको लागि पहल किन नगर्ने ? आमाको मुख
हेर्ने चलनझैँ बाबुको मुख हेर्ने चलन पनि बढेको हो |
मृत्यु भएका बुबाका लागि श्रद्धाञ्जली
दिन सजिलो छ | उनी प्रतिक्रिया बिहिन हुन्छन् | आफ्नो सुखदुख सुनाउन सक्दैनन् | तर जीवित आमाबुवाहरू
बोल्न, सुन्न र दुखसुखको अनुभव साटासाट गर्न सक्छन् | हाम्रो शरीर बुबा र आमाको
रगतबाट बनेको हो | सबैको अनुभव पिताका विषयमा सुखद नहुन सक्छ | तर पिताबाट नै यो
शरीरको निर्माण भएको हो | यो सत्यलाई निवारण गर्न सकिन्न | सबैका पिता असल नहुन
सक्छन् | यसले अपमान गर्ने अधिकार प्राप्त हुँदैन | उनी असल पिता बन्न सकेनन् भने
हामी असल छोराछोरी वन्नुपर्छ |
पिताको हेरचाह गर्न सजिलो छ : मिठो र आदरपूर्ण बोली, वस्ने आशन, एक
गिलास पानी र कुशलताको प्रश्न सबैका लागि सुलभ छ | तपाईंका बुवाले तपाईंको
प्रतिक्षा गरिरहेको हुन सक्छ | तपाईं जहाँ भए पनि सबै कुरा विर्सेर एक पटक फोन
अवस्य गर्ने प्रयत्न गर्नुहोला | यदि तपाईं आफ्नो पितासंग बस्नु हुन्छ भने विहानै
उठेर पाउँमा आफ्नो शिर राखिदिनु होला | यदि पिता अत्यन्त बृद्ध र अशक्त हुनुहुन्छ
भने स-परिवार एकैछिन पितासंग बसेर सुखदुखको कुरा गर्नु उचित हुन्छ | जीवनको एउटा
अवस्थामा हरेक पिताहरू छोराछोरीको प्रेमका भोका हुन्छन् | उनीहरूलाई संसारको कुनै
पनि बस्तुले सन्तोष दिन सक्दैन | छोरोछोरीको एउटा मिठो बोली पिताको लागि अनन्त
सन्तोष हुनसक्छ | आनन्दको स्रोत हुन सक्छ | ढल्किदो समयको सुखद अनुभूति हुन सक्छ |
बालबालिकाको लागि उदाहरण बनौं : हामी सनातन हिन्दू धर्मका पहरेदार
हौँ | हामीके आफ्ना चाडवाडहरूको सम्मान नगरे कसैले गर्दैन | आफ्ना बालबालिकालाई यो
लेख पढेर सुनाउँ | आफ्ना बुवाको सम्मान कसरी गर्न सकिन्छ भन्ने कुरा आफैले आफ्ना
पिताको सम्मान गरेर देखाउने साहस गरौँ | हामीले आफ्ना बुवाको सम्मान गरे, हाम्रा
बालबालिकाले हाम्रो आदर गर्ने छन् | सबै
चालचलन रुढी हुँदैनन् | सबै रितिरिवाज अन्धविश्वास हुँदैनन् | कुशमा पानीमा
अक्सिजन मिलाउने अपूर्व क्षमता हुन्छ भने मातापिताबाट हाम्रो यो शरीर निर्मित भएको
हो | अनि, कुशेऔशी मान्न र बुबाको मुख हेर्न के को समस्या ? बुबाको मुख हेर्ने चाड
मनाउनु भन्दा पनि पिताको सुखदुखमा सहयोगी बनेर बढी सम्मान गर्न सकिन्छ भन्ने कुरा
नै आजको संकल्पको विषय बन्नुपर्छ |
बुबाको मुख हेर्ने मनोविज्ञान : हामी मान्छे हौँ | हरेक मान्छे
प्रेम, करूणा, क्षमा, दया, ममता, माया, श्रद्धा, सेवाको भावना, सुख, दुखआदिको पूँज
हुन्छ | सकारात्मक र नकारात्मक दूबै भाव हुन्छन् | आधुनिकीकरणले परिवारकाविचको
प्राकृतिक सम्वन्ध संकटमा परेको छ | कामकाजी छोराछोरी र बृद्ध भएका आमाबुबाको मिलन
नभएको धेरै समय वित्न सक्छ | दूबै भेट्नका लागि आतुर हुन सक्छन् | समयले जुराएको
हुँदैन | प्रेम वा पीडा व्यक्त गर्ने अवसर प्राप्त भैरहेको हुँदैन | काममा व्यस्त
छोराछोरीले आफ्नो भावना सजिलैसंग पोख्ने ठाउँ बाबुआमा नै हुन् | बाबुआमाले आफ्नो
सुखदुखको वेदना-भावना छोराछोरी समक्ष न विसाए कहाँ विसाउने ? मनोबैज्ञानिक रूपमा
बुबाको मुख हेर्ने दिन भावनात्मकरूपमा परिवार नजिकिने दिन हो |
अनि, यो परिवारबाटटाढिने पर्व पनि
बन्न सक्छ | छोराछोरीको आगमनको आशा लगाएर बसेका आमाबुबा छोराछोरीले नसंझिदा
मर्माहत हुन सक्छन् | सबैतिर बाबुको सम्मान प्राप्त भइरहेको रहेको अवस्थामा आफ्नै
छोराछोरीको वेवास्थाले फाटो बढ्न सक्छ | यदि तपाईं बुबा जीवित रहेका भाग्यमानीहरू
मध्ये हुनुहुन्छ भने बुबालाई अवश्य सम्झनु होला | मुख हेर्ने अवसरलाई सम्वन्ध
सुधारको अवसरका रूपमा प्रयोग पनि गर्न सकिन्छ |
अन्त्यमा, शास्त्रमा भनिएको छ : अभिवादन नमन गर्ने, सधैं
बृद्धहरूको सम्मान गर्नेहरूमा आयु,
विद्या, बल र यशको निरन्तर वृद्धि भैरहन्छ | अत: आफ्ना (अभिवादन शीलस्य नित्यं
बृद्धोपसेवनम् चत्वारी तस्य बर्धन्ते आयु, विद्या, यशो बलम्) | वुबाआमाको
सम्मान गरौँ र आफ्नो सम्मानित भविष्य
सुनिश्चित गरौँ | बा-ख्वाउने औशीले हाम्रो बाबुआमासंगको सम्वन्ध अझै बलियो,
प्रेममय र आदर्शमय बनोन् | सबै वुबाहरूलाई छोराछोरीबाट पूर्ण प्रेम मिलोस् |
छोराछोरी र बाबुआमाको मधुर प्रेम भएको हाम्रो घर परिवार बनोस् | कुनै पनि
आमाबुवाहरू छोराछोरीको कारणले दुखी नहोउन् |
copyright gsu300(at)gmail.com
No comments:
Post a Comment