Thursday, September 1, 2016

मलाई श्रीकृष्ण किन मन पर्छन् ?

मलाई श्रीकृष्ण किन मन पर्छन् ?

१.   भागवतको पहिलो  अध्यायले  भन्छ : श्रीकृष्ण  नै  पूर्ण भगवान् हुन् (कृष्णस्तु भगवान  स्वयम्) | गीताको दशौं अध्यायमा म विश्व ब्रह्माण्डको  आदिपिता हुँ (अहं बीजप्रद: पिता) भनेर बोल्छन् | विश्वका कुनै  पनि धर्मशास्त्रका ईश्वर कृष्णझैं अधिकारपूर्ण तवर म सबैको बीजदाता पिता हुँ भनेर  बोलेको भेटिन्न | इसाईको यहोवाले म इजरायलजातिको पिता, मुस्लिमको अल्लाहले कुरैशहरूको पिता र यहुदीको यहोवाले यहुदीहरूको पिता भएको घोषणा गर्छन् | मलाई, कृष्ण मन पर्छन् किनभने उनी विश्वब्रह्माण्डका पिता हुन्  | हिन्दू, इसाई, मुस्लिम, यहुदी, नास्तिक, आस्तिक, पशुपक्षी सबैका पिता हुन् |  
२.     उनी विश्वका पिता हुन् तर उनीमा घमण्डको नामलेश छैन | राजाको छोरा भएर पनि साधारण गोठालोको नन्द यशोदाका घरमा गाई चराउन, नौनी घीऊ चोरेर खान, साथीहरूको जूठो खान र ओखलमा बाँधिन पर्दा  आसु खसालेर सहयोग माग्छन् | गोपीहरूको गालीगलौज सहन्छन्, साथिहरूको घोचपेचमा रम्छन्, खान नै नपाएझैँ साधारण बालबालिका झैं माटो खाएर आमाबाट हप्काई खप्छन् | एस्तो अभिमानरहित चेतनामा रम्ने कृष्ण मलाई सधैं मन पर्छन् | वेलाबखत देखिने अभिमान  र अहंकारसंग लड्न मदत गर्छन् |
३.     कृष्णको जीवन एउटा संघर्षको आत्मकथा हो | हरेक बालबालिकाको लागि मामा र मामाघर एउटा रमाइलो सपना हो | बुबुमाम सुपुक्कको मधुर कामना हो तर कृष्णका मामाको क्रूरता सबैले सुनेको उग्र कथा हो | मामाको क्रोधबाट जोगिन उनले आफ्नी आमाको काख छोड्नु पर्यो | गोकुलमा उनले यशोदाको माया मात्र होइन पुतनाको जीवनघाती विष पनि सहनु पर्यो | टोरनेटो होस् वा जंगलमा लागेको आगो, वा यमुनाको विषालु पानी अथवा बौलाहा गोरूको आक्रमण, मामाबाट नै जीवन हरण गर्ने मल्ल युद्धको षड्यन्त्र नै किन  नहोस्, कृष्णको जीवन संघर्षको अन्तहिन सृंखला नै हो | जरासन्धहरू, महाभारतको युद्ध वा मथुराबाट पलायन गर्नु पर्ने अवस्था र अन्त्यमा आफन्तको आत्मघाती युद्ध कुनै यी सबै एउटा साधारण तत्थ्य होइनन् | एस्ता असंख्य विषम तथा विपरित अवस्थामा पनि सधैं मुस्कराइ रहने, आफ्नो कर्ममा निरन्तर लागि नै रहने श्रीकृष्णको बानी नै मलाई मन पर्छन् |
४.      हरेक मान्छे वातावारणको दास हुन्छ | हरेक व्यक्तिमा लोभ, क्रोध, काम तथा ममताको ठूलो जालो हुन्छ | यी सबैले मान्छेमा मोह सृजित गर्छन् | कर्तब्य पालनका कर्ममा आफन्तको मोहले ठूलै वाधा उत्पन्न गर्छ | मान्छेके सबैलाई बाइपास गर्न सक्छ तर आफन्तको मोहमा आफ्नो कर्तब्यबाट चुक्छ | मलाई श्रीकृष्ण मन पर्छन् किनभने  उनी आफ्नो जीवनमा कुनै प्रकारको मोहमा बाधिएन् | सबैभन्दा माया गर्ने यशोदा, राधा, गोपीहरू र गोपहरूको मायामा उनी बांधिएन् | उनको मनमा उनीहरूप्रति अगाध माया हुँदाहुँदै पनि अविचल भावले आफ्नो कर्तब्य (धर्म सस्थापनाय)मा लागि रहे | सबैका प्रेरणादायक योगेश्वर बने |
५.      विश्वका धर्मशास्त्र र तिनका ईश्वर तथा धर्मगुरूहरू एउटा जाति, समुदाय वा सम्झौतासंग बाधिएका छन् | बाइबल होस् वा कुरान मान्छेसंग गरेको एउटा करार हो | श्रीकृष्ण सबैका ईश्वर हुन् | उनी हिन्दू, मुस्लिम, इसाई वा आस्तिकहरूमात्र ईश्वर होइनन् | उनी सबैको हृदयना ब्याप्त चेतना हुन् | सुदामा जस्ता गरिव ब्राह्मण र विदूरजस्ता अन्त्यजसंग समान ब्यबहार गर्ने मोडेल हुन् | कृष्ण मलाई मन पर्छन् किनभने उनले दलित-गैरदलित, काले-गोरेका आधारमा मानवतामा कुनै भेद गरेनन् | जन्मका आधारमा होइन कर्म र गुणका आधारमा व्यक्तिलाई चिन्न अनुरोध गरे | अज्ञात (गोवर्धनपूजा) देवताको होइन प्रत्यक्ष प्रकृतिको पूजा गर्ने प्रेरित गरे |
६.      आज हरेक व्यक्तिले श्रीकृष्णको रमाइलो स्मरण गर्छन् | उनी मान्छेको मनका रमाइलो प्रेरणा हुन् | हरेक परिस्थिति र परिवेशमा मुस्कान छर्ने अतुलनीय आदर्श हुन् | उनी ज्ञानको गम्भीरता हुन्, महाभारतको जस्तो दुखदायी अवस्थामा पनि गीताजस्तो ज्ञान बोल्ने धैर्यशाली महान दार्शनिक तथा मनोबैज्ञानिक परामर्शदाता हुन् | कर्तब्यको बाटो देखाउने  महान गुरू हुन् | सबैसंग प्रेम गर्न सिकाउने, मित्रताको लागि सबैथोक त्याग्न सक्ने तथा मानवमात्रका लागि उद्द्योगका प्रेरणा स्रोत हुन् | श्रीकृष्ण मलाई मन पर्छन् किनभने उनी मनको रमाइलोपन हुन् | ज्ञानको गम्भीरता हुन्  र मित्रताका अतुलनीय उदाहरण हुन् |
७.      ब्राहमणमा, गाईमा, कुकुरमा र शुद्रमा समेत उही परमात्माको निवास छ | प्रकृतिका हरेक कणहरूमा इश्वर व्याप्त छ | मान्छेको सबैभन्दा महत्वपूर्ण व्यक्तित्व उसको असल कर्म हो | आफ्नो धर्म, संस्कृति र राष्ट्रको रक्षा गर्नु हरेक व्यक्तिको प्राकृतिक कर्तब्य हो | आफ्नो धर्म र संस्कृतिमा रहेर मान्छेले पूर्णता प्राप्त गर्न सक्छ | आफ्नो गुण र प्रकृतिसंग विपरित संस्कृतिको अवलम्वन गर्नु मृत्यु हो | आफ्नो समाज विरुद्ध जानु अत्यन्त डर लाग्दो हुन्छ | कर्तब्यपालन प्रतिको उदारवादी दृष्टिकोण, जीवनप्रतिको सकारात्मक भाव, विपरित परिस्थितिमा पनि मुस्कराइ रहने व्यक्तित्व र महान सर्वेश्वर भएर पनि सामान्य जीवन विताउन सक्ने श्रीकृष्ण मलाई मन पर्छन् किनभने उनी मेरो मनमा ‘मोडेल’ बनेर हाँस्छन् |
८.      श्रीकृष्ण मलाई मन पर्छन  किनभने उनी मेरो गुरू हुन्, मातापिता हुन्, मेरो कर्तव्यका प्रेरणा हुन् | मेरो धर्म, संस्कृति तथा आध्यात्मका प्रेरणादायक संरक्षक हुन् र अष्टमीरूपी प्रेरणाका आठ सूत्र हुन् | मेरो लागि कर्तब्यपालनका प्रेरणासूत्र हुन् | मेरो लागि श्रीकृष्ण एकमात्र सबैभन्दा स्वीकार्य जगदगुरु र ईश्वर हुन् | मेरो लागि श्रीकृष्ण जीवनका उत्सव हुन्, आदर्श हुन् र प्रेरणा हुन् |  

gsu300@(at)gmail.com

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...