Saturday, September 10, 2016

यसरी हुन्छ दलनको अन्त्य

यसरी हुन्छ दलनको अन्त्य !!!

नेपाली दलित आन्दोलनका दूईखालकाका धारहरू स्पस्ट रूपमा देखा परिरहेका छन् : १. सांस्कृतिक र धार्मिक नेपालको पक्षधर तर छुवाछूतको कठोर विरोधी २. छुवाछूत समाप्त पार्न सांस्कृतिक तथा धार्मिक रुपान्तरणका पक्षधर | पहिलो पक्षले छुवाछूतको धार्मिक तथा सामाजिक मान्यता समाप्त गरेर समतामूलक नेपालको परिकल्पना गर्छ भने दोस्रो पक्षले छुवाछूतमा विश्वास नगर्ने धर्म-संस्कृतिले हाल प्रचलित धर्मसंस्कृतिले विस्थापित पार्नुपर्छ भन्ने मान्यता राख्छन् | दलित र गैरदलित वर्गमा तेस्रो पक्ष पनि छ जसले खुलेर छुवाछूतवादको पक्षपोषण त गर्दैन तर छुवाछूतवादको निरन्तरता चाहन्छ | तेस्रोधारको संबैधानिक हैसियत नभएपनि ब्यबहारिक र मनोवैज्ञानिक हैसियत भने बलियो छ र सामाजिक, राजनैतिक, सांस्कृतिक तथा आर्थिकस्तरको विभेदमा यो हावी छ | दलितवर्ग पनि छुवाछूतको लागि त्यतिनै जिम्मेदार छ जति गैरदलित जातिहरू |

नि:सन्देह नेपालका सबैभन्दा उपेक्षित तथा अधिकारहरू\बाट युगौंदेखि बंचित गरिएको समुदाय “दलित” नै हो | एउटा मान्छेको समुदायलाई सामाजिक तथा सांस्कृतिकरूपमा नियोजित तवरले कहिलेदेखि “अछुत”का रूपमा स्थापित हुन आरम्भ भयो र यसले कुन कालखण्डदेखि सामाजिक ब्यबस्थाका अभिन्न अंगका रूपमा धार्मिक मान्यता प्राप्त गर्न सफल भयो ? आज पनि यो प्रश्न अनुत्तरित नै छ | केही धार्मिक विद्वानहरू ‘’छुवाछूत हिन्दूहरूको मूलाधार ग्रन्थहरूमा नरहेको तर पछि राजनैतिक कारणले आरोपित गरिएको’ वकालत गर्छन् भने केही विद्वानहरूले भने “छुवाछुतको ब्यबस्था हिन्दू धार्मिक ग्रन्थहरूले नै गरेको” भन्नमा जोड दिन्छन् | दोस्रो विकल्पलाई ‘छुवाछूत’को आधारमान्नेहरूमा तेस्रो तथा दोस्रोधारको प्रतिनिधत्व गर्छन् | एउटाले धार्मिकता, राष्ट्रीयता, सामाजिक ब्यबस्थाको अन्त्य गर्न चाहन्छ भने अर्कोले अव्यक्तरुपमा छुवाछुतको निरन्तरता चाहन्छ |

तेस्रोवर्गलाई राज्यले वि.स. २०२० देखि नै कानुन बनाएर निर्मूल पार्ने प्रयत्न गरिरहेको छ भने दोस्रोवर्गका अतिवादीहरूसंग प्रतिकार गर्ने वा यिनलाई ब्यबस्थित गर्ने संयन्त्र राज्यले विकास गरिसकेको छैन | तेस्रोधारको समाजमा बलियो उपस्थिति भए पनि राज्यको डरका कारण यो फस्टाउँन सक्दैन | यो समुदाय ‘घुसघुसे’ छ | बोल्दैन तर सामाजिक तथा सांस्कृतिक विभेद गर्न पनि छोडेको छैन | तेस्रोधार अस्ताउदो सूर्य हो | यो अन्तत: एकदिन अस्ताउँछ नै | आजभन्दा ५०-६० वर्ष पहिलेको तुलनामा तेस्रो वर्गको विभेदकारी चिन्तन र ब्यबहारमा ठूलै परिवर्तन आएको छ | निश्चयनै, छुवाछूतको प्रकृतिमा परिवर्तन भएको छ | हार्डकोरमा रहेको ब्यबहारिक छुवाछुत ‘’सफ्टकोर’’मा रुपान्तरित भैसकेको छ | यो एकप्रकारको सामाजिक, सांस्कृतिक तथा ब्यबहारिक परम्परामा ठूलै “फड्को” हो | विगत ५०-६० वर्षमा भएको ‘छुवाछुत विरोधी ब्यबहार र कार्यान्वयन” आधारमान्दा आगामी ४०-५० वर्षपछि छुवाछुत “इतिहास’’मा मात्र पढिने छ |

हामी नेपालीहरूका लागि दोस्रोधारको ‘दलित आन्दोलन’ले आत्मघाति परिवर्तनको लक्ष निर्धारित गरेको छ |  असलमा, दलितआन्दोलनको दोस्रो धारमा अवसरवादी, अर्थवादी, विखण्डनवादी, कलहवादी तथा धर्म-संस्कृति परिवर्तनवादीहरूको जमघट छ | यी सबैकाबीच स्वार्थका कारण गजवको समन्वय तथा आत्मियता रहेको छ | यस्तो वर्गमा आधुनिकतावादको आडम्वर र परम्पराविरोधी मनोविज्ञानको गहिरो पैठ छ | आफुले बुझेको बाहेक अरूले दलितहरूको समस्यालाई बुझ्नै सक्दैन भन्ने दम्भ छ | आफ्नो चिन्तन तथा बुझाइसंग असहमत हुने जोसुकैसंग विद्रोही मानसिकता छ | एस्तो वर्ग हरहमेशा राज्यबाट प्राप्त हुने सुविधाका लागि ‘दलित’को पहिचान कायम राख्न क्रियाशील हुन्छ | दलित-आन्दोलनका नाममा आर्थिक मानकहरूलाई अस्वीकार गर्छ | यो धारको नेतृत्व गर्नेहरूले सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्दैनन् र चरम परिवारवादी चिन्तनले ग्रसित हुन्छन् |

नेपालमा छुवाछूत विरोधी आन्दोलनको आरम्भ धार्मिक गुरूबाट वि.स. १८६३ पछि जोसमनी सन्तहरूले गरेको देखिन्छ | जोसमनी सन्तहरू अद्वैतवादमा विश्वास गर्थे र संसारका हरेक विषयहरू माया वा अद्वैत ब्रह्म नै हुन् भन्ने कुरामा विश्वास गर्थे | ब्रह्ममा छुतअछूतको भेद हुने कुरै हुँदैन | त्यस अघि र पछि केही वैष्णव, प्रणामी तथा अन्य सम्प्रदायहरूले पनि “भगवानको भक्ति गर्नेहरू सबैको एउटा मात्र जाति हुन्छ, त्यो हो भक्ति’’ भएर छुवाछूतवादको अप्रत्यक्ष निराकरण गर्ने प्रयत्न गरे | आजपनि भक्तिमार्गमा लागेपछि सानो-ठूलो जात, धनिगरिव वा स्त्री-पुरुषको विभेद पूर्णतया समाप्त हुन्छ भन्ने मान्यताका आधारमा संचालित आश्रमहरू छन् | अवसरवादीहरूका लागि आफ्नै समाजले विगतमा गरेका छुवाछूत निर्मलीकरणका प्रयत्नहरू वा वर्तमानमा भइरहेका छुवाछूतमा विश्वास नगर्ने परम्पराहरूले कुनै अर्थ राख्दैनन् | मान्यताहरूका पक्षमा बोल्नु वा लेख्नु भनेको एउटा राम्रो आर्थिक, सामाजिक वा राजनैतिक अवसर गुमाउनु हो |

विदेशीहरूले अनुवाद गरिदिएका मनुस्मृति वा अन्य धर्म सम्बन्धि किताव पढ्दा पनि अवसरवादीहरूले दलितको विपक्षमा लेखिएका भनाइहरूमात्र फोकस गर्छ | यस्ता अवसरवादीहरू अध्ययन, अध्यापन, कार्यशाला, गोष्टी, सेमिनारहरूको उपयोग आफ्नो दलितवादी सोचको विकासका लागि गर्छन् | एसो गरिरहंदाको उद्देश्य आफुलाई दलितवादी विद्वान, विज्ञ, क्रान्तिकारी चिन्तन भएको र चरम बाहुनवाद विरोधी “अभिनेता”का रुपमा स्थापित गर्ने नै हुन्छ | उसले ती सबैसंग सम्झौता गर्छ, जसबाट उसले आफ्नो आर्थिक, सामाजिक तथा राजनैतिक हैसियत प्राप्त हुने संभावना देख्छ | यो वर्गमा धेरैजसो पढेलेखेका दलित र गैरदलित दलितवादी हुन्छन् |

निश्चय नै दलितहरू सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेदमा पर्नुका अनेकौं कारण मध्ये एउटा कारण गरिवी अर्थात् न्यून आर्थिकस्तर नै हो | गरिव दलितहरूका सबैभन्दा बढी दुष्मन आर्थिकस्तर राम्रो भएका “दलित” नै हुन्छन् | आर्थिकस्तर राम्रो भएका दलितहरूका लागि सबै अवसरहरू खुला हुन्छन् | छोराछोरी पढ्छन्, जागिर वा पेशामा प्रवेश गर्छन् | पेशाले धन दिन्छ, पुन: तिनका छोराछोरीले नै अवसर प्राप्त गर्छन् | पढ्नलेख्न सक्ने हुनाले सरकारी जागिर होस् निजि दुबैतिर यिनकै हालीमुहाली हुन्छ | सरकारी आरक्षणको सबैभन्दा बढी फाइदा इलिट-दलित कै लागि हुन्छन् | राज्य वा निजीक्षेत्रबाट प्राप्त हुने कुनै पनि अवसरमा “गरीवदलित’’सम्म पहुंच रोक्न ‘एलिट-दलित’ ज्यान दिएर लाग्छ | अर्थवादी दलितहरू पनि अनन्त समयसम्म ‘दलित-परिचयपत्र’’ गोजीमा लिएर हिड्न चाहन्छन् | यिनका लागि दलितपन एउटा दिगो मुद्दा हो जसले सजिलै “आर्थिक अवसर’’ दिन्छ |

विखण्डनका लागि दलितहरूका मुद्दा उचाल्नेहरूमा दलित तथा गैरदलित दूबै तवाकाका मान्छेहरू छन् | विदेशी तथा स्वदेशी राजनीतिज्ञ, संघ\संस्था तथा धार्मिक प्रचारकहरूले यो वर्गलाई परिचालित गर्छ | यस्तो वर्गको नेतृत्वमा ‘पढालेखा’ हुन्छन् भने नेतृत्वको दोस्रो तहमा ‘दादागिरी’ प्रकृतिका मान्छे हुन्छन् | जव कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय शक्तिहरूलाई आफ्नो एजेन्डालाई सरकारी करण गर्नु पर्ने आवश्यकता हुन्छ अनि, यो वर्ग परिचालित हुन्छ | अन्तर्राष्ट्रियस्तरमा एजेन्डाहरू उचाल्ने, मान्छे लगाएर दलित-गैरदलितविच दङ्गाफसाद मचाउने, त्यो फसादलाई अन्तराष्ट्रिय करण गरेर देश, सरकार र समुदायको वदनाम गर्ने यसको मूल मुद्दा हुन्छ | असलमा, यो वर्गले समुदायहरूकाविच रहेको प्राकृतिक ‘’मानसिक-एकता’लाई विखण्डन गरेर सधैंका लागि एकप्रकारको मानसिक दूरी सृजना गरिदिन्छ | मानवाधिकार तथा अन्तराष्ट्रिय सन्धिहरूको विकृत ब्याख्या गरेर समुदाय विषेशको वदनाम गर्ने काम गर्छ | यस्तो अवसरछोपेर धर्म, संस्कृति तथा रीतिरिवाजसंग असहमति राख्ने वर्गहरू बलियो हुन्छन् | धर्म-परिवर्तन गराउन र देश तथा जनतालाई मानसिक विखण्डन खाडलमा जाक्न यो समुदाय निकै प्रभावकारी हुन्छ | कतिपय अवस्था, विखण्डनकारी तत्वहरु उच्च राजनैतिकतहका हुन्छन् |

‘कलहवाद’ पनि दलितमुक्ति आन्दोलन भित्रको एउटा विकृति हो | एस्तो वर्गको मानसिकतामा ‘निहू-खोज्ने’ बाहेक अन्य कुनै सोच हुँदैन | विभिन्न अवसरहरू कुरेर वस्ने र तस्तो अवसरलाई ‘खोचे’मा थापेर आफ्नो वर्चस्व स्थापित गर्नु यिनको मूलमर्म हुन्छ | यस्तो वर्गले धर्मशास्त्र होस् अथवा रीतिरिवाज, सांस्कृतिक अवसर होस् अथवा धार्मिक क्रियाकलाप त्यहाँ आफ्नो ‘अंश’ खोज्दछ | सम्मान र ‘औस’ पाएसम्म यो आक्रामक हुँदैन | धर्म, संस्कृति र चालचलनका सम्वन्धमा पनि यसको आफ्नो ‘सम्मान’ नै महत्वपूर्ण हुन्छ | दोस्रो अर्थमा उपयोगितावाद र आत्मविलासवाद यसको अभिष्ट हुन्छ | यो वर्गले झगडा गरे पनि देश तथा समुदायसंग गद्दारी गर्दैन |

धर्म-संस्कृति परिवर्तनवादीहरूका लागि स्वदेश, राष्ट्रीयता, देशप्रेमजस्ता मौलिक विषयहरू महज नागरिकताको कागजसंग गाँसिएको हुन्छ | यो वर्गले आफ्नो नागरिकतालाई आफ्नो चिनारीका रूपमा बुझ्ने गर्छ | देश, धर्म, संस्कृति, चालचलन तथा सांस्कृतिक राष्ट्रको अवधारणाप्रति यो वर्गको सहमति हुँदैन | मन्दिर, चालचलन, आचरण, संस्कृति तथा नैतिक मान्यताहरू त्यागेर धर्म-परिवर्तन गरेको यो वर्ग आफ्नो “नया धर्म र गुरू” बाहेक अरूमा आस्था राख्दैन र आफुलाई ‘दलित’ पनि मान्दैन | तर यो वर्गले राज्यबाट प्राप्त हुने सुविधाका लागि आफ्नो परिचयपत्रमा भने ‘दलित’ नै उल्लेख गर्छ | दलितआन्दोलनमा सहभागिता जनाउँछ | यो वर्गका लागि दलित आन्दोलनमा सहभागिताको अर्थ दलित-मुक्तिका लागि होइन | यिनको लागि मुक्तिको एकैमात्र उद्देश्य हुन्छ : धर्मपरिवर्तन | यो वर्गमा ती सबै व्यक्तिहरूको सहभागिता रहन्छ, जसले धर्मपरिवर्तन गरेर आफ्नो मौलिकता छोडिसकेका छन् | राष्ट्रको मौलिकताका लागि यो सबैभन्दा “आत्मघाति” हुन्छ | एउटा किताव, एउटा निरंकुश ईश्वरको अवधारणाभित्र सबै जलेर नष्ट हुन्छन् |

उपरोक्त बिकृतिहरूले दलित मुक्ति आन्दोलन हरहमेशा कमजोर भएको छ | दलित\वर्गले पाउनु पर्ने उपादानहरू माथि भनिएका वर्गको पहुँचमा मात्रै सीमित छ | यो विकृतिले गर्दा दलित पहिचानका नाममा विभिन्न सुविधाहरूमा पहुँच बनाउने र त्यस्ता सुविधाहरूलाई सधैं आफ्नो र आफन्तको लागि प्रयोग गर्ने ‘एलिट-दलित’को वर्चस्व बढेको छ | भारतीय राज्य उत्तरप्रदेशमा गरिएको अनुसन्धानले ‘केवल पहुचं भएका, सरकारी जागिरमा रहेका तथा राजनीतिमा पहुँच भएका दलित’हरूले मात्र दलित-उत्थानका लागि विनियोजित ९०% सुविधाहरू प्राप्त गर्ने देखाएको छ | गरिव र पहुँच नभएका दलितहरूको वास्तिविक अवस्थामा कुनै रुपान्तरण आएको छैन | सुविधाहरूका कारण “एलिट दलित”हरू मोटाएका छन् भने वास्तविक दलितहरू हिजोभन्दा बढी नै अवसरहरू बंचित भएका छन् |

दलितमुक्तिका लागि गरिएका र भएका आजसम्मका आन्दोलनहरू निरर्थक भएका छैनन् | राजा महेन्द्रले २०२० सालमा छुवाछूत उन्मुक्त संविधानको घोषणा गर्दा कुनै पनि गैरदलितले विरोध गरेन | त्यसपछि ४६ साल होस् वा ६३ वा ७१ साल नै किन नहोस्, संविधानले दलित उन्मुक्तिको सामाजिक तथा राजनैतिक एजेन्डालाई अझै बढी प्रभावकारी तवरले उठान गरेको छ | सन् १९९२ मा दक्षिण अफ्रीकाले रंगभेदी संविधान ल्याउँदा त्यहां निकै जनधनको क्षति र विरोध भएको थियो | त्यसको जाँदोमा नेपाली जनताहरू परिवर्तनका पक्षमा छन् | परिवर्तनकामी  नेपाली जनताको भावनामा अविश्वास गर्नु पर्ने कुनै कारण छैन |

अव दलितहरूले गर्नुपर्ने काम..
आजको समय झैँझगडा गर्ने र एकअर्कामा दोषारोपण गर्ने होइन | हिन्दूवर्णाश्रम ब्यबस्थाको सांस्कृतिक र सामाजिक जीवनशैलीसंग कुनै प्रकारको सरोकार नै नभएका विदेशी वा स्वदेशीहरूले नकारात्मकता तथा विद्रोही मानसिकता भर्ने विषय सामग्री बनाएभन्दैमा एकआपसमा विद्रोही विचार राख्नुको कुनै औचित्य छैन | जुन वर्गलाई मनुवादी, ब्राह्मणवादी, छुवाछूतवादीको दोषारोपणका आधारमा हामीभित्र विद्रोही भावनाको विकास भएको छ, त्यो आफैमा औचित्यहीन छ | जुन शास्त्रले वर्णाश्रम व्यबस्थाको प्रतिपादन गरेर सामाजिकीकरण गरेका थिए, ती मान्यताहरू कमजोर भैसकेका छन् | छुवाछूतवादी चिन्तनका लागि सबैभन्दा बढी दोषी ठानिएका ब्राह्मणवर्गनै “छुवाछूत”को अन्त्य हुनुपर्छ भनेर अगाडी आइसकेको अवस्थामा दलित र गैरदलित दलितको अमानवीय संस्कृतिको छिटो अन्त्य हुने निश्चित छ | छुवाछुतवादी प्रथा र चिन्तन बूढो र जर्जर भैसकेको छ, एस्तो अवस्थामा दलित नेतृत्व वा सर्वसाधारण दलित समुदायले विद्रोही मानसिकता भन्दा सहकारी मानसिकताअनुसार अगाडी बढ्नुपर्छ | दलित समुदायले निम्न कार्यदिशा स्वीकार गर्दा यो अमानवीय प्रथाको छिटो अन्त्य हुन्छ भन्ने मेरो विचार रहेको छ :
१.    आरक्षण दीर्घकालीन अधिकार होइन यो अल्पकालीन ब्यबस्था हो : दलित समुदायले विशेष सुविधा प्राप्त गर्नुपर्छ र राज्यले यसको ब्यबस्था गरेको छ | भारतीय राज्यले प्रदान गरेको आरक्षणको सुविधामा केवल एलिट-दलितहरूको मात्र हालीमुहाली रहेको अवस्थामा आरक्षणको मोडलमा विचार गर्नुपर्छ | एस्तो मोडल क्रमशः दलित मध्ये पनि आर्थिक विपन्न, आर्थिक विपन्न मध्ये पनि एकल, महिला, महिला, पुरुषले पाउनुपर्छ | आर्थिक रूपमा आत्म निर्भरहरूले दलित-आरक्षणको सुविधा प्राप्त गर्नु हुँदैन | हालै, उत्तरप्रदेशमा भारतीय कंग्रेस-आईले आफ्नो पार्टीले २०१७ मा विजय प्राप्त गरे ब्राह्मणजातिलाई समेत आरक्षण दिने घोषणा गरेर आरक्षणको साइड-इफेक्ट देखाएको छ | आरक्षणलाई अधिकारका रुपमा बुझ्दा र बुझाउँदा ‘दलितहरू जातमा परिवर्तन हुने र त्यसै परिचयका आधारमा अनन्तकालसम्म सुविधामा दावी गर्ने प्रवृति बढ्न सक्छ | २०० करोडकी मालिक्नी ‘’मायावती’’लाई कुनै एन्गलबाट दलित भन्न सुहाउँदैन |
२.  आफ्नो इतिहास आफै बुझ्ने : भारतको बनारसस्थित हिन्दू विश्वविद्यालयको उद्घाटनका क्रममा भारतीय नेता जगजीवन राम समावेश थिए | त्यहाँका भान्छेले उनलाई भान्छामा छिर्न दिएनन् | तर विविका संस्थापक मदनमोहन मालवीयले निज रामलाई आफ्नै निजी भान्छामा लगेर भोजन गराएका थिए भने मालवीय आफैले  जगजीवनले खाएका जूठा भाँडाकुँडा माझेका थिए | नकारात्मक समाचार उचालेर समाजमा फाटो ल्याउनेहरूका लागि पहिलो घटना महत्वपूर्ण हुन्छ तर समाजलाई जोड्ने दोस्रो घटनातिर विखण्डनवादीले महत्व दिंदैनन् | भगवान् रामले सवरीको जूठा बयर खाएको, कृष्णले विदूरपत्नीको जूठो खाएको, ब्यास, बाल्मिकी, शौनक ऋषिहरू दलित भएर पनि ऋषिमुनीहरूले पूजा गरेको, छक्कुबक्कु मन्दिरका दलित पूजारीहरूले दिएको प्रसाद सबैले स्वीकार्न गर्ने गरेका वास्तविक घटनाहरू आफै बुझ्नुपर्छ | अंग्रेजीमा उल्था भएका केही छुवाछूतवादी श्लोकहरूका आधारमा समग्र हिन्दू संस्कृति र समाजलाई दोष लगाउने मानसिकतामा परिवर्तन गर्नुपर्छ |
३.  मुस्लिम वा इसाईले फैलाउने भ्रममा विश्वास गर्नुहुँदैन : हाल नेपाली दलितहरूका विचमा इसाई, मुस्लिम र मानवतावादीको खोल ओढेका केही धूर्तहरूले हिन्दू धर्म, संस्कृति र जीवन पद्यतिप्रति ज्यादै नकारात्मक विचारहरू फैलाइरहेका छन् | कुनै भनाइमा विश्वास गर्नुभन्दा पहिला कुरो बुझ्नुपर्छ | बाइबल र जिससमा विश्वास नगर्ने इसाइ हुनसक्दैन, कुरान र मोहम्मदमा विश्वास नगर्ने मुस्लिम हुनसक्दैन, तोरेतमा विश्वास नगर्ने यहुदी रहँदैन तर वेद, पुराण वा अन्य हिन्दू धार्मिक तथा सांस्कृतिक चिन्तनसंग असहमत हुने पनि हिन्दू नै हुन्छ | मुस्लिम र इसाईले जो-सुकेको मौलिकता सजिलैसंग सधैंका लागि निमिट्यान्न पारिदिन्छन् | सन् १५५४ मा म्याक्सिको छिरेका इसाईहरूले मेक्सिकोमा त्यस बखत प्रचलनमा रहेको माया-सभ्यतालाई पूर्णरूपले निमिट्यान्न पारेको छ भने कुनै बखत फारसी धर्मको जन्मथलो इरानबाट पारसीहरू पूर्ण विस्थापित भएका छन् | इसाइहरूको विश्वासमा पर्दा हामीले आफ्नो नेपालीपन, धर्म, संस्कृति मात्रै होइन आफ्नो मौलिक परिचय समेत गुमाउछौँ | त्यसैले, हामीले आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ |   
४.      थर वा जात समस्या होइन सोच र चलन समस्या हो  : थर वा जात नै हामी सबैको मौलिक पहिचान हो | कसैको थर उपाध्याय, पराजुली हुँदैमा असल हुने  र सार्की, विश्वकर्मा, परियारआदि हुँदैमा खराव हुने होइन | केही थर र जातसंग छुतअछुतको बुझाइ जोडिएको हुँदा हामी समस्यामा परेका हौँ | परिचय लुकाएर समस्याको समाधान हुँदैन बरू राज्यले दिएको अधिकारको अवलम्वन गरेर र विनम्रतापूर्वक ब्यास, वाल्मीकि नारदको उदाहरण प्रस्तुत गरेर कसैको मन जित्न र कसैलाई न्यायिक ब्यबस्थाको डर देखाएर अगाडी बढ्नुपर्छ | हाम्रो थर-जात फेरिए हाम्रो मौलिकता मेटिन्छ | कार्की र सार्की लेख्दा वा सुन्दा विभेद नहुने सामाजिक चिन्तनको विकास गर्नुपर्छ | त्यसका लागि हाम्रो सत्यले बढी काम गर्छ किनभने सत्य जहिलेपनि खरो हुन्छ |
५.    धर्मपरिवर्तन गर्नेले दलितको सुविधा प्राप्त गर्नुअनुचित हो : धर्मपरिवर्तन गर्नु भनेको हिन्दू वर्णाश्रम ब्यबस्थाल र त्यसका विभिन्न मान्यताहरूलाई सधैंका लागि छोड्नु हो | एस्तो अवस्थामा, दलित होस् अथवा गैर-दलित धर्मका आधारमा गरिने हरेक आरक्षणको निन्दा गरिनुपर्छ | दलितबाट इसाइ बनेका समुदायले आरक्षणको सुविधा प्राप्त गर्छन् भने बाहुन समुदायबाट इसाइ बनेकाले पनि आरक्षणको सुविधा प्राप्त गर्नुपर्छ | इसाई वा मुस्लिम पनि बन्ने अनि, दलनमा परेकाहरूका लागि क्षतिपूर्तिका रूपमा समाजले दिएको आरक्षणको सुविधामा पनि दावी गर्ने एस्तो खेल आततायीहरुले खेल्छन् |   
६.   सम्पन्न दलितले सुविधा छोड्न सक्नुपर्छ : सबै दलितहरू निर्धन छैनन् | पदम सुन्दास, अम्विका सोब, मीन विश्वकर्माजस्ता व्यक्तिहरुले ठूलो बुद्धी गरेर निर्धन दलितहरूका लागि आरक्षण छोड्नुपर्छ | आफु सम्पन्न भएर पनि आरक्षणको सुविधा प्राप्त गर्नेहरू लुटेरा हुन् | आरक्षणको मूल आशय निर्धन, असक्त र निर्धालाई सुविधा प्रदान गरेर मूलधारमा ल्याउनु हो | सम्पन्न र मूलधारमा भएका ‘दलित’हरूले आफ्नो छाति चौडा बनाउने काम गर्नुपर्छ |
७.       परम्परागत पेशाका विषयमा सोच्नुपर्छ : दलित समुदायको सबैभन्दा ठूलो र मौलिक विशेषता नै उनको आफ्नो पेशा हो | एस्तो पेशा दलितहरूको हाते सीप हो | आजको युगमा कुनै पनि व्यक्ति वा समुदायलाई एउटा निश्चित पेशामा बस्न बाध्य गर्न सकिन्न र गर्नु पनि हुँदैन | सबै आफुले चाहेको पेशा रोज्न स्वतन्त्र छन् | त्यैपनि आफ्नो परम्परागत सीप छोड्न भन्दा त्यसै सीपलाई समय सुहाउँदो बनाएर अगाडी बढाउनु उचित हुन्छ | हिन्दू सामाजिकीकरणले दिएको सबैभन्दा ठूलो देन नै दलित-समुदायको स्वावलम्बीपन र आत्म निर्भरता हो | एस्तो सीप अन्य समुदायले प्राप्त गरेका छैनन् | सुनको काम गर्ने सुनार, फलामको काम गर्ने कामी, लुगा सिलाउने दमैं, छालाको काम गर्ने सार्कीजस्ता सीपमा आधारित थरहरू जीवित रहनुपर्छ | समाप्त हुनुपर्छ त सुनार भन्दा ‘सानो जात’ भन्ने सोच |

८.       समावेशीकरणलाई स्वीकार्नु पर्छ : नेपालमा अहिले समावेशीकरणको अवधारणाले महत्व प्राप्त गरेको छ | सरकारले नै संघसंस्थाहरू समावेशी हुनुपर्छ भन्ने न्यायिक ब्यबस्था गरेको छ | एस्तो अवस्थामा दलितहरूले संचालन गर्ने वा दलितहरूले नेतृत्व गर्ने ‘सामाजिक. सांस्कृतिक तथा धार्मिक संघसंस्था’हरूमा गैरदलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ | एस्तो समावेशीकरणले दलित तथा गैरदलितको मानसिक विभेदलाई जरोदेखि नै समाप्त पार्न सहयोग गर्ने छ | दूर्भाग्यवस, अहिले नेपालमा प्रचलित दलित नेतृत्व भएका संघसंस्थाहरूमा गैरदलितहरूको प्रतिनिधित्व छैन |  

Copyright matter 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...