यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?
Sunday, January 28, 2024
लोग्नेस्वास्नीका कुरा
Tuesday, January 16, 2024
मनुस्मृतिमा छुवाछुत छैन !
मैले धेरै पटक मनुस्मृति पढें तर "शूद्रलाई छुन हुँदैन, छोइन हुँदैन" जस्ता श्लोकहरू भेटिन | बरू शूद्रहरूको प्रमुख कर्म भनेकै "ब्राह्मणहरूको सेवा हो" भनेर लेखिएका थुप्रै श्लोक भेटें | सेवा गर्नेले सबै ठाउँमा सजिलै प्रवेश पाउने र हरेक प्रकारका सेवाकार्यहरू प्रत्यक्ष गर्नु पर्ने हुँदा "शूद्र अछूत" हुनै सक्दैन | शूद्रलाई "पापजात" अवश्य भनिएको छ तर अछूत भनिएको र मानिएको छैन | तेसैले शूद्र अछूत होइन |
बूढा महाराज र राजा महेन्द्र
राज पृथ्वीनारायण शाह र महेन्द्र आ-आफ्नो समयका जतिसुकै महत्वपूर्ण व्यक्ति भए पनि आजको नेपाली समाजले धेरै फड्को मारिसकेको छ | उहाँहरूको कर्तव्यलाई सम्मान गर्दै अगाडी बढ्नु नै बुद्धिमानी हुने छ | इतिहासका पात्र फर्किदैनन्, वर्तमानका पात्रहरूबाट नै उच्चचरित्र र दूरदृष्टि भएको व्यक्तिलाई प्रोत्साहन दिनुपर्छ | व्यक्ति र संबिधान फेरिदैमा विकासको मूल फुट्दैन भन्ने प्रमाणित भैरहेको छ | यो संबिधानका पक्षधरहरूले आफ्नो नाक जोगाउन भए पनि यसको पक्षपोषण गर्नुनै पर्ने हुन्छ तर विरोध गर्नेले पनि पत्यारिलो विकल्प दिनै पर्ने हुन्छ |
चतुर्थे किं करिष्यति : घर-सन्यास
मैले पनि ५० काटें अर्थात् तेस्रो आश्रम (बानप्रस्थ) आरम्भ भएको छ | शास्त्रलाई पढ्ने हो भने अव मैले सबै थोक छोराछोरीलाई जिम्मा लगाएर आफुले जीवनभरी सिकेका कुरा सिकाउने वा जङ्गलमा गएर वा घरमै बसेर स्वाध्याय, निधिध्यासनआदिको अभ्यास गर्ने पर्ने हो | तर
पर्व र विषालु घृणावाद
माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो | यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् | हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ | माघेसंक्रान्तिको हामी सबैमा शुभकामना |
Friday, January 12, 2024
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgbXv5LJiFfSOLWdxuEYJTo-EezAqij8gs5NI8_xD_98QxBmy9NJTCiKvHPRohyphenhyphenff__P0H765c8Rq66QpLQl-Mh816le80Rm6OMCnjHj1rSGrYJjFCeaMzIkUaXgkeLZuiPOKNmYgjQgw1XGQDYzbrB8wEnCVO3sV8-3d1Ch1Jv2Xd70kaTpy1g6L4n/w140-h140/gsu.jpg)
बौद्ध वा जैनहरू पनि हिन्दू संस्स्कृतिसंग विद्रोह गरेर स्थापित भएका धार्मिक समुदाय हुन् | तिनले कहिल्यै पनि हिन्दू देवीदेवताका मन्दिरहरू तोडेंनन्, आगो लगाएनन् | काठमाडौँ उपत्यकामा पहिलो र अन्तिम पटक आक्रमण गरेको समसुद्दिन इलियास (सन् १३४७) हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको लिंग नै ध्वस्त गरिदियो | स्वयम्भू चैत्यमा आगो लगाएर ध्वस्त बनायो | तेतिले पनि चित्त नबुझेर पुस्तकालयहरू र पसलहरूमा आगो लगायो | यदि कसैले मुसाई-समुदायको इलियास मानसिकतामा हिन्दुहरूप्रति सहृदयता उत्पन्न भएको छ भन्ने ठान्छन् भने गलत हो | एक-दुईजना व्यक्तिहरूको उदारतालाई मुसाई-धर्मको उदारताका रूपमा व्याख्या गर्न मिल्दैन |
Thursday, January 11, 2024
इच्छामृत्युको सभ्यता
इच्छामृत्युको सभ्यता
Tuesday, January 9, 2024
बाको लेखौट
बाको लेखौट
सबैलाई तँपाई
भन्नु | आफुले गर्न सक्ने काम आफै गर्नु | केटाकेटीलाई माया गर्नु | बूढाबूढीबाट सिक्नु | मुतुनो र थुतुनो जोगाउनु | सकेको दान गर्नु | नसकिने भारी
नबोक्नु | थोरैमात्र लोभ गर्नु | लखर-लखर नहिड्नु | गाईको मान गर्नु | रूख रोप्नु | चौपारी बनाउनु | पँधेरो बनाउनु, नविगार्नु | हँसिलो हुनु | राम्रो बोल्नु | सरकारी मान्छेसंग डराउनु | माया गर्नु | एकलकाटे नहुनु | दिनहुँ गायत्री जप्नु | प्रमाण खोज्नु र प्रमाण दिनु | खेतवारी नमास्नु | विगार नगर्नु | पापसंग डराउनु | आमा र स्वास्नीको
कुरा मान्नु | काममा न ठग्नु | काम ठग्ने आफै ठगिन्छ | आफ्नो शरीरलाई माया गर्नु | समयअनुसार चल्नु |
सबैलाई माया गर्नु | कसैलाई घृणा नगर्नु | स्वास्नीलाई मान गर्नु | छोराछोरी पढाउनु | विद्वानको सङ्गत गर्नु | लेखापढ़ा मान्छे झ्याली हुन्छन् | गमेर बुझ्नु | रोगलाई सानो नठान्नु | सरल र सहज हुनु | अहङ्कार छोड्नु | गौरवको भाव नछोड्नु | उपदेश सुन्नु | धेरै उपदेश नदिनु | आलोचना सुन्नु | संसारमा शत्रु हुँदैनन् | अरूसंग धेरै आश नगर्नु | शिक्षित हुनु तर विद्यामा चल्नु | तेसै न हौसिनु | आफ्नो कल्याण चाहनु | सबैको कल्याण चाहनु | अहिंसक हुनु | तर हुतिहारा नहुनु | आफुलाई इमान्दार बनाउनु | आफ्नो धर्म नछोड्नु | आहार र व्यबहारमा लाज नमान्नु | प्रष्टसंग जवाफ दिनु | समयमा जाग्नु | समयमा सुत्नु | साजी अन्न खानु | हात खुट्टा धोएर खानु | अन्नको सम्मान गर्नु | उठीउठी नखानु | खाने कुरामा ध्यान दिनु | अन्न अनुसारको मन हुन्छ | दु:ख हुन्छ | सुख पनि हुन्छ | न आत्तिनु | न मात्तिनु |
आमावुवाको निन्दा
नगर्नु | गुरुको निन्दा नगर्नु | डक्टरको आलोचना नगर्नु | काम दिनेको आलोचना नगर्नु | बा-आमाबाट शरीर बन्छ | गुरूले ज्ञान दिन्छन् | डक्टरले जीवन दिन्छन् | यी संग विनम्र हुनु | थोरै गाली सहनु | छोराछोरी आफ्नै
शरीर हुन् | बालबालिका न कुट्नु | स्वास्नी नकुट्नु | केटाकेटी परिवारका ऐना हुन् | स्वास्नी तिम्रो आधा जिउ हुन् | भोकै बसेर पनि केटाकेटी पढाउनु | पढेकालाई संसार सजिलो हुन्छ | छोराछोरीमा समान व्यबहार गर्नु | उपदेश दिनु | उपदेशको कुरा
गरेर देखाउनु | नसक्ने कुरा नभन्नु | सक्ने कुरा नरोक्नु | पितृको सम्मान गर्नु | सासु-ससुरा पनि आमावा नै हुन् | सम्मान गर्नु | दु:ख सुखमा साथ
दिनु | तिनीबाट धेरै आश नगर्नु |
राजनीति बुझ्न गीता पढ्नु | रामायण पढ्नु | देश-विदेशका कुरा सुन्नु | रेडियो चाहिने बस्तु हो | सके भलो गर्नु | कुभलो कसैको नगर्नु | आफ्नो पनि कुभलो नगर्नु | आफु विग्रिए सबै विग्रन्छ | आफु सुध्रिए संसार सुध्रिन्छ | समयमा उठ्नु | समयमा सुत्नु | सुत्केरीलाई पहिला ख्वाउनु | केटाकेटीलाई पहिला ख्वाउनु | पाहुनालाई बस्न दिनु | सकेको खान दिनु | रोगीलाई माया गर्नु | रिसायो भनेर नझर्किनु | रोग सबैलाई लाग्न सक्छ | वृद्धावस्था सबैको हुन्छ | सबैले मर्नु पर्छ | तेसैले मात्नु हुँदैन | विनम्रता मान्छेको गहना हो | यसका लागि धन चाहिन्न | मिठो बोली तिमीसंग छ | त्यो प्रयोग गर | एक मूठी पानीले स्वागत गर | बस्न गुन्द्री देऊ | काम्लो छैन भने पीर नगर | मान्नेलाइ गोडामा ढोग | मान्यजनले दिने आशिर्वाद नै हो | आशिर्वादमा तिम्रो अधिकार छ | झुकेर सानो भइन्न | श्रीकृष्णले खुट्टा धोएका थिए | रामले जूठो खाएका थिए | झुक्नेहरूले मान पाउँछन् | लिङ्गोको मान हुँदैन |
मातापिता | गुरू | आचार्य | साधु-सन्त | आफु भन्दा बढी आयु भएका | अनुभव वृद्ध | विद्यावान् | गाई | ब्राह्मण | सबैलाई ढोग गर्नुपर्छ | यस ले आयु बढ्छ | विद्या खरिन्छ | नाम चल्ल्छ | समाजले मान्छ | मातापितालाई हेला गर्नु महापाप हो | छोरी/बुहारी हेला गर्नु महापाप हो | पत्नी कुट्नु र हेला गर्नु त्यो भन्दा ठूलो पाप हो | हेलाँ गर्नेलाई नर्कमा ठाउँ हुँदैन | समाजले दण्डित गर्नुपर्छ | स्वास्नी कुट्नेलाई वहिष्कार गर्नुपर्छ | केटाकेटी न पढाउनेलाई वहिष्कार गर्नुपर्छ | काशी गएर भए पनि | पशुपति गएर भए पनि | विद्वानलाई गाउँमा राख्नु पर्छ | खर्च भर्नु पर्छ | सक्दो सुविधा दिनु पर्छ | शिक्षा सूचना हो | ज्ञान सूचनाहरूको सङ्ग्रह हो | विद्या सूचना र ज्ञानको व्यबहार हो | गुरूले यी सबै सिकाउनु पर्छ | धानको बीऊ जानेर हुँदैन | व्याड राख्ने | खेत जोत्ने | खेत रोप्ने | पानी लगाउने ? धान काट्ने | दाही गर्ने | धान भकारीमा राख्ने | मूसाबाट जोगाउने | सबै कुरा सिकाउनु पर्छ | सिकाउनु शिक्षा हो | शिक्षाको जानकारी ज्ञान हो | व्यबहारमा प्रयोग गर्नु विद्या हो |
असल बन्नु पर्छ | सबैले यसै भन्छन् | सबैले असल चाहन्छन् | खराव कसैले चाहन्नन् | सबैको लक्ष असल बन्नु हुन्छ | कमसल किन बन्नु हुँदैन ? किन नराम्रो बन्नु हुँदैन ? राम्रो भनेको के हो ? नराम्रो भनेको के हो ? मान्छे असल हुन के गर्नु पर्छ ? के नगर्ने धार्मिक हुन्छन् ? कुन काम असल हो ? कुन काम खराव हो ? असल बनेर के हुन्छ ? सदाचारलाई कसरी नाप्ने ? नाप्ने प्रक्रिया के हुन् ? यो सबै मान्छेले जान्नुपर्छ | तर कसरी ?
केही असलकर्म सबैका लागि हुन्छन् | केही धेरैजसो -आ-आफ्ना लागि हुन्छन् | म धार्मिक छु | त्यसले म असल छु | धर्म कसैले बनाएको होइन | धर्म ईश्वरको रचना हो | जो धर्मअनुसार चल्छ, त्यो धार्मिक हो | जो शास्त्रअनुसार चल्छ, त्यो धार्मिक हुन्छ | मनुले दशबटा धर्मका लक्षण बताए | धृति: असल कुरा स्वीकार्नु | क्षमा: अभयदान दिनु | दम: खराव चाहना दवाउनु | अस्तेय: चोरी नगर्नु | शौच : पवित्र रहनु | इन्द्रिय निग्रह: इन्द्रियहरूलाई नियन्त्रणमा राख्नु | धी: श्रेयको चिन्तन गर्नु | विद्या: ज्ञानको व्याबहारिक उपयोग गर्नु | सत्य: सधैं साँचो व्यबहार गर्नु | अकोध: नरिसाउनु | गीताले २६ बटा धर्म बताएको छ | यी सबैका लागि हुन् | विश्वको जुनसुकै मानिसका लागि हुन् | यी कर्म गर्ने धार्मिक हुन्छन् |
पानीको धर्म चिसो हुनु हो | आगोको धर्म पोल्नु हो | पृथ्वीको धर्म गन्ध हो | मान्छेको धर्म चिन्तन-मनन हो | मान्छेको धर्म अहिंसा हो | मान्छेको धर्म परोपकार हो | मान्छेको धर्म न्याय हो | मान्छेको धर्म उसको विवेक हो | मान्छेको धर्म मातापिताको सेवा गर्नु हो | मान्छेको धर्म आफ्ना पुर्खाको सम्मान गर्नु हो | मान्छेको धर्म दिनु हो | मान्छेको धर्म मिलेर वस्नु हो | मान्छेको धर्म सही आहार हो | मान्छेको धर्म सही यौनचार हो | मान्छेको धर्म उचित कर्म हो | धर्म केवल मान्छेको लागि हो | पशुको कुनै धर्म हुँदैन | नैतिकता धर्म हो | सदाचार धर्म हो | धार्मिक हुनु सदाचारी हुनु हो | अन्यायी धार्मिक हुँदैन | अर्कालाई दुख दिने धार्मिक हुँदैन | अरूको खेदो खन्ने धार्मिक हुँदैन | धार्मिक मान्छे अन्यायी हुने सक्दैन | धार्मिक व्यक्ति निन्दक हुनै सक्दैन |
करले धर्म हुँदैन | लोभले धार्मिक बन्न सकिन्न | दया, माया, करूणा धर्म हुन् | वेद धर्म हुन् | उपनिषद् धर्म हुन् | पुराण धर्म हुन् | रितिरिवाजहरू धर्म हुन् | रितिरिवाज सबैका लागि धर्म हुन्नन् | रितिरिवाज धर्म विरुद्ध पनि हुन्छन् | अहिंसक, न्यायपूर्ण रितिरिवाज धर्म हुन् | हिंसक, अन्यायी रितिरिवाज अधर्म हुन् | संस्कृति स्थानीय हुन्छन् | केही बाध्यकारी हुन्छन् | केही स्वेच्छिक हुन्छन् | मेरो लागि वेदको आदेश धर्म हो | मेरो लागि वैदिक कर्म धर्म हुन् | अर्काका लागि न हुन सक्छन् | आचार्य सबैको लागि पूज्य हुन्छन् | मातापिता सबैको लागि पूज्य हुन्छन् | अतिथि सबैका लागि मान्य हुन्छन् |
अन्याय गर्ने
मान्छे असल हुँदैन | झुटो व्यबहार गर्ने मान्छे असल
हुँदैन | हिंसा गर्ने मान्छे असल हुँदैन | असल कुरा अस्वीकार गर्ने असल हुँदैन | क्षमा गर्न नसक्ने मान्छे असल हुँदैन | चोरी गर्ने मान्छे असल हुँदैन | भ्रष्ट्राचार गर्ने असल हुँदैन | विवेकहीन मान्छे असल हुँदैन | रिसाहा असल हुँदैन | शिक्षाप्रति उदासिं असल हुँदैन | स्वेच्छिक मान्छे असल हुँदैन | कानुन नमान्ने व्यक्ति असल हुँदैन | सामाजिक नियम नमान्ने मान्छे असल हुँदैन | आफ्नो कल्याण नजान्ने मान्छे असल हुँदैन | विवाहेतर सम्बन्ध राख्ने असल हुँदैन | कुनै पनि मान्छे खराव हुँदैन | कर्मले असल र खराव बन्छ | स्वार्थ सबैमा हुन्छ | अतिस्वार्थी असल हुँदैन | अतिलोभी असल हुँदैन | सत्वगुणी असल हुन्छ | रजोगुणी ठीकै हुन्छ | तमोगुणी खराव हुन्छ | शास्त्रअनुसार चल्ने असल हुन्छन् | स्वच्छन्द चल्ने कमसल हुन्छन् |
मलाई सबले पणित भन्छन् | बाच्छाटे | विहादेली पनि भन्छन् | प्रजापति पण्डित पनि भन्छन् | मेरो थर पराजुली हो | उपाध्याय भन्ने चलन छ | | गोत्र कैाडिण्य हो | त्रिप्रवर हो - कैाडिण्य, वाशिष्ठ, मैत्रावरुणी | धेरैले यो कुरा जान्दैनन् | भन्नुपर्छ | पण्डित हुन् सजिलो छैन | मैले पढ्न कष्ट गरें | धेरै ठाउँ गए | धेरैको सङ्गत गरें | कर्मकाण्ड पढें | व्याकरण पढें | अलिकति ज्योतिष पढें | सोमनाथ गुरुकोमा तीन वर्ष बसें | त्यसपछि सेतिवेनी आएँ | कुर्घाका गुरू भेटें | दीक्षा लिएँ | उहाँ नरहरी गुरु हुनुहुथ्यो | उहाँसंग भागवत पढें | साह्रै चित्त बुझ्यो | सिद्धान्त कौमुदी नि पढें | अनि, वैष्णव भएँ | भगवान् निम्बार्कको शरण परें | राधाकृष्णको शरण परें | बा पनि निम्बार्की हुनुहुन्थ्यो | समाजले राम्रो मानेन | गाउँलेले राम्रो मानेनन् | तर घृणा पनि गरेनन् | अनि, घर फर्कें | वुवाआमा दुवै बित्नुभयो | भाई विदेश पस्यो | दिदी घर गइन् | म एक्लो भएँ | आम्बारीमा स्कूल खुल्यो | संस्कृत पढेकाकले पाइन |
गुरु आउनु भयो | "तैले घरमा पढ़ा" भन्नुभयो | अनि, मैले घरमा विद्यार्थी पढाउन थालें | पहिले गाउँका दाजुभाई नै विद्यार्थी भए | अनि, बटुकहरू बढ्दै गए | घर नै सानो गुरुकुल बन्यो | गुल्मी, स्याङ्गजा, बाग्लुंग, कास्कीका बटुक आए | चण्डी | कौमुदी | रुद्री | अग्निस्थापना | अनि ठूलाले भागवत पढ्छन् | ३०-४० जना निरन्तर छन् | घरमा सुत्ने ठाउँ भएन | थारा (गोठ)मा सुत्न थाले | मैले पाठ दिन्छु | सानाले ठूलासंग पढ्छन् | ठूलाले मसंग पाठ लिन्छन् | सबैको परीक्षा लिन्छु | उच्चारण | शुद्धाशुद्धी मैले मिलाउछु | पुस्तकको समस्या छ | दिउसो ठूलाले लेख्छन् | नेपाली कागत महँगो छ | बनारस जानेले किताव ल्याइदिन्छन् | तिनले पुग्दैन |
मेरी बाहुनी सानी छन् | उनलाई बडो कष्ट छ | धेरै काम गर्नु पर्छ | आफ्ना केटाकेटी | स-साना बटुक | सबैको हेर विचार गर्नुपर्छ | गोठ हेर्नुपर्छ | दाउरा बटुकले खोज्छन् | खेतीपातीमा सघाउँछन् | तैपनि कस्ट छ | म सप्ताहमा जान्छु | पुराण भन्छु | यसले बटुकलाई सजिलो हुन्छ | आफ्नो घरव्यबहारको कुरा गर्दिन | घरघर जस्तो छैन | पाठशाला जस्तो छ | बाहुनी रिसाउँछिन् | धेरै काम हुन्छ | सुत्ने ठाउँ पनि हुँदैन | जाडोमा धेरै गार्हो हुन्छ |
ठूलाले सानालाई पढाउछन् | ती बीच झगडा पर्छ | घोकेर सुनाउन प्रतियोगिता चल्छ | केही छिटो बुझ्ने छन् | केही ढीलो बुझ्ने छन् | कहिलेकाहीं रीस उठ्छ | हातले हान्छु | मनमा दया लाग्छ | कसैलाई पिट्नु हुन्न | घर छोडेर आएका छन् | पढ्न आएका हुन् | पिटाइ खान होइन | यी सबै देउता हुन् | कहिलेकाहीं देउतासंग पनि रीस उठ्छ | विहान सबैले बेद पढ्छन् | चण्डी पाठ गर्छन् | कौमुदी घोक्छन् | रघुवंश घोक्छन् | सुनेर आनन्द आउँछ | यहीं स्वर्ग हो जस्तो लाग्छ | कष्टहरू विर्सिन्छन् |
ठूला बटुकहरू विहानै उठ्छन् | सानाहरू अलि ढीलो उठ्छन् | केटाकेटीलाई सुत्न दिनुपर्छ | अनि, तिनको दिमागले टिप्छ | त्रिसंध्या सबैले गर्नुपर्छ | ठूलाले बाहुनीलाई सघाउँछन् | घाँस काट्न | गाइ दुहुन | साना त सानै भए | तिनको सबै काम गर्नुपर्छ | सावल आफै ल्याउँछन् | केहीका बाले ल्याउँछन् | ठूलाले आफै पकाउँछन् | सानोको पनि मिसाई दिन्छन् | सानाले भाँडा माज्छन् | कुनैकुनै बदमास छन् | तिनले धेरै खान्छन् | सानालाई थोरै दिन्छन् | घरको न्यास्रो लाग्ने रहेछ | बाहुनीलाई आमा भन्छन् | हाम्रो ठूलो केटो (झगडा गर्छ | पांच वर्षको भयो | चण्डी र रुद्री पढ्छ | भर्खर अक्षर चिनाउँदै छु | स्मरण शक्ति विलक्षण छ | दूईपटक सुनेपछि हुन्छ | यो ठूलो पण्डित बन्छ |
ईश्वर विश्वास हो | संसार भोग हो | दूवै सत्य छन् | आत्मालाई शरीर चाहिन्छ | काम छ | क्रोध छ | लोभ छ | मोह छ | ममता छ | राम्रो छ | नराम्रो छ | तर सबै मान्छेलाई छ | पशुलाई मतलव छैन | पक्षीलाई मतलव छैन | आत्मा अमर छ | शरीर मर्त्य छ | परिवर्तन रोक्न सकिन्न | सबै परिवर्तन हुन्छ | पुराना जान्छन् | नयाँ आउँछन् | केही स्थायी छैन | परिवर्तन विनाश होइन | मेरो शरीर, मेरो सत्य हो | यो पनि रहन्न | म ऋषि होइन | मसंग विश्वास छ | स्वर्गको विश्वास छ | नर्कको विश्वास छ | पापपुण्यको विश्वास छ | कर्मफलको विश्वास छ | संस्कारको विश्वास छ | विश्वास नै मेरो अस्तित्व हो | शास्त्रहरू पनि विश्वास नै हुन् | मेरो विश्वास शास्त्रमा छ | मेरो अस्तित्व तिनैले बनेको हो | शास्त्र मेरा आँखा हुन् | मेरो लागि संसार छ | संसार परिवर्तनशील छ | असत्य होइन | जीव छ | काल छ | ब्रह्म छ | ब्रह्मको अंशका रूपमा म छु | अहिले शरीरमा छु |
मेरो दायित्व छ | सबैको आ-आफ्नो दायित्व छ | मेरी बाहुनी छन् | मेरा छोराछोरी छन् | मेरा बटुक छन् | मेरा छिकेमी छन् | मेरा गुरुजन छन् | यी सबै असत्य होइनन् | यीप्रति मेरो दायित्व छ | दायित्वबाट भाग्नु हुँदैन | गृहस्थ हुनु गौरव हो | तर निर्लिप्त उचित होइन | लिप्त हुँदा दु:ख मिल्छ | माया गर्नेले माया पाउँछ | घृणा गर्नेले घृणा पाउँछ | जीवन दिनेले जीवन पाउँछ | जीवन लिनेले जीवन गुमाउँछ | तेसैले सहज हुनु | सरल हुनु | सत्य बोल्ने र सोच्ने हुनु | जीवन पछुतो होइन | जीवन पापको फल होइन | जीवन वरदान हो | आफ्नो | अरुको | जीवनको रक्षा गर्नुपर्छ | पशुपक्षीको पनि जीवन हो | तिनलाई पनि जीवनको माया छ |
सन्तोष गर्नुपर्छ | कर्महीन हुनुहुँदैन | उद्योगीले संसार जित्छ | सबै बाहुन हुँदैनन् | सबै सैनिक हुँदैनन् | सबै व्यापारी हुँदैनन् | सबै जागिरे हुँदैनन् | सबैको रुचि फरक हुन्छ | मलाई वेदपाठ मन पर्छ | मदनलाई व्यापार मन पर्छ | रघुलाई जागिर मन पर्छ | बाबु कर्नेल बन्छु भन्छ | आफ्नो रुचिको काम गर्नुपर्छ | राम्रो काम गर्नुपर्छ | कंसको नाम छ | रावणको नाम छ | तर सबैले कृष्णको नाम लिन्छन् | रामको नाम लिन्छन् | शिवको नाम लिन्छन् | दुर्गाको नाम लिन्छन् | दुर्नाम नर्क हो | सुनाम स्वर्ग हो | असल गर | कसैले देख्नु पर्दैन | स्यावास भन्नु पर्दैन | ईश्वरले देखेको छ | तिमीले बुझेका छौँ |
ज्ञान | चिन्तन | चयन | यी मान्छेका स्वभाव हुन् | भाव मान्छेको गति हो | जिज्ञासा मान्छेको गति हो | मान्छे सधैं विद्यार्थी हुन्छ | सधैं सिक्न सक्छ | अनुभव र पढाई | यी दुई सिक्ने बटा हुन् | ज्ञान सिकाई हो | ज्ञान अनुभव हो | मैले सबै थोक जान्दिन | मैले कौमुदी जानेको छु | चण्डी जानेको छु | भागवत जानेको छु | संस्कृत जानेको छु | नेपाली जानेको छु | तर असंख्य मैले जानेको छैन | मैले देखेको छैन | मैले खाएको छैन | मैले छोएको छैन | मैले सुगन्ध लिएको छैन | तेस्ता धेरै वस्तु छन् | मैले विमान चढेको छैन | उडेको देख्दा अचम्म लाग्छ | मान्छेले बनाएको भन्दा अचम्म लाग्छ | मैले ऋषिलाई देखेको छैन | पढेको छु | विश्वास गरेको छु | मैले इतिहास देखेको छैन | पढेको छु | मैले राजनीति गरेको छैन | भोट दिएको छु | मैले नदेखे पनि | मैले नगए पनि | मैले नजाने पनि | वस्तुको अस्तित्व रहन्छ | प्रत्यक्ष | अनुमान | उपमान | शब्द | शब्दापत्ती रहन्छन् | जिज्ञासुले पाउछन् | जिज्ञासुले ज्ञान प्राप्त गर्छन् | जिज्ञासा गर्दा निडर हुनुपर्छ |
इतिहासबाट सिक्ने हो | बूढापुरानाबाट जान्ने हो | पुराना सबै ठीक हुँदैनन् | नयाँ सबै खराव हुँदैनन् | विज्ञानका कुरा सिक्नुपर्छ | विज्ञानका कुरा सुन्नुपर्छ | आफ्नो जानकारी ठीकठीक राख्नुपर्छ | संसारमा धेरै वाद छन् | अध्यात्मवाद र भौतिकवाद | दूवै पूरक हुन् | झगडा बनावटी हो | क्षेत्र फरक हुन् | बहस स्वभाविक हो | भौतिकवादी मन्दिर जान हुन्छ | अध्यात्मवादीले औषधि खानुपर्छ | व्यबहार भौतिकवाद हो | चिन्तन अध्यात्मवाद हो | ईश्वरका नाममा खराव गर्नु हुन्न |विज्ञानका नाममा क्रूर हुनुहुँदैन | रक्सी खाँदैमा आधुनिक भइन्न | टीका लाउँदैमा धार्मिक भइन्न | तुलसीले पाप रोक्दैन | आवरणले निर्णय दिन्न | धर्म र विज्ञान पुरक हुन् | खेत रोप्नु विज्ञान हो | गरिवलाई दिनु धर्म हो | भात पकाउनु विज्ञान हो | बटुकलाई दिनु धर्म हो | दूवै संगै हिड्नुपर्छ |
असल आचरण गर्नु | जडतामा न बाँधिनु | धार्मिकता अन्धविश्वास होइन | नग्नता आधुनिकता होइन | हरेक मान्छे नाङ्गो नै छ | प्रदर्शन गर्नु पर्दैन | विज्ञान स्वच्छन्दता होइन | विज्ञान अग्रगमन हो | अगाडी बढ्नु विज्ञान हो | अस्तित्व खोज्नु धर्म हो | मान्छे विज्ञानमा बाँच्दैन | मान्छे विज्ञानबाट सुखी हुन्छ | विज्ञान पालक हो | विज्ञान विनाशक पनि हो | विज्ञान बुद्धिले चल्छ | धर्म श्रद्धाले चल्छ | विवेकहीन धार्मिक हुँदैन | मेरो जीवन मेरो लागि हो | तिम्रो लागि पनि हो | तिम्रो जीवन मेरो लागि हो | मेरो जीवन तिम्रो लागि हो | संसार एक्लै चल्दैन | तर तिमीले एक्लै चल्नुपर्छ | एक्लै भोग्नु पर्छ | एक्लै सहनु पर्छ | एक्लै जान्नुपर्छ | ध्यान गर | गायत्री जप | एकाग्रताको अभ्यास गर | रीस कम हुन्छ | राग कम हुन्छ | काम कम हुन्छ | मोह कम हुन्छ | मनमा शान्ति प्राप्त हुन्छ | शान्ति | सन्तोष | आनन्द | सबैले चाहन्छन् | असल कर्म गरेर आनन्द प्राप्त गर | कमसल कर्म गरेर सुख नखोज |
समय अनन्त छ | मान्छे समयको फोका हो | अधिकतम १०० वर्षको | तेसैले जीवन असल हुनुपर्छ | जीवन सदुपयोग हुनुपर्छ | वेद पढ्नु | उपनिषद् पढ्नु | गीता पढ्नु | पुराणहरू पढ्नु | साहित्य पढ्नु | व्याकरण पढ्नु | छन्द पढ्नु | ज्योतिष पढ्नु | प्राचीन ज्ञान जान्नु | आधुनिक विज्ञान पढ्नु | भौतिक विज्ञान पढ्नु | सबैमा विज्ञान छ | विद्वान नम्र हुन्छन् | अहङ्कार रहित हुन्छन् | सहयोगी हुन्छन् | समालोचक हुन्छन् | समयसंग हिड्नु | समयसंग हिड्न नसक्ने छोडिन्छन् | जिद्दी नहुनु | विवेकले काम लिनु | बैज्ञानिकले मन्दिर जान हुन्छ | बाआमाको श्राद्ध गर्न हुन्छ | जनै लाउन हुन्छ | बैज्ञानिक अमर हुँदैनन् | धार्मिक पनि अमर हुँदैनन् | कर्मक्षेत्र फरक हुन् | अन्तिम सत्यसम्म पुग्नुपर्छ | त्यो के हो थाहा छैन | ईश्वर आराधना नछोड्नु | गायत्री जप्नु | यो हाम्रो शक्ति हो | शक्तिहीन मुर्दार हुन्छन् |
आधुनिक विज्ञान पढेको छैन | प्रयोगकर्ता हुँ | औषधि खान्छु | किताव पढ्छु | नयाँ पुस्ताहरूलाई सजिलो छ | किताव सजिलै पाइन्छन् | लोक्ताको कागज बनाउन परेन | सीमिका पात | कटुसका पात | कालीमाटी | रातभारी पकाएर | मसी बनाउनु परेन | मट्टीतेलको टुकी छ | दियालो बाल्नु परेको छैन | विज्ञानले धेरै सलिजो बनाएको छ | भविष्यमा अझैं सजिलो हुनेछ | गाउँगाउँमा विद्यालय खुल्ने छन् | सामल बोकेर हिड्नु पर्ने छैन | केटाकेटीलाई टाढा पठाउनु पर्ने छैन | केटाकेटी न्यास्रो मान्छन् | बाबुराम धुरू रुन्छ | आमाआमा भन्छ | बाहुनीको मायाले टिकाएको छ |
पढे पनि राम्ररी पढ्नु पर्छ | पढेको
कुरा काम लाग्नु पर्छ |
व्यबहारमा | परलोकमा
| आइमाईले
झन् पढ्नुपर्छ |
केटीले झन् पढ्नुपर्छ | आमा
पहिलो पाठशाला हुन् |
केटीलाई स्कूल पठाउनु पर्छ | नसके
घरमा पढाउनु पर्छ |
छोरो र छोरी एकै हुन् | आइमाईलाई
धेरै दु:ख छ |
विहानदेखि रातिसम्म खट्नुपर्छ | लोग्नेले
सघाउनु पर्छ |
पन्छिएको बेलामा | सुत्केरी
भएको वेलामा |
नसकेको बेलामा | लोग्ने
अगाडी सर्नुपर्छ |
मेरो बाहुनीको दुख कम छैन | आफ्ना
केटाकेटी |
बटुक | डिहा
| खेतीपाती
| त्यैपनि
बोल्दिनन् |
मैले डाले घाँस झार्न मदत गर्छु | पातालको
पानी ल्याउनु पर्छ |
ठूला बटुकहरूलाई अह्राउँछु | परशुराम
सार्है गरीव छन् |
मेहनती छन् | राम्ररी
पढ्छन् |
यस्तालाई दिनु पर्छ | सकेको
काम पनि लगाउनु पर्छ |
यिनले भविष्यमा सम्झिन्छन् | आफ्नालाई
भन्दा बढी गर्छन् |
ज्ञान आत्माका लागि हो | विज्ञान संसारका लागि हो | दूवै कुरा जानेको राम्रो | जान्नु पर्छ | मात्नु हुन्न | मास्टरले रक्सी खान हुँदैन | चुरोट खानु हुँदैन | गालीगलौज गर्नु हुँदैन |पिट्नु हुँदैन | बालबालिकाले त्यही सिक्छन् | समाजमा वेथिति आउँछ | उनीहरूले गौरव गर्नुपर्छ | पण्डितले पनि गौरव गर्नुपर्छ | पण्डितले धर्म छोड्नु हुँदैन | विहानै उठ्ने | स्नान गर्ने | सन्ध्या गर्ने | वेदपाठ गर्ने | पाठपूजा गराउने | एकै दिनमा दूईठाउँबाट दक्षिणा लिनु हुन्न | यो पाप हो | दक्षिणा माग्नु हुन्न | यो पनि पाप हो | दिएको कुरालाई अपमान गर्नु हुन्न | अन्न अमृत हो | धार्मिक बन्नु पर्छ | धर्म आत्मा र आचरणको कुरा हो | देखाउनुहरू धार्मिक हुँदैनन् | आचरण आफ्ना लागि हो | मैले आचरण सिकाएको छु | मैले सदाचार सिकाएको छु | यी बटुकहरू सन्तान हुन् | यिनले पुण्य गरे पुण्य मिल्छ | पाप गरे मैले पाप भोग्नु पर्छ | कालिगण्डकी मेरो विश्रामस्थल हुन् | शालग्रामको सिरानी हुन् | धर्म र अधर्म अन्तिम सत्य हुन् | सधैं ईश्वर सम्झनु | मृत्यु सत्य हो | त्यसपछिको विश्वास हो | त्यो विश्वासका लागि असल कर्म गर्नुपर्छ | सबैको कल्याण होस् | विश्वको भलो होस् | सबैले सन्तोष प्राप्त गरूँन् | सबै सुखी होउन् | सबै पूर्ण होउन | बरू, सबैको कष्ट मैले बोक्न परोस् || ॐ ||
कपिराइट
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ , धनका स्वामी तिमी , सबैका तिमी प्रिय छौं , सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वे...
-
वेदले भन्छ : धर्म ईश्वरले बनाएका हुन् | मान्छेले धर्म बनाउन सक्दैन | मान्छेले पानी बनाउन सक्दैन | पानीको चीसोपन पनि बनाउन सक्दैन | धर्मको ...