Monday, September 4, 2017

गौरवशाली देशको आत्मघाती शिक्षानीति !


देशले धर्मनिरपेक्षता अंगाल्यो भन्दैमा पाठ्यपुस्तकहरूबाट नेपालका मौलिक धर्म, संस्कृति तथा मूल्यहरू निकालेर फ्याक्नु पर्छ र ? यदि एस्तो हो भने पशुपतिनाथ, बौद्धनाथ, मुक्तिनाथ, बडीमालिका, बूढा सुब्बा, नेपालका जातजातिहरू मिल्क्याए भै हाल्यो नि !

नेपाली राजनैतिक वृत्तमा एउटा हीनताबोधले काम गरेको छ जसमा हिन्दूहरूको नाम राख्दा नै "धर्मनिरपेक्षता"मा प्रहार हुन्छ भन्ने | यो सोच राजनीतिमा धेरै सुझबुझ पूर्वक १९५० देखि नै घुसाउन आरम्भ गरिएको हो |

एस्तो हीनताबोधको राजनैतिक प्रभाव क्रमशः विश्वविद्यालयहरूमा पर्न थालेपछि नेपाली शिक्षाक्षेत्र निकै निर्वल भएको छ | मैले उठान गर्न खोजेको कुरा भाषाको होइन | अंग्रेजी पनि एउटा विश्वभाषा हो यसमा विज्ञता प्राप्त गर्नु राम्रो कुरा हो तर आफ्नो भाषाको बलि दिएर "विदेशी" भाषाको लागि मरिमेट्नेहरूका लागि कुन शब्द प्रयोग गरौँ ?

हिजोमात्र एमालेका सहसचिव श्रीघनश्याम भुषालले दशलाख नेपालीलाई "मार्क्सवाद" पढाउने निर्णय गरेका छन् | दुई सय वर्ष पहिला जर्मनमा जन्मेका मार्क्सको "द्वन्दात्मक भौतिकवाद" पढाएर नेपाली जनताले के पाउने छन् ? उनीसंग जवाफ होला तर मार्क्सवादको यो सुगा-रटाईबाट देशको कस्तो विकास हुनेछ ? जनताले जवाफ त खोज्नैपर्छ |

कार्लमार्क्स धर्म विरोधी थिए कि धर्मनिरपेक्षवादी ? श्री घनश्याम भुषालहरूले स्पट जवाफ नदेलान् तर नेपालका लागि धर्मनिरपेक्षताको परिभाषा कस्तो छ भने उनले नवनिर्मित नेपालको संविधान पढेकै हुनुपर्छ र शिक्षालाई "धर्मनिरपेक्षता"को कवच पहिराउन आतुर विद्याजिवीहरूले पनि पढ्नैपर्छ |

अरू धार्मिक समुदायका विषयमा जानकारी दिनु राम्रो हो, दिनुपर्छ तर आफ्नो जरोकिलो नै मेटेर सधैं अरूको गुणगान गाउँदा "पढाई भने कै "एबीसिडी" हुन्छ, एकसय भनेको हन्ड्रेड हुन्छ भन्ने जनसंख्या बढ्छ | एविसिड़ी बलियो हुन्छ कखरा मर्छ |

देशले धेरै नाम चलेका शिक्षाविज्ञहरू उत्पादन गरेको छ | उहाहरूले थुप्रै विश्वविद्यालय र संस्थानहरूमा नेतृत्व गर्नु भएको छ | नेतृत्वमा हुँदा जुम्रा नमार्ने तर नेतृत्वबाट बाहिरिंदा साथ "स्वदेशी शिक्षाका विषयमा लामालामा लेख लेख्ने भाषण दिनेहरूप्रति मनमा कुनै प्रकारको सम्मान रहँदैन | सत्तामा बस्दा सत्तावालको चाकरी गर्ने "विद्वानहरूले" नै शिक्षामा विदेशीहरूलाई हालीमुहाली गर्न छूट दिएको जिम्मेवारी लिनुपर्छ |

मैले नेपाली शिक्षाका १ देखि १२ कक्षाका कितावहरू ल्याएर "नेपालीपन" खोज्ने प्रयन्त गरें | मैले संसारका धेरै कितावहरू (पाठ्य पुस्तकहरू) हेरेको छु तर नेपाली पाठ्यपुस्तकमा नेपाली विज्ञहरू जतिधेरै धर्मनिरपेक्षताका सवालमा थिचिएका छन् त्यस्तो त सन् ७८६ मा मुहम्मद गजनीले सोमनाथमा आक्रमण गरेर त्यहाँको मन्दिर तहसनहस गर्दा पनि दवेका थिएनन् होला !

विश्वमा नेपालमात्र एस्तो देश हो जसका आफ्ना परम्पराहरू जीवन्त छन् | मान्छेहरू धर्मप्राण छन् | विश्वका मान्छेहरूले नेपाललाई "मानवइतिहासको जीवन्त संग्रहालय" भनेर ब्याख्या गर्छन् र मौलिकता नेपालीको जस्तो हुनुपर्छ भनेर उदाहरण दिन्छन् तर यसै देशको नेतृत्वले आफ्नो व्यक्तिगत लाभका लागि सजिलैसंग विदेशीहरूलाई हस्तक्षेप गर्न निमन्त्रित गर्छन् |

एस्तो दोष केवल राजनैतिक नेतृत्वको टाउकोमा हाल्न मिल्दैन | यसका लागि ब्युरोकेट्स, देश विदेशका विश्वविद्यालयहरूमा अध्ययन गरेका र "पहुँचवाला" गुरूहरू तथा सधैं गरिवी, अशिक्षा तथा वेथितिको रिपोर्ट दिएर सहयोग प्राप्त गर्ने "समाजसेवी" पनि उत्तिकै जिम्मेदार छन् |

संचारले विश्व साँघुरिएको बेला उपरोक्त पात्रहरूले गरेका धुर्त्याई सधैं लुक्नेछन् भन्नु गलत हो | पोलिसी लेभलमा गरिएका "सांस्कृतिक तथा राजनैतिक आत्महत्या"का निर्णयहरूले निर्माण भएको नेपालको बर्तमान खाडीका देशहरूमा वा विदेशीहरूका लागि "कामदार" बनेको छ | शिक्षामन्त्रालयको काम "कामदार" उत्पादन गर्ने वाहेक रहेन |

सबै गुरू वा राजनैतिक नेतृत्वले गद्दारी गरेका छैनन् तर आफ्नो देशको भन्दा "विदेशी"हरूको विज्ञतामा विश्वास गर्ने नेतृत्वका कारण देशले आफ्नोपन गुमाउँदै गएको छ | मैले कुनै व्यक्ति वा धार्मिक समुहलाई दोषी ठान्दिन | चलखेल गर्न निमन्त्रण दिएपछि खेल्नेहरूले खेल्ने नै भए | यहीं हाम्रो नेतृत्व लाचारछ, पंगुछ र विश्वासघाती छ |

सानोतहको राजनैतिक नेता होस् वा लोकल लेभलमा काम गर्ने समाजसेवी वा शिक्षक नै किन नहुन्, उनीहरूले देशलाई दीर्घकालीन प्रभाव पार्ने गरी निर्णय र काम गर्न सक्दैनन् | देशको जरोकिलो मास्ने कामका अगुवाहरू केन्द्रीयतहमा निर्णय गर्नेहरू नै हुन्छन् | शिक्षाविभागमा सधैं हुने विभिन्न शैक्षिक निर्णयहरूमा "गोरे" विज्ञ तथा गोरेहरूले भाडामा लिएका "नेपाली विज्ञ"हरूको नेपालीहरूको आस्था र विश्वास मास्ने निर्णयहरूले नेपालीहरूको सांस्कृतिक जड काट्ने काम भएको छ, हुँदैछ |

नेपाल नेपालीहरूको साझा देश हो, विदेशीहरूको होइन | यदि अहिलेका राजनैतिक निर्णयहरू र निर्णायकहरूका विषयमा विचार गर्ने हो भने नेपाल विदेशीहरूको साझा बनेको छ | हालै देशका पूर्वप्रधानमन्त्री तथा जेएनयुका पूर्वविद्यार्थीले एउटा मंचबाट घोषणा गरे "देशबाट खसआर्यको वर्चस्व हटाउनुपर्छ" - ८२% जनसंख्याको बर्चश्व एउटा नेपालीले कसरी समाप्त पर्न सक्छ ? यसको जवाफ पनि उनले दिनुपर्छ | वास्तविकता के हो भने मुख श्री बाबुराम भट्टराईको हो एजेन्डा विदेशीहरूको हो |

नेपालमा १२३ बटा जातजातिहरू छन्, १२७ बटा भाषाहरू छन् | यी मध्ये कुनै पनि धेरै वा थोरै महत्वपूर्ण छैनन् | आफ्नो भाषा-संस्कृतिका विषयमा बोल्ने, छलफल गर्ने त्यसको विकासको लागि सशक्त लाग्नेहरूप्रति सम्मान व्यक्त गर्नुपर्छ | तर यसो गरिरहँदा "खसआर्य"को बर्चश्व हटाएर मात्र विकासको मूल फुट्छ भनेजस्ता "घृणावादी" चिन्तनको तिरस्कार हुनैपर्छ |

अहिलेको शिक्षानीतिको विकास "घृणावाद" विकासका लागि केन्द्रीत छ | पाकिस्तानमा कक्षामा विद्यार्थीहरूलाई "हिन्दूहरू हामी भन्दा फरक हुन् र ती असभ्य हुन्छन्, मूर्तिपूजक हुन्छन्" भनेर पढाएझैं नेपाली पाठ्यपुस्तकहरूले "आर्यहरू ककेसियाबाट आएका आक्रमणकारी हुन्" भनेर घृणावादलाई संस्थापन गरिएको छ | एस्तो घृणावाद पाठ्यपुस्तकमा समावेश गर्नेहरू विदेशीमन भएका नेपाली नगरिक नै हुन् |

अरूलाई दोष दिन सजिलो हुन्छ तर आफ्ना कार्यहरूको पुन:परीक्षण गर्न सजिलो हुँदैन | यो देशमा रेडिमेडको भूत चढेको छ | राजनैतिक नेतृत्व होस् वा शैक्षिक नेतृत्व सबै विदेशमा बनेको रेडिमेड संस्थापन गर्न उद्यत देखिन्छन् | आफ्नो इतिहासमा फैलिएर रहेका आफ्नै धरोहरतिर फर्केर तिनको अध्ययन गर्ने जाँगर यिनमा छैन | विज्ञान आयात गर्न सकिन्छ तर सामाजिक शास्त्र आयात गर्न सकिन्न भन्ने "छोटो" रहस्य पनि यिनले बुझ्न सकेको देखिन्न |

यदि यो देश नेपालीहरूको साझा हो भने बाबुरामहरूले बोलेझैं "खसआर्य" किन होइन | के ८२% जनसंख्या नेपाली होइनन् ? बाबुरामहरूले आज नभए भोली उत्तर त दिनैपर्छ | नेपाली शिक्षाबाट घृणावादी चिन्तन र आफ्नै इतिहासलाई गालीगलौज गर्ने अंशहरू हटाइन्न, तवसम्म नेपाल विदेशीहरूको प्ले-ग्राउण्ड रहिनै रहन्छ |

हामी महान छौं भन्दैमा कुनै महान हुँदैन | अहिले हामी नेपालीले गर्व गर्ने कुनै ठाउँ छैन | नेपाली हौँ भनेर विज्ञापन पनि गर्नु पर्दैन | हामी नेपाली नै हौँ | हामीले गर्व गर्न सक्ने र विदेशीहरूले पनि स्वीकार्ने एउटा नै विषय छ त्यो हो - हाम्रो इतिहास तथा जीवन्त परम्पराहरू | इतिहास बदल्न सकिन्न | कसैले चाहेर पनि बाग्मती नाम बदलेर थेम्स, कर्णालीको नाम बदलेर नाइल, गण्डकीको नाम परिवर्तन गरेर न्यू राइन राख्न सक्दैन |

धर्म, क्षेत्र, नाकका आधारमा घृणावाद फैलाउने ओरिजिनल आइडिया नेपालीहरूको मौलिकता हुनैसक्दैन | एस्तो मौलिकता एकेश्वरवादी चिन्तनको छत्रछायाबाट विकसित भएको हो | अर्कालाई नकार्ने शिक्षा केवल र केवल "एकेश्वरवादी"हरू कै देन हो भनेर नास्तिकतावादीहरूले पनि बोलेकै कुरा हो | कसैले माने पनि नमाने पनि घृणावादको स्रोत "एकदेवेश्वरवादी" चिन्तन नै हुन् |

आफ्नै भाषा बोल्दा दण्डनीय नियम बनाउने "अंग्रेजी स्कूल"हरूमा गर्व गर्ने विश्वको एकमात्र दुर्भाग्यशाली देश नेपालको शिक्षामन्त्रालय नोवेल पुरस्कार मिल्यो भने अचम्म मान्नु पर्दैन ! यतिमात्र होइन, आफ्नै संविधानमा आफ्नै इतिहासको आलोचना गर्ने कार्यका लागि पनि "संविधानका" लेखकहरूले "नोवेल-पुरस्कार"को मांग गर्नुपर्छजस्तो मलाई लाग्छ |

मैले शिक्षानीतिका कमजोरीहरू वारे चर्चा गरिरहेको अवस्थामा हाम्रै विद्वानहरू "विकल्प खै ?" भनेर सोध्न सक्नुहुन्छ | तर धेरैजसो विकल्प नै देख्दैनन् | यस्तो दृष्टिकोण निर्मित भएको छ | उनीहरूले भारतीय उपमहाद्वीपमा छब्बीससय वर्ष अस्तित्वमा रहेका विश्वविद्यालय र ती विश्वविद्यालयहरू विकसित गर्ने "गुरुकुल शिक्षा"का विषयमा सोच्न पनि सक्दैनन् | उनीहरू "गोरोछाला भयो भने त्यसमा भूस भरेको रहेछ भने पनि विश्वास गर्न तयार छन तर कुनै स्थानीय विज्ञले बोलेको, खोजेको कुरा विश्वास गर्न तयार छैनन् |

आजको समयमा गुरुकुल शिक्षाका सबै विषयवस्तु समयानुकुल नहोलान् तर गुरुकुल शिक्षाको अस्तित्वका विषयमा नकार्न सकिन्न | विज्ञहरूले विदेशी शिक्षाको जरोकिलो फलाउन/फुलाउन जति प्रयत्नगरिरहेका छन् त्यसको दशभाग पनि यदि आफ्नै जरोकिलोमा आधारित शिक्षानीति तर्जुमा गर्ने हो भने देश तथा सभ्यताको उद्धार नै हुने थियो |

विज्ञताको अर्थ विदेशीहरूले लेखेका, बोलेका र खोजेका कुराहरूलाई जस्ताको तस्तै स्वीकार्नु कदापि होइन र विदेशीले लेखेका, खोजेका तथा बोलेका सबै कुरा बेठीक र अस्वीकार्य नै हुन्छन् भन्नु पनि होइन | विद्वानहरूको पहिलो दायित्व आफ्नो इतिहास सकेसम्म जस्ताको तस्तै स्थापित गर्नु हो | हो, इतिहास अप्रिय पनि हुनसक्छ तर विदेशीभन्दा बढी अप्रियचाहिं हुँदैन |

मलाई थाहा छैन, घृणावादी शिक्षाको बीऊ कसले रोपेको हो ? तर अहिले यो विषवृक्ष चरम उत्कर्षमा छ | भाषा, संस्कृति, परम्परा तथा गौरवपूर्ण इतिहासमा प्रहार हुँदा "निरपेक्ष" रहने आत्मघाती पुस्ताको विकास भएको छ | आफ्नो इतिहासले बोलेको भन्दा अरूले लेखिदिएको बोलिदिएको इतिहासमा विश्वास गर्ने जमातहरूको बोलवाला भएको छ |

सत्य बोल्ने र लेख्नेहरू तिरस्कृत भएका छन् भने आफ्नै देश र सांस्कृतिक इतिहासको अपब्याख्या गर्नेहरू पुरस्कृत भएका छन् | विषको इतिहासमा विश्वास बढेको छ, अमृतको इतिहास लोप गर्ने प्रयत्न गरिएको छ | अचम्मको कुरा त के भने यस्ता मतियारहरू स्वनामधन्य तथाकथित ऊच्चतहका नेता वा विद्वानहरू नै बनेका छन् | तर सबैलाई एकै घानमा पिस्न भने मिल्दैन |

अहिले त यत्तिमात्र भन्न सकिन्छ, अहिलेको आत्मघाती शिक्षानीतिको निरन्तरताले एउटा गौरवशाली देश क्रमशः सांस्कृतिक आत्महत्यातिर अगाडी बढिरहेको छ | त्यस्तो आत्महत्याको बाटो सजिलो पार्ने कार्यमा देशका राजनैतिक, शैक्षिक नेतृत्व तथा नोकरशाहहरूले हरसम्भव सघाईरहेका छन् | देश तथा यहाँको संस्कृतिलाई मारेर उनीहरू लामो जीवन जीउने लक्ष लिइरहेका छन् |

(copyright gsu300@gmail.com)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...