Thursday, September 7, 2017

शाकाहार, मांसाहार र दशैं

साभार 
अस्तिमात्रै मुस्लिमहरूले उनीहरूको दोस्रो चाड इद मनाए | त्यस बखत पाकिस्तानको भनिएको एउटा लघुचलचित्र मिडियामा देखा पर्यो | जसमा एउटा बालक कुर्वानीका लागि तयार पारेर बाँधिएको "गोरू"लाई अंगालो हालेर रोइरहेको थियो | संगै रहेका अभिभावकहरू भन्दै थिए "नरोऊ, आज यो गोरुको हत्या हुनेछैनआदिआदि |

दशैंको बेलामा हाम्रै परिवारमा पनि एस्ता धेरै घटनाहरू घट्ने निश्चित छ | बोको किनेर ल्याएपछि अधिकांश अभिभावकहरूले त्यसलाई जिउँदो राख्ने काम आफ्ना बालबालिकाहरूलाई सुम्पन्छन् | समयको अन्तरालमा बोका र बालबालिकाहरूविच मायाप्रीति जोडिन्छ | अष्टमीका दिन उनीहरूले माया गरेर पालेको बोकोको हत्या हुँदा "पाकिस्तान" दोहोरिने छ |

अनि, हामी नेपालीहरू शाकाहार र मांसाहार, हिंसक दशैं र अहिंसक दसैं, पापमय दशैं र सात्विक दशैंका लागि प्रिन्ट, सामाजिक तथा अन्य मिडीयाहरूमा आरोपप्रत्यारोप, गालीगलौज तथा अपमानपूर्ण आवेगमा उत्रिनेछौँ | यो एस्तो लडाई हुनेछ, जहाँ दूबै हार्ने छन् | एउटा अनादिकालदेखि चलिआएको सभ्यता हार्ने छ |

हामी नेपालीहरू दशैंको बखतमा विभाजित हुन्छौं, खासगरी हिन्दूसमुदाय | सबैले मनाउने र मान्ने यो महान चाड "मासु खाने र नखाने अर्थात् मांसाहारी र शाकाहारी"को द्वन्दमा नराम्रोसंग विभाजित हुन्छ | एकआपासमा साँढेझैं भिड्छन् |

मांसाहारी र शाकाहारीका आफ्नै तर्क छन् | वैष्णवसमुदायमा पर्ने, जैन तथा बौद्ध, कवीरपन्थीहरू, आचार्य शंकरका अनुयायीहरू मांसाहारको पुरजोर विरोध गर्छन्, मासुखानेहरूलाई तथानाम गालीगलौजसम्म गर्छन् |

मांसाहारीका पनि आफ्नै तर्क छन् | केही आफ्नो परम्पराले दिएको भनेर आफ्नो पक्ष राखिरहेका हुन्छन् भने केही प्रोटिन, भिटामिन, मिनरलआदिको स्रोतको रूपमा मासु खाने विषयको समर्थनमा हुन्छन् |

यी दुईथरिका बहसले सबैभन्दा बढी नोक्सानी हिन्दू संस्कृतिमा पर्छ | यी दूईथरीका आरोपप्रत्यारोपमा अल्झिएका विचारधारामा धर्मपरिवर्तनकारी शक्ति, घृणावादी, हिन्दूसंस्कृतिसंग चरम शत्रुता राख्नेहरू सबैभन्दा खुसी हुन्छन् | उनीहरूका लागि "हिन्दू विरोधी मसला" घरै बसी प्राप्त हुन्छ |

दशैँ र तिहार हामी सबै नेपालीहरूका साझा चाड हुन् | एस्तामा आफ्नै भित्रका समस्याहरूका विषयमा विरोधपूर्ण वहसमा उत्रिनु उचित हुँदैन | हाम्रो आरोपप्रत्यारोपले हाम्रै तेजोवध भइरहेको हुन्छ | यसै अन्तरविरोधमा छिरेर विरोध गर्नेहरू मुखरित हुन्छन् | यसले हाम्रो आफ्नै सभ्यता तथा संस्कृतिमा वितिष्णा बढ्छ |

निश्चय नै, वैदिक सनातन धर्मका धार्मिक ग्रन्थहरूमा मांसाहार तथा शाकाहार दूबैका पक्षमा तथा विपक्षमा ऋषिहरूका भनाइहरू उपलब्ध छन् | लेखिएका विषयको ब्याख्या र बुझाई फरक हुन सक्छ तर यिनको अस्तित्व अस्वीकार गर्न मिल्दैन |

मनुस्मृति, याज्ञबल्क्य स्मृति, शाक्त ग्रन्थ, कौलाचारआदिमा मांसाहारको विधि स्वीकृत छन् तर विधिहरू एतिविध्न कडा छन् कि कलियुगीहरूका लागि यी नियमहरू पालन गर्दै मासुको सेवन गर्न असम्भव नै देखिन्छ |

नेपाली समुदायमा (ब्राह्मण-समुदाय) विभिन्न अवसरहरूमा खसीको बलि दिने र त्यसको मासु सेवन गर्ने परम्परा आज पनि विद्यमान छ भने क्षत्री तथा अन्य जातिका मानिसहरूले दशैंको अवसर पारेर "कोट"मा विभिन्न पशुहरूको बलि दिने र ती पशुहरूको मासु प्रसादका रूपमा ग्रहण गर्ने परम्परा आज पनि जीवित छ | मान्नेहरूले मानिरहेका छन् |

कुनशास्त्रको भनाई ठीक हो कुन शास्त्रको भनाई बेठीक हो ? भनेर निर्णय गर्ने काम धर्मशास्त्रका विद्वानहरूको हो | हामीजस्ता सर्वसाधारणका लागि उहाँहरूले स्पस्ट तथा निस्पक्ष मार्गनिर्देशन गर्नुपर्छ | खाने र नखाने विचको विवादमा फंसेर हामीले आफ्नै धर्म, संस्कार तथा मान्यताहरू विरुद्ध विरोधाभाषी कुरा गर्नु उचित हुँदैन |

निश्चय नै जुनसुकै पनि "हत्या" सभ्यसमाजको लागि राम्रो होइन | अनुभवले भन्छ, कुनै पनि प्राणीको लागि उसको अस्तित्व अन्तिम हुन्छ | हत्या वा मृत्युले उसको निजी अस्तित्व सधैंका लागि समाप्त हुन्छ | जसरी, हामीसंग दोस्रो शरीर छैन, त्यसैगरी संसारका कुनै प्राणीसंग दोस्रो शरीर छैन | धार्मिक होस् अथवा गैरधार्मिक प्रयोजनमा कसैको अस्तित्व नै समाप्त पर्नु अनुचित हो |

"अहिंसा परमो धर्म"को आदर्शमा आफ्नो जीवन चलाउने हामी हिन्दूहरूले प्रत्यक्ष हिंसामात्र होइन, अप्रत्यक्ष हिंसा पनि गर्नु हुँदैन | यदि हामी अहिंसावादी छौँ र हिंसावादीको कठोर आलोचना गर्छौं भने यो पनि अर्को प्रकारको "हिंसा" हुन्छ | उपनिषदले यही भन्छन् | यदि मांसाहार अनुचित, अशास्त्रीय छ भने त्यसअनुसारको दण्ड-विधान शास्त्रहरूले गर्ने हो, हामीले होइन |

मेरो परिवार र म जन्मजात शाकाहारी हौँ | हामी मांसाहार मन पराउदैनौं | संसारका हरेक व्यक्ति शाकाहारी हुनुपर्छ | यहीं नै संसारको लागि हितकर हुन्छ भन्ने हाम्रो मान्यता छ | तर संसारका ७३.८% मान्छेहरू मांसाहारी भएको तत्थ्य पनि हामीले विर्सनु हुँदैन | अलास्कामा बस्ने एस्किमो जातिको लागि मांसाहार अनिवार्य हुन्छ किनभने त्यहाँ अन्न फल्दैन |

हामी शाकाहारीले के विर्सनु हुँदैन भने संसारका धेरै मानिसलाई "मासु खानु हुँदैन" भन्ने कुराको सामान्य ज्ञान पनि छैन किनभने उनीहरूको परम्परामा मासु खानु पाप हुँदैन | मुस्लिमहरूमा "शाकाहार" तथा "ब्रह्मचर्य"जस्ता शब्दावली नै हुँदैनन् | ९८% इसाईहरू, चाइनिज धर्म मान्नेहरू, यहुदीहरूको जीवन पद्यतिमा "शाकाहार" हुँदैन | उनीहरूले बुझ्दै नबुझेको विषयमा उनको निन्दा गर्नु अझैं बढी निन्दनीय हुन्छ भन्ने मेरो मान्यता छ |

नेपाल कै धेरै आदिवासी-जनजाति तथा धेरै बाहुनक्षेत्रीआदिमा मासुको स्वाभाविक प्रयोग हुन्छ | धेरै धार्मिक क्रियाकलापमा बलिको प्रयोग हुन्छ | उनीहरूको एस्तो कार्यका लागि निन्दा गर्नुको कुनै औचित्य छैन | उनीहरूले त्यही गरिरहेका छन्, जुन उनले आफ्ना पूर्खाहरूबाट सिकेका हुन् | यदि हामी यी चालचलन तथा परम्परासंग असहमत छौँ भने शास्त्रका अहिंसात्मक पक्षहरू सकारात्मकरुपमा प्रस्तुत गरेर, यी समुदायहरूलाई अहिंसक बनाउनुपर्छ |

म कुनै प्रकारको हिंसाका विरुद्ध छु | मासु स्वस्थका लागि हितकर छैन भन्ने मेरो मान्यता छ | तर मेरो व्यक्तिगत आस्थाका लागि "मांसाहारी"हरूलाई तथानाम गालीगलौज गर्दै उहाँहरूप्रति "प्रतिहिंसा" मैले गर्न सक्दिन | यदि मांसाहार अशास्त्रीय हो भने त्यसका लागि दण्डित गर्ने काम धर्मराजको हो, हाम्रो होइन |

सकिन्छ, दशैँतिहारजस्तो रमाइलो पर्वहरूका अवसरमा आफ्नो खुसीको लागि अर्काको जीवन हर्न हुँदैन | शुद्ध शाकाहारी दशैतिहार मनाउने प्रयत्न गरौँ | प्राणीमात्रमा दया गरौँ, माया गरौँ र आफु बाचौं अरूलाई पनि बाच्न दिऊँ | सकिंदैन भने हिंसाको प्रशंसाचाहिं कत्तिपनि नगरौं | हिंसाले हिंसा जन्माउँछ भने अहिंसाले अहिंसा नै |

शाकाहारीहरू पनि आफ्ना विचारहरू प्रेषित गर्दा अन्यको "भोजन"को घोर निन्दा गर्नुबाट जोगिनुपर्छ | संसारका ७३.% जनसंख्याको भोजनका विषयमा "गालीगलौज" गर्नुहुँदैन | देवीदेवतामा बलिदिनु अनुचित हो भने त्यसको शास्त्रीय प्रमाणसहित मर्यादित तवरले प्रस्तुत गर्नुपर्छ | जनसामान्यलाई बुझाउनुपर्छ | हिजोअस्ति मांसाहार गर्ने धेरै मान्छेहरू शाकाहारी भएकै छन् | संसारको भोजन विविधतालाई स्वीकार गरेकै उचित हुन्छ |

अरू धर्मले के गर्छन् ? कस्तो आचरण गर्छन् ? हाम्रो सरोकारको विषय होइन | तर हामीविच रहेका चालचलनहरू र मान्यताहरूका विषयमा बोल्दालेख्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ | हामी शाकाहारी तथा मांसाहारी दुवै सनातनी हौँ | दूबैले हिन्दूधर्म तथा संस्कृतिमा गहिरो आस्था राख्छौं भने शाकाहार र मांसाहारका आधारमा समाजलाई "विभाजित" गर्ने कृयाकलापमा लाग्नु हुँदैन | हाम्रा विरोधी विचारहरू वैदिक सनातन धर्मप्रति अनादर गर्नेहरूका लागि "खुराक" बन्नुहुँदैन |

दशैंको महान् अवसरमा अहिंसक शाकाहारीले समाजलाई पूर्णत "शाकाहारी तथा सात्विक दशैं मान्न प्रेरित गरौँ तर मांसाहारीप्रति असामाजिक बनेर तिनको अपमान नगरौं | मांसाहारीहरूले पनि आफ्नो आस्थाका आधारमा "शाकाहारी" चेतना फैलाउने काममा समर्पितहरूको निन्दा नगरौं |

अन्त्यमा, देशविदेशमा रहनु भएका समस्त नेपालीहरूमा दशैँ तथा तिहारको २०७४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | दशैंतिहार विभाजित भएर होइन एक भएर मानौं र जातजाति, धर्म, सम्प्रदाय तथा क्षेत्रीयताका आधारमा फ़ैलाइएको "घृणावाद"लाई सधैंका लागि परास्त गर्ने संकल्प लिऊ | नेपालका हिन्दू, बौद्ध, जैन, बोन, किराती, यहुदी, मुस्लिम सबैले दशैं र तिहारको स्वागत गरौँ |

(प्रतिलिपि अधिकार सुरक्षित छ)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...