Monday, September 4, 2017

बेलायतमा न्याय र शान्तिको भेला

श्री मिर्जा मसुर अहमद र लेखक
मान्छेको पिरलो शान्ति र न्याय हो भने उसले बुझ्न नसकेको शान्ति आए न्यायपूर्ण समाजको निर्माण हुन्छ कि न्यायपूर्ण समाजमा शान्तिको वसोवास हुन्छ ? भन्ने नै हो | अहिलेको विश्व यहीं रन्थनिएको छ | यहाँसम्म कि प्रथम तथा द्वितीय विश्वयुद्धको विभिषिकाबाट निर्मित "राष्ट्रसंघ" पनि यस विषयमा ब्याकुल नै देखिन्छ |

सबैभन्दा प्राचीन ग्रन्थ वेद होस् अथवा सबैभन्दा कान्छो धार्मिक ग्रन्थ कुरान नै किन नहोस्, शान्ति र त्यसको खोज तिनको प्राथमिक विषय हुन् | पृथ्वी, अन्तरीक्ष, आकाशआदिको शान्ति सहित शिव-संकल्पम् अस्तुका रूपमा वेदले शान्तिको कामना गरेका छैन भने मुस्लिमहरू इस्लामको अर्थ नै शान्ति भएको जिकिर पनि गर्छन् |

यहुदी, इसाई, मुस्लिम जस्ता ठूला धार्मिक समुदाय, हिन्दू, बौद्ध, जैन, बोन, किराती, शिन्तोआदि पूर्वीय सम्प्रदायहरुले शान्तिको दीगो चाहना राखेकै छन् | यद्यपि एस्तो शान्ति र न्याय के-कसरी स्थापित हुनसक्छ ? भन्ने विषयमा निकै विवाद छ |

धार्मिक समुदायको आग्रह "धार्मिकता"ले विश्वमा न्याय र शान्ति स्थापित हुन्छ भन्ने रहेको छ तर धर्म तथा धार्मिकहरूका विचमा बढेको द्वन्द र त्यसले निम्त्याएको मानसिक त्रासदीले "धर्म"ले शान्ति स्थापना हुनैसक्दैन भन्ने समूहको प्रभाव वढ्दो छ | खास धर्मप्रति मानिसको विश्वास निरन्तर गुम्दै छ |

जे-होस्, धार्मिक तथा अधार्मिक दूबै समुहका मान्छेको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती नै शान्ति | तर एस्तो शान्ति तथा न्यायका पक्षमा एउटा मुस्लिम धर्म गुरू र तिनको सिंगो समूह नै निरन्तर क्रियाशील रहेको छ भन्दा धेरैलाई पत्याउन गारो छ |

हो मिति २०१७/८/२७-३० सम्म बेलायतको अल्ट्राशेयरमा आयोजक "अहमादिया-मुस्लिम संघ"ले विश्वका १४२ देशका मान्छेहरू एकत्र गरेर "न्याय र शान्ति"का लागि तीन दिने विश्व सम्मेलन गरेको थियो | उक्त सम्मेलनमा लेखक पनि आमन्त्रित थियो |

भारतको पंजावको कादियान भन्ने ठाउँबाट गुलाम अहमद भन्ने विद्वान मुस्लिम धर्मगुरुले सन् १८८६ मा आफुलाई इस्लाम धर्मको मेहदी अर्थात् सुधारक भनि घोषणा गरे | एस्तो घोषणा गर्न तत्कालीन भारतको लाहोरमा उनले सन् १९९३ मा एउटा सर्वधर्म सम्मिलित सम्मेलन बोलाए | त्यस सम्मेलनमा हिन्दू, मुस्लिम, जैन, दयानंदी आदि सबै पन्थका विद्वानहरूले आफ्नो कुरा राखे तर गुलाम अहमदले "मुस्लिमहरूको दार्शनिक जरो" भन्ने प्रवचन निकै सफल रह्यो |

उनले त्यसै प्रवचनमा गरेको दावी अनुसार आफुलाई मेहदी घोषित गरे | आफ्नो त्यस धार्मिक समुहको नाम "अहमदिया मुस्लिम समुदाय" भने | त्यस बखत उनको धेरैले विरोध गरे तर उनको भनाई अनुसार "अल्लाहको इच्छाले जमात फैलिदै गयो | इस्लामका खरावीहरू रोक्नका लागि अल्लाहले मलाई पठाएका हुन् |" एक दिन सबैले शुद्ध इस्लामको पालना गर्ने छन् |

नभन्दै आज उनी वितेको लगभग १०७ वर्ष वितिसकेका छन् | यस अन्तरालमा धेरै खुड्किलाहरू पार गर्दै यो समुह २०० जति देशमा फालिएको छ र यसका अनुयायीहरू पनि बढेर २ करोडका हाराहारीमा पुगेका छन् |

भारत विभाजनका बखत यो समुहका खलिफा (धर्मगुरू)ले पाकिस्तानलाई रोजे तर सन् १९७५ मा पाकिस्तानका सैनिक तानाशाह जिया उलहकले कानुन बनाएर यो समूहलाई गैर-मुस्लिम बनाएर देशमा प्रतिवन्ध लगायो | मुस्लिम आचरण गर्नु दण्डनीय कार्य बन्यो |

यसपछि यिनका तेस्रा धर्मगुरूले पाकिस्तानबाट भागेर लन्डनमा आफ्नो मुख्यालय बनाए | हाल भारतको कादियान र लन्डनको मुख्यालयबाट अहमादिया समुदायले आफ्नो गतिविधि प्रचारप्रसार गर्छ | हाल श्री मिर्जा मसुर अहमदले पाँचौं प्रमुख धर्मगुरू (खलिफा)का रूपमा विश्वभरीका अहमादिया मुस्लिमहरूको नेतृत्व गरिरहेका छन् |

विश्वभरीका मुलधारका मुस्लिमहरूले अहमादिया समुहसंग घृणा गर्छन् र यिनको धार्मिक विश्वास र कृत्यलाई गैर-इस्लाम भन्दै निन्दा गर्छन् | पाकिस्तान, भारत, अफगानिस्तान, इन्डोनेशिया तथा सबैभन्दा बलियो मानवस्वतन्त्रताको ग्यारेन्टी गर्ने बेलायतमा समेत मूलधारका मुस्लिमबाट अहमदिया समुदायका व्यक्तिहरूको हत्या भएको छ | यसै विश्वब्यापी घृणावादको चपेटामा परेर धेरै अहमदिया मुस्लिमहरू आफ्नो मूलथलो पाकिस्तानबाट विस्थापित भै शरणार्थी बनेका छन् |

अव लन्डनमा सम्पन्न भएको १८ जलसा अर्थात् अहमादिया मुस्लिम समुदायको सबैभन्दा प्रमुख सम्मेलनको कुरा गरौँ | मैले देखेको र भाग लिएको यो सम्मेलन दोस्रो "राष्ट्रसंघीय-सम्मेलन" नै रहेको छ | विश्वका विभिन्न १४२ देशका अहमादिया समुदायलाई प्रतिनिधत्व गर्ने र अन्य धर्मलाई प्रतिनिधित्व गर्ने लगभग ३५ हजार व्यक्तिहरूको जमघट थियो | सबैभन्दा अचम्मको कुरा त के भने यसको सबै ब्यबस्थापन पूर्णत स्वयम्-सेवकहरूले गरेका थिए |

धेरैजसो युवा स्वयम्-सेवकहरू युरोप, अमेरिका तथा क्यानेडामा हुर्केका र शिक्षादीक्षा प्राप्त गरेका थिए | कुनै पनि "खैरे"का लागि १८-३० को उमेर समुहका यी युवाहरूले यसरी समर्पित भएर निशुल्क सेवा दिएको देख्दा अचम्म लाग्छ | कलियुगमा (नाफा र स्वार्थका लागि मात्र काम गर्ने संस्कारलाई नै जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि ठान्ने युगमा) युवाहरूको यो समर्पण सबैको लागि सुखद प्रेरणा नै हुन् |

इस्लाम धर्मका पांचबटा प्रमुख खाँवामा कालिमा, प्रार्थना, रोजा वा उपवास, जकात अर्थात धार्मिक दान तथा हज अर्थात् मक्काको यात्रा हुन् | यी युवाहरू यी सबै धार्मिक कृत्यमा निकै प्रतिबद्ध देखिन्थे | बिहान तीन बजेको नमाजदेखि रात्री नौवजे पढिने प्रार्थनामा सधैं मैले यी युवाहरूको उपस्थिति देखें | यो सबै मैले जामिया इस्लामिया हिंदरहेडमा देखेको हुँ |

धार्मिकताको मामिलामा यी युवाहरू कट्टर होइन प्रतिबद्ध देखिन्थे | आजभोली कट्टरताको अर्थ राम्रो छैन | पाकिस्तान, कश्मिर, सिरिया, इराक, इरान, यमन, साउदी अरेवियाआदिका धार्मिक कट्टरपन्थी समुदायका विषयमा पढ्ने र सुन्नेहरूका लागि यी युवाहरू निकै फरक लाग्छन् | इस्लामका नाममा अरू धर्म र सम्प्रदायहरूप्रति घृणा गर्नु पर्छ भन्ने सोच भएका कट्टरपन्थीहरूका लागि यी युवाहरू चुनौती नै हुन् |

आज विभिन्न कारणले गर्दा मुस्लिम-समुदायप्रति गैर-मुस्लिमहरूको दृष्टिकोण निकै नकारात्मक छ | साधारण मान्छेहरू विश्वको अशान्तिका लागि मुस्लिम-धर्मान्धता जिम्मेदार रहेको विश्वास गर्छन् तर अहमादिया समुदायका विचमा पुगेपछि यो अवधारणा परिवर्तन हुन्छ | अर्को धार्मिक समुदायप्रति तिनको सोच र ब्यबहार निकै सहिष्णु छ | यहाँसम्म कि अन्यधार्मिक समुदायका धर्मगुरूहरूसंग उनीहरू शान्ति र धार्मिकताका विषयमा खुलेर कुरा गर्छन् |

सम्पूर्ण सम्मेलनको केन्द्रीय विषय धार्मिकता भए पनि छलफलको विषय भने विश्वशान्ति र सामाजिक न्याय थियो | वेलायतको सांसद सीमा मलहोत्रा समेतका एकदर्जन सांसद तथा मेयरहरूले विभिन्न समुदायका लागि धार्मिक न्याय र सामाजिक शान्तिको कुरा गरे | यसको नेतृत्व अहमादिया समुदायका पाचौं धर्मगुरु श्री मिर्जा मसुर अहमदले गरिरहनु भएको थियो |

लार्कशेयरमा रहेको बैतुल मस्जिदमा रहेको उनको निवासस्थलमा उनीसंग भेट गर्दा उनको सौम्य व्यक्तित्व तथा सहजता यस पक्तिका लेखकले पनि प्रत्यक्ष अनुभव गरेको हो | मैले श्रीमद्भगवत-गीता भेट दिंदा उनी अत्यन्त प्रसन्न थिए | नेपालका विषयमा जिज्ञासा राखे |

उनी एकमात्र यस्ता मुस्लिम धर्मगुरू हुन् जसले अमेरिका, बेलायत, क्यानाडा तथा जर्मनीका सांसदहरूको समुहमा शान्तिका विषयमा प्रवचन दिएका थिए र दिन्छन् | उनले लेखेको "विश्वशान्तिका लागि आवश्यक संदेश" निकै महत्वपूर्ण पुस्तक हो, जुन विश्वका अनेकौं भाषामा अनुवाद भएको छ |

अन्त्यमा, कुनै धर्म पनि खराव हुँदैनन् | धार्मिकता हुनुको अर्थ आफ्नो धर्मसंग असहमत समुदायप्रति घृणा फैलाउनु पटक्कै होइन | आफ्नो धार्मिक विश्वासलाई विनम्र भएर अनुसरण गर्दा अन्य धार्मिक समुदायको निन्दा गर्नु कुनै आवश्यक हुँदैन | जहाँजहाँ आफ्नो आफ्नो धार्मिक विश्वासलाई छोडेर अन्य धार्मिक विश्वासहरूप्रति हस्तक्षेप गरिएको छ, त्यहाँ अशान्ति छ | यदि धार्मिकताका कारण उत्पन्न अशान्ति तथा अन्यायको निवारण गर्नु छ भने सबै धर्मका मान्छेहरूले आफ्नो धार्मिक जीवन अहस्तक्षेपकारी बनाउनुपर्छ |

अहमादिया समुदायले विश्वको शान्ति तथा न्यायका लागि अहस्तक्षेपकारी नीति अवलम्वन गर्दै स्वधर्म तथा संस्कृतिको सशक्त विस्तार गर्न सफल भएको छ | पाचौं धर्मगुरू श्रीमिर्जा मसुर अहमदको "इस्लाम"का माध्यमबाट सामाजिक न्याय र शान्तिको नारा सफल हुँदैजाओस् |
copyright with blogger 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...